महान् विवाद नयाँ देशमा ज्योति
२ — बिहानका अग्रदूतहरू
बाइबलमा प्रकट भएका सत्यताहरूमध्ये एक अति गम्भीर र अझै महिमित सत्यताचाहिँ महान् मुक्तिको कामलाई पूर्ण गर्ने ख्रीष्टको दोस्रो आगमन हो। “मृत्युको क्षेत्र र छाया”-मा यति लामो समयसम्म बसोबास गरेका परमेश्वरका तीर्थयात्रीहरूका लागि उहाँको आगमनको प्रतिज्ञामा एक बहुमूल्य आनन्दित पार्ने आशा दिइएको छ, जो “उहाँका बहिष्कार भएकाहरूलाई घर ल्याउनुहुने चाहिँ” “पुनरुत्थान र जीवन” हुनुहुन्छ। दोस्रो आगमनको सिद्धान्तचाहिँ पवित्र धर्मशास्त्रको एकदम प्रमुख तथ्य हो। त्यो प्रथम जोडीले अदनबाट दुःखलाग्दा पाइलाहरू टेकेको दिनदेखि नै विश्वासका सन्तानहरूले विनाशकारीको शक्ति तोड्न र गुमेको अदनको बगैँचामा तिनीहरूलाई फेरि ल्याउन प्रतिज्ञाको जनको प्रतीक्षा गरिरहनुभएको छ। प्राचीनका पवित्र मानिसहरूले मसीहको आगमनलाई तिनीहरूको आशाको अन्त स्वरूप महिमामा हुन्छ भनी प्रतीक्षा गरे। अदनमा बसोबास गर्नेहरूदेखि हनोक सातौँ पुस्ताका थिए, जो तिनको परमेश्वरसँग तीन शताब्दीसम्म पृथ्वीमा हिँडे। तिनलाई मुक्तिदाताको आगमन टाढ़ादेखि हेर्ने अनुमति दिइयो। तिनले घोषणा गरे, “हेर, परमप्रभु आफ्ना असंख्य पवित्र जनहरूसँग आउनुभयो, सबैको इन्साफ गर्न।” यहूदा १४, १५। प्राचीन अय्यूबले तिनको कष्टको रातमा अटल भरोसासाथ कराए: “तर म जान्दछु, मेरा उद्धारक जीवित हुनुहुन्छ, सबैभन्दा अन्तिम समयमा उहाँ पृथ्वीमा खड़ा हुनुहुनेछ। ... मेरो शरीरमै म परमेश्वरलाई देख्नेछु। म आफ्नै आँखाले उहाँलाई देख्नेछु, आफैले नै देख्नेछु अरू कसैले होइन।” अय्यूब १९:२५-२७। MBND 21.1
धार्मिकताको शासन स्वागत गर्नको लागि ख्रीष्टको आगमनले पवित्र लेखकहरूका सबभन्दा उत्कृष्ट र जोशिलो बयानहरूलाई प्रेरणा दिएका छ बाइबलका कविहरू र अगमवक्ताहरूले स्वर्गीय अग्निसाथ चम्किरहेका वचनहरूका साथ त्यसको विषयमा चर्चा गरे। भजनसंग्रहका लेखकले इस्राएलका राजाको ऐश्वर्य र सामर्थ्यको विषयमा गाए: “सौन्दर्यमा सिद्ध सियोनबाट परमेश्वर प्रकाशमान् हुनुभएको छ। हाम्रा परमेश्वर आउनुहुन्छ, र मौन बस्नुहुनेछैन। ... आफ्नो प्रजाको इन्साफ गर्न उहाँले माथिको आकाश र पृथ्वीलाई बोलाउनुहुन्छ।” भजनसंग्रह ५०:२-४। “स्वर्ग आनन्दित होस्, र पृथ्वी रमाओस्, ... तिनीहरू परमप्रभुको सम्मुख गाउनेछन्, किनकि उहाँ आउनुहुन्छ, उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले संसारको न्याय धार्मिकतामा, र मानिसहरूको न्याय आफ्नो सत्यतामा गर्नुहुनेछ।” भजनसंग्रह ९६:११-१३। MBND 21.2
यशैया अगमवक्ताले भने: “हे धूलोमा बस्नेहरूहो, जाग, र गीत गाओ; किनकि तेरो शीत झारपातको शीतझैं छ, अनि पृथ्वीले मरेकाहरूलाई उकेलिदिनेछ।” “तेरा मरेकाहरू जीवित हुनेछन्, मेरो मृत शरीर, तिनीहरू फेरि उठ्नेछन्।” “उहाँले मृत्युलाई विजयमा निल्नुहुनेछ; अनि प्रभु यहोवाले सबै चेहराहरूबाट आँसु पुछिदिनुहुनेछ; अनि आफ्नो प्रजाको निन्दा उहाँले सम्पूर्ण पृथ्वीबाट हटाइदिनुहुनेछ; किनकि परमप्रभुले यो भन्नुभएको छ। अनि त्यस दिन यसो भनिनेछ: ‘हेर, यहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ; हामीले उहाँको बाटो हेऱ्यौं, र उहाँले हामीलाई बचाउनुहुनेछ; यहाँ नै परमप्रभु हुनुहुन्छ; हामीले उहाँको बाटो हेऱ्यौं; हामी आनन्दित हुनेछौं, र उहाँको उद्धारमा रमाउनेछौं।’” यशैया २६:१९; २५:८, ९ (KJV)। MBND 22.1
हबकूकले पनि पवित्र दर्शनमा डुबेर उहाँको आगमन देखे। “परमेश्वर तेमानबाट आउनुभयो, परमपवित्र पारान डाँड़ाबाट। उहाँको महिमाले स्वर्ग ढाक्यो, र पृथ्वी उहाँको प्रशंसाले भरियो। उहाँको गौरव सूर्योदयझैँ थियो।” “उहाँ उभिनुभयो, र पृथ्वीलाई नाप्नुभयो; उहाँले हेर्नुभयो, र जाति-जातिहरूलाई थर्कमान पार्नुभयो; अनि ती सनातनका पहाड़हरू तितरबितर भए, र सदाकालका पहाड़हरू झुके; उहाँको बाटाहरू अनन्त छन्।” (KJV)। “जब तपाईं आफ्ना घोड़ाहरूमाथि र आफ्ना विजयका रथहरूमा सवार हुनुभयो,” “पर्वतहरूले तपाईंलाई देखेर मड़ारिए। ... समुद्र गर्ज्यो र आफ्ना छाल उठायो। तपाईंका उड़िरहेका काँड़हरूको चमकले र तपाईंको चम्कने भालाको चमकले गर्दा, सूर्य र चन्द्र आकाशमा टक्क अड़िए।” “आफ्नो प्रजाको उद्धारको लागि, आफ्ना अभिषिक्त जनलाई बचाउनका निम्ति तपाईं निस्कनुभयो।” हबकूक ३:३, ४, ६, ८, १०, ११, १३। MBND 22.2
जब मुक्तिदाता उहाँका चेलाहरूदेखि छुट्टिन लाग्नुभएको थियो, उहाँले तिनीहरूलाई उहाँ फेरि आउनुहुने भरोसामा सान्त्वना दिनुभयो: “तिमीहरूको हृदय व्याकुल नहोस्। ... मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। ... तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु। अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु।” यूहन्ना १४:१-३। “जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ। र उसको सामुन्ने सबै जातिहरू भेला हुनेछन्।” मत्ती २५:३१-३२। MBND 22.3
ती स्वर्गदूतहरूले ख्रीष्टको स्वर्गारोहणपछि पनि जैतुन डाँड़ामा बसेर चेलाहरूलाई उहाँको आगमनको प्रतिज्ञा दोहोऱ्याएका थिए: “यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।” प्रेरित १:११। अनि प्रेरित पावलले प्रेरणाको आत्माद्वारा बोल्दै गवाही दिए: “किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ।” १ थेसलोनिकी ४:१६। पत्मोसको अगमवक्ता भन्छन्: “हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ।” प्रकाश १:७। MBND 23.1
“परमेश्वरले प्राचीन कालदेखि आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभएका सबै थोकको पुनर्स्थापना हुने समय”-का महिमाहरू उहाँको आगमनको वरिपरि जम्मा भएका छन्। प्रेरित ३:२१। त्यसपछि लामो समयदेखि चल्दै आएको दुष्टको शासन तोड़िनेछ; “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य” हुनेछ, “अनि उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।” प्रकाश ११:१५। “अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्।” “परमप्रभु परमेश्वरले धार्मिकता र प्रशंसा सारा जातिहरूका सामुन्ने उत्पत्ति गर्नुहुनेछ।” उहाँ “आफ्नो प्रजाका बाँचेकाहरूका निम्ति सर्वशक्तिमान् परमप्रभु आफै महिमाको मुकुट र सुन्दरताको माला हुनुहुनेछ।” यशैया ४०:५; ६१:११; २८:५। MBND 23.2
त्यो समयमा शान्तमय र पहिलेदेखि चाहना गरेको मसीहको राज्य सम्पूर्ण आकाशमुनि स्थापना हुनेछ। “परमप्रभुले निश्चय नै सियोनलाई सान्त्वना दिनुहुनेछ, र उहाँले त्यसका सब भग्नावशेषहरूलाई दयाको दृष्टिले हेर्नुहुनेछ। अनि त्यसका मरुभूमिलाई अदनझैँ, र त्यसको रूखो जमिनलाई परमप्रभुको बगैँचाझैँ बनाउनुहुनेछ।” “लेबनानको गौरव, कर्मेल र शारोनको शोभा त्यसलाई दिइनेछ।” “तँ फेरि कहिल्यै ‘त्यागिएकी’ भनिनेछैनस्। तेरो देश फेरि कहिल्यै ‘उजाड़िएको’ भनिनेछैन। तर तँ ‘त्यससँग म खुसी छु’ भनिनेछस्, र तेरो देश ‘ब्युलाह’ भनिनेछ।” “जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्छ, त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति रमाहट गर्नुहुनेछ।” यशैया ५१:३; ३५:२; ६२:४, ५। MBND 23.3
सबै युगहरूभरि नै प्रभुको आगमनचाहिँ उहाँका सत्य चेलाहरूको आशा भएको छ। मुक्तिदाता जानुहुँदा जैतुनमा प्रतिज्ञा गर्नुभयो कि उहाँ फेरि आउनुहुनेछ, जसले उहाँका चेलाहरूको भविष्य उज्यालो पारेको थियो, जसको कारण तिनीहरूका हृदयहरू दुःखले निभाउन नसक्ने र परीक्षाले मधुरो बनाउन नसक्ने गरी आनन्द र आशाले भरिएको थियो। दुःख र सतावटको माझमा पनि “हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टका महिमाको आगमन”-चाहिँ “धन्यको आशा” थियो। जब परमप्रभुको आगमन हेर्न जिउने आशा राखेका तिनीहरूका प्रिय जनहरूलाई गाडेर थेसलोनिकेका विश्वासीहरू शोकित भए, तब तिनीहरूका शिक्षक पावलले मुक्तिदाताको आगमनमा हुने पुनरुत्थानतर्फ तिनीहरूलाई केन्द्रित गराए। त्यसपछि ख्रीष्टमा मरेकाहरू उठ्नेछन्, तब बाँचिरहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथ-साथै उठाइलगिनुपर्छ। तिनले भने, “यसरी हामी सधैँ प्रभुसँग रहेनछौं। त्यसैकारण एउटाले अर्कालाई यी वचनहरूले सान्त्वना देओ।” १ थेसलोनिकी ४:१६-१८। MBND 24.1
ढुङ्गेनी पत्मोसमा प्रिय चेलाले प्रतिज्ञा सुन्छन्, “निश्चय, म चाँड़ै आउँदैछु,” अनि चर्चले गरेको सम्पूर्ण तीर्थयात्रामा त्यसको प्रार्थनालाई तिनको उत्कट इच्छुक प्रतिक्रियामा, “आमेन, आउनुहोस्, हे प्रभु येशू” भन्दै प्रकट गरिन्छ। प्रकाश २२:२०। MBND 24.2
कालकोठरी, दाउराको थुप्रो र सजाय दिने तख्ताहरूबाट सन्तहरू र सहिदहरूले सत्यको गवाही दिए, जुन युगौँसम्म तिनीहरूको विश्वास र आशाको आवाज स्वरूप गुञ्जिरहेको छ। यी इसाईहरूमध्ये एक जनाले भने, “उहाँको व्यक्तिगत पुनरुत्थानमा निश्चयताको कारण तिनीहरू पनि उहाँको आगमनमा बौरिउठ्नेछन्, यसैकारणले तिनीहरूले मृत्युलाई घृणा गरे, अनि तिनीहरू त्यसमाथि विजय भए।” —Daniel T. Taylor, The Reign of Christ on Earth: or, The Voice of the Church in All Ages, page 33. तिनीहरू चिहानमा जान तयार थिए ताकि तिनीहरू “स्वतन्त्र भई बौरिउठ्न” सकून्। —Daniel T. Taylor, The Reign of Christ on Earth: or, The Voice of the Church in All Ages, page 54. तिनीहरूले “प्रभुलाई उहाँको पिताको महिमासाथ बादलको सवारीमा धर्मीहरूका निम्ति त्यो राज्यका समयहरू लिएर आकाशबाट आउनुहुन्छ” भनी प्रतीक्षा गरे। वाल्डेन्सीहरूले त्यही विश्वासलाई प्रेम गरे। —Daniel T. Taylor, The Reign of Christ on Earth: or, The Voice of the Church in All Ages, pages 129-132. विक्लिफले मुक्तिदाताको आगमन चर्चको आशाको रूपमा पूर्वदृष्टि लगाएका थिए। —Daniel T. Taylor, The Reign of Christ on Earth: or, The Voice of the Church in All Ages, pages 132-134. MBND 24.3
लुथरले घोषणा गरे: “म आफै साँच्चै नै विश्वास गर्छु कि न्यायको दिन पूरा तीन सय वर्ष लाग्नेछैन। परमेश्वरले अब उसो यो दुष्ट संसार अझै धेरै रहन दिनुहुन्न र सक्नुहुन्न।” “महान् दिन नजिक आइरहेको छ जसमा घिनलाग्दो राज्य नष्ट हुनेछ।” —Daniel T. Taylor, The Reign of Christ on Earth: or, The Voice of the Church in All Ages, pages 158, 134. MBND 25.1
मलेङ्थनले भने, “यो पुरानो संसारको अन्त्य आउन धेरै बाँकी छैन।” इसाईहरूलाई क्याल्भिनले आदेश दिन्छन्, “दोधारमा नपर्नुहोस्, ख्रीष्टको आगमन सम्पूर्ण घटनाहरूभन्दा पनि उत्तम घटना स्वरूप उत्कट इच्छा गर्नुहोस्;” अनि घोषणा गर्दछन् कि, “सम्पूर्ण विश्वासयोग्य परिवारले त्यो दिनलाई ध्यानमा राख्नेछन्।” तिनी भन्छन्, “जब हाम्रा परमप्रभुले उहाँको राज्यको महिमा पूर्ण प्रकट गर्नुहुनेछ तब त्यो महान् दिनको उषा नउदाउञ्जेल हामीले ख्रीष्टको तृष्णा गर्नैपर्छ र खोजी र मनन गर्नैपर्छ।” —Daniel T. Taylor, The Reign of Christ on Earth: or, The Voice of the Church in All Ages, pages 158, 134. MBND 25.2
स्कोटल्याण्डका सुधारक नोक्सले भने, “के प्रभु येशूले हाम्रो शरीर स्वर्गमा लिएर जानुभएन र? के उहाँ फेरि आउनुहुन्न र? हामीलाई थाहा छ कि उहाँ चाँडै आउनुहुनेछ।” सत्यताको खातिर तिनीहरूको जीवन नै अर्पण गर्ने रिड्ली र लाटिमारले विश्वासद्वारा प्रभुको आगमन हेरे। रिड्लीले लेखे: “म यो विश्वास गर्छु, त्यसकारण म यो कुरा भन्छु कि संसारको अन्त्य आउँछ भन्ने कुरामा शङ्का छैन। परमेश्वरको दास यूहन्नासँगै हामी पनि हाम्रो हृदयमा हाम्रा मुक्तिदाता ख्रीष्टलाई भनौं, आउनुहोस्, प्रभु येशू आउनुहोस्।” —Daniel T. Taylor, The Reign of Christ on Earth: or, The Voice of the Church in All Ages, pages 151, 145. MBND 25.3
बक्सटरले भने, “प्रभुको आगमनका विचारहरू मेरो निम्ति सबभन्दा माधुर्य र आनन्दमय छन्।” —Richard Baxter, Works, vol. 17, p. 555. “उहाँको आगमनलाई प्रेम गर्नु र त्यो आशिषित आशालाई हेर्नुचाहिँ सन्तहरूको विश्वास र चरित्रको कार्य हो।” “यदि मृत्यु नै पुनरुत्थानमा नष्ट हुने अन्तिम दुश्मन हो भने विश्वासीहरूले कति उत्सुकसाथ ख्रीष्टको दोस्रो आगमनका लागि चाहना र प्रार्थना गर्नुपर्छ भनी हामी सिक्न सक्छौं जुन आगमनमा यो पूर्ण र अन्तिम विजय प्राप्त गरेको हुन्छ।” —Richard Baxter, Works, vol. 17, p. 500. “तिनीहरूको मुक्तिको समस्त कार्य र तिनीहरूको मनका सम्पूर्ण इच्छाहरू र प्रयत्न त्यो दिनका लागि सबै विश्वासीहरूले इच्छा, आशा र प्रतीक्षा गर्नुपर्छ।” “हे प्रभु, यो आशिषित दिन चाँडै ल्याउनुहोस्!” —Richard Baxter, Works, vol. 17, pp. 182, 183. प्रेरितको चर्च, “उजाड़-स्थानमा भएको चर्च” र सुधारकहरूका आशा यस्तै थियो। MBND 26.1
अगमवाणीले ख्रीष्टको आगमनको तरिका र उद्देश्य मात्र भविष्यवाणी गर्दैन, तर चिन्हहरू पनि प्रस्तुत गर्दछ जसद्वारा मानिसहरूले त्यो नजिकै छ भनी जान्नुपर्नेछ। येशूले भन्नुभयो: “सूर्य, र चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछन्।” लूका २१:२५। “सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, ताराहरू आकाशबाट खस्नेछन्, र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्। अनि त्यस समयमा मानिसहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलमा आउँदैगरेको देख्नेछन्।” मर्कूस १३:२४-२६। यसरी दोस्रो आगमनभन्दा पहिलो आउने चिन्हहरूलाई प्रकाशक वर्णन गर्छन्: “तब मैले ठूलो भूकम्प गएको देखें। सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो।” प्रकाश ६:१२। MBND 26.2
उन्नाइसौँ शताब्दीको आरम्भ हुनुभन्दा अघिदेखि नै यी चिन्हहरू देखिएका थिए। १७५५ सालमा अभिलेखमा भएको सबभन्दा डरलाग्दो भूकम्प गएर उक्त अगमवाणी पूरा भयो। साधारणतया लिस्बनको भूकम्प भनेर चिनिए तापनि यो युरोपका धेरैजसो भागहरू, अफ्रिका र अमेरिकामा पनि पुग्यो। यो ग्रिनल्याण्ड, पश्चिमी इन्डिस, मदेइराको टापू, नरवे, स्वीडेन, महान् बेलायत र आइरल्याण्डमा पनि कम्प भएको थियो। यसले एक करोड वर्गाकार किलोमिटरसम्म प्रभावित पाऱ्यो। अफ्रिकामा भएको कम्प झण्डै युरोपको झैँ प्रचण्ड थियो। धेरैजसो अल्जियर्स नष्ट भए; र मोरोक्कोबाट अलिकति टाढ़ा आठ वा दश हजार बासिन्दा भएको गाउँ नै निलियो। एक विशाल छाल स्पेन र अफ्रिकाका किनारहरूमा आयो र त्यसले सहरहरू बगाउँदै र निल्दै भयङ्कर विनाश ल्यायो। MBND 27.1
स्पेन र पोर्चूगलमा यसको कम्प अत्याधिक प्रचण्डरूपमा देखा परेको थियो। केडिजलाई हिर्काउने छालको वेग साठी फुट उचाइ थियो भन्ने भनाइ थियो। “पोर्चूगलमा भएका कति वटा विशाल पहाड़हरू त्यसको जगैबाट नै प्रचण्डसाथ हल्लाइएका थिए, र कति वटाचाहिँ टुप्पोबाटै फाटे, जुन अचम्मलाग्दो तरिकाले चिरिए र फुटे, त्यसका ठूला टुक्राहरू नजिकैको उपत्यकाहरूमा उछिट्टिएका थिए। ती पहाड़हरूबाट ज्वाला निस्केको थियो भन्ने भनाइ पनि थियो।” —Sir Charles Lyell, Principles of Geology, page 495. MBND 27.2
लिस्बनमा “धरतीमुनि गड्याङगुडुङको आवाज सुनियो, त्यसपछि तुरुन्तै प्रचण्ड कम्पनसाथ सहरको विशाल भागलाई नष्ट गरिदियो। लगभग छ मिनेटको घटनामा साठी हजार मानिसहरू नष्ट भए। पहिले समुद्र घट्यो, र किनार सुक्खा भयो त्यसपछि साधारण तहभन्दा पनि पचास फुट माथि उर्लेर आयो।” “महाविपत्ति हुँदाखेरि लिस्बनमा भएको वर्णन गरिएका अन्य घटनाहरूमध्ये जहाजबाट उत्रने ठाउँ पनि डुब्यो जुन धेरै खर्च गरेर पूर्ण मार्बलले बनाइएको थियो। त्यहाँ सुरक्षाको लागि धेरै जना मानिसहरू कुनै कुरा खसेर विनाश नहुने गरी जम्मा भएका थिए; तर अचानक जहाजबाट उत्रने ठाउँ सबै मानिसहरूसँगै डुब्यो, र एउटै लाश पनि किनारमा तैरिएर आएन।” —Sir Charles Lyell, Principles of Geology, page 495. MBND 27.3
भूकम्पको “कम्प हुने बित्तिकै प्रत्येक चर्च र आश्रम, झण्डै सबै सार्वजनिक भवनहरू र एक चौथाइभन्दा बढी घरहरू ढल्न थाले। कम्प भएको दुई घण्टापछि सहरको विभिन्न भागहरूमा आगो सल्क्यो, र त्यो सहर यति प्रचण्डतासाथ जल्यो कि झण्डै तीन दिनको अवधिमा सहर पूर्णरूपले उजाड़ भयो। पवित्र दिनमा भूकम्प आयो, जहाँ चर्चहरू र आश्रमहरू पूरा मानिसहरूले भरिएका थिए, त्यसबाट थोरै मात्र उम्कन सफल भए।” —Encyclopedia Americana, art. “Lisbon,” note (ed. 1831). “मानिसका आतङ्कहरू अवर्णनीय थिए। कोही पनि रोएनन्; आँसु झार्नै सकिँदैनथ्यो। तिनीहरू डर र आश्चर्यले अचेत भई यता र उता दौड़े, तिनीहरूका निधार र छाती पिट्दै कराए, ‘मिसेरिकोर्डिया! संसारको अन्त्य आयो!’ आमाहरूले छोराछोरीलाई बिर्से र येशूलाई क्रूसमा झुण्ड्याइएका मूर्तिहरू बोकेर वरिपरि दौड़िए। दुर्भाग्यवश धेरै जना सुरक्षाको लागि चर्चतिर गए; तर मासमा प्रयोग गरिने रोटी व्यर्थैमा निकालियो; व्यर्थैमा दुःखी प्राणीहरूले वेदीहरू समाते; प्रतिमाहरू, पूजाहारीहरू र सबै मानिसहरू साधारण विनाशमा पुरिए।” त्यो घातक दिनमा नब्बे हजार मानिसहरूले ज्यान गुमाए भनी अनुमान गरिएको थियो। MBND 28.1
पच्चीस वर्षपछि अगमवाणी गरिएको अर्को चिन्ह देखा पऱ्यो—सूर्य र चन्द्रमा अँध्यारो भयो। यसलाई कुन कुराले अझै विशेषता दियो भने त्यसको पूर्णताको समय ठ्याक्कै निश्चितरूपमा देखाइएको थियो। मुक्तिदाताले जैतुन डाँड़ामा चेलाहरूसँग गर्नुभएको छलफलमा चर्चको लामो समयको परीक्षाको वर्णन गर्नुभएपछि—१२६० वर्षहरूको पोपतन्त्रको सतावटको विषयमा उहाँले प्रतिज्ञा गर्नुभएको थियो कि सङ्कष्टको समय घटाइनेछ—यसरी उहाँले आफ्नो आगमनभन्दा अगाड़ि हुने कुनै-कुनै घटनाहरूको विषयमा बताउनुभयो, र यी घटनाहरूमध्ये प्रथमचाहिँ कहिले घट्नुपर्ने हो त्यसको समय निर्धारण गर्नुभयो: “तर ती दिनमा त्यस महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन।” मर्कूस १३:२४। १२६० दिनहरू वा वर्षहरू १७९८मा अन्त्य भयो। एक चौथाइ शताब्दी अघि नै सतावट झण्डै अन्त भइसकेको थियो। ख्रीष्टको वचनअनुसार यो सतावटपछि सूर्य अँध्यारो हुनुपर्नेथियो। सन् १७८०, मे १९मा त्यो अगमवाणी पूरा भयो। MBND 28.2
“यस प्रकार असाधारण घटनाहरूमध्ये सन् १७८०, मे १९को अन्धकारको दिनचाहिँ लगभग सबभन्दा रहस्यमय घटना थियो जुन अहिलेसम्म अवर्णनीय थियो,—सम्पूर्ण दृश्य आकाश र नयाँ इङ्गल्याण्डको वातावरणमा अति नै अवर्णनीय अन्धकार थियो।” —R. M. Devens, Our First Century, page 89. MBND 29.1
म्यासेचुसेट्समा बसेका प्रत्यक्षदर्शीले उक्त घटनालाई यसरी वर्णन गरे: “बिहान सफा घाम उदाएको थियो, तर तत्कालै यसलाई ढाक्यो। बादलहरू तल झरे, कालो र कुलक्षणको चिन्ह देखा पऱ्यो, तीबाट बिजुली चम्के, गड्याङगुडुङ भयो र पानी छिटायो। नौ बजेतिर बादल पातलो हुँदै गयो, र पित्तल वा तामाजस्तै देखियो, र पृथ्वी, चट्टानहरू, रूखहरू, भवनहरू, पानी र मानिसहरू त्यो अनौठो र अलौकिक प्रकाशले परिवर्तन भए। केही मिनेटमै क्षितिजको सानो गोलाइमा बाहेक अरू सबै ठाउँमा कालो बादल पूरा आकाशमा भरियो, त्यो गर्मी मौसमको बेलुकीको नौ बजेको अँध्यारो जस्तै अन्धकार थियो। ... MBND 29.2
“मानिसहरूका दिमाग भय, चिन्ता र आश्चर्यले भरियो। स्त्रीहरू अँध्यारो दृश्यतिर हेर्दै ढोकामा उभिए; मानिसहरू तिनीहरूका बारीको कामबाट फर्किए, काठ मिस्त्रीहरूले तिनीहरूका औजारहरू छाड़े, आरनमा काम गर्नेहरूले तिनीहरूका आरन छाड़े र दोकानेहरूले आफ्ना पसल छाड़े। स्कुलहरू बिदा भए, र नानीहरू काँप्दै घरतिर भागे। यात्रीहरू नजिकका कृषकको घरमा पसे। प्रत्येक ओठ र हृदयले भन्दैथियो, ‘के आउँदैछ?’ देशभरि प्रचण्ड आँधी बेहरी बजारिएला जस्तै देखिन्थ्यो, वा सबै थोकको अन्तिम दिन आएजस्तै देखिन्थ्यो। MBND 29.3
“मैनबत्तीहरू बालिए; र अगेनोको आगो चन्द्रमाहीन शरद् ऋतुको साँझझैँ उज्ज्वल भयो। ... कुखुराहरू खोरमा फर्केर बास बस्न लागे, र गाईबस्तुहरू चरनबाट कराउँदै फर्किए, भ्यागुताहरू कराए, चराहरूले तिनका साँझको गीत गाए, चमेराहरू यताउता उड्न थाले। तर मान्छेहरूलाई थाहा थियो कि अहिले नै रात परेको थिएन। ... MBND 29.4
“डा. नथानियल विटकर, सेलमको ट्याबरन्याकल चर्चको पास्टरले सभा-घरमा एउटा सभाको आयोजना गरे, र तिनले एउटा प्रवचन प्रचार गरे जसमा तिनले त्यो अन्धकारचाहिँ दैवी थियो भन्ने कुरालाई जोड़ दिए। उक्त सभाका मानिसहरू अन्य धेरै ठाउँहरूबाट भेला भएका थिए। पूर्व तयारी नगरेका वचनहरूका लागि पदहरूले अन्धकारलाई धर्मशास्त्रको अगमवाणी अनुरूप देखाएजस्तै देखिन्थ्यो। ... एघार बजेतिर अन्धकार झनै कालो र बाक्लो भयो।” —The Essex Antiquarian, April, 1899, vol. 3, No. 4, pp. 53, 54. “देशभरि नै दिउसै यति अँध्यारो भएको थियो कि मानिसहरूले हाते घड़ी वा भित्ते घड़ीद्वारा समय थाहा पाउन सकेका थिएनन्; मैनबत्तीको ज्योतिविना खाना खान र तिनीहरूका घरायसी व्यवहार मिलाउन असम्भव भयो। ... MBND 29.5
“त्यो अन्धकार असाधारण तरिकाले बढ्दै गयो। यो पूर्वको फालमाउथसम्म देखिन्थ्यो। पश्चिमतिर क्यानेटिकटको पल्लोछेउ र अल्बानीसम्म पुगेको थियो। दक्षिणतिर समुद्रका किनार छेउसम्म देखिन्थ्यो; र उत्तरतिर अमेरिकाको बासिन्दाको सबै क्षेत्रसम्म फैलिएको थियो।” —William Gordon, History of the Rise, Progress, and Establishment of the Independence of the U.S.A., vol. 3, p. 57. MBND 30.1
त्यो दिनको प्रचण्ड अन्धकार सकिएको थियो, र साँझ हुनुभन्दा एक वा दुई घण्टा अघि अलिकति सफा आकाश देखियो, र घाम देखा पऱ्यो, तापनि त्यो अझै कालो बाक्लो कुइरोले गर्दा अस्पष्ट नै थियो। “घाम डुबेपछि बादलहरू फेरि माथि आए र छिट्टै नै अँध्यारो भयो।” “रातको अन्धकार पनि त्यस्तै असाधारण नै थियो अर्थात् दिउसोको जस्तै भयपूर्ण नै थियो; त्यो समय झण्डै पूर्णिमाको दिन नजिकै भए तापनि कुनै कृतिम ज्योतिको सहायताविना कुनै पनि थोक देखिँदैनथ्यो, जसलाई वरपरका घरहरू र अरू टाढ़ाका ठाउँहरूबाट हेर्दा मिश्र देशको जस्तै ज्योतिका किरणहरूले झण्डै छिर्न नसकिने अन्धकारद्वारा हेरेको जस्तै देखिन्थ्यो।” —Isaiah Thomas, Massachusetts Spy; or, American Oracle of Liberty, vol. 10, No. 472 (May 25, 1780). त्यो दृश्यको एक प्रत्यक्षदर्शीले भन्यो: “त्यो समयमा मैले कल्पना नगरी रहन सकिनँ, कि ब्रमाण्डको प्रत्येक उज्ज्वल नक्षत्रलाई अछेद्य पर्दाले छोप्यो वा त्यो अस्तित्वबाटै हटाए पनि यति बाक्लो अन्धकार हुन सक्दैनथ्यो होला।” —Letter by Dr. Samuel Tenny, of Exeter, New Hampshire, December, 1785 (in Massachusetts Historical Society Collections, 1792, 1st series, vol. 1, p.97). त्यो रातको नौ बजे चन्द्रमा पूर्णतामा उदायो, “तर चन्द्रमाले त्यो घोर अन्धकारलाई हटाउन कुनै प्रभाव पार्न सकेन।” मध्यरातपछि अन्धकार हरायो, र चन्द्रमा पहिलो पटक देखा पर्दा नै त्यो रगत जस्तै देखियो। MBND 30.2
सन् १७८०, मे १९का दिनलाई इतिहासमा “अन्धकारको दिन” भनेर चिनिन्छ। मोशाको समयदेखि यता त्यति लामो अन्धकारपूर्ण निष्पट्टता र व्यापकताका विषयमा कहिल्यै पनि उल्लेखित गरिएको छैन। प्रत्यक्षदर्शीका अनुसार यो घटनाको वर्णन ती कुराहरू पूरा हुनुभन्दा पच्चीस सय वर्ष पूर्व योएल अगमवक्ताले अभिलेखिकरण गरेको परमप्रभुका वचनहरूको प्रतिध्वनि हो: “परमप्रभुको त्यो महान् र भयङ्कर दिन आउनुभन्दा अघि सूर्य अँध्यारोमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्।” योएल २:३१। MBND 30.3
ख्रीष्टले उहाँका मानिसहरूलाई उहाँको आगमनका चिन्हहरू हेर्ने र आफ्नो आउनेवाला राजाको सङ्केत देख्दा रमाउनु भनी आदेश दिनुभएको थियो। उहाँले भन्नुभयो, “जब यी कुरा हुन थाल्छन् तब खड़ा होओ र आफ्नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेछ।” उहाँले आफ्ना चेलाहरूलाई बसन्त ऋतुको कोपिला लागेका रूखहरूतिर देखाउँदै भन्नुभयो: “तिनले पालुवा फेरेको देखेर तिमीहरू आफै थाहा पाउँछौ, कि ग्रीष्म ऋतु नजिकै छ। त्यसै गरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्वरको राज्य नजिकै छ भनी जान।” लूका २१:२८, ३०, ३१। MBND 31.1
तर जब चर्चमा नम्रता र समर्पणको आत्माको स्थान घमण्ड र देखावटीले ओगटेको थियो, तब ख्रीष्टप्रति प्रेम र उहाँको आगमनप्रतिको विश्वास सेलाएको थियो। सांसारिकपन र सुख-विलासमा डुबेर परमेश्वरको जन हुँ भनेर दाबी गर्नेहरू मुक्तिदाताले उहाँको आगमनका चिन्हहरूको विषयमा दिनुभएको शिक्षाप्रति अन्धा थिए। दोस्रो आगमनको सिद्धान्तलाई हेलचेक्य्राइँ गरियो; त्यस सम्बन्धी धर्मशास्त्रका अंशहरू कुव्याख्याद्वारा दुर्लभ पारियो, यहाँसम्म कि त्यसलाई अति नै बेवास्ता गरियो र बिर्सियो। विशेष गरी अमेरिकाका चर्चहरूमा त्यो अवस्था थियो। समाजका समस्त वर्गले उपभोग गरेको स्वतन्त्रता र आरामले, पैसा कमाउन तनमनका साथ लागी पर्ने कुरा उत्पन्न गराउने धन र विलासीताको अभिलाषी चाहनाले, सबैको निम्ति सम्भाविता देखिने प्रसिद्धता र शक्ति पाउन उत्सुक हतारले, यी कुराहरूले मानिसहरू तिनीहरूका चाहनाहरू र आशाहरू यस जीवनका थोकहरूमा केन्द्रित गरायो, र त्यही गम्भीर दिनलाई टाढा भविष्यमा सार्न लगायो जसमा वर्तमान थोकहरूको पद्धति बितेर जानुपर्नेछ। MBND 31.2
जब मुक्तिदाताले उहाँका चेलाहरूलाई आफ्नो आगमनको चिन्हतर्फ केन्द्रित गर्नुभयो, तब उहाँले आफ्नो आगमनभन्दा ठीक अगाड़ि आउने विश्वासबाट भड्कने अवस्थाको विषयमा अगमवाणी गर्नुभयो। त्यो समय नोआको समयझैँ हुनेछ, मानिसहरू सांसारिक व्यवसाय गर्ने र सुख-विलास खोजी गर्ने—किन्ने, बेच्ने, रोप्ने, निर्माण गर्ने, विवाह गर्ने, र विवाह गराइदिने—साथै परमेश्वर र भविष्यको जीवनलाई भुल्ने हुनेछन्। त्यस समयमा जीवन बिताउनेहरूलाई ख्रीष्टको चेतावनी यो छ: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्कासि त्यो दिन पासोझैँ आइपर्ला।” “आइपर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।” लूका २१:३४, ३६। MBND 32.1
प्रकाशको पुस्तकमा मुक्तिदाताका वचनहरूमा यो समयको मण्डलीको अवस्था देखाइएको छ: “तिमी जीवित छौ भन्ने नाउँ त छ, तर तिमीहरू मरेका छौ।” जो तिनीहरूको असावधान सुरक्षाबाट ब्यूँझन चाहँदैनन् तिनीहरूका लागि गम्भीर चेतावनी दिइएको छ: “यदि तिमी जागा रहेनौ भनेता म चोरजस्तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ।” प्रकाश ३:१, ३। MBND 33.1
मानिसहरू तिनीहरूका खतरादेखि ब्यूँझिन आवश्यक थियो; ताकि तिनीहरू अनुग्रहको समयको गम्भीर घटनाको लागि तयार भई खडा हुन सकून्। परमेश्वरको अगमवक्ता घोषणा गर्दछन्: “परमप्रभुको दिन महान् र साह्रै डरलाग्दो छ। त्यो कसले सहन सक्छ र?” जब उहाँ देखा पर्नुहुन्छ तब को खडा हुने? “दृष्टि अति शुद्ध छ, कि तपाईं दुष्ट कुरा हेर्न सक्नुहुन्न, खराबी देखेर तपाईं सहन सक्नुहुन्न।” योएल २:११; हबकूक १:१३। “हे मेरा परमेश्वर, हामी तपाईंलाई चिन्छौं” भनी कराउनेहरूले पनि उहाँको करार भङ्ग गर्छन्, अरू देवताहरूको पछि दौड़न्छन्, हृदयमा अधर्म लुकाउँछन् र अधर्मको मार्गलाई मन पराउँछन्—तिनीहरूका लागि त परमप्रभुको दिन अन्धरकारमय हुनेछ उज्यालो हुनेछैन, यति निष्पट्ट अँध्यारो कि त्यसमा कुनै उज्यालोपन नै हुँदैन। होशे ८:२, १ (KJV); भजनसंग्रह १६:४; आमोस ५:२०। परमप्रभु भन्नुहुन्छ, “त्यस बेला बत्ती बालेर म यरूशलेमलाई खोज्नेछु, र ढुक्क भएर बस्नेहरूलाई, थिग्रो भएर बसेको दाखमद्यजस्तै हुनेहरूलाई, र ‘परमप्रभुले न त असल न खराब गर्नुहुन्छ’ भनी विचार गर्नेहरूलाई म सजाय दिनेछु।” सपन्याह १:१२। “म संसारलाई त्यसको दुष्ट्याइँको निम्ति र दुष्टलाई तिनीहरूका अधर्मको निम्ति दण्ड दिनेछु। म अहङ्कारको घमण्डीको अन्त गर्नेछु, र निष्ठुरहरूको शेखी झार्नेछु।” यशैया १३:११। “न त तिनीहरूको चाँदीले न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्नेछ।” “तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, तिनीहरूका घर भत्काइनेछन्।” सपन्याह १:१८, १३। MBND 33.2
यर्मिया अगमवक्ताले यो डरलाग्दो समयलाई पूर्वदृष्टि गर्दै चकित भई कराए: “मेरो मुटु मभित्र हल्लिन्छ। म चूप लागी रहन सक्दिनँ, किनकि तुरहीको आवाज मैले सुनेको छु, लड़ाइँको ध्वनि मैले सुनेको छु। नाशमाथि नाश आउँछ।” यर्मिया ४:१९, २०। MBND 33.3
“त्यो दिन क्रोधको दिन हुनेछ, विपत् र वेदनाका दिन, कष्ट र सर्वनाशको दिन, अँध्यारो र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन, ... तुरही र लड़ाइँको सोरको दिन।” सपन्याह १:१५, १६। “हेर, परमप्रभुको दिन देशलाई उजाड़ पार्न र त्यहाँ भित्र भएका पापीहरूलाई त्यहाँबाट सर्वनाश गर्न, ... आइरहेछ।” यशैया १३:९। MBND 34.1
महान् दिनको दृश्यमा परमेश्वरको वचनले सबभन्दा गम्भीर र प्रभाव पार्ने भाषामा उहाँका मानिसहरूलाई आत्मिकी घोर निद्राबाट ब्यूँझने र पश्चात्ताप र नम्रतासाथ उहाँको मुहार खोजी गर्ने आह्वान गरेको छ: “सियोनमा तुरही फुक, मेरो पवित्र डाँड़ामा चेताउनीको ध्वनि बजाओ। देशमा बस्नेहरू सबै थरथर कामून्, किनकि परमप्रभुको दिन आउँदैछ, त्यो नजिकै छ।” “पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। मानिसहरूलाई भेला गर, सभालाई अर्पण गर, धर्म-गुरुहरूलाई जम्मा गर, नानीहरू र दूधे-बालकहरूलाई बटुल। दुलहा आफ्नो कोठाबाट र दुलही आफ्नो भित्री कोठाबाट निस्कून्। परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू मन्दिरको दलान र वेदीका बीचमा रोऊन्।” “अहिले पनि तिमीहरू आफ्ना सम्पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क। आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्छ।” योएल २:१, १५-१७, १२, १३। MBND 34.2
परमेश्वरको दिनमा खडा हुन मानिसहरूलाई तयार गर्न सुधारको एक महान् काम सम्पन्न हुनुपर्नेथियो। परमेश्वरले देख्नुभयो कि उहाँलाई दाबी गर्ने धेरै विश्वासीहरू अनन्तताका लागि निर्माण गरिरहेका थिएनन्, र उहाँको अनुग्रहअनुसार उहाँले तिनीहरूलाई आफ्नो अचेत अवस्थादेखि जाग्न र तिनीहरूलाई प्रभुको आगमनको लागि तयार गराउन चेतावनी पठाउनै लाग्नुभएको थियो। MBND 34.3
यो चेतावनी प्रकाश १४मा देखाइएको छ। यहाँ स्वर्गीय प्राणीहरूद्वारा घोषण गरिएको प्रतिनिधिमुलक त्रिगुणयुक्त सन्देश छ र त्यसपछि तुरुन्तै मानिसको पुत्र “पृथ्वीको कटनी”-मा फसल बटुल्न आएको छ। यी चेतावनीहरूमध्ये पहिलोले न्याय नजिकै आएको घोषणा गर्दछ। अगमवक्ताले एउटा स्वर्गदूतलाई “मध्य आकाशमा” उड़िरहेको देखे, “पृथ्वीमा रहने हरेक जाति, कुल, भाषा र मानिसलाई घोषणा गर्ने अनन्त सुसमाचार तिनीसँग थियो। तिनले चर्को सोरमा भने, ‘परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्साफको घड़ी आएको छ। स्वर्ग, पृथ्वी, सम्रद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।’” प्रकाश १४:६, ७। MBND 34.4
यो सन्देशचाहिँ “अनन्त सुसमाचार”-को एक अंश हो भनी घोषणा गरिएको छ। सुसमाचार प्रचार गर्ने काम स्वर्गदूतहरूलाई सुम्पिइएको छैन, तर मानिसहरूलाई सुम्पिइएको छ। पवित्र स्वर्गदूतहरू यस कार्यलाई निर्देशन गर्न लागी परेका छन्, तिनीहरू मानिसहरूको मुक्तिको महान् कार्यका अगुवा हुन्; तर वास्तविक सुसमाचार घोषणा गर्ने कामचाहिँ पृथ्वीमा भएका ख्रीष्टका दासहरूद्वारा भएको छ। MBND 35.1
जसले परमेश्वरको आत्माको प्रेरणा र उहाँको वचनका शिक्षाहरू पालन गरेका थिए ती नै विश्वासयोग्य मानिसहरूले यो चेतावनी संसारमा घोषणा गर्नुपर्नेथियो। तिनीहरू यिनै थिए जसले अगमवाणीको “अझ निश्चित” वचनमा ध्यान दिएका थिए, जुनचाहिँ “झिसमिसे उज्यालो नहोउञ्जेल र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्जेल अन्धकारमा बलिरहेको दियो” नै थियो। २ पत्रुस १:१९। तिनीहरूले परमेश्वरको ज्ञान सम्पूर्ण लुकिएका गाडधनलाई भन्दा धेरै खोजिरहेका थिए, तिनीहरूले त्यसलाई “चाँदीभन्दा धेरै लाभदायिक”, सुनभन्दा बढी फाइदाजनक ठाने। हितोपदेश ३:१४। अनि प्रभुले तिनीहरूलाई राज्यका महान् थोकहरू प्रकट गरिदिनुभयो। “परमप्रभुको भय मान्नेहरूसँग उहाँको घनिष्ठता हुन्छ, र उहाँले तिनीहरूलाई आफ्नो करार बताइदिनुहुन्छ।” भजनसंग्रह २५:१४। MBND 35.2
यो सत्यता बुझ्ने र त्यो घोषणा गर्न लागि परेकाहरू बाइबल धर्मशास्त्रका पण्डितहरू थिएनन्। यदि यी पालेहरू विश्वासयोग्य भएर मेहनतीसाथ र प्रार्थनासाथ धर्मशास्त्रको खोजी गरेको भए तिनीहरूले रातको समय थाहा पाउनेथिए; अगमवाणीहरूले तिनीहरूलाई आउनै लागेका घटनाहरू स्पष्ट गरिदिनेथिए। तर तिनीहरूले त्यो पदलाई सम्हालेनन्, अनि त्यो सन्देश अझै नम्र मानिसहरूद्वारा प्रदान गरियो। येशूले भन्नुभयो: “ज्योति तिमीहरूसँग छउञ्जेल हिँड्डुल गर, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस्।” यूहन्ना १२:३५। जो-जो परमेश्वरले दिनुभएको ज्योतिबाट फर्कन्छन् वा जसले ज्योति पाउने मौका हुँदा पनि खोज्न हेलचेक्य्राइँ गर्छन् तिनीहरू अन्धकारमा छाडिनेछन्। तर मुक्तिदाता घोषणा गर्नुहुन्छ: “मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।” यूहन्ना ८:१२। परमेश्वरको इच्छा पूरा गर्न एउटै उद्देश्य राख्ने र प्रदान गरिएको ज्योतिलाई उत्सुकतासाथ ध्यान दिने जोसुकैले पनि अझै ठूलो ज्योति प्राप्त गर्नेछ; त्यो व्यक्तिलाई सम्पूर्ण सत्यतामा डोऱ्याउन स्वर्गीय ज्वालामय ताराहरू पनि पठाइनेछ। MBND 35.3
ख्रीष्टको प्रथम आगमनको समयमा पवित्र सहरका पूजाहारीहरू र शास्त्रीहरूलाई परममेश्वरको पवित्र इतिहास सुम्पिइएको थियो, तिनीहरू समयको सङ्केत चिन्न सक्थे र प्रतिज्ञाको जनको आगमन घोषणा गर्न सक्थे। मीकाको अगमवाणीले उहाँको जन्मथलो पनि तोकिदिएको थियो; दानिएलले उहाँको आगमनको समय निर्धारण गरेका थिए। मीका ५:२; दानिएल ९:२५। परमेश्वरले यी अगमवाणीहरू यहूदी अगुवाहरूलाई सुम्पिदिनुभयो; यदि तिनीहरूले मसीहको आगमन नजिकै छ भन्ने कुरा थाहा पाएनन् र मानिसहरूलाई घोषणा गरेनन् भने पनि तिनीहरूसँग कुनै बहाना रहेन। तिनीहरूको अज्ञानताचाहिँ पापपूर्ण हेलचेक्य्राइँको परिणाम थियो। यहूदीहरूले परमेश्वरको मारिएको अगमवक्ताहरूका स्मारक बनाएका थिए, जबकि तिनीहरूले पृथ्वीका महान् मानिसहरूका श्रद्धाद्वारा शैतानका दासहरूलाई आदर गरिरहेका थिए। तिनीहरू मानिसहरूको बीच पद र शक्तिका लागि अभिलाषी लड़ाइँ गर्न लिप्त भएर तिनीहरूले स्वर्गको राजाद्वारा प्रस्तुत गरिएको ईश्वरीय आदरलाई बिर्से। MBND 35.4
इस्राएलका धर्म-गुरुहरूले गम्भीर र भक्तिपूर्ण चाहनाकासाथ संसारकै इतिहासमा सबभन्दा महान् घटना—मानिसका मुक्ति पूरा गर्नुहुने परमेश्वरको पुत्रको आगमन—को ठाउँ, समय र परिस्थितिहरू अध्ययन गरिरहेको हुनुपर्नेथियो। समस्त मानिसहरू जागा भइरहेको र प्रतीक्षा गरिरहेको हुनुपर्नेथियो ताकि तिनीहरू संसारको मुक्तिदातालाई स्वागत गर्नेहरूमध्ये पहिला हुन सकून्। तर हेर्नुहोस् त, दुई जना थकित यात्रीहरू नासरतको पहाड़बाट सानो सड़क हुँदै बेथलेहेम सहरको पूर्वीय छेउसम्म व्यर्थमा त्यो रातको लागि आराम गर्ने ठाउँ र सुरक्षा स्थल खोज्दै वारपार गर्दै हिँडे़। तिनीहरूलाई स्वागत गर्न कुनै ढोकाहरू पनि खोलिएनन्। अन्तमा तिनीहरूले गाईबस्तुहरूका लागि तयार गरिएको एक नालायक टहरोमा शरणस्थान पाए, जहाँ संसारको मुक्तिदाता जन्मनुहुन्छ। MBND 36.1
संसारको उत्पत्तिभन्दा अघि परमेश्वरको पुत्रको पितासँग भएको महिमा स्वर्गदूतहरूले देखेका थिए, र पृथ्वीमा उहाँको आगमनको दिन सबै मानिसहरूका निम्ति सबभन्दा महान् र हर्षपूर्ण हुनेछ भनी तिनीहरूले गम्भीर चासोका साथ प्रतीक्षा गरेका थिए। जो-जो त्यो ग्रहण गर्न तयारी भएका थिए र ज-जसले पृथ्वीका बासिन्दाहरूलाई हर्षसाथ सुनाउँथे तिनीहरूकहाँ ती खुशीको सुसमाचार पुऱ्याउन स्वर्गदूतहरू नियुक्ति भएका थिए। ख्रीष्टले आफैमाथि मानवीय स्वभाव धारण गर्न तल ओर्लेर आउनुभएको थियो; जब उहाँले आफ्नो आत्मा पापको खातिर बलिदान गर्नुहुन्छ तब उहाँले शोकको असीम बोझ बोक्नुपर्नेथियो; तापनि उहाँको हीन अवस्थामा सर्वोच्चका पुत्र मानिसहरूका अगि उहाँको चरित्रअनुसारको मर्यादा र महिमामा प्रकट हुनुभएको होस् भनी स्वर्गदूतहरूले इच्छा गरेका थिए। के पृथ्वीका महान् मानिसहरू इस्राएलको राजधानीमा उहाँको आगमनलाई अभिवादन गर्न भेला भएका थिए त? स्वर्गदूतका फौजहरूले उहाँलाई आशावादी समूहकहाँ प्रस्तुत गरेका थिए त? MBND 36.2
येशूको आगमनलाई स्वागत गर्न तयारी भएकाहरूलाई हेर्न एक स्वर्गदूत पृथ्वीमा आउँछन्। तर तिनले आशाको कुनै चिन्ह पनि देख्दैनन्। तिनले मसीहको आगमनको समय नजिकै छ भन्ने प्रशंसा र विजयको आवाज सुनेनन्। त्यो स्वर्गदूत केही समयसम्म चुनिएको सहर र मन्दिरमाथि उडिरहन्छन् जहाँ युगौँसम्म ईश्वरीय उपस्थिति प्रकट भएको थियो; तर यहाँ पनि त्यस्तै बेवास्ता छ। मन्दिरमा पूजाहारीहरू तिनीहरूको देखावटी र घमण्डले दुषित भएका बलिदानहरू चढाइरहेका छन्। फरिसीहरू चर्को सोरमा मानिसहरूलाई भाषण दिँदैछन् वा सड़कका कुनाहरूमा अभिमानी प्रार्थना गर्दैछन्। राजाहरूका दरबारहरूमा, दार्शनिकहरूका भेलाहरूमा, रब्बीहरूका स्कुलहरूमा त्यो अचम्मलाग्दो यथार्थप्रति सबै अनजान थिए जुन यथार्थले गर्दा सम्पूर्ण स्वर्ग नै आनन्द र प्रशंसाले भरिदिएको छ—कि मानिसहरूको मुक्तिदाता पृथ्वीमा देखा पर्नै लागेका छन्। MBND 37.1
ख्रीष्टको प्रतीक्षा गरेको कुनै प्रमाण छैन, र जीवनको राजकुमारको लागि कुनै तयारी छैन। आश्चर्यसाथ स्वर्गीय समाचारवाहक लज्जापूर्ण खबर लिएर स्वर्गतिर फर्कन लागेका छन्, त्यस बेला तिनले एउटा गोठालाहरूको समूह राती तिनीहरूका बगाललाई हेरचाह गर्दै गरेको भेट्छन्, जो ताराले भरिएका आकाशहरूलाई हेर्दै पृथ्वीमा मसीहको आगमन हुने अगमवाणीको विषयमा चिन्तनमनन गर्दैछन्, र संसारको मुक्तिदाताको आगमनको लागि चाहना गरिरहेका छन्। यहाँ एक समूह छ जो स्वर्गीय सन्देश स्वीकार गर्न तयार छ। अचानक परमप्रभुको स्वर्गदूत बडो आनन्दको सुसमाचारको घोषणा गर्दै देखा पर्छन्। स्वर्गीय महिमा पूरै मैदानमा अधिक मात्रामा भरिन्छ र अगण्य स्वर्गदूतहरूको समूह प्रकट हुन्छन्, अनि त्यो आनन्द यति महान् छ कि एक जना समाचारवाहकले मात्र त्यसलाई स्वर्गबाट ल्याउन सक्दैन जस्तै देखिन्छ, त्यस बेला धेरै सोरहरूले स्तुति गर्न थाल्छन् जुन मुक्ति पाएका सम्पूर्ण राज्यहरूले एक दिन गाउनेछन्: “परमधाममा परमेश्वरलाई महिमा र पृथ्वीमा शान्ति, मानिसहरूप्रति शुभेच्छा।” लूका २:१४ (KJV)। MBND 38.1
ओहो, बेथलेहेमको यो सुन्दर कथा कति आनन्दमय छ! यसले कसरी हाम्रो अविश्वास, घमण्ड र आत्म-पर्याप्ततालाई हप्काउँदछ! यसले कसरी हामीलाई सचेत रहने चेतावनी दिन्छ नत्रता हाम्रो अपराधपूर्ण असावधानीद्वारा हामीले पनि समयका चिन्हहरूलाई देख्न असफल हुन्छौं, र हाम्रा दण्डको दिन थाहा पाउनेछैनौं! MBND 38.2
यहूदियाका पहाड़हरूमा र नम्र गोठालाहरूको बीचमा मात्र स्वर्गदूतले मसीहको आगमनको प्रतीक्षा गर्नेहरू भेटाएनन्। मूर्तिपूजकको देशमा पनि उहाँलाई पर्खनेहरू थिए; तिनीहरू पूर्वीय बुद्धिमानी व्यक्तिहरू, धनी, उत्कृष्ट र दर्शनशास्त्रीहरू थिए। प्रकृतिका विद्यार्थीहरू, ज्योतिषीहरूले उहाँको हातको काममा परमेश्वरलाई देखेका थिए। हिब्रू धर्मशास्त्रबाट तिनीहरूले याकूबबाट निस्कने ताराको विषयमा सिकेका थिए, र उत्सुकताका साथ तिनीहरूले उहाँको आगमनको प्रतीक्षा गरे, जो “इस्राएलका सान्त्वना” मात्र होइन, तर “अन्यजातिहरूलाई प्रकाशको निम्ति ज्योति,” र “पृथ्वीको पल्लो छेउसम्म मुक्ति पुऱ्याउने” व्यक्ति पनि हुनुपर्नेथियो। लूका २:२५, ३२; प्रेरित १३:४७। तिनीहरू ज्योति खोज्नेहरू थिए, र परमेश्वरको सिंहासनबाट आउने ज्योतिले तिनीहरूको मार्ग उज्ज्वल पाऱ्यो। जबकि यरूशलेमका पूजाहारीहरू र रब्बीहरू, नियुक्ति गरिएका सत्यताका पालेहरू र वक्ताहरूचाहिँ अन्धकारमा ढाकिए, स्वर्गबाट पठाइएका त्यो ताराले यी अन्यजाति परदेशीहरूलाई नयाँ जन्मेका राजाको जन्मथलोतर्फ डोऱ्यायो। MBND 38.3
“उहाँको बाटो हेर्नेहरूकहाँ” ख्रीष्ट “दोस्रो पटक विनापाप मुक्तिका निम्ति देखा पर्नुहुनेछ।” हिब्रू ९:२८ (KJV)। मुक्तिदाताको जन्मको समाचारझैँ दोस्रो आगमनको सन्देश पनि मानिसहरूका धार्मिक अगुवाहरूलाई सुम्पिएको थिएन। तिनीहरू परमेश्वरसँगको सम्बन्ध जोगाउन असफल भएका थिए, र तिनीहरूले स्वर्गबाट चम्केको ज्योति इन्कार गरेका थिए; त्यसकारण प्रेरित पावलले वर्णन गरेको सङ्ख्यामा तिनीहरू परेनन्: “तर भाइ हो, तिमीहरू अन्धकारमा छैनौ, तसर्थ त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्नेछैन। किनकि तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तान हौ। हामी रातका र अन्धकारका सन्तान होइनौं।” १ थेसलोनिकी ५:४, ५। MBND 39.1
सियोनका पर्खालहरूका पालेहरू नै मुक्तिदाताको आगमनको समाचार सुन्ने पहिलो हुनुपर्नेथिए, उहाँको निकटतालाई घोषणा गर्न सोर उचाल्ने पहिलो व्यक्तिहरू हुनुपर्नेथिए, उहाँको आगमनका लागि तयारी गर्न मानिसहरूलाई चेतावनी दिने पहिलो मानिसहरू हुनुपर्नेथिए। तर जब मानिसहरू तिनीहरूको पापमय गहिरो निद्रामा थिए, तब ती पालेहरू आराममा थिए, सुरक्षा र शान्तिको सपना देखिरहेका थिए। येशूले आफ्नो चर्चलाई फलहीन अञ्जीरको रूख जस्तै देख्नुभयो, देखावटी पातहरूले ढाके तापनि बहुमूल्य फलरहितको थियो। त्यहाँ धर्मको ढाँचाको अभिमानी विधि थियो, जबकि सत्य नम्रता, पश्चताप र विश्वासको आत्माको कमी थियो जसद्वारा मात्र परमेश्वरमा ग्रहणयोग्य सेवा प्रदान गर्न सकिन्छ। आत्माको अनुग्रहहरूको सट्टामा त्यहाँ घमण्ड, देखावटी, अभिमान, स्वार्थपना र अत्याचार प्रकट भयो। भड्केर गइरहेको चर्चले तिनीहरूको आँखा समयका चिन्हहरूतिर बन्द गरे। तर परमेश्वरले तिनीहरूलाई त्याग्नुभएन वा उहाँका विश्वासयोग्यतालाई असफल हुन दिनुभएन; तर तिनीहरू उहाँबाट तर्किए, र तिनीहरू आफैले आफूलाई उहाँको प्रेमबाट छुट्याए। जब तिनीहरूले शर्तहरूअनुसार चल्न इन्कार गरे, तब उहाँको प्रतिज्ञा तिनीहरूमा पूरा भएन। MBND 39.2
परमेश्वरले प्रदान गर्नुभएका अवसरहरू र ज्योतिहरूलाई विकास गर्न र कृतज्ञता व्यक्त गर्न हेलचेक्य्राइँ गर्दा निश्चितरूपमा परिणाम यस्तै नै हुन्छ। चर्चले प्रकट गरेको परमेश्वरको अगुवाइ अनुकरण नगरेसम्म ज्योतिको हरेक किरण स्वीकार गर्दै, प्रकट भएको प्रत्येक कार्यभार सम्हाल्दै नहिँडेसम्म निश्चय नै धर्म देखावटी विधिमा पतन हुनेछ र जीवित पार्ने भक्तिको आत्मा हराएर जानेछ। यो सत्यता चर्चको इतिहासमा बारम्बार प्रदर्शन गरिएको थियो। आशिष्हरू र अवसरहरू प्रदान गरिए अनुरूप परमेश्वरले उहाँका मानिसहरूबाट विश्वासको कार्य र आज्ञाकारिता माग्नुहुन्छ। आज्ञाकारितामा बलिदान आवश्यक पर्दछ र क्रूससँग सम्बन्धित हुन्छ; यसकारण धेरै जना ख्रीष्टको चेला भनी दाबी गर्नेहरूले स्वर्गबाट ज्योति स्वीकार गर्न इन्कार गर्छन्, र प्राचीन समयका यहूदीहरूझैँ तिनीहरूको कृपा-दृष्टिको समय थाहा पाउँदैनन्। लूका १९:४४। तिनीहरूको घमण्ड र अविश्वासको कारणले परमप्रभुले तिनीहरूलाई छोडे़र उहाँको सत्यता बेथलेहेमका गोठालाहरू र पूर्वीय ज्योतिषीहरू जस्तै आफूले प्राप्त गरिरहेका ज्योति पालना गर्ने मानिसहरूमाझ प्रकट गर्नुभयो। MBND 39.3