महान् विवाद नयाँ देशमा ज्योति
७ — अगमवाणीहरूको पूर्णता
जब परमप्रभुको आगमन पहिले अपेक्षा गरिएको समय अर्थात् १८४४को शरद् ऋतु पार भयो, तब जसले उहाँको आगमन विश्वाससाथ प्रतीक्षा गरे तिनीहरू केही समयसम्म सन्देह र अनिश्चिततामा डुबे। जब संसारले तिनीहरूलाई पूर्ण पराजय भएको भन्ठान्यो र भ्रमलाई आत्म-सात् गरेको भनी प्रमाणित गऱ्यो तब परमेश्वरको वचन नै तिनीहरूको सान्त्वनाको स्रोत भयो। तिनीहरूको विश्वासका प्रमाणहरू जाँच गर्दै कैयौँले धर्मशास्त्रहरूको अनुसन्धानलाई कायम राखे, र थप ज्योति प्राप्त गर्न होसियारसाथ अगमवाणीहरू अध्ययन गरे। तिनीहरूको विश्वासको समर्थनमा बाइबलका गवाहीहरू स्पष्ट र निर्णायक देखिन्थ्यो। सही चिन्हहरूले ख्रीष्टको आगमनको निकटतालाई केन्द्रित गरे। पापीहरूको परिवर्तन र इसाईहरूको बीचमा आत्मिकी जीवनको जागृति दुवैमा परमप्रभुको विशेष आशिष् थियो, त्यसले त्यो सन्देश स्वर्गबाट आएको हो भनी गवाही दियो। विश्वासीहरूले तिनीहरूका नैराश्यताको वर्णन गर्न सकेनन्, तापनि परमेश्वरले तिनीहरूलाई विगतका अनुभवहरूमा अगुवाइ गर्नुभएको थियो भनी तिनीहरू ढुक्क भए। MBND 127.1
तिनीहरूले दोस्रो आगमनको समयमा लागू हुन्छ भनी सोचेको अगमवाणीसँग मिसिएको शिक्षाचाहिँ विशेष गरेर तिनीहरूको अनिश्चितता र सन्देहको अवस्थाको लागि उपयुक्त थियो, र वर्तमान समयमा तिनीहरूका समझमा अन्धकार भए तापनि उचित समयमा स्पष्ट हुनेछ भन्ने कुरामा तिनीहरूलाई विश्वासका साथ प्रतीक्षा गर्न उत्साह दिलायो। MBND 127.2
यी अगमवाणीहरूमध्ये हबकूक २:१-४ पनि एउटा थियो: “म मेरो पहरामा नै उभिरहनेछु, र पर्खालमा म आफै खड़ा रहनेछु, र उहाँ मलाई के भन्नुहुन्छ सो म हेर्दैरहनेछु। यस उजूरको कस्तो जवाफ मैले दिनुपर्ने सो म हेरिबस्नेछु। तब परमप्रभुले मलाई जवाफमा भन्नुभयो, ‘तैंले यो प्रकाश पाटीहरूमा प्रष्ट गरी लेख्, र समाचारवाहक त्यससित दौड्न सकोस्। किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्यसले अन्तको विषयमा बताउँछ र त्यो झूटो ठहरिनेछैन। त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दैबस्, किनभने त्यो निश्चय नै पूरा हुनेछ, त्यसले ढिलो गर्नेछैन। हेर्, त्यो घमण्डले फुलिएको छ, त्यसका इच्छाहरू सोझा छैनन्—तर धर्मीचाहिँ आफ्नो विश्वासद्वारा जिउनेछ।’” MBND 127.3
“प्रकाश पाटीहरूमा प्रष्ट गरी लेख्, र समाचारवाहक त्यससित दौड्न सकोस्,” भन्ने यो अगमवाणीमा दिइएको निर्देशनले १८४२को आरम्भतिर दानिएल र प्रकाशको दर्शनहरूलाई व्याख्या गर्ने एउटा अगमवाणीक नक्सा तयार गर्ने चारल्स फिचलाई सल्लाह दिइयो। यो नक्साको प्रकाशनमा हबकूकले दिएको आदेश पूरा भएको भनी ठानियो। जे भए पनि उति नै खेर त्यही अगमवाणीमा दिइएको दर्शनको पूर्णतामा प्रत्यक्ष ढिलाइ भएको अर्थात् प्रतीक्षाको घड़ीलाई कसैले ध्यान दिएन। नैराश्यपछि त यो धर्मशास्त्र असाध्यै अर्थमुलक बन्न गयो: “किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्यसले अन्तको विषयमा बताउँछ र त्यो झूटो ठहरिनेछैन। त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दैबस्, किनभने त्यो निश्चय नै पूरा हुनेछ, त्यसले ढिलो गर्नेछैन। ... तर धर्मीचाहिँ आफ्नो विश्वासद्वारा जिउनेछ।” MBND 128.1
इजकिएलको अगमवणीको एक अंश विश्वासीहरूको निम्ति एक सान्त्वना र सामर्थ्यको एक स्रोत बन्न गयो: “परमप्रभुको यो वचन मकहाँ आयो: ‘हे मानिसको छोरो, “दिन बित्दैजान्छ, र पनि दर्शन भने कुनै कुरा हुँदैन” भन्ने तिमीहरूको देश इस्राएलमा चल्दैआएको यो उखान के हो? यसकारण तिनीहरूलाई भन्, “परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ... दिनहरू नजिकै छन्, जब हरेक दर्शन पूरा हुनेछ। ... मैले भन्ने कुराहरू म, परमप्रभु आफैले नै भन्नेछु, र त्यो ढिलो नभई पूरा हुनेछ।”’” “इस्राएलका घराना यसो भन्दैछ, ‘त्यसले देखेको दर्शन धेरै वर्षपछि मात्र पूरा हुनेछ, र त्यसले धेरै समयपछिको कुराहरूको अगमवाणी कहन्छ।’ यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मैले भनेको एउटै कुरा पनि अब ढिलो हुनेछैन, तर जे कुरा म भन्दछु, सो पूरा हुने नै छ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।’” इजकिएल १२:२१-२५, २७, २८। MBND 128.2
जसले आदि र अन्त जान्नुहुन्छ उहाँले युगहरूसम्म देख्नुभएको थियो र तिनीहरूका नैराश्यताको पूर्वदर्शन गर्नुभएको थियो, त्यसकारण तिनीहरूलाई आशा र साहसका वचनहरू प्रदान गर्नुभएको थियो भन्ने विश्वासका साथ प्रतीक्षारत जनहरू रमाए। यदि यस्ता प्रकारका धर्मशास्त्रका अंशहरूले धैर्यसाथ प्रतीक्षा गर्न र परमेश्वरको वचनमा भरोसा स्थिर राख्न तिनीहरूलाई चेतावनी नदिएको भए त्यो प्रतीक्षाको घड़ीमा तिनीहरूको विश्वास डग्मगाउनेथियो। MBND 128.3
मत्ती २५को दश कन्याहरूको दृष्टान्तले पनि दोस्रो आगमनको प्रतीक्षा गरिरहेका मानिसहरूको अनुभवलाई व्याख्या गर्दछ। मत्ती २४मा उहाँको आगमन र संसारको अन्त्यका चिन्हहरूको विषयमा जब चेलाहरूले प्रश्न गरे तब ख्रीष्टले जवाफमा संसार र चर्चको इतिहासमा हुने केही महत्वपूर्ण घटनाहरूको विषयमा भन्नुभयो जुन उहाँको प्रथमदेखि दोस्रो आगमनसम्म हुनेथियो; विशेष गरी यरूशलेमको विनाश, मूर्तिपूजक रोम र पोपको रोमको अधिकारको शासनमा हुने चर्चका सतावटहरूको महासङ्कष्ट, सूर्य र चन्द्रमा अँध्यारो हुने र ताराहरू खस्ने जस्ता कुराहरूमाथि उहाँले ध्यानाकर्षित गराउनुभयो। त्यसपछि उहाँले आफ्नो राज्यमा आफ्नो आगमन हुने कुरा गर्नुभयो, र उहाँले आफ्नो आगमनको प्रतीक्षा गर्ने दुई वर्गका कमाराहरूको विषयमा दृष्टान्त भन्नुभयो। अध्याय २५ यी शब्दहरूद्वारा आरम्भ हुन्छ: “तब स्वर्गको राज्य दश कन्याहरूसँग तुलना गर्न सकिन्छ।” यहाँ अन्तिम दिनहरूमा बाँचिरहेको मण्डलीलाई देखाइएको छ र अध्याय २४को अन्ततिर त्यही कुरालाई केन्द्रित गरेको छ। यो दृष्टान्तमा एक पूर्वीय विवाहको घटनाहरूद्वारा तिनीहरूको अनुभवलाई वर्णन गरिएको छ। MBND 129.1
“तब स्वर्गको राज्य दश कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आ-आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के। तीमध्ये पाँच जना निर्बुद्धि र पाचँ जनाचाहिँ बुद्धिमती थिए। किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्। तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे। दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए। तर मध्यरातमा ‘हेर दुलहा, उनलाई भेट्न आओ,’ भन्ने आवाज आयो।” [मत्ती २५:१-६]। MBND 129.2
पहिलो स्वर्गदूतको सन्देशको घोषणाअनुसार ख्रीष्टको आगमन दुलहाको आगमनद्वारा प्रतिनिधित्व गरेको थियो भन्ने बुझाइ थियो। उहाँको शीघ्र आगमनको घोषणामा व्यापक भएको सुधार-कार्य नै कन्याहरू बाहिर निस्कने क्रिया थियो। मत्ती २४मा जस्तै यो दृष्टान्तमा पनि दुई वर्गहरूको प्रतिनिधित्व गरेको छ। सबैले तिनीहरूसँग बत्ती अर्थात् बाइबल लिएर गएका थिए, र त्यही ज्योतिद्वारा तिनीहरू दुलहा भेट्न बाहिर निस्केर गए। तर “निर्बुद्धिहरूले आफ्ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्।” “तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे।” पछिल्लो वर्गले चाहिँ परमेश्वरको अनुग्रह, पवित्र आत्माको नयाँ बल प्रदान गर्ने, उज्ज्वल पार्ने शक्ति प्राप्त गरे, जसले उहाँको वचनलाई गोड़ाको निम्ति ज्योति र बाटोको निम्ति उज्यालो बनाउँछ। परमेश्वरको भयमा तिनीहरूले धर्मशास्त्रहरूको सत्यता सिक्न अध्ययन गरेका थिए, र उत्सुकतासाथ हृदय र जीवनको शुद्धता खोजेका थिए। यिनीहरूले परमेश्वर र उहाँको वचनमा विश्वासको व्यक्तिगत अनुभव प्राप्त गरेका थिए, जसलाई बियाँलो र नैराश्यले नष्ट पार्न सक्दैनथ्यो। अरूले “आफ्ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्।” तिनीहरू भावनाद्वारा अगि बढेका थिए। तिनीहरूको भय गम्भीर सन्देशले सचेत पारेको थियो, तर तिनीहरूचाहिँ आफ्ना साथीहरूका विश्वासमा भरोसा राखेका थिए, सत्यताको पूर्ण समझ वा हृदयमा हुने अनग्रहको साँचो कामविना नै असल भावनाहरूको धिपधिज बत्तीमा नै सन्तुष्टि थिए। यिनीहरू तुरुन्तै इनामको अभिलाषामा पूरा आशा लिई परमप्रभुलाई भेट्न गएका थिए; तर तिनीहरू बियाँलो र नैराश्यको निम्ति तयार थिएनन्। जब परीक्षा आयो तब तिनीहरूको विश्वास डग्मगाउन र तिनीहरूको ज्योति निभ्न लाग्यो। MBND 130.1
“दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।” दुलहाको बियाँलोले त्यो पार गरिएको समयलाई प्रतिनिधित्व गर्दछ जसमा परमप्रभुको आगमन आशा गरिएको थियो, र नैराश्य र बियाँलो मात्रै देखियो। यो अनिश्चितताको समयमा देखावटी चासो हुनेहरू र अल्प-हृदयकाहरू दोधारमा परे र तिनीहरूका प्रयत्नहरू शिथिल हुन थाले; तर जसको विश्वास बाइबलीय व्यक्तिगत ज्ञानमा आधारित थियो, तिनीहरूको गोड़ा चट्टानमाथि बसालिएको थियो, जसलाई नैराश्यको बाढ़ीले बगाउन सक्दैनथ्यो। तिनीहरू “सबै निद्राले लट्ठ भए र निदाए;” एउटा वर्गले आफ्ना विश्वासको बेवास्ता गरे र परित्याग गरे, अर्कोले भने अझै स्पष्ट ज्योति प्रदान नगरिएसम्म धैर्यसाथ प्रतीक्षा गरी नै रहे। यद्यपि त्यो परीक्षाको रातमा पछिल्लोको पनि उत्साह र समर्पण केही मात्रामा हराएको जस्तो देखिन्थ्यो। अल्प-हृदय र देखावटीहरू अब तिनीहरूका साथीहरूको विश्वासमा भरोसा गर्न सकेनन्। प्रत्येक व्यक्ति आफै खडा रहनु वा लड्नुपर्नेथियो। MBND 131.1
लगभग यही समयमा कट्टरपन्थ देखा पर्न थाल्यो। जसले सन्देशको जोशिला विश्वासीहरू हुन् भनी दाबी गर्दथे, तिनीहरूमध्ये केही जनाले परमेश्वरको वचनलाई एक अटल अगुवाको रूपमा मान्यता दिन इन्कार गरे र तिनीहरूलाई आत्माले अगुवाइ गरेको छ भन्ने कुरा दाबी गरेर तिनीहरूले आफ्नै भावनाहरू, विचारहरू र परिकल्पनाहरूको नियन्त्रणमा आफैलाई छाड़िदिए। त्यहाँ यस्ता मानिसहरू पनि थिए जसले तिनीहरूको कार्यमा सहमत नगर्नेहरू सबै जनालाई घृणा गर्दै अन्धो र अमिल्दो जोश प्रकट गर्थे। तिनीहरूका कट्टरपन्थी विचारहरू र व्यवहारहरूले गर्दा येशूको दोस्रो आगमनलाई प्रतीक्षा गर्नेहरूको ठूलो समूहबाट सहानुभूति प्राप्त गरेनन्, अझै पनि तिनीहरूले सत्यताको कार्यमा अपमान ल्याउने काम गरे। MBND 131.2
यही कार्यद्वारा परमेश्वरको कामलाई शैतानले विरोध गर्ने र नाश गर्ने प्रयास गरिरहेको थियो। येशूको दोस्रो आगमनको कार्यद्वारा मानिसहरूको मन अति छोएको थियो, हजारौँ पापीहरू परिवर्तन भएका थिए, र त्यो प्रतीक्षाको घड़ीमा पनि विश्वासयोग्य मानिसहरू आफै सुसमाचार घोषणा गर्ने कार्यमा समर्पित भएका थिए। दुष्टताको राजकुमारले त्यसका जनताहरू गुमाइरहेको थियो; र परमेश्वरको कार्यमा अपमान ल्याउनका लागि त्यसले विश्वासीहरूलाई बहकायो र तिनीहरूलाई चरमसीमासम्म पुऱ्याउन खोज्यो। त्यसपछि त्यसका समर्थकहरूले प्रत्येक गलत, प्रत्येक असफलता, प्रत्येक अनुचित व्यवहारलाई लिएर येशूको आगमनका विश्वासीहरू र तिनीहरूको विश्वासलाई घिनलाग्दो प्रकट गर्न बढाइचढाइ गरेर मानिसहरूको सामु प्रस्तुत गर्न तयारी अवस्थामा खडा थिए। यसरी उसले दोस्रो आगमनमा विश्वास गरेको दाबी गर्नेहरूलाई जति सङ्ख्या भित्र्याउन सक्थ्यो तैपनि तिनीहरूको हृदयचाहिँ उसको शक्तिले नियन्त्रण गरेको हुन्थ्यो, त्यति नै मात्रामा विश्वासीहरूको पूर्ण समूहका प्रतिनिधिहरू स्वरूप तिनीहरूप्रति ध्यानाकर्षित गर्नेद्वारा उसले धेरै फाइदा हासिल गर्न सक्थ्यो। MBND 131.3
शैतानचाहिँ “भाइहरूलाई दोष लगाउने” हो, र त्यसको आत्माले नै प्रभुका मानिसहरूका गल्तीहरू र खोटहरू खोज्ने र त्यसलाई बाहिर ल्याउने प्रेरणा दिँदछ, जबकि तिनीहरूका असल कार्यहरूको चाहिँ चर्चा नभई पार हुन्छन्। जब परमेश्वर मानिसहरूको मुक्तिको निम्ति काम गर्नुहुन्छ तब जहिले पनि ऊ क्रियाशील हुन्छ। जब परमेश्वरका छोराहरू परमप्रभुको सामुन्ने उपस्थित हुन्छन् तब शैतान पनि तिनीहरूको बीचमा आउँछ। प्रत्येक जागृतिमा अपवित्र हृदय भएकाहरू र असन्तुलित दिमाग भएकाहरू ल्याउन तयार हुन्छ। जब तिनीहरूले सत्यताका केही बुँदाहरू स्वीकार गर्छन्, र विश्वासीहरूसँग स्थान प्राप्त गर्छन् तब उसले तिनीहरूद्वारा यस्ता सिद्धान्तहरू समावेश गराउँछ जसले बेहोशीहरूलाई बहकाउँछ। कुनै व्यक्ति परमेश्वरका सन्तानको समूहमा छ, आराधनालयमा छ र परमप्रभुको टेबुलमा नै छ भन्दैमा सत्य इसाई प्रमाणित हुँदैन। शैतानले जसलाई आफ्नो माध्यम स्वरूप प्रयोग गर्न सक्छ, तिनीहरूलाई माध्यम बनाएर ऊ पनि प्राय: ती अति गम्भीर उत्सवहरूमा उपस्थित हुन्छ। MBND 132.1
स्वर्गीय सहरतर्फ गरेको यात्रामा परमेश्वरका मानिसहरू अघि सर्दा दुष्टताको राजकुमारले त्यसको प्रत्येक इन्चमा झगड़ा गर्छ। चर्चको सम्पूर्ण इतिहासमा कुनै पनि सुधार-कार्य गम्भीर बाधाहरूविना विकसित भएको छैन। पावलको दिनमा पनि त्यस्तै थियो। जहाँ-जहाँ प्रेरितले चर्च स्थापना गर्दथे त्यहाँ विश्वासलाई ग्रहण गर्न दाबी गर्ने केही मानिसहरू हुन्थे, जसले झूटा शिक्षाहरू ल्याउँदथे कि यदि ती स्वीकार गरेको भए बिस्तारै सत्यताको प्रेमबाट टाढा बनाउनेथिए। लुथरले पनि कट्टरपन्थी मानिसहरूको कामबाट ठूलो चिन्ता र तनाव भोगे जसले परमेश्वर तिनीहरूसँग प्रत्यक्ष बोल्नुभएको कुराको दाबी गरे र त्यसकारण तिनीहरूले धर्मशास्त्रको गवाहीभन्दा पनि तिनीहरूका आफ्नै विचारहरू र धारणा राखे। धेरै जना विश्वास र अनुभवमा कमी थिए, तापनि तिनीहरू ठूलोरूपले आत्म-निर्भर भएका महसुस गर्दथे र कुनै नयाँ कुरा सुन्न र भन्न मन पराउने गर्दथे, तिनीहरू ती नयाँ शिक्षकहरूका भेषद्वारा भ्रममा परे र परमेश्वरले लुथरलाई जुन कुरा निर्माण गर्नका लागि अगुवाइ गर्नुभएको थियो, तिनीहरू त्यसलाई भत्काउन शैतानका कामदारहरूसँग समावेश भए। वेश्लीहरू र अन्य मानिसहरूले तिनीहरूका प्रभाव र विश्वासद्वारा संसारलाई आशिषित तुल्याएका थिए, तिनीहरूले पनि अति जोशिलो, असन्तुलित र अपवित्र मानिसहरूलाई हरेक योग्यताको कट्टरपन्थभित्र धकेल्ने शैतानको चतुऱ्याइँसँग हरेक पाइलामा सामना गरे। MBND 132.2
विलियम मिलरले कट्टरपन्थमा पुऱ्याउने प्रभावहरूलाई कुनै पनि सहानुभूति देखाएनन्। तिनले पनि लुथरले झैँ भने कि प्रत्येक आत्मालाई परमेश्वरको वचनद्वारा जाँच्नुपर्छ। मिलरले भने, “वर्तमान दिनमा कति जनाको दिमागमा दियाबलसको ठूलो शक्तिले शासन गरेको छ। ती कस्ता प्रकारका आत्माहरू हुन् त भनी हामी कसरी जान्ने? बाइबलले जवाफ दिन्छ: ‘तिनीहरूका फलबाट चिन्नेछौ।’ ... संसारमा धेरै प्रकारका आत्माहरू निस्केर आएका छन् र हामीले आत्मालाई जाँच्नुपर्ने आदेश पाएका छौं। जुन आत्माले हामीलाई यस वर्तमान संसारमा संयमी, धर्मी र भक्तिसाथ जिउन अगुवाइ गर्दैन त्यो आत्मा ख्रीष्टबाट आएको होइन। म झन्-झन् विश्वस्त भएको छु कि यी असभ्य कार्यहरूमा शैतानले धेरै काम गरेको छ। ... हामीहरूमध्ये जतिले पूर्ण पवित्र भएको बहाना गरेका छन् तिनीहरूले मानिसहरूका परम्पराहरूलाई अनुकरण गरिरहेका छन्, र तिनीहरू पनि अरू त्यस्तो बहाना नगर्नेहरू जस्तै सत्यताप्रति चाहिँ त्यत्तिकै अनजान छन्।” —Bliss, pages 236, 237. “झूटो आत्माले हामीलाई सत्यताबाट टाढ़ा लैजान्छ र परमेश्वरको आत्माले हामीलाई सत्यतामा डोऱ्याउनुहुनेछ। तर तपाईं भन्नुहोला कि कुनै मानिस झूटमा हुन सक्छ र ऊसँग सत्यता छ भनी उसले सोच्छ। त्यसो भए के त? हामी आत्मा र वचन सहमत हुन्छ भन्ने जवाफ दिन्छौं। यदि कुनै मानिसले आफैलाई परमेश्वरको वचनद्वारा जाँच्छ र सम्पूर्ण वचनभरि पूर्ण मिलाप पाउँछ भने त्यसपछि ऊसँग सत्यता छ भनी उसले विश्वास गर्नुपर्छ; यदि उसलाई अगुवाइ गरेको आत्मा परमेश्वरको व्यवस्था वा पुस्तकको सम्पूर्ण प्रवाहसँग मिलेको पाइएन भने त्यसपछि ऊ होसियारसाथ हिँडोस्, नत्रता ऊ दियाबलसको पासोमा पर्नेछ।” —The Advent Herald and Signs of the Times Reporter, vol. 8, No. 23 (Jan. 15, 1845). “इसाईजगत्को सम्पूर्ण हल्लाबाट भन्दा आँखाको उज्ज्वलता, भिजेको गाला र घाँटीमा अड्केको उच्चारणबाट मैले प्रायः आन्तरिक भक्तिको प्रमाण प्राप्त गरेको छु।” —Bliss, page 282. MBND 133.1
सुधार-कार्यका दिनहरूमा जसले त्यसको विरुद्धमा बडो उत्सुकतासाथ परिश्रम गरिरहेका थिए सुधार-कार्यका शत्रुहरूले तिनीहरूलाई नै कट्टरपन्थको सम्पूर्ण दुष्टताको दोष लगाए। येशूको दोस्रो आगमनको अभियानका विरोधीहरूले पनि उस्तै कार्य गरेका थिए। चरमपन्थीहरू र कट्टरपन्थीहरूका झूटहरू कुव्याख्या र बढाइचढाइ गरेर सन्तुष्ट भएनन्, तिनीहरूले प्रतिकूल विवरणहरू फैल्याए जसमा सत्यताको केही समानता थिएन। ती मानिसहरू भेदभाव र घृणाद्वारा परिचालित भएका थिए। ख्रीष्ट ढोकामै हुनुहुन्छ भन्ने घोषणाद्वारा तिनीहरू बेचैन भए। यो सत्य हुन सक्छ भन्ने कुरामा तिनीहरू डराए तापनि त्यसो होइन कि भन्ने पनि आशा गरे, र दोस्रो आगमनका विश्वासीहरू र तिनीहरूको विश्वास विरुद्ध लड़ाइँको रहस्य यही नै थियो। MBND 134.1
पावल वा लुथरको दिनको चर्चमा कट्टरपन्थीहरू र ठगाहाहरूको उपस्थितिकै कारणले तिनीहरूको कार्यलाई दोष लगाउनुभन्दा पनि केही कट्टरपन्थीहरूले दोस्रो आगमनका विश्वासीहरूका समूहमा प्रवेश गरेको भन्ने कुराचाहिँ सो कार्य परमेश्वरबाट आएको होइन भनी निष्कर्ष निकाल्ने पर्याप्त बहाना छैन। परमेश्वरका मानिसहरू तिनीहरूका निद्राबाट जागून् र पश्चात्ताप र सुधार-कार्यको काम उत्सुकतासाथ सुरु गरून्; तिनीहरूले येशूमा भएझैँ सत्यता सिक्नका लागि धर्मशास्त्र खोजी गरून्; तिनीहरूले परमेश्वरमा पूर्ण समर्पण गरून् र शैतान अझै पनि क्रियाशील र सचेत छ भनी प्रमाणको अभाव हुनेछैन। उसको अधिकारमा भएका सम्पूर्ण पतित दूतहरू उसलाई सहयोग गर्न बोलाएर सम्पूर्ण सम्भावित छलका साथ उसको शक्ति प्रकट गर्नेछ। MBND 134.2
दोस्रो आगमनको घोषणाले कट्टरपन्थ र विभाजन ल्याएको होइन। जब दोस्रो आगमनका विश्वासीहरू आफ्नो वास्तविक विश्वासको विषयमा शङ्का र चिन्ताको अवस्थामा थिए तब यी कुराहरू १८४४को ग्रिष्म ऋतुमा देखा परेको थियो। पहिलो स्वर्गदूतको सन्देश र “मध्यरातको कराइ”-को प्रचारले कट्टरपन्थ र झगड़ा दबाएको प्रत्यक्ष देखियो। जो यी गम्भीर कार्यहरूमा संलग्न भए तिनीहरू एकै मनका थिए; तिनीहरूका हृदयहरू आपसी प्रेम र येशूप्रतिको प्रेमले भरिएका थिए, जो तिनीहरूले चाँडै नै भेट्ने आशा रोखेका थिए। एउटै विश्वास, एउटै आशिषित आशाले तिनीहरूलाई कुनै पनि मानविक प्रभावभन्दा पनि माथि उचालेको थियो र त्यो शैतानको आक्रमण विरुद्ध एक ढाल प्रमाणित भयो। MBND 135.1
“दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए। तर मध्यरातमा ‘हेर दुलहा, उनलाई भेट्न आओ,’ भन्ने आवाज आयो। तब ती सबै कन्याहरू ब्यूँझे, र आफ्नो-आफ्नो बत्ती ठीकठाक पारे।” मत्ती २५:५-७। २३०० दिनहरू अन्त हुनेछ भनी पहिले सोचेको समय र पछाड़ि ती पुग्छ भनी पत्ता लगाइएको त्यही सालको शरद् ऋतुको बीचमा, १८४४को ग्रीष्म ऋतुमा त्यो सन्देशचाहिँ धर्मशास्त्रकै शब्दहरूमा घोषणा गरिएको थियो: “हेर, दुलहा आउँदैछन्!” (KJV)। MBND 135.2
यरूशलेमको पुनर्स्थापना गर्ने अर्ताशास्तको आदेश जुन २३०० दिनहरूको अवधिको आरम्भ थियो, त्यो ४५७ बि.सी. को शरद् ऋतुमा लागू भयो तर अघि विश्वास गरेजस्तै वर्षको सुरुवातमा चाहिँ थिएन भन्ने पत्ता लगाइएको कुराले त्यस गतिविधितर्फ डोऱ्यायो। ४५७को शरद् ऋतुबाट हिसाब गर्दा २३०० वर्षहरू १८४४को शरद् ऋतुमा अन्त हुन्छ। (एपेण्डिक्समा हेर्नुहोस्, ३२९ पृष्ठको नोट)। MBND 135.3
पुरानो नियमका सङ्केतहरूबाट पनि यस्ता तर्कहरू निकालिएका थिए जसले “पवित्रस्थानको शुद्धीकरण” हुनुपर्ने घटनाको समय शरद् ऋतुतर्फ नै केन्द्रित गरिएको थियो। जब ख्रीष्टको पहिलो आगमनसँग सम्बन्धित सङ्केतहरू पूरा भएको तरिकाप्रति ध्यानाकर्षण गरियो तब यो कुरा स्पष्ट भयो। MBND 135.4
निस्तार चाड़को थुमा मारिने कार्यले ख्रीष्टको मृत्युलाई सङ्केत गरेको थियो। पावल भन्छन्: “हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ।” १ कोरिन्थी ५:७। जुन पहिलो फलको बिट्टा निस्तार चाड़को समयमा परमप्रभुको सामुन्ने डोलाउँदथ्यो सोचाहिँ ख्रीष्टको पुनरुत्थानको सङ्केत थियो। प्रभु र उहाँका मानिसहरूको पुनरुत्थानको विषयमा बोल्दै पावलले भने, “ख्रीष्टचाहिँ अगौटै फल, त्यसपछि उहाँको पुनरागमनमा ख्रीष्टका आफ्नैहरू।” १ कोरिन्थी १५:२३। कटनीभन्दा अगाड़ि भेला गराइएको पहिलो पाकेको अनाजमध्ये डोलाउने बिटाजस्तै ख्रीष्ट पनि उद्धार पाउनेहरूको अमरत्व कटनीको पहिलो फल हुनुहुन्छ, त्यसपछि भविष्यमा पुनरुत्थान हुनेहरू परमेश्वरको धन्सारमा जम्मा हुनेछन्। MBND 135.5
यी सङ्केतहरू घटनामा मात्र नभएर समयमा पनि पूरा भए। जुन दिन र महिनामा पन्ध्र शताब्दीहरूसम्म निस्तारको थुमा मारिएको थियो त्यही दिन र महिना अर्थात् यहूदीहरूको पहिलो महिनाको चौधौँ दिनमा ख्रीष्टले उहाँका चेलाहरूसँग निस्तार चाड़ मनाउनुभयो र उहाँले त्यो चाड़ स्थापना गर्नुभयो जुन “संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा”-को रूपमा भएको उहाँको आफ्नो मृत्युको स्मृति बन्न गयो। त्यही रात दुष्ट हातहरूद्वारा क्रूसमा टाँगिन र मारिन उहाँ लगिनुभयो। हाम्रा प्रभु डोलाउने बलिको वास्तविकताको स्वरूप तेस्रो दिनमा बौरिउठ्नुभयो, “सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ,” उहाँ पुनरुत्थान भएका धर्मीहरूको एक उदाहरण हुनुहुन्थ्यो, जसको “हीन शरीर” परिवर्तन हुनेछ र उहाँले उहाँको “महिमाको शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ।” १ कोरिन्थी १५:२०; फिलिप्पी ३:२१। MBND 136.1
त्यसै गरी दोस्रो आगमनको विषयमा वर्णन गर्ने सङ्केतहरू पनि साङ्केतिक सेवामा देखाएअनुसार समयमा नै पूरा भएको हुनुपर्छ। पवित्रस्थान शुद्धीकरण हुने मोशाको पद्धतिअनुसार यहूदीहरूको सातौँ महिनाको दशौँ दिनमा प्रायश्चित्तको दिन पर्दथ्यो (लेवी १६:२९-३४), जसमा प्रधान पूजाहारीले सम्पूर्ण इज्राएलीहरूका निम्ति प्रायश्चित्त गर्थ्यो र यसरी तिनीहरूका पापहरू पवित्रस्थानबाट मेटाएपछि बाहिर निस्केर मानिसहरूलाई आशिष् दिन्थ्यो। त्यसरी हाम्रा महाप्रधान पूजाहारी अर्थात् ख्रीष्ट पाप र पापीहरूको विनाशद्वारा पृथ्वी शुद्ध गर्न र उहाँको प्रतीक्षारत मानिसहरूलाई अमरत्वको आशिष् प्रदान गर्न आउनुहुनेछ भन्ने विश्वास थियो। सातौँ महिनाको दशौँ दिन अर्थात् महान् प्रायश्चित्तको दिन, पवित्रस्थानको शद्धीकरण १८४४को अक्टोबर २२मा परेको थियो र त्यसै दिनलाई प्रभुको अगमनको समय स्वरूप मानियो। यो २३०० दिनहरू शरद् ऋतुमा अन्त हुनेछ भनी प्रस्तुत भइसकेका प्रमाणहरूसँग पनि मिलेको थियो र यो निष्कर्ष शक्तिशाली देखियो। MBND 136.2
मत्ती २५को दृष्टान्तमा ढिलाइ र निदाएको समयपछि दुलहा आएको छ। योचाहिँ अगमवाणी र सङ्केतहरू दुवैद्वारा अघि प्रस्तुति गरिएको तर्कअनुसार नै थियो। तिनीहरूले आफ्ना सत्यवादिताको शक्तिशाली विश्वासलाई कायम राखे र “मध्यरातको कराइ” हजारौँ विश्वासीहरूद्वारा घोषणा गरियो। MBND 136.3
वेगवान् छालजस्तै त्यो कार्य देशभरि फैलियो। सहरदेखि सहरसम्म, गाउँदेखि गाउँसम्म र दुर्गम गाउँहरूसम्म पनि त्यो पुग्यो, यहाँसम्म कि परमेश्वरका प्रतीक्षारत मानिसहरू पूर्ण जागा नभएसम्म फैली नै रह्यो। उदाउँदै गरेको घामको सामु आरम्भित तुसारोझैँ कट्टरपन्थ यो घोषणा सामुन्ने हराएर गयो। तिनीहरूका शङ्का र चिन्ता हटेर गएका विश्वासीहरूले देखे, र तिनीहरूका हृदयहरूमा आशा र साहस जिवन्त भए। त्यो कार्य अतिवादविहीन थियो जुन परमेश्वरको वचन र पवित्र आत्माको नियन्त्रणको प्रभावविना नै जहिले पनि मानवीय उत्तेजनामा देखिन्छ। त्योचाहिँ प्राचीन इस्राएलीमा उहाँका दासहरूबाट हप्कीका सन्देशहरू पाएपछि आउने नम्रताका समयहरू र परमप्रभुतिर फर्कने कार्यको उस्तै प्रकारको थियो। त्यसले यस्तो चरित्रगुण धारण गऱ्यो कि परमेश्वरको कार्य प्रत्येक युगमा चिनायो। हृदयको गहिरो अनुसन्धान, पाप स्वीकार र संसारप्रति परित्यागमा नै ठूलो आनन्द थियो। परमप्रभुलाई भेट्न गरिने तयारीचाहिँ छट्पटाइरहेका हृदयको लागि बोझ थियो। त्यहाँ अथक प्रार्थना र परमेश्वरप्रति पूर्ण समर्पण गरिएको थियो। MBND 137.1
त्यो कार्यको विषयमा वर्णन गर्दै मिलरले भने: “त्यहाँ कुनै आनन्दको ठूलो वक्तव्य छैन: किनकि त्यो भविष्यको समयको लागि लुकाइएको छ जसमा सम्पूर्ण स्वर्ग र पृथ्वी सँगै अवर्णनीय आनन्द र महिमाको पूर्णतामा आनन्द मनाउनेछन्। त्यहाँ कुनै चर्को आवाज छैन: त्यो पनि स्वर्गबाट आउने चर्को आवाजको लागि लुकाइराखिएको छ। गायकहरू शान्त छन्: तिनीहरू स्वर्गबाट आएका सङ्गीतका दल अर्थात् स्वर्गदूतका दलहरूसँगै गाउन प्रतीक्षा गरिरहेका छन्। ... त्यहाँ कुनै मतान्तर छैन: सबै जना एउटै हृदय र एउटै मनका छन्।” —Bliss, pages 270, 271. MBND 137.2
यो कार्यमा सहभागी भएको अर्को एक जनाले गवाही दिए: “यसले उच्च स्वर्गको परमेश्वरको सामुन्ने हृदयको अति नै गहिरो जाँच र प्राणको नम्रता जताततै उत्पादन गरायो। यसले संसारका थोकहरूप्रति मोह त्याग्न, वाद-विवादहरू र दुश्मनीहरू समाधान गर्न, गल्तीहरू स्वीकार गर्न, परमेश्वरको अघि चकनाचूर बन्न र पश्चात्तापी बन्न, उहाँमा क्षमा र ग्रहणका लागि निर्धारित हृदयको निवेदन गर्न अगुवाइ गऱ्यो। यसले आत्म-नम्रता र प्राणको निर्बलता ल्यायो कि यस्तो पहिले कहिले देखेको थिएन। परमेश्वरले योएलद्वारा आज्ञा गर्नुभएझैँ, जब परमेश्वरको महान् दिन नजिकै हुन्थ्यो, तब त्यसले कपड़ा होइन हृदय फटायो, र उपवास बसेर, रुँदै र शोक गर्दै परमप्रभुतर्फ फर्कने बनायो। परमेश्वरले जकरियाद्वारा भन्नुभएझैँ, अनुग्रह र निवेदनको आत्मा उहाँका सन्तानमाथि खन्याइयो; तिनीहरूले उहाँमाथि हेरे जसलाई तिनीहरूले घोचेका थिए, त्यो देशमा तिनीहरू अत्यन्तै विलाप गरे, ... र जसले परमप्रभुको प्रतीक्षा गरिरहेका थिए तिनीहरूले उहाँको सामु आफूलाई इन्कार गरे।” —Bliss, in Advent Shield and Review, vol. 1, p. 271 (January, 1845). MBND 137.3
सम्पूर्ण महान् धार्मिक कार्यहरूमध्ये प्रेरितहरूका दिनहरूदेखि यता १८४४को शरद् ऋतुमा जस्तो मानवीय अपूर्णतारहित र शैतानका चतुऱ्याइँहरूरहित कहिल्यै पनि भएको थिएन। धेरै वर्षको अन्तरालपछि पनि अहिले त्यस कार्यमा सहभागी हुनेहरू र सत्यताको पक्षमा स्थिर उभिनेहरू सम्पूर्णले त्यो आशिषित कार्यको पवित्र प्रभाव अझै पनि महसुस गर्छन् र त्यो परमेश्वरबाट नै आएको थियो भनी गवाही दिन्छन्। MBND 138.1
“हेर दुलहा, उनलाई भेट्न आओ” भन्ने बोलावटमा प्रतीक्षारत जनहरू “ब्यूँझे, र आफ्नो-आफ्नो बत्ती ठीकठाक पारे।” तिनीहरूले कहिल्यै पनि अनुभव नगरेको उत्कट इच्छासाथ परमेश्वरको वचन अध्ययन गरे। जो-जो निराशमा परेका थिए तिनीहरूलाई जगाउन स्वर्गबाट स्वर्गदूतहरू पठाइए र तिनीहरूलाई सन्देश ग्रहण गर्न तयार पारे। मानिसहरूको बुद्धि र शिक्षाले त्यो कार्य भएको थिएन, तर परमेश्वरको शक्तिले भएको थियो। त्यो बोलावटलाई सबभन्दा पहिले सुन्ने र पालन गर्नेहरू सबभन्दा प्रतिभाशाली मानिसहरू थिएनन्, तर सबभन्दा नम्र र समर्पित मानिसहरू थिए। किसानहरूले तिनीहरूको बाली खेतमै छोडे, मिस्त्रीहरूले तिनीहरूका सर-सामानहरू थन्काए, र आँसु र आनन्दसाथ चेतावनी दिन बाहिर निस्केर गए। जसले पहिले परमेश्वरको कार्यमा अगुवाइ गरे तिनीहरू त्यो कार्यमा सहभागी हुन पछि परे। साधारणतया चर्चहरूले यो सन्देश विरुद्ध ढोका बन्द गरे, र जसले त्यो ग्रहण गरे तिनीहरूमध्ये ठूलो सङ्ख्यामा तिनीहरूको सम्बन्धबाट निस्केर आए। परमेश्वरको कृपाले गर्दा दोस्रो स्वर्गदूतको सन्देशसँगै यो घोषणा भएको कारण त्यो काममा शक्ति प्रदान गरियो। MBND 138.2
धर्मशास्त्रद्वारा प्रमाण स्पष्ट र निर्णायक भए तापनि “हेर, दुलहा आउँदैछन्” भन्ने सन्देश त्यति विवादपूर्ण विषयवस्तु थिएन। त्यसका साथै एक उत्साहपूर्ण शक्तिको परिचालित भयो जसले मानिसको मन छोयो। त्यहाँ कुनै शङ्का थिएन, कुनै प्रश्न पनि थिएन। यरूशलेममा ख्रीष्टको विजयपूर्ण प्रवेशको अवसरमा देशका विभिन्न क्षेत्रबाट चाड़ मान्न भेला भएकाहरू जैतुन पहाड़मा थुप्रिए, र जब तिनीहरू येशूलाई घेर्ने भीडमा सहभागी भए तब तिनीहरूले त्यो घड़ीको प्रेरणा प्राप्त गरे र त्यो आवाज गुञ्जायमान पार्न सहयोग गरे: “धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ!” मत्ती २१:९। त्यसरी कति जना अविश्वासीहरू जिज्ञासाले, कति जनाचाहिँ गिल्ला गर्न दोस्रो आगमनका सभाहरूमा थुप्रिए, तिनीहरूले त्यो सन्देशमा विश्वास दिलाउने शक्तिको महसुस गरे: “हेर, दुलहा आउँदैछन्।” MBND 138.3
त्यो समयमा यस्तो विश्वास थियो कि प्रार्थनाको जवाफ प्राप्त गरिन्थ्यो—यस्तो विश्वास थियो कि इनामको पुरस्कारसँग सम्बन्धित थियो। सुक्खा पृथ्वीमा पानीका वर्षा भएझैँ इच्छुक अनुसन्धाताहरूमाथि अनुग्रहको आत्मा वर्षियो। जसले तिनीहरूका मुक्तिदातासँग आमने-सामने उभिने अपेक्षा गरेका थिए, तिनीहरूले व्यक्त गर्न नसकिने गम्भीर आनन्द महसुस गरे। जब उहाँको आशिष् विश्वासयोग्य, विश्वासी जनहरूमाथि प्रशस्त गरी प्रदान गरियो तब पवित्र आत्माको नरम पार्ने र वशमा पार्ने शक्तिले हृदय पगाल्यो। MBND 139.1
जसले सन्देश ग्रहण गरे तिनीहरू होसियारी र गम्भीरतासाथ त्यो समयसम्म आइपुगे जुन समयमा तिनीहरूले आफ्ना प्रभुलाई भेट्ने अपेक्षा गरेका थिए। प्रत्येक बिहान परमेश्वरले तिनीहरूलाई ग्रहण गर्नुभयो भन्ने प्रमाण प्राप्त गर्ने तिनीहरूको प्रथम कर्तव्य थियो भनी तिनीहरूले महसुस गरे। तिनीहरूका हृदयहरू एकै थिए, र तिनीहरूले सँगै र एक-अर्काको लागि धेरै प्रार्थना गरे। तिनीहरू प्रायः एकान्त ठाउँहरूमा परमेश्वरसँग कुरा गर्न भेला हुन्थे, र ती खेतहरू र जङ्गलहरूबाट मध्यस्थताको आवाज उचालिन्थ्यो। तिनीहरूलाई तिनीहरूका दैनिक खानाभन्दा पनि मुक्तिदाताको सहमतिको आश्वासन झन् धेरै आवश्यक थियो; र यदि तिनीहरूको दिमाग बदलिएर अन्धकार भयो भने तिनीहरू त्यो सफा नभएसम्म विश्राम गर्दैनथे। जब तिनीहरूले क्षमापूर्ण अनग्रहको गवाही महसुस गरे तब तिनीहरूले उहाँलाई हेर्ने इच्छा राखे जसलाई तिनीहरूले आत्माबाटै प्रेम गरेका थिए। MBND 139.2
तर फेरि तिनीहरू नैराश्यमा पर्नुपर्नेथिए। अपेक्षा गरेको समय पार भयो, र तिनीहरूका मुक्तिदाता आउनुभएन। अचल भरोसाका साथ तिनीहरूले उहाँको आगमनको प्रतीक्षा गरेका थिए, र अब तिनीहरूलाई पनि मरियमलाई जस्तै लाग्यो जब तिनी मुक्तिदाताको चिहानमा आई र खालि भेटाई, तब तिनी आश्चर्यसाथ रुँदै भनी: “तिनीहरूले मेरा प्रभुलाई लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, म जान्दिनँ।” यूहन्ना २०:१३। MBND 139.3
यो सन्देश सत्य हुन सक्छ भन्ने भय अर्थात् डरको महसुसले यो अविश्वासी संसारमा केही समयसम्म नियन्त्रण गऱ्यो। त्यो समय पार भएपछि पनि यो महसुस तुरुन्तै हटेन; सुरुमा तिनीहरू नैराशित जनहरूमाथि विजय हुने आँट गरेनन्; तर जब तिनीहरूले परमेश्वरको क्रोधको कुनै चिन्ह देखेनन् तब तिनीहरू भयमुक्त भए र तिनीहरू घृणा र गिल्ला गर्नतर्फ लागे। जसले प्रभुको शीघ्र आगमनमा विश्वास गर्ने दाबी गरेका थिए, तिनीहरूको ठूलो समूहले आफ्ना विश्वास परित्याग गरे। त्यसमा यति विश्वस्त हुनेहरूमध्ये केहीको गौरवमा यति गहिरो चोट पऱ्यो कि यस संसारबाट नै भाग्न मन लाग्यो। योनाजस्तै तिनीहरू परमेश्वरको विषयमा गनगन गरे, र जीवनभन्दा बरु मृत्यु नै छाने। जुनहरूले तिनीहरूको विश्वास परमेश्वरको वचनमाथि नभई अरूको विचारमाथि राखेका थिए, अब तिनीहरू आफ्ना विचारहरू फेरि पनि परिवर्तन गर्न तयार भए। गिल्ला गर्नेहरूले कमजोर र कायरहरूलाई तिनीहरूको पक्षमा ल्याए, र अब कुनै डरहरू वा अपेक्षाहरू छैन भनी घोषणा गर्न तिनीहरू सबै जना एकत्र भए। समय पार भएको थियो, प्रभु आउनुभएको थिएन, र संसारचाहिँ हजारौँ वर्षहरूसम्म यस्तै रहन सक्थ्यो। MBND 140.1
उत्सुक र इमान्दार विश्वासीहरूले ख्रीष्टको खातिर सर्वस्व छोडेका थिए र कहिले पनि महसुस नगरेको उहाँको उपस्थितिमा तिनीहरू सहभागी भएका थिए। तिनीहरूले विश्वास गरेअनुसार तिनीहरूले संसारलाई आखिरी चेतावनी दिएका थिए; तिनीहरूका ईश्वरीय मालिक र स्वर्गीय दूतहरूको सङ्गतमा चाँडै नै स्वागत हुने अपेक्षा गरेर सन्देश ग्रहण नगर्ने सङ्गतबाट तिनीहरू झण्डै पूर्णरूपले अलग भएका थिए। तीव्र इच्छासाथ तिनीहरूले प्रार्थना गरेका थिए: “आउनुहोस्, प्रभु येशू र चाँडै आउनुहोस्।” तर उहाँ आउनुभएको थिएन। अब फेरि जीवनका चिन्ताहरू र फिक्रीहरूका गह्रुङ्गो भारी उठाउनु र खिसी गर्ने संसारका ठट्ठाहरू र गिल्लाहरू सहनुचाहिँ विश्वास र धैर्यको डरलाग्दो जाँच थियो। MBND 140.2
तापनि यो नैराश्यचाहिँ ख्रीष्टको पहिलो आगमनमा चेलाहरूद्वारा अनुभव गरेको नैराश्यभन्दा ठूलो थिएन। जब येशू विजयीपूर्ण साथ गधामाथि चढेर यरूशलेममा आउनुभयो, तब उहाँका चेलाहरूले विश्वास गरे कि अब उहाँ दाऊदको सिंहासनमा चढ्नै लाग्नुभएको थियो र इस्राएललाई अत्याचारीहरूको हातबाट छुटकारा दिलाउनै लाग्नुभएको थियो। उच्च आशाहरू र हर्षित आकाङ्क्षाहरूसाथ तिनीहरू आफ्ना राजाप्रति आदर प्रकट गर्न एक-अर्कामा होडबाजी चलिरहेको थियो। धेरै जनाले तिनीहरूका बाहिरी वस्त्र बाटोमा ओछ्याइदिए, वा उहाँको अघि पातले भरिएको खजूरका हाँगाहरू छरिदिए। तिनीहरूका जोशिलो आनन्दमा तिनीहरू आनन्दले एकसाथ कराए: “दाऊदका पुत्रलाई होसन्ना!” जब फरिसीहरू त्यो आनन्दपूर्ण उत्तेजित जमातद्वारा झर्को माने र रिसाएर येशूले उहाँका चेलाहरूलाई हकारून् भन्ने इच्छा गरे, तब उहाँले जवाफ दिनुभयो: “यिनीहरू चूप लागे भने ढुङ्गाहरू कराउनेछन्।” लूका १९:४०। अगमवाणी पूरा हुनुपर्नेथियो। चेलाहरूले परमेश्वरको अभिप्राय पूरा गरिरहेका थिए; तापनि तिनीहरूमाथि तीतो नैराश्य आउनै लागेको थियो। तिनीहरूले केवल केही दिनपछि नै मुक्तिदाताको संतापपूर्ण मृत्यु देखे र उहाँलाई चिहानमा राखे। तिनीहरूका अपेक्षाहरू कुनै पनि कुरामा पूरा भएन र तिनीहरूका आशाहरू येशूसँगै मरेका थिए। तिनीहरूका प्रभु विजेता भई चिहानबाट बाहिर निस्की नआउञ्जेलसम्म तिनीहरूले बुझ्न सकेनन् जुन अगमवाणीद्वारा सम्पूर्ण कुरा पूर्ववाणी गरिएको थियो र “ख्रीष्टलाई अवश्य दुःख भोग्नु र मृतकबाट जीवित हुनुपर्थ्यो।” प्रेरित १७:३। MBND 140.3
पाँच सय वर्ष अगाड़ि नै परमप्रभुले जकरिया अगमवक्ताद्वारा घोषणा गर्नुभएको थियो: “हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोरसित कराऊ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्छ। उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। उहाँ भला हुनुहुन्छ, र गधामाथि, अर्थात् गधाको बच्चा एउटा बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।” जकरिया ९:९। ख्रीष्ट न्यायमा र मृत्युमा जाँदैहुनुहुन्छ भनी चेलाहरूले जानेको भए तिनीहरूले यो अगमवाणी पूरा गर्न सक्दैनथे। MBND 141.1
त्यसरी नै मिलर र तिनका सहकर्मीहरूले अगमवाणी पूरा गरे र संसारलाई प्रकट गर्नुपर्छ भन्ने प्रेरणाले पूर्ववाणी गरेको सन्देश तिनीहरूले दिए, तर यदि तिनीहरूले आफ्नो नैराश्य प्रकट गरेको र परमप्रभु आउनुभन्दा अगाड़ि सारा जातिहरूलाई प्रचार गर्नुपर्ने अर्को सन्देश प्रकट गराउने अगमवाणीहरू पूर्णरूपले बुझेका भए तिनीहरूले त्यो दिन सक्दैनथे। पहिलो र दोस्रो स्वर्गदूतको सन्देश ठीक समयमा प्रचार गरियो र परमेश्वरले तिनीहरूद्वारा पूरा गर्न चाहनुभएको काम पूरा भयो। MBND 141.2
संसारले हेरिरहेको वा आशा गरिरहेको थियो कि यदि समय पार भयो र ख्रीष्ट आउनुभएन भने दोस्रो आगमनको विश्वास बिलाएर जानेछ। तर कति जनाले शक्तिशाली परीक्षाको कारण तिनीहरूको विश्वास छोडे भने कति जनाचाहिँ स्थिर भई खडा रहे। दोस्रो आगमनको कार्यका फलहरू स्वरूप नम्रताको आत्मा र हृदयको जाँच, संसारको परित्याग र जीवनको सुधार जस्ता कार्यहरू भए, जसले यो परमेश्वरबाट नै आएको थियो भन्ने गवाही दिएको थियो। दोस्रो आगमनको प्रचार पवित्र आत्माको शक्तिद्वारा नै भएको थियो भन्ने कुरा तिनीहरूले इन्कार गर्ने साहस गरेनन् र तिनीहरूले अगमवाणीको अवधिको हिसाबमा पनि केही गल्ती पत्ता लगाउन सकेनन्। तिनीहरूका विरोधीहरूमध्ये सबभन्दा सक्षम विरोधी पनि तिनीहरूको अगमवाणीको वर्णन प्रणालीलाई नष्ट गर्न सकेन। बाइबलको प्रमाणविना तिनीहरूको विश्वास त्याग्न सहमत भएनन् जुन उत्कट प्रार्थनाका साथ धर्मशास्त्रको अध्ययनबाट परमेश्वरका आत्माद्वारा दिमागहरूमा प्रकाश पाएको थियो र त्यसकै जीवित शक्तिले हृदय पोलिरहेको थियो; जुन विश्वासले सबभन्दा कठोर आलोचना र प्रसिद्ध धार्मिक शिक्षकहरू र सांसारिक बुद्धिमानी मानिसहरूको सबभन्दा तीतो विरोध सामना गरेको थियो र जसले शिक्षित र भाषणकलायुक्त मानिसहरूको संयुक्त फौज, र प्रतिष्ठित र नीचहरू दुवैका उस्तै गिल्लाहरू र खिसीहरू विरुद्ध दृढतासाथ खडा भयो। MBND 141.3
यो कुरा साँचो थियो कि अपेक्षा गरिएको घटना असफल भयो, तर त्यसले पनि परमेश्वरको वचनमा भएको तिनीहरूको विश्वासलाई हल्लाउन सकेन। जब चालिस दिनमा सहर नष्ट हुनेछ भनी योनाले निनवेका सड़कहरूमा घोषणा गरे, तब परमप्रभुले निनवेका मानिसहरूको नम्रता ग्रहण गर्नुभयो र तिनीहरूको पश्चात्तापको समय थपिदिनुभयो; यद्यपि योनाको सन्देश परमेश्वरले नै पठाउनुभएको थियो, र निनवेचाहिँ उहाँको इच्छाअनुसार जाँचियो। त्यसै गरी दोस्रो आगमनका विश्वासीहरूले विश्वास गरे कि परमेश्वरले तिनीहरूलाई न्यायको चेतावनी प्रदान गर्न अगुवाइ गर्नुभएको थियो। तिनीहरूले घोषणा गरे: “सुन्नेहरू सबैका हृदयहरू यसले जाँचेको छ, र परमप्रभुको आगमनप्रति एउटा प्रेम जगाएको छ; अथवा यसले उहाँको आगमनको विषयमा खुल्लमखुल्ला वा गुप्तमा घृणा जगाएको छ, तर परमेश्वरलाई पहिल्यै थाहा थियो। यसले एउटा रेखा कोरेको छ ... ताकि ज-जसले तिनीहरूको आफ्नै हृदय जाँच्नेछन्, तिनीहरूले जान्न सकून् कि तिनीहरू त्यो रेखाको कतातिर भेटाइनेछन्, यदि त्यति बेला परमप्रभु आउनुभएको भए ‘हेर, यहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ; हामीले उहाँको बाटो हेऱ्यौं, र उहाँले हामीलाई बचाउनुहुनेछ’ भनी तिनीहरू कराएका हुन्थे कि तिनीहरूले चट्टानहरू र पहाड़हरूलाई तिनीहरूमाथि खसोस् र सिंहासनमा बस्नुहुनेको मुहारबाट र थुमाको क्रोधबाट तिनीहरूलाई लुकाओस् भनी कराउनेथिए। परमेश्वरले यसरी हामीले विश्वास गरेझैँ उहाँका मानिसहरूलाई जाँच्नुभएको छ, तिनीहरूका विश्वास जाँच्नुभएको छ, तिनीहरूलाई प्रमाणित गर्नुभएको छ, र सङ्कष्टको समयमा उहाँले तिनीहरूलाई राख्न उचित ठान्नुभएको अवस्थाबाट पछि हट्छन् कि हट्दैनन् भनी उहाँले हेर्नुभएको छ; र तिनीहरूले संसारलाई त्यागेर परमेश्वरको वचनमा मात्रै सम्पूर्ण भरोसा राख्छन् कि राख्दैनन् भनी हेर्नुभएको छ।” —The Advent Herald and Signs of the Times Reporter, vol. 8, No. 14 (Nov. 13, 1844) MBND 142.1
परमेश्वरले तिनीहरूका विगतको अनुभवमा अगुवाइ गर्नुभयो भनी जसले अझै पनि विश्वास गरे तिनीहरूका भावनाहरू विलियम मिलरका शब्दहरूमा व्यक्त भएका छन्: “यदि मैले फेरि जीवन जिउन पाएको भए जुन प्रमाण त्यो समयमा मैले पाएको थिएँ, त्यसैको आधारमा परमेश्वर र मानिससँग ईमानदारितासाथ भन्नुपर्दा मैले पहिले जसो गरें, म फेरि त्यसै गर्नेथिएँ।” “मैले मेरो पोशाक मानिसहरूको रगतबाट मुक्त बनाएको छु भन्ने मलाई आशा छ। मेरो शक्तिले भ्याएसम्म तिनीहरूको सम्पूर्ण दोषबाट आफूलाई मुक्त गराएको म अनुभव गर्छु।” यो परमेश्वरको मानिसले लेखे, “म दुई पल्ट नैराश्यमा परे तापनि म अहिलेसम्म त नष्ट वा निराश भएको छैनँ। ... ख्रीष्टको आगमनमाथि मेरो आशा पहिले जस्तै बलियो छ। गम्भीर चिन्तन-मननका वर्षहरूपछि मात्र मेरो गम्भीर कर्तव्य मलाई जे महसुस भयो मैले त्यही गरें। यदि मैले केही गल्ती गरें भने त्यो त्यही नै थियो कि सँगी मानिसहरूप्रति माया, प्रेम र परमेश्वरप्रति कर्तव्यको महसुस गरेको थिएँ।” “मलाई एउटा कुरा थाहै छ, मैले विश्वास गरेको कुराबाहेक मैले अरू कुनै पनि कुरा प्रचार गरेको छैनँ; र परमेश्वर मसँग हुनुभएको छ; उहाँको शक्ति यो कार्यमा प्रकट रहेको छ, र धेरै असल काम भएको छ।” “पूरै मानवीय दृष्टिकोणमा धेरै हजार मानिसहरू त्यो समयको प्रचारद्वारा धर्मशास्त्र अध्ययन गर्न लागेका छन्, र विश्वास र ख्रीष्टको रगतको छर्काइद्वारा परमेश्वरमा मिलाप भएका छन्।” —Bliss, pages 256, 255, 277, 280, 281. “मैले कहिल्यै पनि घमण्डीहरूको मुस्कान चाहना गरेको छैनंँ, नता संसारको रिसबाट नै म डराएँ। अब म तिनीहरूको समर्थन किन्न चाहन्नँ, नता तिनीहरूको घृणा उक्साउन मेरो कर्तव्यभन्दा पर जानेछु। म कहिले पनि मेरो जीवनको सुरक्षा तिनीहरूको हातबाट खोज्नेछैनँ र यदि परमेश्वर उहाँको असल कृपामा निर्देशन दिनुहुन्छ भने तिनीहरूको हातबाट जीवन गुमाउनदेखि पछि हट्नेछैनँ भनी आशा गर्दछु।” —J. White, Life of Wm. Miller, page 315. MBND 143.1
परमेश्वरले उहाँका मानिसहरूलाई त्याग्नुभएन; जसले हडबडीका साथ तिनीहरूले प्राप्त गरेका ज्योति इन्कार गरेनन्, नता दोस्रो आगमनको कार्य इन्कार गरे तिनीहरूसँग अझै पनि पवित्र आत्मा रहनुभयो। हिब्रूहरूलाई लेखेको पत्रमा यो सङ्कष्टको समयमा जाँचमा परेकाहरू र प्रतीक्षारत जनहरूका लागि साहस र चेतावनीका शब्दहरू छन्: “त्यसकारण आफ्नो यो भरोसा नत्याग, जसमा ठूलो इनामको प्रतिफल छ। परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ। किनकि अब एकै छिनमा, ‘आउनुहुनेचाहिँ आउनु नै हुनेछ, र बियाँलो गर्नुहुनेछैन। तर मेरो धार्मिक जनचाहिँ विश्वासद्वारा बाँच्नेछ, र यदि ऊ पछि हट्छ भनेता म उसँग खुशी हुनेछैनँ।’ तर हामी पछि हट्ने र विनाश पारिनेहरूमध्येका होइनौं, तर विश्वास गरी बचाइएकाहरूमध्येका हौं।” हिब्रू १०:३५-३९। MBND 143.2
यो चेतावनी अन्तिम दिनहरूको चर्चलाई सम्बोधन गरिएको छ भन्ने कुरा प्रभुको आगमनको निकटता देखाएका शब्दहरूले प्रमाणित गर्दछ: “एकै छिनमा, ‘आउनुहुनेचाहिँ आउनु नै हुनेछ, र बियाँलो गर्नुहुनेछैन।’” यो स्पष्ट सङ्केत गरिएको हो कि त्यहाँ प्रत्यक्ष ढिलाइ भएको थियो र परमप्रभु बियाँलो गर्नुभयो जस्तो देखिएको थियो। यहाँ दिइएको शिक्षा विशेष गरी यो समयमा भएको दोस्रो आगमनको विश्वासीहरूको अनुभवमा उपयुक्त छ। यहाँ सम्बोधन गरिएका मानिसहरूले विश्वासको जहाज ध्वंस गर्ने खतरामा छन्। तिनीहरूले उहाँको आत्मा र उहाँको वचनको अगुवाइलाई अनुकरण गरेर परमेश्वरको इच्छा पूरा गरेका थिए; तापनि तिनीहरूले आफ्ना विगतका अनुभवमा उहाँको उद्देश्य बुझ्न सकेनन्, नता तिनीहरूले अगाड़ि भएको मार्ग नै चिन्न सके, र परमेश्वरले साँच्चै अगुवाइ गर्नुभएको छ कि छैन भनी तिनीहरू परिक्षित भए। यो समयमा ती शब्दहरू उपयुक्त भए: “धार्मिक जनचाहिँ विश्वासद्वारा बाँच्नेछ।” जब तिनीहरूको मार्गमा “मध्यरातको कराइ”-को उज्ज्वल ज्योति चम्केको थियो र तिनीहरूले अगमवाणीहरू खोलिएका र ख्रीष्टको आगमनको निकटता निर्देशन गर्ने चिन्हहरू निकै छिटो-छिटो पूरा भएका देखे तब तिनीहरूले देखेको जस्तै गरी हिँड़े। तर अब निराशपूर्ण आशाहरूद्वारा ढलेर तिनीहरू परमेश्वर र उहाँको वचनमाथि विश्वास गरेर मात्र खडा हुन सक्थे। उपहास गर्ने संसारले भनिरहेको थियो: “तिमीहरू भ्रममा परेका छौ। तिमीहरूको विश्वास छोडिदेऊ, र दोस्रो आगमनको कार्यचाहिँ शैतानको थियो भनी भन।” तर परमेश्वरको वचनले घोषणा गऱ्यो: “यदि ऊ पछि हट्छ भनेता म उसँग खुसी हुनेछैनँ।” अहिले तिनीहरूको विश्वास त्याग्नु र त्यो सन्देशमा रहेको पवित्र आत्माको शक्तिलाई इन्कार गर्नुचाहिँ विनाशतर्फ गएको हुनेथियो। तिनीहरू पावलका शब्दहरूद्वारा दृढ रहन साहस प्राप्त गरे: “आफ्नो यो भरोसा नत्याग,” “तिमीहरूलाई स्थिर रहनु आवश्यक छ,” “अब एकै छिनमा, ‘आउनुहुनेचाहिँ आउनु नै हुनेछ, र बियाँलो गर्नुहुनेछैन।’” तिनीहरूको एउटा सुरक्षित उपायचाहिँ यही थियो कि तिनीहरू परमेश्वरबाट प्राप्त गरिसकेको ज्योति कायम राख्नुपर्ने, उहाँका प्रतिज्ञाहरू बलियो गरी पक्रनुपर्ने, र निरन्तररूपले धर्मशास्त्र खोजी गर्नुपर्ने, र धैर्यसाथ प्रतीक्षा गर्नुपर्ने र बाँकी ज्योति प्राप्त गर्न जागा रहनुपर्नेथिए। MBND 144.1