महान् विवाद नयाँ देशमा ज्योति

3/13

३ — अमेरिकाको सुधारक

एक सीधा र इमान्दार मनका कृषक, जसले धर्मशास्‍‍त्रको दैवीक अधिकारप्रति शङ्का गरेका थिए, तापनि इमान्दारीताका साथ सत्यता जान्‍ने इच्छा गर्दथे, त्यही मानिसलाई विशेष गरी ख्रीष्‍टको दोस्रो आगमनको घोषणामा अगुवाइ गर्न परमेश्‍‍वरले चुन्‍नुभएको थियो। अरू धेरै सुधारकहरूले झैँ विलियम मिलरले पनि तिनको पहिलो जीवनकाल गरिबीपनासँग सङ्घर्ष गरेर बिताएका थिए र यसरी तिनले सामर्थ्य र आत्म-इन्कारको महान् शिक्षा सिकेका थिए। तिनी हुर्केका परिवारका सदस्यहरूचाहिँ एक स्‍वतन्‍त्र, स्‍वाधीनता-प्रेमी आत्मा भएको, सहनशिलताको क्षमता भएको र जोशिलो देशभक्त चरित्रगुणले भरिएका भनेर चिनिन्थ्यो—जुन कुराहरू तिनका चरित्रमा मुख्य थिए। तिनका पिता क्रान्तिमा सिपाहीहरूका कप्‍तान थिए, र त्यो भिषण अवधिका सङ्घर्षहरू र कष्‍टहरूमा तिनले गरेका बलिदानहरूद्वारा मिलरको अघिल्‍लो जीवन अप्‍ठ्‌यारा परिस्थितिहरूमा गुज्रिएको कुरा देख्‍न सकिन्छ। MBND 43.1

तिनको शारीरिक संरचना बलिया थियो, र बाल्यावस्थामै तिनले असाधारण बौद्धिक क्षमताको प्रमाण दिएका थिए। जब तिनी बढ्‍दै गए, त्यो झन् स्पष्‍ट देखियो। तिनको दिमाग क्रियाशील र राम्ररी विकासित भएको थियो, र तिनी ज्ञानप्रति अगाध तृष्णा गर्दथे। तिनले विश्‍‍वविद्यालयको शैक्षिक लाभहरू हासिल नगरे तापनि तिनको अध्ययनप्रति माया र सावधानीपूर्वक सोच्‍ने बानी र गहिरो आलोचनाले गर्दा तिनलाई असल न्याय गर्न सक्‍ने र महान् विचारहरू भएको मानिस बनायो। तिनले निर्दोष नैतिक चरित्र र एक वाञ्छनीय इज्‍जत धारण गरेका थिए, साधारणतया इमान्दारीता, फारोपन र परोपकारको कारण सम्मान प्राप्‍त गर्दथे। सामर्थ्यको वेग र ध्यानद्वारा तिनले पहिले नै दक्षता हासिल गरे तापनि तिनमा अध्ययन गर्ने आदत् कायम रह्यो। तिनले विभिन्‍न सरकारी र सैनिक कार्यालयहरूमा विश्‍‍वाससाथ काम गरे, जहाँ धन र सम्मान आर्जन गर्ने सम्भावनाहरू सर्वत्र थिए। MBND 43.2

तिनकी आमा सच्‍चा भक्तिपूर्ण नारी थिइन्, र तिनको बाल्यावस्थामा नै तिनलाई धार्मिक कुराहरूले प्रभाव पारेको थियो। तर जे भए पनि यौवन अवस्थामा नै तिनी प्रकृतिवादी समाजमा आबद्ध भए, जसमा प्रायः जसो असल नागरिक र समझदारी र परोपकारी मानिसहरू भएका कारणले तिनमा अझ गहिरो प्रभाव पारियो। इसाई संस्थाहरूको वातावरणमा बसोबास गरेको कारण तिनीहरूको चरित्रमा केही मात्रामा प्रभाव पारेको थियो। तिनीहरूले जुन उत्कृष्‍टताद्वारा आदर र भरोसा जिते तिनीहरू वास्तवमै बाइबलप्रति ऋणी थिए; र पनि यी असल वरदानहरू अति दुरुपयोग गरिएका थिए कि ती कुराहरूले परमेश्‍‍वरको वचन विरुद्ध प्रभाव पारे। यी मानिसहरूको सङ्‌गतद्वारा मिलरले तिनीहरूको विश्‍‍वासलाई अपनाउन पुगे। धर्मशास्‍‍त्रका वर्तमान अर्थहरूका कारण समस्याहरू देखा परे जुन जित्‍न असम्भव जस्तै देखिए; तापनि जब तिनले बाइबललाई हटाए तब तिनको नयाँ विश्‍‍वासले त्यसको सट्टामा केही उत्तम कुरा प्रदान गरेको थिएन, त्यसपछि तिनी सन्तुष्‍ट हुनै सकैनन्। यद्यपि लगभग बाह्र वर्षसम्म तिनले त्यो विश्‍‍वास कायम राखे। तर चौतिस वर्षको उमेरमा पवित्र आत्माले तिनको पापी स्‍वरूप र तिनको त्यो अवस्थाको विषयमा तिनको हृदयमा बोल्‍नुभयो। तिनको अघिको विश्‍‍वासमा तिनले मृत्युपछि कुनै खुशीको आश्‍‍वासन पाएका थिएनन्। भविष्य अन्धकार र उदास थियो। त्यही घड़ीको अनुभवलाई दर्शाउँदै पछि तिनले भने: MBND 44.1

“विनाशचाहिँ एक चिसो पार्ने विचार थियो, र जिम्मेवारीचाहिँ सबैमा निश्‍चित विनाश थियो। ममाथिका आकाशहरू काँसा जस्तै थिए, र पृथ्वी मेरो खुट्टामुनिको फलाम जस्तै थियो। अनन्तता—त्यो के थियो? अनि मृत्यु—त्यो किन? जति मैले सोचें त्यति नै म अलमलमा परें। जति मैले सोचें त्यति मेरा निष्कर्षहरू सम्हाल्‍न नसकिने भएँ। मैले सोच्‍नै बन्द गर्ने प्रयास गरें, तर मेरा विचारहरू नियन्‍त्रण हुँदैनथे। म वास्तवमै असह्य भएँ, तर त्यसको कारण मैले बुझ्‍नै सकिनँ। मैले गनगन गरें र मुर्मराएँ, तर थाहा थिएन कोदेखि। मलाई थाहा थियो कि गलत कुरा छ, तर सत्य कसरी वा कहाँ खोज्‍ने थाहा थिएन। मैले विलाप गरें, तर पनि आशाहीन थिएँ।” MBND 45.1

तिनले केही महिना यस्तै अवस्थामा बिताए। तिनी भन्छन्, “अचानक मुक्तिदाताको चरित्र मेरो दिमागमा स्पष्‍ट प्रकट भयो। त्यहाँ यस्तो प्राणी हुनुपर्छ जो अति असल र दयावन्त हुनुहुन्छ जो आफैले हाम्रो अपराधहरूको प्रायश्‍चित्त गर्नुहुन्छ र त्यसरी हामीलाई पापको सजायको कष्‍टबाट बचाउनुहुन्छ जस्तै लाग्थ्यो। मैले तुरुन्तै महसुस गरें, यस्तो प्राणी कति मायालु हुनुहुन्छ होला, र म आफैले त्यस्तो व्यक्तिको अँगालोमा बस्‍न पाए र उहाँको कृपामा भरोसा गर्न पाए त हुन्थ्यो भनी मैले कल्पना गरें। तर प्रश्‍न उठ्‌यो, यस्तो प्राणीको अस्तित्‍व छ भनी कसरी प्रमाणित गर्न सकिन्छ? बाइबलबाहेक अरू कुनै पनि कुराबाट यस्तो मुक्तिदाता वा भविष्यको अवस्थाको प्रमाण हासिल गर्न सकिँदैनथ्यो। ... MBND 45.2

“मैले थाहा पाएँ कि बाइबलले मलाई आवश्‍‍यक परेकै मुक्तिदाता प्रकट गरेको थियो; प्रेरणा नभएको किताबद्वारा पतित संसारका आवश्‍‍यकताहरू अनुरूप पूर्णरूपले अपनाउन सक्‍ने सिद्धान्तहरू कसरी विकास हुन्छ सो थाहा पाएर म चकित भएँ। धर्मशास्‍‍त्र परमेश्‍‍वरको प्रकाश नै हो भनी स्‍वीकार गर्न म बाध्य भएँ। ती धर्मशास्‍‍त्र मेरो निम्ति हर्षको कुरा भए, र म येशूको मित्र भएँ। मुक्तिदाता मेरो लागि दश हजारमध्ये सबभन्दा मुख्य हुनुभयो, र जुन धर्मशास्‍‍त्र पहिले अन्धकार र आफू विरोधी थियो, अब त्यो मेरो गोड़ाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो भयो। मेरो मन शान्त र ढुक्‍क भयो। मैले परमप्रभु परमेश्‍‍वरलाई जीवनको समुद्रको बीचमा चट्टानको रूपमा भेटाएँ। अब बाइबल मेरो मुख्य अध्ययन भयो, र म साँच्‍चै भन्‍न सक्छु, मैले हर्षसाथ यसको अनुसन्धान गरें। मैले पत्ता लगाएँ कि आधा त मलाई भनिएकै रहेनछ। यसको सुन्दरता र महिमा मैले पहिले किन देखिनँ भनी छक्‍क गरें, र यसलाई म जुनसुकै बेला पनि अस्‍वीकार गर्न सक्थें भनी झसङ्ग भएँ। मेरो हृदयले इच्छा गर्न सक्‍ने सबै कुरा प्रकट भएको र आत्माको प्रत्येक रोगको उपचार मैले भेटाएँ। मैले अन्य अध्ययनको सम्पूर्ण स्‍वाद गुमाएँ र मेरो हृदयलाई परमेश्‍‍वरबाट बुद्धि हासिल गर्नमा लगानी गरें।” —S. Bliss, Memoirs of Wm. Miller, pages 65-67. MBND 45.3

जुन धर्म मिलरले घृणा गरेका थिए त्यही धर्मप्रतिको विश्‍‍वास तिनले सार्वजनिक रूपमा स्‍वीकार गरे। तर तिनका अविश्‍‍वासी साथीहरूले ती सबै विवादहरू अघि सार्न ढिला गरेनन् जुन तिनी आफैले धर्मशास्‍‍त्रहरूको दैवी अधिकारको विरुद्ध प्रयोग गरेका थिए। त्यति बेला तिनीहरूलाई जवाफ दिन तिनी तयार थिएनन्; तर तिनले विचार गरे कि यदि बाइबल परमेश्‍‍वरको प्रकाश हो भने त्यो आफै सिद्धान्त अनुरूप हुनुपर्छ; त्यो मानिसको शिक्षाको लागि दिइएको थियो, जसलाई समझमा आत्म-सात् गर्नुपर्छ। तिनले धर्मशास्‍‍त्रहरू आफै अध्ययन गर्ने, र प्रत्येक सीधा विपरीत कुराहरूलाई मिलाउन सकिन्छ कि सकिँदैन भनी निश्‍चित गर्ने निर्णय गरे। MBND 46.1

पूर्व अवधारणहरू अलग राख्‍ने प्रयास गरेर व्याख्यात्मक लेखहरू टाढा राख्दै तिनले बाइबलको छेउमा लेखिएका पदहरू र क्रमशब्दकोशको सहयोगद्वारा धर्मशास्‍‍त्रसँग धर्मशास्‍‍त्र तुलना गरे। तिनले आफ्‍नो अध्ययन नियमित र विधिपूर्वक तरिकाले उत्पत्तिदेखि आरम्भ गरे, हरेक पद पढ्‍दै केही हरफहरूको अर्थ स्पष्‍ट नबुझेसम्म वा नखोलेसम्म तिनी अगाड़ि बढ्‍दैनथे। जब तिनले कुनै पनि कुरा अस्पष्‍ट भेट्‍दथे तब तिनको चलनअनुसार त्यो चिन्तनमननको विषयवस्तुसँग मिल्दोजुल्दो अरू सबै पदहरू त्यससँग तुलना गर्थे। प्रत्येक शब्दको त्यो पदको विषयमा उचित सम्बन्ध हुनुपर्दथ्यो, यदि तिनका विचार प्रत्येक समानान्तर पदहरूसँग मिल्यो भने मात्र त्यो कठिनाइ समाधान भएको हुन्थ्यो। यसरी जब तिनी बुझ्‍न कठिन भएका पदहरू भेट्टाउथे तब धर्मशास्‍‍त्रको अन्य भागहरूमा यसको वर्णन प्राप्‍त गर्दथे। जब तिनले ईश्‍‍वरीय ज्ञानका लागि उत्सुक प्रार्थनासाथ अध्ययन गरे, तब जुन कुरा पहिले तिनको समझमा अँध्यारो देखा पर्दथ्यो त्यो अहिले स्पष्‍ट भयो। तिनले भजन लेखकका शब्दहरूमा सत्यताको अनुभव गरे: “तपाईंका वचनको व्याख्याले ज्योति प्रदान गर्छ, त्यसले सीधासादा मानिसहरूलाई समझशक्ति दिन्छ।” भजनसंग्रह ११९:१३०। MBND 46.2

तिनले गहिरो चासोसाथ दानिएल र प्रकाशका किताबहरू अध्ययन गरे, अरू धर्मशास्‍‍त्रमा झैँ वर्णन गरिएका त्यही सिद्धान्त प्रयोग गरेर अगमवाणीका सङ्केतहरू पनि बुझ्‍न सकिदो रहेछ भनी तिनी अति आनन्दित भए। तिनले देखे कि जुन अगमवाणीहरू पूरा भइसकेका थिए ती वास्तविक रूपमै पूरा भएका थिए; कि ती विभिन्‍न सङ्केतहरू, रूपकहरू, दृष्‍टान्तहरू, प्रतिरूपहरू इत्यादि कुरा त्यही वरिपरि वर्णन गरिएका थिए, वा व्यक्त गरिएका भनाइहरू अरू धर्मशास्‍‍त्रको अंशमा वर्णन गरिएका थिए, र यसरी वर्णन गरिएको कुरा वास्तविकरूपमा बुझ्‍नुपर्नेथियो। तिनी भन्छन्, “म यसरी सन्तुष्‍ट भएँ किनकि बाइबलचाहिँ प्रकाशित सत्यताको प्रणाली हो, यसको प्रस्तुति यति स्पष्‍ट र साधारण छ कि कुनै पनि बटुवा मुर्खै भए पनि कुअर्थ लगाउन आवश्‍‍यक छैन।” —Bliss, page 70. जब तिनले अगमवाणीको महान् इतिहास एक खुड्‍किलादेखि अर्को खुड्‍किला गर्दै पहिल्याए तब सत्यताको सिक्रीका सम्बन्धहरूमा तिनको प्रयत्‍नको इनाम स्‍वरूप प्रदान गरियो। स्‍वर्गीय दूतहरूले तिनको दिमागलाई अगुवाइ गरिरहेका थिए र धर्मशास्‍‍त्र तिनको समझशक्तिमा खुला पार्दैथिए। MBND 47.1

विगतमा पूरा भएका अगमवाणीहरूको ढाँचालाई एक मापदण्डको रूपमा लिएर त्यसैद्वारा भविष्यमा अझै पूरा हुन बाँकी रहेका विषयहरूलाई न्याय गर्दै, तिनी सन्तुष्‍ट भए कि संसारको अन्त हुनुभन्दा अगाड़ि वास्तविक हजार वर्षसम्म ख्रीष्‍टको आत्मिकी शासन हुनेछ भन्‍ने विषयमा रहेको प्रचलित विचारलाई परमेश्‍‍वरको वचनले समर्थन गर्दैन। परमप्रभुको व्यक्तिगत आगमनभन्दा अगाड़ि एक हजार वर्षको धार्मिकता र शान्तिको शासनतर्फ केन्द्रित गर्ने यो सिद्धान्तले परमेश्‍‍वरको दिनको डर वा त्रासलाई पनि बिर्साइदियो। तर त्यो कुरा रमाइलो नै भए पनि ख्रीष्‍ट र प्रेरितहरूका शिक्षाहरू विपरीत छ, जसले घोषणा गरे कि फसलको समयसम्म अर्थात् संसारको अन्त्यसम्म गहुँ र सामा सँगै बढ्‍नुपर्छ; कि “दुष्‍ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्-झन् दुष्‍ट हुँदैजानेछन्;” कि “आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्;” अनि अन्धकारको राज्य परमप्रभुको आगमनसम्म रहनेछ र उहाँको मुखको आत्माले त्यसलाई भष्म पार्नेछ र उहाँको आगमनको उज्‍ज्‍वलताले सर्वनाश हुनेछ। मत्ती १३:३०, ३८-४१; २ तिमोथी ३:१३, १; २ थेसलोनिकी २:८। MBND 48.1

संसारको परिवर्तन र ख्रीष्‍टको आत्मिकी शासनको सिद्धान्त प्रेरित चर्चले अपनाएको थिएन। साधारणतया यो इसाईहरूले अठारौँ शताब्दीको आरम्भभन्दा अघि ग्रहण गरेका थिएनन्। अन्य प्रत्येक झूटझैँ त्यसका परिणामहरू दुष्‍ट नै थिए। त्यसले मानिसहरूलाई परमप्रभुको आगमन टाढ़ा भविष्यमा हेर्न सिकायो र तिनीहरूलाई उहाँको निकटता घोषणा गर्ने चिन्हहरूमा ध्यान दिन बाधा पुऱ्यायो। त्यसले निर्धक्‍क र सुरक्षाको अनुभूति गरायो जुन जगविहीन थियो र तिनीहरूका प्रभुलाई भेट्‍न गर्नुपर्ने आवश्‍‍यकीय तयारीप्रति बेवास्ता गरायो। MBND 48.2

ख्रीष्‍टको वास्तविक र व्यक्तिगत आगमन हुन्छ भनी स्पष्‍ट धर्मशास्‍‍त्रहरूमा सिकाइएको कुरा मिलरले पत्ता लगाए। पावल भन्छन्: “प्रभु स्‍वयम् हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनुहुनेछ।” १ थेसलोनिकी ४:१६। अनि मुक्तिदाता घोषणा गर्नुहुन्छ: “तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्।” “किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्‍चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।” मत्ती २४:३०, २७। उहाँ समस्त स्‍वर्गका सेनाहरूसाथ आउनुहुनेछ, “मानिसको पुत्र सारा स्‍वर्गदूतहरूसँग आफ्‍नो महिमामा आउनेछ।” मत्ती २५:३१। “उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्।” मत्ती २४:३१। MBND 48.3

उहाँको आगमनमा मृतक धर्मीहरू उठ्‍नेछन्, र बाँचिरहेका धर्मीहरू परिवर्तन हुनेछन्। पावल भन्छन्, “हामी सबै सुत्दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्‍नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ। किनकि यस विनाशी स्‍वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्‍व धारण गर्नुपर्छ।” १ कोरिन्थी १५:५१-५३। तिनले थेसलोनिकीहरूलाई लेखेको चिट्ठीमा प्रभुको आगमनको वर्णन गरिसकेपछि भन्छन्: “ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‍नेछन्। तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्‍न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।” १ थेसलोनिकी ४:१६, १७। MBND 49.1

ख्रीष्‍टको व्यक्तिगत आगमन नभएसम्म उहाँका मानिसहरूले त्यो राज्य ग्रहण गर्न सक्‍नेछैनन्। मुक्तिदाताले भन्‍नुभयो: “जब मानिसको पुत्र सारा स्‍वर्गदूतहरूसँग आफ्‍नो माहिमामा आउनेछ, तब ऊ आफ्‍नो महिमामय सिंहासनमा बस्‍नेछ। र उसको सामुन्‍ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्‌ट्याउँछ, त्यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ। उसले भेड़ाहरूलाई आफ्‍नो दाहिनेपट्टि, बाख्राहरूलाई देब्रेपट्टि राख्‍नेछ। तब राजाले आफ्‍ना दाहिनेपट्टिकाहरूलाई भन्‍नेछ, ‘आओ, मेरा पिताका धन्यका हो! संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर।’” मत्ती २५:३१-३४। हामीले भर्खरै धर्मशास्‍‍त्रका पदहरूबाट देखेका छौं कि जब मानिसको पुत्र आउनुहुन्छ, तब मृतकहरू अमरत्‍व धारण गरेर उठ्‍नेछन् र जीवितहरू परिवर्तन हुनेछन्। यो महान् परिवर्तनद्वारा तिनीहरू राज्य ग्रहण गर्न तयार हुन्छन्। किनकि पावल भन्छन्: “मासु र रगत स्‍वर्गको राज्यको हकदार हुन सक्दैन, न त विनाश अविनाशको हकदार हुन सक्छ।” १ कोरिन्थी १५:५०। मानिस त्यसको वर्तमान अवस्थामा मरणशील र विनाशी छ; तर परमेश्‍‍वरको राज्यचाहिँ अविनाशी र सदासर्वदाको निम्ति हुनेछ। त्यसकारण मानिस त्यसको वर्तमान अवस्थामा स्‍वर्गको राज्यमा प्रवेश गर्न सक्दैन। तर जब येशू आउनुहुन्छ, उहाँले आफ्‍ना मानिसहरूलाई अमरत्‍व प्रदान गर्नुहुन्छ; तब उहाँले तिनीहरूलाई राज्य अधिकार गर्न बोलाउनुहुन्छ जसमा तिनीहरू त्यस समयसम्म उत्तराधिकारी मात्र थिए। MBND 49.2

यी साथै अन्य पदहरूले मिलरको दिमागमा स्पष्‍टसाथ प्रमाणित गरे कि ख्रीष्‍टको आगमनभन्दा अगाड़ि साधारणरूपले अपेक्षा गरिएको विश्‍‍वव्यापी शान्तिको शासन र पृथ्वीमा परमेश्‍‍वरको राज्यको स्थापना जस्ता कुराहरू दोस्रो आगमनपछि आउनुपर्नेथियो। त्यति मात्र नभएर समयका सबै चिन्हहरू र संसारका अवस्थाले आखिरी दिनहरूको अगमवाणीका वर्णनसँग सहमत जनाएका थिए। तिनी धर्मशास्‍‍त्रहरूको अध्ययनबाट मात्र यो निष्कर्ष निकाल्‍न बाध्य भए, कि पृथ्वीलाई त्यसको वर्तमान अवस्थामा रहन दिइएको समय अवधि समाप्‍त हुनै लागेको थियो। MBND 50.1

तिनी भन्छन्, “मेरो दिमागमा महत्‍वपूर्ण प्रभाव पार्ने प्रमाणको अर्को प्रकारचाहिँ धर्मशास्‍‍त्रको कालक्रम थियो। ... मैले पत्ता लगाएँ कि पूर्ववाणी गरिएका घटनाहरू जुन विगतमा पूरा भएका थिए ती प्रायः निर्धारित समयमा घटेका थिए। जलप्रलयसम्म एक सय बीस वर्षहरू (उत्पत्ति ६:३); त्यसको अगाड़िको सात दिनहरू, पानी पर्नुपर्ने पूर्ववाणीको चालिस दिनहरू (उत्पत्ति ७:४); अब्राहामका सन्तानहरू अर्को देशमा बसोबास गर्ने चार सय वर्षहरू (उत्पत्ति १५:१३); खुवाउने र पियाउनेका सपनाहरूको तीन दिनहरू (उत्पत्ति ४०:१२-२०); फारोका सात वर्षहरू (उत्पत्ति ४१:२८-५४); उजाड़-स्थानमा चालिस वर्षहरू (लेवी १४:३४); अनिकालका साढे़ तीन वर्षहरू (१ राजा १७:१) [लूका ४:२५ हेर्नुहोस्]; ... कैदका सत्तरी वर्षहरू (यर्मिया २५:११); नबूकदनेसरका सात समयहरू (दानिएल ४:१३-१६); र सात हप्‍ताहरू, बैसठी हप्‍ताहरू र एक हप्‍ता बनाएर यहूदीहरूका निम्ति छुट्याइएका सत्तरी हप्‍ताहरू (दानिएल ९:२४-२७),—यी समयहरूद्वारा घटनाहरू सीमित भएका थिए र यी सबै कुनै समयमा अगमवाणी मात्र थिए, र ती पूर्ववाणीहरूअनुसार नै पूरा भए।” —Bliss, pages 74, 75. MBND 50.2

त्यसकारण जब तिनले आफ्‍नो बाइबल अध्ययनमा विभिन्‍न कालक्रमिक अवधिहरू पाए, जुन तिनको समझअनुसार ख्रीष्‍टको आगमनसम्म पुगेका थिए, तब परमेश्‍‍वरले आफ्‍ना दासहरूलाई प्रकट गर्नुभएका पहिले नै “तोकिएका समयहरू” स्‍वरूप ती स्‍वीकार गर्न तिनी बाध्य भए। मोशा भन्छन्, “प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्‍‍वरका हुन्। तर हामीले यस व्यवस्थाका सम्पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्तानका लागि सदाको निम्ति हुन्।” अनि परमप्रभुले आमोस अगमवक्ताद्वारा घोषणा गर्नुभयो, कि उहाँले “आफ्‍ना दास, अगमवक्ताहरूलाई आफ्‍नो रहस्य प्रकट नगरीकन केही गर्नुहुन्‍न।” व्यवस्था २९:२९; आमोस ३:७। त्यसपछि परमेश्‍‍वरको वचनका विद्यार्थीहरूले सत्यताका धर्मशास्‍‍त्रहरूमा स्पष्‍ट खुलाइएको मानविक इतिहासमा सबभन्दा विशाल घटना निर्धक्‍कसाथ आशा गर्न सक्छन्। MBND 51.1

मिलर भन्छन्, “परमेश्‍‍वरको प्रेरणाबाट आएको सम्पूर्ण पवित्रशास्‍‍त्र लाभदायिक छ भनी मलाई पूर्णरूपले चित्त बुझ्यो, (२ तिमोथी ३:१६); यो कुनै पनि समयमा मानिसहरूको इच्छाले आएन, तर पवित्र मानिसहरूले पवित्र आत्माको अगुवाइमा लेखेका थिए (२ पत्रुस १:२१), ती कुराहरू ‘हाम्रो शिक्षाको निम्ति लेखिएका थिए, यस उद्देश्‍‍यले कि पवित्रशास्‍‍त्रबाट आउने स्थिरता र उत्साहद्वारा हामी आशा प्राप्‍त गर्न सकौं।’ (रोमी १५:४)। त्यसैकारण म धर्मशास्‍‍त्रको अरू कुनै अंशझैँ बाइबलीय कालक्रमका भागहरू त्यस्तै नै परमेश्‍‍वरको वचनको भाग हो, र त्यस्तै नै गहिरो चिन्तनमननको विषयवस्तु हुनुपर्छ भन्‍ने कुरा अपनाउन बाध्य भएँ। त्यसकारण मैले महसुस गरें कि परमेश्‍‍वरले उहाँको कृपामा हामीलाई जे प्रकट गर्ने योग्य ठान्‍नुभयो सो बुझ्‍ने प्रयास गर्दा अगमवाणीको अवधिहरूलाई बेवास्ता गर्ने मेरो कुनै अधिकार थिएन।” —Bliss, page 75. MBND 51.2

दानिएल ८:१४मा भएको अगमवाणीले दोस्रो आगमनको समयलाई सबभन्दा स्पष्‍टरूपमा प्रकट गरे जस्तो देखिन्थ्यो: “दुई हजार तीन सय दिनसम्म; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ।” (KJV)। धर्मशास्‍‍त्रलाई त्यसको आफ्‍नै अनुवादक बनाउने तिनको नियमलाई अनुसरण गरी मिलरले सिके कि साङ्केतिक अगमवाणीमा एक दिनले एक वर्षको प्रतिनिधित्‍व गर्दछ (गन्ती १४:३४; इजकिएल ४:६); तिनले २३०० अगमवाणीका दिनहरू, वा वास्तविक वर्षहरू यहूदीको समयावधि अन्त हुनुभन्दा पनि टाढ़ासम्म पुगेको देखे, त्यसकारण त्यसले त्यो समयावधिको पवित्रस्थानलाई सङ्केत गर्न सक्दैन। इसाई युगमा पृथ्वी नै पवित्रस्थान हो भन्‍ने सर्वमान्य धारणा मिलरले ग्रहण गरे, र त्यसकारण पवित्रस्थानको शुद्धीकरण हुनेछ भन्‍ने दानिएल ८:१४को पूर्ववाणीचाहिँ ख्रीष्‍टको दोस्रो आगमनमा आगोद्वारा पृथ्वी शुद्धीकरण हुने कुरालाई प्रतिनिधित्‍व गरेको छ भनी तिनले बुझे। यदि २३०० दिनहरूको ठीक आरम्भ हुने समय पत्ता लगाउन सकिने भए, दोस्रो आगमनको समय तुरुन्तै पक्‍का हुन सक्थ्यो भनी तिनले निष्कर्ष निकाले। त्यसरी त्यो महान् आशाको समय प्रकट हुनेथियो, जुन समयमा वर्तमान अवस्था त्यसका “सम्पूर्ण घमण्ड र शक्ति, देखावटी, व्यर्थता, दुष्‍टता र अत्याचारसाथ अन्त्य हुनेथियो;” जसमा “पृथ्वीबाट सराप हटाइनेथियो, मृत्युको नाश हुनेथियो, परमेश्‍‍वरका दासहरू, अगमवक्ताहरू र सन्तहरू, र जसले उहाँका नाउँको भय मान्दछन् तिनीहरूलाई इनाम दिइनेथियो, र जसले पृथ्वीलाई नष्‍ट गर्छन् तिनीहरू विनाश हुनेथियो।” —Bliss, page 76. MBND 51.3

नयाँ र अझै गहिरो जोशसाथ मिलरले अगमवाणीहरूको जाँच गरी नै रहे, धेरै रातहरू साथ-साथै दिनहरू त्यो कुराको अध्ययनका लागि खर्च गरे जुन अहिले यस्तो भयङ्‌कर महत्‍व र अति नै आकर्षक चाहना भएको देखा पऱ्यो। दानिएल आठ अध्यायमा २३०० दिनहरूको आरम्भ हुने स्थानको कुनै निशाना समेत पाउन सकेनन्, गब्रिएल स्‍वर्गदूतले दानिएललाई दर्शन बुझाउने आज्ञा पाए तापनि केवल एक अपूर्ण वर्णन दिइएको थियो। जब अगमवक्ताले चर्चमा आउने डरलाग्दो सतावटको दर्शन देखे तब तिनको शारीरिक बल हटेर गयो। तिनले त्योभन्दा धेरै सहन सकेनन्, र स्‍वर्गदूतले तिनलाई केही समयसम्म छोडे़। दानिएल बेहोश भए, र केही दिन बिरामी भए। तिनी भन्छन्, “अनि त्यस दर्शनको कारणले म अवाक् भएँ; तर त्यसलाई बुझ्‍ने कोही भएन।” MBND 52.1

तापनि परमेश्‍‍वरले उहाँका समाचारवाहकलाई आदेश दिनुभएको थियो: “यस मानिसलाई दर्शनको अर्थ बताइदेऊ।” यो आदेश पूरा हुनैपर्नेथियो। यसप्रति आज्ञाकारी भई केही समयपछि स्‍वर्गदूत दानिएलकहाँ यसो भन्दै फर्केर आए: “अहिले म तिमीलाई अन्तर्ज्ञान र समझ दिन आएको छु।” “त्यसकारण सन्देशलाई विचार गर र दर्शन बुझ।” दानिएल ८:२७, १६; ९:२२, २३, २५-२७। आठ अध्यायको दर्शनमा एक महत्‍वपूर्ण कुरा थियो जुन वर्णन गरिएको थिएन, अर्थात् २३०० दिनहरूका समय अवधि; स्‍वर्गदूतले तिनको स्पष्‍टीकरण पुनः आरम्भ गर्दै विशेष समयको प्रसङ्‌गमा ध्यानाकर्षण गरे: MBND 52.2

“तिम्रा मानिसहरू र तिम्रो पवित्र शहरका निम्ति सत्तरी हप्‍ता तोकिएका छन्— ... यसकारण जानिराख, र बुझ: यरूशलेमलाई पुनर्स्थापित गर्ने र निर्माण गर्ने आज्ञा निस्केको समयदेखि ‘मसीह’ ती प्रधानको समयसम्म सात हप्‍ता र बासट्ठी हप्‍ता हुनेछन्; अँ, ती सङ्कष्‍टका समयहरूमा सड़क र पर्खाल फेरि बनाइनेछ। अनि बासट्ठी हप्‍तापछि ‘मसीह’ काटिनुहुनेछ, तर आफ्‍ना निम्ति होइन; ... अनि एक हप्‍ताका निम्ति त्यसले धेरैसँग एउटा वाचा पक्‍का गर्नेछ; अनि त्यस हप्‍ताको बीचैमा त्यसले बलिदान र भेटी बन्द गरिदिनेछ।” (KJV)। MBND 53.1

स्‍वर्गदूत दानिएलकहाँ त्यो बुँदा स्पष्‍ट पार्ने निश्‍चित उद्देश्‍‍यसाथ पठाइएको थियो जुन आठ अध्यायको “दुई हजार तीन सय दिनसम्म; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ” भन्‍ने समयसँग सम्बन्धित भनाइको दर्शन बुझ्‍न असफल भएका थिए। दानिएललाई “सन्देशलाई विचार गर र दर्शन बुझ” भन्‍ने आदेश दिएपछि स्‍वर्गदूतको प्रथम शब्दहरू यही थिए “तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्ति ... सत्तरी ‘सातहरू’ को आदेश तोकिएको छ।” यहाँ अनुवाद भएको “तोकिएको” शब्दले वास्तवमा “छुट्याइएको” भनी देखाउँछ। स्‍वर्गदूतद्वारा छुट्याउने घोषणा गरेका सत्तरी सातहरूले ४९० वर्षहरूलाई प्रतिनिधित्‍व गरी विशेष गरेर यहूदीहरूको निम्ति छुट्याइएका थिए। तर ती कहाँबाट छुट्याइएका थिए? जसरी आठ अध्यायमा २३०० दिनहरूको समय अवधि मात्र उल्‍लेख गरिएको छ, त्यही अवधिबाट नै सत्तरी सातहरू छुट्याइएको हुनुपर्छ; त्यसकारण सत्तरी सातहरू २३०० दिनहरूका एक भाग हुनुपर्छ, र ती दुई अवधिहरूको आरम्भ एउटै समयमा हुनुपर्छ। स्‍वर्गदूतद्वारा घोषण गरियो कि सत्तरी सातहरूको मिति यरूशलेमको पुनर्स्थापना र पुनर्निर्माण गर्ने आदेश जारी गरेको समयदेखि आरम्भ भएको थियो। यदि यो आदेशको मिति पत्ता लगाउन सकिएको भए, त्यसपछि २३०० दिनहरूको महान् अवधिको लागि आरम्भ स्थान पनि निश्‍चित हुन सक्थ्यो। MBND 53.2

एज्रा सात अध्यायमा आदेश पाइन्छ। पद १२-२६। यो अति पूर्ण तरिकाले फारसको राजा अर्तासास्तबाट ४५७ बि.सी. मा जारी भएको थियो। तर एज्रा ६:१४मा यरूशलेममा भएको परमप्रभुको घर “फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका उर्दी [आदेश]-अनुसार” निर्माण भएको कुरा बताइएको छ। यी तीन राजाहरूले आरम्भ गर्ने, पुनर्निश्‍चित गर्ने र पूरा गर्ने आदेश जारी गरेर २३०० वर्षको अगमवाणीको आरम्भ चिनाउने आवश्‍‍यक पूर्णता प्रकट गऱ्यो। आदेश लागू भएको समय ४५७ बि.सी. आदेशको आरम्भ मितिको रूपमा लिँदा सत्तरी हप्‍ताहरूको प्रत्येक अगमवाणीका विशेषताहरू पूरा भएका देखिए। MBND 53.3

“यरूशलेमको पुनर्स्थापना र पुनर्निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि अभिषिक्त जन, अर्थात् एक शासक नआउञ्‍जेलसम्म सात ‘सातहरू’ र बयसट्ठी ‘सातहरू’ हुनेछन्।”—अर्थात्, उनन्सत्तरी हप्‍ताहरू, वा ४८३ वर्षहरू। अर्तासास्तको आदेश ४५७को शरद् ऋतुमा लागू भएको थियो। यो मितिदेखि ४८३ वर्षहरू ए.डी. २७सम्म पुग्छ। (एपेण्डिक्समा हेर्नुहोस्)। त्यो समयमा यो अगमवाणी पूरा भयो। “मसीह” भन्‍ने शब्दले “अभिषिक्त जन” भनी देखाउँछ। २७ ए.डी. को शरद् ऋतुमा ख्रीष्‍टले यूहन्‍नाद्वारा बप्‍तिस्मा लिनुभयो र पवित्र आत्माद्वारा अभिषिक्त हुनुभयो। प्रेरित पत्रुस गवाही दिन्छन् कि “परमेश्‍‍वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो।” प्रेरित १०:३८। अनि मुक्तिदाता आफैले घोषणा गर्नुभयो: “परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ।” लूका ४:१८। उहाँको बप्‍तिस्मापछि उहाँ गालीलमा जानुभयो, “परमेश्‍‍वरको राज्यको सुसमाचार प्रचार गर्दै ... भन्‍नुभयो: ‘समय पूरा भएको छ।’” मर्कूस १:१४, १५ (KJV)। MBND 54.1

“धेरै जनासित एक ‘सात’ को लागि तिनले एउटा करारको सदर गर्नेछन्।” त्यो ‘सात’-ले सत्तरी हप्‍ताको अन्तिम हप्‍तालाई देखाउँछ; ती विशेष गरेर यहूदीहरूलाई प्रदान गरिएको अन्तिम सात वर्षहरू हुन्। त्यस समयमा २७ ए.डी. देखि ३४ ए.डी. सम्म पहिले त ख्रीष्‍टद्वारा र पछिचाहिँ उहाँका चेलाहरूद्वारा सुसमाचारको निमन्‍त्रणा विशेष गरी यहूदीहरूलाई प्रदान गरिएको थियो। जब प्रेरितहरू राज्यको सुसमाचारसाथ गए, तब मुक्तिदाताको आदेश यस्तो थियो: “अन्यजातिहरूका माझमा नजाओ, र सामरीहरूका सहरमा नपस। तर इस्राएल जातिका हराएका भेड़ाहरूकहाँ जाओ।” मत्ती १०:५, ६। MBND 54.2

“‘सात’-को बीचमा तिनले बलिदान र भेटीलाई समाप्‍त गर्नेछन्।” ए.डी. ३१मा उहाँको बप्‍तिस्मा भएको साढे तीन वर्षपछि हाम्रा प्रभु क्रूसमा टाँगिनुभयो। महान् बलिदान कलवरीमा अर्पण हुनुका साथै चार हजार वर्षसम्म परमेश्‍‍वरको थुमालाई प्रतिनिधित्‍व गरिरहेको भेटी प्रणालीको अन्त भयो। नकलीको सकल आयो, र विधि-विधान प्रणाली तथा बलिदानहरू र भेटीहरू अन्त्य हुनुपर्नेथियो। MBND 54.3

विशेष गरी यहूदीहरूलाई प्रदान गरिएको सत्तरी हप्‍ताहरू वा ४९० वर्षहरू ३४ ए.डी. मा अन्त भएको हामीले देख्यौं। त्यो समयमा यहूदीहरूको महासभाको कार्यले स्टिफन सहिद हुनेद्वारा र ख्रीष्‍टका चेलाहरूलाई सतावटद्वारा राष्‍ट्रव्यापीरूपमा सुसमाचारको इन्कार निश्‍चित भयो। त्यसपछि मुक्तिको सन्देश चुनिएका मानिसहरूमा मात्र सीमित भएन, र यो संसारलाई दिइयो। जुन चेलाहरू सतावटको कारणले यरूशलेमदेखि भाग्‍न बाध्य भए, तिनीहरूले “चारैपट्टि गएर वचन प्रचार गरे।” “फिलिप तल सामरियाको शहरमा गए, र तिनीहरूलाई ‘ख्रीष्‍ट’ प्रचार गरे।” (KJV)। दैवी अगुवाइद्वारा पत्रुसले परमेश्‍‍वरको भय मान्‍ने कैसरियाको कप्‍तान कर्नेलियसलाई सुसमाचार खोलिदिए; र जोशिलो पावल ख्रीष्‍टको विश्‍‍वासमा आएर सुभ खबर बोकेर “अन्यजातिहरूकहाँ टाढ़ा-टाढ़ा” जाने आदेश दिइयो। प्रेरित ८:४, ५; २२:२१। MBND 54.4

अहिलेसम्म अगमवाणीहरूको प्रत्येक दाबी स्पष्‍टरूपले पूरा भयो, सत्तरी हप्‍ताको आरम्भ निसन्देह ४५७ बि.सी. मा निर्धारण भयो, र ३४ ए.डी. मा त्यो समाप्‍त भयो। त्यो विवरणबाट २३०० दिनहरूको अन्त थाहा पाउन कठिन छैन। सत्तरी सातहरू—४९० दिनहरू—२३००बाट छुट्याउँदा १८१० दिन बाँकी रह्यो। ४९० दिनहरूपछि पनि १८१० दिनहरू अझै पूरा हुन बाँकी नै थिए। १८१० वर्षहरू ३४ ए.डी. देखि १८४४सम्म पुग्दछ। परिणाम स्‍वरूप दानिएल ८:१४को अगमवाणीको २३०० दिनहरू १८४४मा अन्त हुन्छ। यो महान् अगमवाणी अवधिको समाप्‍तिमा परमेश्‍‍वरको स्‍वर्गदूतको गवाहीअनुसार “पवित्रस्थान शुद्ध पारिनेछ।” यसरी पवित्रस्थान शुद्ध हुने समयलाई चाहिँ प्रायः विश्‍‍वव्यापीरूपमा दोस्रो आगमनमा हुने घटना भनी विश्‍‍वास गरिन्थ्यो, त्यही कुरा अब निश्‍चितरूपमा पत्ता लगाइयो। MBND 55.1

मिलर र तिनका सहकर्मीहरूले २३०० दिनहरू १८४४को बसन्त ऋतुमा पूरा हुन्छ भनी पहिले विश्‍‍वास गरे, जबकि अगमवाणीले त्यही वर्षको शरद् ऋतुतर्फ देखाउँछ। (एपेण्डिक्समा हेर्नुहोस्)। उक्त बुँदालाई गलत अर्थ लगाउँदा अघिल्‍लो मिति परमप्रभुको आगमनको समयको रूपमा निर्धारण गर्नेहरूमा निराश र सन्ताप ल्यायो। तर यसले २३०० दिनहरू १८४४मा समाप्‍त हुने कुरा र पवित्रस्थान शुद्ध पारिने घटनाको प्रतिनिधित्‍व गर्ने त्यो महान् घटना घट्‍नै पर्ने कुरा प्रस्तुत गरेको प्रमाणको सामर्थ्यलाई अलिकति पनि असर गरेन। MBND 56.1

जब तिनले धर्मशास्‍‍त्रचाहिँ परमेश्‍‍वरबाट भएको प्रकाश थियो भनी प्रमाण दिनका लागि त्यसको अध्ययन आरम्भ गरे, तब मिलर जुन निष्कर्षमा पुगे त्यसमा पुग्‍ने उनको कुनै पनि उद्देश्‍‍य छँदै थिएन। तिनलाई आफ्‍नै अनुसन्धानको परिणाममा विश्‍‍वास गर्न गाह्रो भयो। तर धर्मशास्‍‍त्रको प्रमाण असाध्यै स्पष्‍ट थियो कि त्यसलाई अलग पार्नै सकेनन्। MBND 56.2

तिनले दुई वर्षसम्म बाइबल अध्ययन गरेका थिए, जबकि १८१८मा तिनले गम्भीर महसुस गरे कि लगभग पच्‍चीस वर्षमा ख्रीष्‍ट उहाँका मानिसहरूको मुक्तिका लागि आउनुहुनेछ। मिलर भन्छन्, “मैले त्यो आनन्दको विषयमा भन्‍नै पर्दैन जुन हर्षमय आशाको दृश्‍‍यले मेरो हृदय भरियो, नता मुक्ति पाएकाहरूका आनन्दहरूमा सहभागी हुने मेरो प्राणको उत्सुक चाहनाको कुरा नै भन्‍नुपर्छ। अब बाइबल मेरो निम्ति एउटा नयाँ पुस्तक भयो। त्यो निश्‍चय नै बुद्धिको उत्सव हो; त्यसका शिक्षाहरूमध्ये जुन कुरा मेरा लागि अन्धकार, रहस्यमय वा अस्पष्‍ट थियो, त्यसको पवित्र पानाहरूबाट अहिले उदाएको स्पष्‍ट ज्योति सामु त्यो नै मेरो दिमागबाट हटेर गयो, ओहो, कति उज्‍ज्‍वल र महिमित सत्यता देखियो! पहिले मैले वचनमा पाएका सबै असङ्‌गतिहरू र असमान्तरहरू हटेर गयो; र त्यहाँ धेरै भागहरूमा पूर्ण समझ थियो भनी म सन्तुष्‍ट नभए तापनि मेरो अघिको अन्धकार दिमागलाई उज्‍ज्‍वल पार्नको निम्ति यसबाट धेरै ज्योति चम्केको थियो, कि त्यही धर्मशास्‍‍त्र अध्ययन गर्दा मलाई हर्षको महसुस भयो जुन मैले यसका शिक्षाहरूबाट प्राप्‍त गर्न सकिन्छ भनी सोचेको पनि थिइनँ।” —Bliss, pages 76, 77. MBND 56.3

“धर्मशास्‍‍त्रमा यस्ता महत्‍वपूर्ण घटनाहरू पूर्ववाणी गरिएका थिए जुन छोटो समय अवधिमा पूरा हुनुपर्नेथिए भन्‍ने गम्भीर विश्‍‍वाससहित मेरो आफ्‍नै दिमागलाई प्रभावित पार्ने प्रमाणको दृष्‍टिकोणले संसारप्रति मेरो कर्तव्यको सन्दर्भमा शक्तिशाली प्रश्‍न आयो।” —Bliss, page 81. तिनले प्राप्‍त गरेको ज्योति अरूलाई पनि दिनुपर्छ भन्‍ने कर्तव्य तिनले महसुस गरे। भक्तिहीन मानिसले तिनको कार्यमा बाधा ल्याउँछ भन्‍ने तिनलाई लाग्यो, तर तिनी बिश्‍‍वस्त भए कि सम्पूर्ण इसाईहरू मुक्तिदातालाई भेट्‍ने आशामा आनन्दित हुनेछन् जसलाई तिनीहरूले प्रेम गर्छन् भनी दाबी गर्दछन्। यति चाँडो पूरा हुन गइरहेको तिनीहरूको महिमित उद्धारको आशाको बडो आनन्दमा धेरै जनाले त्यो सिद्धान्तको विषयमा सत्यता प्रकट गराउन पर्याप्‍तरूपले धर्मशास्‍‍त्र खोजी नगरीकन स्‍वीकार गर्छन् कि भन्‍ने कुरामा चाहिँ तिनलाई डर लागेको थियो। त्यसकारण तिनी त्यो प्रकट गर्न दुविधामा परे, यदि तिनी गलत थिए भने त तिनी अरूलाई कुबाटोमा लाने माध्यम मात्र हुनेथिए। यसरी तिनले आफ्‍नो निष्कर्षलाई समर्थन गर्ने प्रमाणहरूलाई पुनर्विचार गर्न लागे, र तिनको दिमागमा प्रकट भएको प्रत्येक कठिनाइ होसियारीसाथ मनन गर्न थाले। तिनले थाहा पाए कि जसरी घामको किरणको अघि तुवाँलो हटेर जान्छ त्यसरी नै परमेश्‍‍वरको वचनको ज्योतिको सामु बाधाहरू हटेर गए। यसरी पाँच वर्षहरू बिताएपछि तिनी आफ्‍नो विश्‍‍वास सठीक छ भन्‍ने कुरामा पूर्ण विश्‍‍वस्त भए। MBND 56.4

अनि अब धर्मशास्‍‍त्रमा स्पष्‍ट सिकाइएको तिनको विश्‍‍वास अरूलाई पनि सुनाउनुपर्छ भन्‍ने कुराले तिनमा नौलो सामर्थ्यसाथ दबाब दिइएको थियो। तिनले भने, “जब म मेरो काममा थिएँ, तब यो कुरा मेरो कानमा निरन्तर बजिरहेको थियो, ‘जाओ र संसारलाई तिनीहरूको खतरा बताइदेऊ।’ यो पद निरन्तर मेरो मनमा आइरह्यो: ‘जब म दुष्‍ट मानिसलाई भन्छु, “ए दुष्‍ट मानिस, तँ निश्‍चय नै मर्नेछस्,” र यदि तैंले त्यसलाई आफ्‍नो चाल त्यागोस् भनेर चेताउनी दिएनस् भने त्यो दुष्‍ट मानिस आफ्‍नो पापको कारण मर्नेछ, र म तँलाई त्यसका रगतको जवाफदेही तुल्याउनेछु। तर यदि त्यसले आफ्‍नो चाल त्यागोस् भनेर तैंले त्यस दुष्‍ट मानिसलाई चेताउनी दिइस् र त्यसले आफ्‍नो चाल त्यागेन भने, त्यो आफ्‍नो पापको कारण मर्नेछ, तर तैंले आफूलाई बचाउनेछस्।’ इजकिएल ३३:८, ९। यदि दुष्‍टहरूलाई प्रभावशालीरूपमा चेतावनी पाए भने तिनीहरूका भीडहरूले पश्‍चात्ताप गर्नेथिए जस्तो मलाई लाग्यो; र यदि तिनीहरूलाई चेतावनी दिइनँ भने तिनीहरूको रगतको लेखा मबाट लिनेछ।” —Bliss, page 92. MBND 57.1

तिनले मौका पाएअनुसार आफ्‍ना विश्‍‍वासहरू गुप्‍तमा प्रकट गर्न थाले, र तिनी प्रार्थना गर्दै थिए कि कुनै प्रचारकमा यस्तो अनुभूति होस् र आफैलाई ती घोषणा गर्नमा अर्पण गरून्। तर तिनले त्यो अनुभूति हटाउन सकेनन् कि तिनको पनि चेतावनी दिने व्यक्तिगत कर्तव्य थियो। ती शब्दहरू तिनको दिमागमा बारम्बार आइरह्यो: “जाओ र त्यो संसारलाई बताओ; तिनीहरूको रगतको लेखा म तिमीबाट लिनेछु।” तिनले नौ वर्षसम्म पर्खे, बोझले अझै पनि तिनको प्राणलाई दबाब दिइरहेको थियो, अन्तमा १८१३मा पहिलो पल्ट तिनले आफ्‍नो विश्‍‍वासको कारण सार्वजनिक रूपमा प्रकट गरे। MBND 57.2

जसरी एलीशा खेतमा जोतिरहेका बेलामा अगमवक्ताको कार्यको समर्पणको खास्टो प्राप्‍त गर्न बोलावट भएका थिए, त्यसरी नै विलियम मिलरलाई पनि आफ्‍नो हलो त्याग्‍न र मानिसहरूका सामु परमेश्‍‍वरको राज्यका रहस्यहरू खोलिदिन बोलावट भए। तिनका स्रोताहरूलाई एक खुड्‍किलादेखि अर्को खुड्‍किलासम्म अगुवाइ गरी अगमवाणीका अवधिद्वारा ख्रीष्‍टको दोस्रो आगमनसम्म पुऱ्याउने तिनको काममा कम्पसाथ प्रवेश गरे। जब आफ्‍ना वचनहरूद्वारा व्यापकरूपमा चासो देखाएको तिनले देखे तब प्रत्येक प्रयत्‍नमा तिनले बल र साहस प्राप्‍त गरे। MBND 58.1

तिनले आफ्‍ना दाजुभाइको अनुरोधरूपी शब्दहरूमा मात्र परमेश्‍‍वरको बोलावट सुने, त्यसकारण मिलरले आफ्‍नो विश्‍‍वास सार्वजनिक रूपमा प्रकट गर्ने सहमति जनाए। त्यो समयमा तिनको उमेर पचास वर्ष पुगेको थियो र सार्वजनिक रूपमा भाषण गर्ने उनको बानी थिएन, र तिनलाई तिनको अगि राखिएको कार्यप्रतिको अयोग्य अनुभूतिको बोझले दबायो। तर सुरुदेखि नै मानिसहरूको मुक्तिको कार्यमा तिनको परिश्रमहरू अचम्मलाग्दो तरिकाले आशिषित भयो। तिनको प्रथम प्रवचनले आत्मिक जागृति ल्यायो यहाँसम्म कि तेह्र परिवारमा दुई जनाबाहेक अरू सबै जना परिवर्तन भए। तुरुन्तै तिनलाई अन्य ठाउँहरूमा प्रवचन दिने आग्रह गर्न थालियो, र प्रायः प्रत्येक ठाउँमा तिनको कार्यले परमेश्‍‍वरको कामप्रति जागृति ल्यायो। पापीहरू परिवर्तन भए, इसाईहरू अझै गम्भीर समर्पण गर्न उत्साहित भए, प्रकृतिवादीहरू र भक्तहीनहरू बाइबलका सत्यताहरू र इसाई धर्म स्‍वीकार गर्न उत्प्रेरित भए। जसको माझमा तिनले काम गरे तिनीहरूको गवाही यस्तो थियो: “दिमागहरूको एक दर्जालाई तिनले प्रभाव पारेका छन् जसलाई अरू मानिसहरूले प्रभाव पार्न सक्दैनन्।” —Bliss, page 138. तिनको प्रचार जनताको दिमागलाई धर्मको महान् कुराहरूमा सचेत गराउने र त्यो युगको बढ्‍दो सांसारिकपना र भोगविलासीतालाई रोक्‍ने खालको थियो। MBND 58.2

तिनको प्रचारको परिणाम स्‍वरूप प्रायः प्रत्येक सहरमा कम्तीमा चालिसभन्दा धेरै र कतिपय सहरहरूमा सयौँ विश्‍‍वासीहरू भए। कति ठाउँहरूमा लगभग सबै संस्थाका प्रोटेस्टेन्ट चर्चहरू तिनको लागि खुला हुन्थे, र केही झुण्डहरूका प्रचारकहरूले तिनलाई प्रचार गर्ने निमन्‍त्रणा गर्दथे। तिनको अटल नियम यस्तो थियो कि यदि कसैले निमन्‍त्रणा गरेको छैन भने त्यो ठाउँमा काम गर्न नजाने भन्‍ने थियो, तापनि तिनले चाँडै नै थाहा पाए कि तिनका अनुरोधहरूमध्ये आधा पनि पूरा गर्न सकेनन्। जसले दोस्रो आगमनको ठ्याक्‍कै समयावधिको विश्‍‍वासलाई स्‍वीकार गरेनन्, तिनीहरू धेरै जनाले उहाँको आगमनको निश्‍चयता र निकटता र तिनीहरूको तयारीको आवश्‍‍यकताको अनुभूति गरे। कति वटा ठूला सहरहरूमा तिनको कार्य अति नै प्रभावकारी भयो। जाँड़ रक्सी पसलेहरूले व्यापार त्यागे र तिनीहरूको पसललाई सेवा गर्ने कोठाहरू बनाए; तास खेल्‍ने ओड़ारहरू वा ठाउँहरू भत्काए; नास्तिकहरू, प्रकृतिवादीहरू, विश्‍‍ववादीहरू र अत्यन्त्यै दुष्‍ट व्यभिचारीहरू पनि सुध्रिए, तिनीहरूमध्ये कति जना सेवाको घरमा वर्षौसम्म प्रवेश गरेका थिएनन्। प्रार्थना सभाहरू विभिन्‍न संस्थाद्वारा स्थापना गरिएका थिए, विभिन्‍न झुप्रोहरूमा लगभग घण्टैपिच्छे व्यापारीहरू दिनमा प्रार्थना र प्रशंसाको लागि भेला हुन्थे। त्यहाँ अत्याधिक उत्तेजना थिएन, तर प्रायः एक विश्‍‍वव्यापी गम्भीरता मानिसहरूका दिमागहरूमा थियो। अघिका सुधारकहरूको जस्तै तिनको कामले भावनालाई मात्र उत्तेजना गरेन तर समझशक्तिलाई प्रभाव पार्ने र विवेकलाई ब्यूँझाउने काम गऱ्यो। MBND 59.1

१८३३मा मिलरले बप्‍तिस चर्चबाट एक प्रचारकको अनुमति पत्र पाए, तिनी त्यसकै एक सदस्य थिए। तिनको संस्थाको धेरै जसो प्रचारकहरूले पनि तिनको कार्यमा समर्थन जनाए, र तिनीहरूहरूको औपचारिक अनुमतिद्वारा तिनले आफ्‍ना कामहरूमा निरन्तरता दिए। तिनको व्यक्तिगत कार्यहरू विशेष गरी नयाँ बेलायत र मध्य राज्यहरूमा सीमित भए तापनि तिनले निरन्तर यात्रा र प्रचार गरे। केही वर्षसम्म तिनका खर्चहरू आफ्‍नै व्यक्तिगत गोजीबाट भयो, र त्यसपछि पनि तिनलाई निमन्‍त्रणा गरिएका ठाउँमा जान पर्याप्‍त रकम तिनले कहिले पनि पाउँदैनथे। यसरी तिनको सार्वजनिक परिश्रम अर्थिक फाइदाबाट बञ्‍चित भयो र तिनको सम्पत्ति गह्रुङ्‌गो बोझले लादिएको थियो जुन बिस्तारै तिनको जीवनको यो अवधिभरिमा घट्‍दै गयो। तिनी ठूलो परिवारका एक पिता थिए, तर जसरी तिनीहरू सबै कमखर्ची र उद्योगी थिए त्यसरी तिनको खेतले तिनीहरूका साथै तिनको आफ्‍नै जिविकाको लागि पर्याप्‍त हुन्थ्यो। MBND 59.2

मिलरले सार्वजनिकरूपमा ख्रीष्‍टको निकट आगमनका प्रमाणहरू प्रचार गर्न थालेको दुई वर्ष भएको थियो त्यसपछि १८३३मा अन्तिम चिन्हहरू देखा परे जुन कुराहरू मुक्तिदाताले उहाँको दोस्रो आगमनको चिन्हको रूपमा प्रतिज्ञा गर्नुभएको थियो। येशूले भन्‍नुभयो: “ताराहरू आकाशबाट खस्‍नेछन्।” मत्ती २४:२९। अनि जब तिनले परमेश्‍‍वरको दिनलाई घोषणा गर्ने दृश्‍‍यहरू दर्शनमा देखे तब प्रकाशमा यूहन्‍नाले घोषणा गरे: “अनि अञ्‍जीरको रूखलाई बतासले हल्‍लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे।” प्रकाश ६:१३। १८३३ नोभेम्बर १३मा अधिक मात्रामा उल्का ताराहरू पानी परेझैँ खसे, त्यति बेला नै यो अगमवाणी अचम्मलाग्दो र हृदयस्पर्शीरूपमा पूरा भयो। त्योचाहिँ तारा खसाइको अत्यन्त्यै विस्तृत र सबभन्दा अचम्मलाग्दो प्रदर्शन थियो जुन यस्तो कहिल्यै पनि अभिलेखिकरण गरिएको छैन; “संयुक्त राज्यभरि सम्पूर्ण वायुमण्डलमा घण्टौँसम्म अग्‍निमय हलचल भइरह्यो! त्यसको प्रथम स्थापनादेखि यता यो देशमा कहिल्यै पनि आकाशमा भएको त्यस्तो असाधारण दृश्‍‍य देखिएको थिएन, जुन कुरा समाजका एक वर्गले अत्यन्त्यै आश्‍चर्यसाथ हेऱ्यो भने अर्कोले चाहिँ अति डर र त्राससाथ हेऱ्यो।” “यसको भव्य र आकर्षक सुन्दरता धेरै दिमागहरूमा अझै पनि रहिरहेको थियो। ... उल्का ताराहरू पृथ्वीतिर यति बाक्‍लो गरी झरे कि पानी पनि कहिल्यै त्यति बाक्‍लो परेको थिएन; पूर्व, पश्‍चिम, उत्तर र दक्षिण सबैतिर त्यत्तिकै थियो। शब्दमा भन्‍नुपर्दा सम्पूर्ण आकाश नै हलचल भएजस्तै देखिन्थ्यो। ... अध्यापक सिलिमनको दैनिकीले वर्णन गरेमुताबिक समस्त उत्तर अमेरिकामा त्यो देखिन्थ्यो। ... बिहानको दुई बजेदेखि मध्य दिनसम्म आकाश पूर्णरूपले सफा र बादलहीन थियो, तिरिमिरि पार्ने चम्किलो ज्योतिहरू समस्त आकाशमा चलिरहे।” —R. M. Devens, American Progress; or, The Great Events of the Greatest Century, ch. 28, pars. 1-5. MBND 60.1

“त्यो भव्य प्रदर्शनको महिमालाई निश्‍चय नै कुनै भाषामा वर्णन गर्न सकिँदैन; ... प्रत्यक्षदर्शीबाहेक अरू कसैले पनि त्यसको महिमाको पर्याप्‍त कल्पना गर्न सक्दैन। सम्पूर्ण ताराले सजिएको आकाश एक नजिकको सर्वोच्‍च बिन्दुमा गोलबध्द भएका छन् जस्तो लाग्थ्यो, र एकै साथ क्षितिजको प्रत्येक कुनातर्फ बिजुलीको वेगमा झरिरहेका थिए; तापनि ती ताराहरू सिद्धिएका थिएनन्—हजारौँ-हजार ताराहरू वेगवानसाथ खस्दथे मानौं तिनीहरू त्यसैका लागि सृष्‍टि भएका थिए।” —F. Reed, in the Christian Advocate and Journal, Dec. 13, 1833. “अर्थात् शक्तिशाली हावाले हल्‍लाउँदा अञ्‍जीरको रूखबाट फल झरेझैँ दृश्‍‍य त्यहाँ थियो।” —“The Old Countryman,” in Portland Evening Advertiser, Nov. 26, 1833. MBND 60.2

१८३३ नोभेम्बर १४को न्यु योर्क दैनिक वाणिज्य पत्रिकामा यो अचम्मलाग्दो असाधारण दृश्‍‍यको विषयमा एक लामो लेख प्रकाशित भएको थियो: “हिजो बिहान घटेको घटना कुनै पनि दार्शनिक वा पण्डितले व्यक्त गरेको वा अभिलेख गरेको छ जस्तो मलाई लाग्दैन। यदि हामी ताराहरू खसेको कुरा एक मात्र वास्तविक रूपमा सत्य हुन सकिने अर्थ अर्थात् उल्का ताराहरूको रूपमा बुझ्‍न दुःख गर्छौं भने, एउटा अगमवक्ताले अठार सय वर्ष अगाड़ि यसको विषयमा ठ्याक्‍कै भविष्यवाणी गरेका थिए।” MBND 61.1

यसरी उहाँको आगमनको चिन्हहरूमध्ये त्योचाहिँ अन्तिम प्रदर्शन भयो, जसको विषयमा येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो: “त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्‍नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान।” मत्ती २४:३३। यी चिन्हहरूपछि यूहन्‍नाले महान् घटना आउनै लागेझैँ देखे, आकाश चर्मपत्रझैँ बेह्रिएर गयो, जबकि भूकम्प भयो, पहाड़हरू र टापूहरू तिनीहरूको ठाउँबाट हटेर गए, र दुष्‍टहरू आतङ्‌कित भएर मानिसको पुत्रको उपस्थितिबाट भाग्‍न खोजे। प्रकाश ६:१२-१७। MBND 61.2

धेरै जना जसले ताराहरू खसेका देखे, यसलाई “त्यो महान् र डरलाग्दो दिनको एक भयानक सङ्केत अर्थात् एक निश्‍चित अग्रदूत, एक कृपापूर्ण चिन्ह”-लाई एक आगामी न्यायको घोषणाको रूपमा हेरे। —“The Old Countryman,” in Portland Evening Advertiser, Nov. 26, 1833. यसरी मानिसहरूको दिमागलाई अगमवाणीको पूर्णतामा केन्द्रित गरियो, र धेरै जनाले दोस्रो आगमनको चेतावनीलाई ध्यान दिन लागे। MBND 61.3

सन् १८४०मा अर्को आश्‍चर्यजनक अगमवाणीको पूर्णताले व्यापक चासो तथा उत्तेजित गरायो। दुई वर्ष अगाड़ि दोस्रो आगमनको प्रचारकको प्रमुख अगुवाहरूमध्ये एक जना जोशिया लिचले अटमन साम्राज्यको पतनको पूर्ववाणी गर्दै प्रकाश ९को स्पष्‍टिकरणलाई प्रकाशित गरे। तिनको गन्तीअनुसार यो शक्ति “१८४० ए.डी. को अगस्ट महिनाभरिमा नष्‍ट” हुनुपर्नेथियो; त्यो घटना सम्पन्‍न हुनुभन्दा केही दिन अगाड़ि मात्रै तिनले यस्तो लेखेका थिए: “टर्क्सको अनुमतिद्वारा डिकोजेस सिंहासन ग्रहण गर्नुभन्दा अघि यो १५० वर्षहरूको पहिलो अवधि ठ्याक्‍कै पूरा भयो, र ३९१ वर्षहरू र पन्ध्र दिनहरू पहिलो अवधिको अन्तमा आरम्भ भयो भने, १८४०को अगस्ट एघारौँ त्यो समयको अन्त्य हुन्छ तब अटमन शक्तिको कन्स्ट्‌यानटिनोपोलमा विनाश हुने अपेक्षा गर्न सकिन्छ। म विश्‍‍वास गर्छु कि त्यो त्यस्तै हुनेछ।” —Josiah Litch, in Signs of the Times, and Expositor of Prophecy, Aug. 1, 1840. MBND 62.1

त्यही निर्धारित समयमा टर्कीले त्यसका राजदूतहरूद्वारा युरोपसँग सन्धि गाँस्यो र त्यही शक्तिहरूको सुरक्षा ग्रहण गऱ्यो, र यसरी आफैलाई इसाई राज्यहरूको अधीनमा राख्यो। त्यो घटनाले भविष्यवाणी ठीक तरिकाले पूरा गऱ्यो। (एपेण्डिक्स हेर्नुहोस्)। जब यो कुरा थाहा भयो, तब भीडहरू मिलर र तिनका सहकर्मीहरूले अपनाएको अगमवाणी अनुवादका सिद्धान्तहरूको यथार्थताप्रति विश्‍‍वस्त भए, र यसले दोस्रो आगमनको कार्यप्रति एक अत्यन्तै सुन्दर उत्साह प्रदान गऱ्यो। शिक्षित मानिसहरू र पदाधिकारीहरू मिलरसँग प्रचार गर्न र तिनका विश्‍‍वासहरू प्रकाशन गर्न समावेश भए, र १८४०देखि १८४४सम्ममा वेगसाथ कामविस्तृत हुँदै गयो। MBND 63.1

अध्ययन र मननले अनुशासित भएको बलियो मानसिक शक्ति विलियम मिलरले धारण गरेका थिए; यसमा आफैले बुद्धिको स्रोतसँग सम्बन्ध राखेर स्‍वर्गको बुद्धि पनि थपेका थिए। तिनी असल र योग्य व्यक्ति थिए, जहाँ चरित्रको उत्कृष्‍टता र नैतिक श्रेष्‍ठताको मान्यता थियो त्यहाँ त्यो गुणद्वारा आदर र सम्मानको माग राख्‍न सक्थ्यो। इसाई नम्रता र आत्म-संयमको शक्तिसँग हृदयको सत्य दया पनि धारण गर्ने तिनी सबैसँग विचारशील र मिलनसार थिए, अरूको विचार सुन्‍न तत्पर हुन्थे र तिनीहरूका भनाइहरू समीक्षा गर्दथे। परमेश्‍‍वरको वचनद्वारा सबै सिद्धान्तहरू र शिक्षाहरू मनोवेग वा उत्तेजनाविना जाँच गरे, र तिनको असल विचारशक्ति र धर्मशास्‍‍त्रको पूर्ण ज्ञानले तिनी गल्ती खण्डन गर्न र झूट देखाउन सक्षम भए। MBND 63.2

तापनि कठोर विरोधविना तिनको काम अगाड़ि बढेन। जसरी अघिका सुधारकहरूले प्रकट गरेका सत्यताहरू प्रसिद्ध धर्मगुरूहरूले स्‍वीकार गरेनन्, तिनलाई पनि त्यस्तै भयो। जब तिनीहरूले धर्मशास्‍‍त्रहरूद्वारा तिनीहरूको विश्‍‍वास कायम राख्‍न सकेनन्, तब तिनीहरू मानिसका भनाइहरू र सिद्धान्तहरू, पुर्खाहरूका परम्पराहरू अपनाउन बाध्य भए। तर दोस्रो आगमनको सत्यता प्रचारकहरूद्वारा परमेश्‍‍वरको वचनलाई मात्र साक्षीको रूपमा स्‍वीकार गर्दथे। “बाइबल अनि बाइबल मात्र” तिनीहरूका साङ्केतिक शब्द थियो। तिनीहरूका शत्रुहरूका पक्षमा धर्मशास्‍‍त्रहरूको प्रमाण नभएको कारण त्यसको बद्‍ली खिसी र ठट्टा प्रयोग गरे। जसले तिनीहरूको परमप्रभुको आगमनलाई आनन्दसाथ प्रतीक्षा गरे र पवित्र जीवन जिउन सङ्घर्ष गरिरहेको थिए र उहाँको आगमनको लागि अरूलाई तयार हुन अनुरोध गरिरहेका थिए तिनीहरूको अपराध त्यही नै थियो, तिनीहरूको विरुद्धमा समय, सम्पत्ति र प्रतिभा प्रयोग गरे। MBND 63.3

दोस्रो आगमनको विषयबाट मानिसहरूका दिमाग अन्यत्र लैजान निरन्तर प्रयासको लगानी गरिए। ख्रीष्‍टको आगमन र संसारको अन्त्यको विषयका अगमवाणीहरू अध्ययन गर्नु भनेको पाप थियो, यसबाट लज्‍जित हुनुपर्छ भनी प्रस्तुत गरियो। यसरी भएको प्रख्यात प्रचारले परमेश्‍‍वरको वचनमाथि भएको विश्‍‍वास हल्‍लायो। तिनीहरूको शिक्षाले मानिसहरूलाई भक्तिहीन बनायो, र धेरै जनाले आफ्‍नै भक्तिहीनताका अभिलाषाहरूमा हिँड्‍ने मौका पाए। त्यसपछि दुष्‍टको सृजकहरूले यी सबै कुराको दोष दोस्रो आगमनको प्रतीक्षा गर्नेहरूमाथि लगाए। MBND 64.1

विवेकी र ध्यानमग्‍न स्रोताहरूको भीडले भरिएका घरहरूले आकर्षण गरेपनि निन्दा र घृणा गर्नेद्वारा बाहेक मिलरको नाम धार्मिक छापाखानाबाट प्रायः उल्‍लेख हुँदैनथ्यो। धार्मिक शिक्षकहरूको विश्‍‍वासद्वारा असावधान र भक्तिहीनहरू प्रोत्साहित भए, तिनीहरूले तिनका कार्य र तिनीमाथि घृणा थुपार्न घृणाजनक उपाधि, नीच र ईश्‍‍वर निन्दक भनेर हाँसोका साथ गिल्‍ला गरे। कपाल पाकेको मानिस जसले सहरदेखि सहर, सानो सहरदेखि अर्को सानो सहरसम्म आफ्‍नै खर्चमा यात्रा गरे, आरामदायी घर त्यागे र नजिकै आएको न्यायको गम्भीर चेतावनी संसारलाई दिन अविरल परिश्रम गरे तापनि तिनलाई कट्टरपन्थी, झूट बोल्‍ने व्यक्ति र परिकल्पना गर्ने बदमासीको रूपमा उपहास गरे। MBND 64.2

तिनीमाथि थुपारिएको निन्दा, झूटोपन र अत्याचारप्रति सांसारिक छापाखानाले पनि घृणात्मक आपत्ति जनाए। “यस्तो आश्‍चर्यचकित महानता र भयङ्‌कर परिणामहरू उत्पादन गर्ने विषयलाई” यति हल्कारूपमा र कुवाक्‍यसाथ व्यवहार गरियो, त्यसकारण सांसारिक मानिसहरूद्वारा घोषणा गरियो कि यसले “यो सिद्धान्तका प्रचारकहरू र शिष्यहरूका भावनामा चोट पुऱ्याउनु मात्र होइन” तर “न्यायको दिनलाई गिल्‍ला गर्नु, ईश्‍‍वर आफैलाई निन्दा गर्नु र उहाँको न्यायालयको भयलाई तुच्छ ठानु हो।” —Bliss, page 183. MBND 64.3

सबै दुष्‍टताको सृजकले दोस्रो आगमनको सन्देशप्रति बाधापूर्ण असर मात्रै पुऱ्याउन खोजेको थिएन, तर समाचारवाहक आफैलाई नष्‍ट गर्न खोजिरहेको थियो। तिनीहरूका पापलाई हप्काउँदै र तिनीहरूको आत्म-सन्तुष्‍टिलाई अशान्त पार्दै मिलरले स्रोताहरूमाझ धर्मशास्‍‍त्रको सत्यता व्यवहारिक र उपयोगी बनायो, र तिनको सीधा र काट्‍ने वचनहरूले आफूप्रति तिनीहरूको शत्रुता जगायो। तिनको सन्देशप्रति चर्चका सदस्यहरूद्वारा बाधा प्रकट भयो, त्यसकारण तल्‍लो दर्जाहरूलाई अझै व्यापकरूपले अघि बढ्‍न प्रोत्साहन मिल्यो; जब सभाको स्थानबाट जाने बेला भयो तब शत्रुहरूले तिनको ज्यान लिने षड्‌यन्‍त्र रचे। तर पवित्र स्‍वर्गदूतहरू भीडमा थिए, र यी मध्ये एउटाले मानिसको रूपमा परमप्रभुको त्यो दासको हात पक्रेर तिनलाई रिसाहा हुलदङ्गाबाट सुरक्षित स्थानमा लगे। तिनको काम अहिले नै पूरा भइसकेको थिएन, र शैतान र उसको प्रतिनिधिहरू तिनीहरूको उद्देश्‍‍यमा निराश भए। MBND 64.4

सम्पूर्ण विरोध भए तापनि दोस्रो आगमनको कार्यको चाहना निरन्तर बढ्‍दैरह्यो। साठी र सयदेखि समुदायहरू धेरै हजारसम्म भए। विभिन्‍न चर्चहरूमा ठूलो सङ्ख्यामा विश्‍‍वासीहरू थपिए, तर केही समयपछि ती विश्‍‍वासीहरूको विरुद्धमा पनि विरोधको आत्मा प्रकट हुन थाल्यो, र मिलरको विश्‍‍वास अपनाउनेहरूलाई चर्चहरूले सजाय दिन थाले। उक्त कार्यले गर्दा तिनी कलमद्वारा प्रतिक्रिया जनाउन बाध्य भए, सबै इसाई संस्थाहरूलाई सम्बोधन गर्दै यदि तिनको सिद्धान्त झूटो भए तिनलाई धर्मशास्‍‍त्रहरूबाट प्रमाणित गर्न आग्रह गरे। MBND 65.1

तिनले भने, “परमेश्‍‍वरको वचनद्वारा विश्‍‍वास गर्न आज्ञा नभएको कुनचाहिँ कुरामा हामीले विश्‍‍वास गरेका छौं, जसलाई तपाईंहरूले आफैले हाम्रो विश्‍‍वास र व्यवहारको एक मात्र नियम हो भनी स्‍वीकार गर्नहुन्छ? हाम्रो विरुद्धमा पुल्पिट र छापाखानाबाट यस्तो घातक घृणा र दबाब गर्नुपर्ने र हामी [एड्‍भेन्टिस्टहरू—दोस्रो आगमनमा विश्‍‍वास राख्‍नेहरू] तपाईंहरूको चर्चहरू र सेवाहरूबाट बहिष्कृत हुनुपर्ने गरी हामीले के अपराध गरेका छौं र?” “यदि हामी गलत छौं भने कृपया म यो अनुरोध गर्छु कि हाम्रो गल्ती देखाउनुहोस्। हामी गलत छौं भनेर परमेश्‍‍वरको वचनबाट देखाउनुहोस्; हामीलाई धेरै गिल्‍ला गरिएको छ; त्यसले हामीलाई कहिल्यै पनि हाम्रो गल्ती प्रमाणित गर्दैन; परमेश्‍‍वरको वचनले मात्र हाम्रा विश्‍‍वासहरू परिवर्तन गर्न सक्छ। स्‍वेच्छा र प्रार्थनाका साथ हामीले धर्मशास्‍‍त्रमा देखेको प्रमाणअनुसार हाम्रा निष्कर्षहरू स्थापित भइसकेका छन्।” —Bliss, pages 250, 252. MBND 65.2

परमेश्‍‍वरले उहाँको दासहरूद्वारा युगदेखि युगमा संसारमा पठाउनुभएको चेतावनीहरू यस्तै अपत्यार र अविश्‍‍वासका साथ स्‍वीकार गरिएका छन्। जब जलप्रलयभन्दा अघिका मानिसहरूको अपराधले उहाँलाई संसारमा प्रलय ल्याउन प्रोत्साहित गरायो, तब उहाँले पहिले उहाँको उद्देश्‍‍यबारे तिनीहरूलाई थाहा दिनुभयो, ताकि तिनीहरूले आफ्‍नो दुष्‍ट मार्गहरूबाट फर्कने अवसर पाऊन्। एक सय बीस वर्षसम्म पश्‍चात्ताप गर्नु नत्र तिनीहरूको विनाशमा परमेश्‍‍वरको क्रोध प्रकट हुनेछ भन्‍ने चेतावनीहरू तिनीहरूको कानमा बजिरह्यो। तर त्यो सन्देश तिनीहरूलाई व्यर्थको भनाइ जस्तै लाग्यो, र तिनीहरूले त्यसलाई विश्‍‍वास गरेनन्। तिनीहरूको दुष्‍टतामा प्रोत्साहित भई तिनीहरूले परमेश्‍‍वरको समाचारवाहकलाई निन्दा गरे, तिनको निवेदनलाई हल्का ठाने र तिनलाई दुःसाहसीको दोष लगाए। सारा पृथ्वीका महान् मानिसहरूको विरुद्ध एक जना मानिसले खडा हुन कसरी साहस गर्ने? यदि नोआको सन्देश सत्य थियो भने किन सारा संसारले बुझेन र विश्‍‍वास गरेन त? एक व्यक्तिको भनाइ हजारौँको बुद्धिको विरुद्ध भयो! तिनीहरूले चेतावनीहरूमा विश्‍‍वास गर्दैनथे, नता तिनीहरूले जहाजमा आश्रय नै खोजे। MBND 65.3

निन्दकहरूले प्राकृतिक थोकहरू देखाए—अपरिवर्तनीय मौसमको चाल, कहिल्यै पानी नपरेको निलो आकाश, रातको कोमल शीतहरूद्वारा पुनः ताजा भएको हरिया बारीहरूतिर देखाए—र तिनीहरू चिच्याए: “के तिनले दृष्‍टान्त बोलेका त होइनन्?” घृणासाथ तिनीहरूले धार्मिकताको प्रचारकलाई व्यर्थको उत्तेजक हो भनी घोषणा गरे; र तिनीहरू अझै उत्सुकतासाथ आफ्‍नै सुख-विलासको खोजीमा लागे, तिनीहरूका दुष्‍ट मार्गहरू पहिलाभन्दा अझै निर्दिष्‍ट भए। तर तिनीहरूको अविश्‍‍वासले भविष्यवाणी गरिएको घटनालाई बाधा गरेन। परमेश्‍‍वरले तिनीहरूको दुष्‍टतालाई पश्‍चात्तापको लागि प्रशस्त अवसर दिएर लामो समयसम्म सहनुभयो; तर निर्धारित समयमा उहाँको न्याय उहाँको कृपा अस्‍वीकार गर्नेहरूमाथि आयो। MBND 66.1

ख्रीष्‍टले घोषणा गर्नुभएको छ कि उहाँको दोस्रो आगमनमा पनि उस्तै अविश्‍‍वास हुनेछ। जसरी नोआको समयमा “जलप्रलय आएर तिनीहरू सबैलाई स्‍वात्तै बगाइ नलगेसम्म तिनीहरूले थाहा पाएनन्।” हाम्रा मुक्तिदाताको वचनहरूमा “मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।” मत्ती २४:३९। जब परमेश्‍‍वरको नामधारे मानिसहरू संसारसँग मिलिरहेका हुन्छन्, तिनीहरू जस्तै जिउँछन्, निषेधित सुख-विलासमा तिनीहरूसँगै सहभागी हुन्छन्; जब संसारको विलासीता चर्चको विलासीता बन्छ; जब विवाहका घण्टीहरूको आवाज आउँछ; र सबै जना सांसारिक उन्‍नतिको धेरै वर्षहरूको प्रतीक्षा गरिरहेका हुन्छन्—तब अचानक आकाशबाट बिजुली चम्केझैँ, तिनीहरूको उज्‍ज्‍वल योजनाहरू र छलपूर्ण आशाहरूको अन्त हुनेछ। MBND 66.2

जसरी परमेश्‍‍वरले संसारलाई आइरहेको जलप्रलयको चेतावनी दिन उहाँका दास पठाउनुभयो, त्यसरी नै उहाँले अन्तिम न्यायको निकटता थाहा दिनको लागि चुनिएका समाचारवाहकहरू पठाउनुभयो। जसरी नोआको समयका मानिसहरू धार्मिकताको प्रचारकको पूर्ववाणीलाई खिल्‍ली उड़ाउँदै हाँसे, त्यसरी नै मिलरको दिनमा धेरै जना परमेश्‍‍वरको नाम लिने मानिसहरूले पनि चेतावनीका शब्दहरूलाई उपहास गरे। MBND 66.3

अनि किन ख्रीष्‍टको दोस्रो आगमनको सिद्धान्त र प्रचार चर्चहरूलाई यति अप्रिय भयो त? जहाँ दुष्‍टलाई परमप्रभुको आगमनले आतङ्‌क र विनाश ल्याउँछ भने त्यहाँ धर्मीहरूलाई चाहिँ आनन्द र आशाले भरिदिन्छ। सम्पूर्ण युगहरूभरि नै यो महान् सत्यता परमेश्‍‍वरका विश्‍‍वासयोग्य जनहरूको लागि सान्त्‍वना भएको थियो; यो त्यसको लेखक जस्तै, “ठेस लाग्‍ने ढुङ्गा” र “ठक्‍कर खाने चट्टान” उहाँको नामधारे मानिसहरूलाई किन भयो त? हाम्रा परमप्रभु आफैले उहाँका चेलाहरूलाई प्रतिज्ञा गर्नुभएको थियो: “अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु।” यूहन्‍ना १४:३। उही दयालु मुक्तिदाता हुनुहुन्थ्यो जसले उहाँका चेलाहरूको एकलोपन र दुःखमा आशा दिनुभयो, जसरी उहाँ स्‍वर्गमा जानुभयो त्यसरी नै उहाँ फेरि व्यक्तिगतरूपमा आउनुहुनेछ भन्‍ने भरोसा दिलाउने आदेश स्‍वर्गदूतहरूलाई दिनुभएको थियो। जब चेलाहरू तिनीहरूको प्रियलाई अन्तिम झलक हेर्न निरन्तररूपमा आकाशतिर हेर्दै खडा थिए, तब तिनीहरूको ध्यान शब्दहरूतिर आकर्षित भयो: “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्‍वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्‍वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।” प्रेरित १:११। स्‍वर्गदूतहरूको सन्देशले नयाँ आशा प्रदान गऱ्यो। चेलाहरू “बडो आनन्दसाथ यरूशलेम फर्के। अनि तिनीहरू परमेश्‍‍वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे।” लूका २४:५२, ५३। येशू तिनीहरूबाट जानुभयो र तिनीहरू संसारको परीक्षा र कष्‍टहरूसँग सङ्घर्ष गर्न छोडिएका कारणले तिनीहरू आनन्दित भएका थिएनन्, तर स्‍वर्गदूतहरूको भरोसाको कारणले कि उहाँ फेरि आउनुहुनेछ। MBND 67.1

जसरी स्‍वर्गदूतद्वारा बेथलेहेम गोठालाहरूलाई बडो आनन्दको सुसमाचार दिइएको थियो त्यसरी नै अहिले ख्रीष्‍टको आगमनको घोषणा हुनुपर्छ। ज-जसले मुक्तिदातालाई साँच्‍चै नै प्रेम गर्दछन् परमेश्‍‍वरको वचनमा आधारित रहेको घोषणालाई तिनीहरूले हर्षका साथ स्‍वागत गर्छन् कि जसमा तिनीहरूको अनन्त जीवनका आशाहरू केन्द्रित भएका छन् उहाँ आउँदैहुनुहुन्छ, उहाँको पहिलो आगमनमा झैँ अपमानित हुन, घृणित हुन र इन्कार गरिनलाई होइन, तर शक्ति र महिमामा उहाँका मानिसहरूलाई मुक्ति दिनको लागि आउँदैहुनुहुन्छ। ज-जसले मुक्तिदातालाई प्रेम गर्दैनन् तिनीहरूले उहाँ टाढ़ा भएको चाहन्छन्, र स्‍वर्गबाट पठाइएका यो सन्देशप्रति दिक्‍क मान्‍ने र दुश्‍‍मनी प्रकट गर्ने व्यवहारले भन्दा कुनै पनि कुराले चर्चहरू परमेश्‍‍वरबाट टाढ़ा भएको यति स्पष्‍ट प्रमाण दिँदैन। MBND 68.1

ज-जसले दोस्रो आगमनको सिद्धान्तलाई स्‍वीकार गरे तिनीहरूले परमेश्‍‍वरको अघि पश्‍चात्ताप गर्नुपर्ने र नम्र हुनुपर्ने आवश्‍‍यकताको महसुस गरे। धेरै जना लामो समयसम्म ख्रीष्‍ट र संसारको बीचमा अल्झिरहेका थिए; अब तिनीहरूले महसुस गरे कि यो तिनीहरूले निर्णय लिनुपर्ने समय हो। “अनन्तको थोकहरू तिनीहरूलाई स्‍वभाविक र वास्तविकजस्तै लाग्दथ्यो। स्‍वर्ग नजिकै ल्याइएको थियो, र तिनीहरू आफैले परमेश्‍‍वरको सामु दोषी भएको महसुस गरे।” —Bliss, page 146. इसाईहरू नयाँ आत्मिकी जीवनमा जागृत भए। तिनीहरूलाई यस्तो महसुस गराइयो कि समय छोटो थियो, जुन तिनीहरूले आफ्‍ना सँगी साथीहरूलाई गर्नुपर्ने कामहरू चाँडै गर्नुपर्नेथियो। पृथ्वी हटेर अनन्तता तिनीहरूका अघि खुल्‍ला भएको जस्तै थियो, अनि प्राण र त्यसको अनन्त सुख वा कष्‍टसित सम्बन्धित सबै कुराले प्रत्येक सांसारिक कुरालाई ढाकेको महसुस हुन्थ्यो। परमेश्‍‍वरको आत्मा तिनीहरूमाथि आउनुभयो र तिनीहरूका भाइहरूलाई तिनीहरूले गरेको उत्सुक आवेदनहरूमा साथै पापीहरूलाई परमेश्‍‍वरको दिनको लागि तयार हुनमा शक्ति दिनुभयो। तिनीहरूको दैनिक जीवनको शान्त गवाहीचाहिँ देखावटी र समर्पण नभएका चर्चका सदस्यहरूको लागि निरन्तर हप्की थियो। तिनीहरूको सुख-विलासी कार्य, तिनीहरूको पैसा कमाउने लगाव र सांसारिक आदरको अभिलाषामा बाधा ल्याएको तिनीहरू चाहँदैनथे, त्यसकारण दोस्रो आगमनको विश्‍‍वास र उद्‍घोषकहरूको विरुद्ध दुश्‍‍मनी र बाधाहरू उत्पन्‍न भयो। MBND 68.2

अगमवाणीको अवधिका विषयवस्तुहरूलाई जित्‍न नसक्‍ने भएपछि विरोधीहरूले अगमवाणीहरू मोहर लगाएर राखिएको थियो भनी सिकाए र त्यस विषयको अनुसन्धानप्रति हतोत्साहित गर्ने प्रयास गरे। यसरी प्रोटेस्टेन्टहरू रोमीहरूको बाटोमा लागे। जब पोपको चर्चले मानिसहरूबाट बाइबल निषेध गर्दछ (एपेण्डिक्समा हेर्नुहोस्) तब प्रोटेस्टेन्ट चर्चहरूले दाबी गरे कि पवित्र बाइबलको एक महत्‍वपूर्ण भागचाहिँ बुझ्‍न सकिँदैन जुन त्यही भागले चाहिँ यस्ता प्रकारका सत्यताहरू प्रकट गर्छन् जुन विशेष गरी हाम्रो समयमा उपयोगी हुन्छन्। MBND 68.3

प्रचारकहरू र मानिसहरूले घोषणा गरे कि दानिएल र प्रकाशका अगमवाणीहरूचाहिँ बुझ्‍न नसकिने रहस्यहरू थिए। तर ख्रीष्‍टले उहाँका चेलाहरूलाई तिनीहरूको समयमा हुनुपर्ने घटनाहरूको विषयमा अगमवक्ता दानिएलको वचनमा केन्द्रित गर्नुभयो, अनि भन्‍नुभयो: “पाठकले बुझोस्।” मत्ती २४:१५। अनि प्रकाश बुझ्‍न नसकिने एक रहस्य थियो भन्‍ने भनाइलाई पुस्तकको त्यही नामले नै विरोध गर्दछ: “येशू ख्रीष्‍टको प्रकाश, जो परमेश्‍‍वरले चाँडै़ हुन आउने कुराहरू आफ्‍ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। ... त्यो धन्य हो, जसले अगमवाणीका यी वचनहरू उच्‍च स्‍वरले पाठ गर्दछ, र धन्य हुन् तिनीहरू, जसले सुन्दछन् र त्यहाँ लेखिएको कुरा पालन गर्दछन्, किनकि समय नजिक छ।” प्रकाश १:१-३। MBND 69.1

अगमवक्ता भन्छन्: “धन्य हो जसले ... पाठ गर्दछ”—त्यहाँ यस्ता पनि छन् तिनीहरूले पढ्‍दैनन्; त्यो आशिष् तिनीहरूको लागि होइन। “जसले सुन्दछन्”—त्यहाँ यस्तो मानिसहरू पनि छन् जसले अगमवाणीको विषयमा कुनै पनि कुरा सुन्‍न इन्कार गर्दछन्; यो आशिष् तिनीहरूको निम्ति होइन। “त्यहाँ लेखिएका कुरा पालन गर्दछन्,”—धेरैले प्रकाशमा भएका चेतावनीहरू र शिक्षाहरू ध्यान दिन इन्कार गर्दछन्; तिनीहरू कसैले पनि प्रतिज्ञा गरिएको आशिष्‌को दाबी गर्न सक्दैनन्। ज-जसले अगमवाणीका विषयहरूलाई गिल्‍ला गर्छन् र यहाँ गम्भीरतासाथ दिइएका चिन्हहरूलाई ठट्टा गर्छन्, ज-जसले तिनीहरूको जीवन सुधारेर मानिसको पुत्रको आगमनको लागि तयारी गर्न इन्कार गर्दछन् ती सबै जना आशिष्‌रहित हुन्छन्। MBND 69.2

प्रेरणामुलक गवाहीको दृष्‍टिमा, मानिसहरूले कसरी प्रकाशचाहिँ मानविक समझले नभ्याउने रहस्य हो भनी सिकाउने आँट गरे त? यो एक रहस्य खोलिएको छ, यो खुल्‍ला पुस्तक हो। प्रकाशको अध्ययनले दिमागहरूलाई दानिएलको अगमवाणीतर्फ लैजान्छ, र दुवैले अति महत्‍वपूर्ण शिक्षाहरू प्रस्तुत गर्दछन्, जुन संसारको इतिहासको अन्तमा हुन लागेका घटनाहरूको विषयमा परमेश्‍‍वरले मानिसलाई प्रदान गर्नुभएको थियो। MBND 70.1

चर्चको अनुभवमा गहिरा र मनोहर चासोका दृश्‍‍यहरू यूहन्‍नालाई प्रकट भयो। तिनले परमेश्‍‍वरका मानिसहरूका अवस्था, खतराहरू, सङ्घर्षहरू र अन्तिम बचावट भएका देखे। तिनले अन्तिम सन्देशहरू लेखेका छन् जसले पृथ्वीको कटनी तयार पार्नुपर्नेथियो, कि त स्‍वर्गीय धनसारमा जम्मा हुने बाला अथवा आगोमा विनाश हुने भुस भई तयार हुनुपर्नेछ। विशेष गरी अन्तिम चर्चको लागि तिनलाई अत्यन्तै महत्‍वपूर्ण विषयवस्तुहरू प्रकट गरिएको थियो, ताकि जो झूटबाट सत्यतामा परिवर्तन हुन्छन्, तिनीहरूको अगाड़ि भएका जोखिमहरू र सङ्घर्षहरूको विषयमा प्रशिक्षित हुन सकून्। पृथ्वीमा आउने कुरामा कोही पनि अनजान रहुनुपर्दैन। MBND 70.2

त्यसो भए यो पवित्र लेखको एक महत्‍वपूर्ण खण्डको विषयमा विश्‍‍वव्यापी अनविज्ञताचाहिँ किन? त्यसको शिक्षा अनुसन्धान गर्न यो प्रचलित ढिलाइ किन? जुन कुराले उसको छलहरू प्रकट गर्दछ त्यही कुरा मानिसहरूबाट लुकाउनेचाहिँ अन्धकारको राजकुमारको योजनाबद्ध प्रयासको परिणाम हो। यसकारणले प्रकाशको अध्ययन विरुद्ध लड़ाइँको योजना पूर्वदृष्‍टि गर्नुभएर ख्रीष्‍ट अर्थात् प्रकाशकले अगमवाणीका वचनहरू पढ्‍ने, सुन्‍ने र पालन गर्नेप्रति आशिष्‌को घोषणा गरिदिनुभयो। MBND 70.3