महान् विवाद नयाँ देशमा ज्योति

6/13

६ — एक चेतावनी इन्कार भयो

दोस्रो आगमनको सिद्धान्तको प्रचारमा विलियम मिलर र तिनका साथीहरूले न्यायको निम्ति मानिसहरूलाई तयारी हुन प्रोत्साहन गर्ने एउटै उद्देश्‍‍यका साथ परिश्रम गरेका थिए। तिनीहरूले धर्मको दाबी गर्नेहरूलाई चर्चको सत्य आशा र तिनीहरूको अझै गहिरो इसाई अनुभवको आवश्‍‍यकतामा जागृत पार्ने प्रयास गरेका थिए, र तिनीहरूले परिवर्तन नभएकाहरूलाई तुरुन्तै परमेश्‍‍वरमा पश्‍चात्ताप र परिवर्तन हुनुपर्ने कामप्रति जागृति दिलाउन परिश्रम गरे। “तिनीहरूले धर्मको नाममा मानिसहरूलाई कुनै पनि धर्ममा भएको पन्थ वा पार्टीमा परिवर्तन गर्ने प्रयास गरेनन्। यसरी तिनीहरूले सबै पार्टीहरू र पन्थका मानिसहरूका माझमा उनीहरूको संस्था वा अनुशासनलाई बाधा नगरीकन काम गरे।” MBND 109.1

मिलरले भने, “मेरा सम्पूर्ण परिश्रमहरूबाट अवस्थित संस्थाहरूभन्दा पनि कुनै भिन्‍नै विचार स्थापना गर्न वा एउटाको खर्चले अर्कोलाई लाभ गराउने जस्ता कार्य मैले कहिल्यै इच्छा वा विचार गरेको थिइनँ। मैले सबैलाई लाभ पुऱ्याउने विचार गरेको थिएँ। ख्रीष्‍टको आगमनको अवधारणामा सम्पूर्ण इसाईहरू आनन्द मनाउनेछन्, र जसले मैले जस्तै गरी देखेनन् तिनीहरूले यो सिद्धान्त अपनाउनेहरूलाई पहिलेभन्दा थोरै माया गर्नेछैन भन्‍ने अनुमान गरेर, त्यहाँ कहिल्यै पनि एउटा छुट्टै सभा हुनुपर्छ भन्‍ने कुरा मैले सोचेकै थिइनँ। मेरो सम्पूर्ण उद्देश्‍‍य नै मानिसलाई परमेश्‍‍वरतर्फ डोऱ्याउने, संसारलाई आगामी न्यायको जानकारी गराउने, र मेरो साथीहरूलाई हृदयको तयारी गर्न प्रोत्साहन दिने इच्छा थियो, जसले तिनीहरूको परमेश्‍‍वरसँग शान्तिमा भेट्‍न सक्षम तुल्याउँछ। मेरो परिश्रमबाट परिवर्तन भएको बहुसङ्ख्यक मानिसहरू विभिन्‍न प्रचलित चर्चहरूमा गए।” —Bliss, page 328. MBND 109.2

तिनको कार्य चर्च-निर्माण गर्ने प्रकारका भएको कारणले केही समयको निम्ति त्यसलाई मन पराइए। तर जब प्रचारकहरू र धार्मिक अगुवाहरूले दोस्रो आगमनको सिद्धान्तको विरुद्धमा निर्णय गरे र त्यो विषयका सबै छलफललाई दबाउने इच्छा गरे, तब तिनीहरूले यसलाई पुल्पिटबाट मात्रै विरोध गरेनन्, तर तिनीहरूका सदस्यहरूलाई दोस्रो आगमनको प्रचारमा उपस्थित हुने अवसर वा चर्चको सामाजिक सभाहरूमा तिनीहरूको आशाको विषयमा बोल्‍न इन्कार गरे। यसरी विश्‍‍वासीहरूले आफैलाई एक महान् कष्‍ट र आपत्तिको अवस्थामा फेला पारे। तिनीहरूले आफ्‍ना चर्चहरूलाई माया गरे र तिनीहरूबाट छुट्टिन तिनीहरूलाई पटक्‍कै मन थिएन; तर जसरी तिनीहरूले परमेश्‍‍वरको वचनका गवाहीहरू दबिएको देखे र अगमवाणीहरू अनुसन्धान गर्ने तिनीहरूको अधिकारहरूको इन्कार भयो, त्यसरी तिनीहरूले सोचे कि परमेश्‍‍वरमा बफादारिताले तिनीहरूलाई समर्पण गर्न निषेध गरायो। जसले परमेश्‍‍वरको वचनको गवाहीलाई बन्द पार्ने प्रयास गरे तिनीहरूलाई नै ख्रीष्‍टको चर्च निर्माण गर्ने “सत्यताको खामो र आड़” मान्‍न सकिँदैनथियो। त्यसकारण तिनीहरूलाई अघिल्‍लो सम्बन्धबाट छुट्टिनु नै असल लाग्यो। १८४४को ग्रिष्म ऋतुमा लगभग पचास हजार मानिसहरू चर्चहरूबाट निस्के। MBND 109.3

लगभग यही समयमा संयुक्त राज्यभरि भएका धेरैजसो चर्चहरूमा स्पष्‍ट परिवर्तन देखिन्थ्यो। त्यहाँ धेरै वर्षसम्म बिस्तारै तर नियमितरूपमा सांसारिक व्यवहारहरू र चलनहरूतर्फ परिवर्तन भइरहेको थियो, साथ-साथै वास्तविक आत्मिकी जीवनमा पनि ह्रास आएको थियो; तर त्यो वर्षमा झण्डै देशका सम्पूर्ण चचर्हरूमा अचानक र स्पष्‍ट पतनका प्रमाणहरू देखिए। जहाँ कोही पनि कारण पत्ता लगाउन सक्षम थिएनन्, यथार्थता आफै व्यापकरूपमा प्रसिद्ध भयो र छापाखाना र पुल्पिट दुवैबाट प्रस्तुत गरिएको थियो। MBND 110.1

फिलाडेल्फियामा भएका पास्टरहरूको सभामा व्यापक प्रयोग गरिएको व्याख्यामय लेखको लेखक श्रीमान् बार्नसले यसो भने जो त्यो सहरका एक मुख्य चर्चका पास्टर थिए, “प्रचारकको काम बीस वर्षदेखि गर्दै आएको कुरा तिनले बताए, र अस्तिको प्रभुभोजसम्म कहिल्यै पनि तिनले चर्चमा धेरै वा थोरै सङ्ख्या ग्रहण नगरीकन विधिको सेवाकार्य गरेका थिएनन्। तर अब चर्चमा जागृति छैन, परिवर्तन नै छैन, इसाई भन्‍नेहरूमा अनुग्रहको विकास त्यति स्पष्‍टरूपमा केही पनि देखिएको छैन, र तिनीहरूको आत्माको मुक्तिको लागि छलफल गर्न तिनको अध्ययन गर्ने कोठामा कोही पनि मानिस आउँदैनन्। व्यवसायको विकास, व्यापार र उद्योगको उज्‍ज्‍वल धारणाहरूले त्यहाँ एक सांसारिक विचारको विकास भएको थियो। सबै संस्थाहरूमा यस्तै भएको छ।”Congregational Journal, May 23, 1844. MBND 110.2

त्यही वर्षको फेब्रुअरी महिनामा ओबरल्याण्ड कलेजको प्राध्यापक फिनीले भने: “हाम्रो दिमाग अघि एउटा वास्तविकता थियो, साधारणतया हाम्रो देशका प्रोटेस्टेन्ट चर्चहरू झण्डै त्यो युगको सबै नैतिक सुधारहरूप्रति चासो नराख्‍ने वा शत्रुभावपूर्ण नै थिए। त्यहाँ केही अपवादहरू छन्, तापनि त्यो सत्यता साधारणभन्दा अरू तरिकाले प्रकट गर्न चाहिँ पर्याप्‍त हुँदैन। हाम्रो अर्को प्रमाणको आधारमा पुष्‍टि भएको सत्यता पनि छ: चर्चहरूमा लगभग विश्‍‍वव्यापी जागृति हीन छ। आत्मिकी अचेतताले सबैतिर प्रभाव पारेको छ, र त्यो डरलाग्दो अनि गहिरो छ; सारा देशको धार्मिक छापाखानाले यस्तै गवाही दिन्छ। ... एकदमै प्रचुर मात्रामा चर्चका सदस्यहरू फेशनका सेवकहरू भएका छन्—मोजमस्तीको भोजमा, नाचमा र मेलाहरूमा अधर्मीहरूसँग हात समाएर हिँड्‍छन्, इत्यादी। ... तर हामीले यो दर्दनाक विषयलाई फैल्याउन आवश्‍‍यक छैन। यो कुरा पर्याप्‍त छ कि प्रमाणहरू बढ्‍दै जान्छन्, प्रायः चर्चहरू दुःखलाग्दो तरिकाले पतन भइरहेका छन् जसको भारी बोझ हामीमाथि आइपर्दछ। तिनीहरू परमप्रभुबाट धेरै टाढ़ा गएका छन्, र तिनीहरूबाट उहाँ आफै निस्केर जानुभएको छ।” MBND 111.1

अनि एक धार्मिक दुरदर्शी लेखकले गवाही दिए: “हामीले वर्तमान समयमा झैँ यस्तो धर्मको साधारण ह्रास कहिल्यै पनि देखेका थिएनौं। साँच्‍चै नै चर्च जाग्‍नुपर्छ, र यो कष्‍टका कारणहरूका विषय अनुसन्धान गर्नुपर्छ; किनकि जसले सियोनलाई प्रेम गर्दछ त्यसले यो कष्‍टको स्‍वरूपलाई देख्‍नुपर्छ। जब हामी स्मरण गर्छौं कि सत्य परिवर्तनका अवस्थाहरू कति ‘थोरै र कहिलेकाहीँ मात्र हुन्छन्,’ र झण्डै असमान पापीहरूको अशिष्‍ट र कठोरता भएको कारण झण्डै हामी अनिच्छुक भई कराउँछौं, ‘के परमेश्‍‍वरले अनुग्रही बन्‍न बिर्सनुभएको छ? अथवा, के कृपाको ढोका बन्द भएको छ?’” MBND 111.2

यस्तो अवस्था चर्चमा कुनै कारणविना हुनै सक्दैन। देशहरू, चर्चहरू र व्यक्तिहरूमाथि आउने आत्मिकी अन्धकार परमेश्‍‍वरको तर्फबाट ईश्‍‍वरीय अनुग्रहको सहायता स्‍वेच्छाचारीरूपले हटेको कारणले होइन, तर मानिसहरूले ईश्‍‍वरीय ज्योतिलाई हेलचेक्‍य्राइँ वा इन्कार गरेको कारणले हो। यो सत्यताको प्रभावशाली उदाहरण ख्रीष्‍टको समयमा यहूदी मानिसहरूको इतिहासमा प्रकट गरिएको थियो। संसारमा समर्पित भई परमेश्‍‍वर र उहाँको वचनलाई बिर्सेर तिनीहरूको समझ मन्द भएको थियो, तिनीहरूको हृदय सांसारिक र भोगविलाशी थियो। यसरी तिनीहरू मसीहको आगमनको विषयमा अनजान थिए, र आफ्‍ना घमण्ड र अविश्‍‍वासमा तिनीहरूले मुक्तिदातालाई इन्कार गरे। त्यसो भए पनि परमेश्‍‍वरले यहूदी जातिलाई मुक्तिको आशिष्‌हरूको ज्ञानमा सहभागी हुनबाट अलग पार्नुभएन। तर जसले सत्यतालाई इन्कार गरे तिनीहरूले स्‍वर्गको उपहारको लागि सबै इच्छा गुमाए। जबसम्म तिनीहरूमा भएको ज्योति अन्धकारमा परिणत भएन तबसम्म तिनीहरूले “ज्योतिको सट्टा अन्धकार र अन्धकारको सट्टामा ज्योति” राखेका थिए; र त्यो अन्धकार कस्तो निष्पट्ट थियो! MBND 111.3

यो शैतानको अभिप्राय अनुकूल छ कि मानिसहरूले धर्मको ढाँचाहरू अपनाउनुपर्छ, तर त्यसमा जिउँदो भक्तिको आत्माको अभाव हुन्छ। तिनीहरूले सुसमाचार इन्कार गरेपछि पनि यहूदीहरूले साहससाथ तिनीहरूको प्राचीन धार्मिक कार्यहरू निरन्तर कायम राखे, तिनीहरूले जोशपूर्ण तरिकाले तिनीहरूको राष्‍ट्रिय उच्‍चता जोगाइराखे, जहाँ तिनीहरू आफैले पनि परमेश्‍‍वरको उपस्थिति तिनीहरूको माझमा प्रकट भएको छैन भन्‍ने कुरालाई सहमत जनाउन बाध्य भए। दानिएलको अगमवाणीले मसीहको आगमनको समयलाई अति प्रष्‍टै देखाएको थियो, र उहाँको मृत्युको विषयमा सीधै भविष्यवाणी गरिएको थियो, कि तिनीहरूले यसको अध्ययनलाई निरुत्साहित बनाए र अन्तमा जसले समयको गणना गर्ने प्रयास गर्दथे रब्‍बीहरूले सबैमाथि अभिशापको घोषणा गर्थे। एकपछि अर्को शताब्दीहरूमा इस्राएलका अन्धा र अपश्‍चात्तापी मानिसहरूले मुक्तिको अनुग्रहकारी वरदानलाई र सुसमाचारको आशिष्‌लाई बेवास्ता गर्दै, तिनीहरू नै स्‍वर्गको ज्योतिलाई इन्कार गर्दा आउने खतराको गम्भीर र भयङ्‌कर चेतावनी भई खडा भएका छन्। MBND 112.1

जहाँ जस्तो कारण हुन्छ, त्यहाँ त्यस्तै परिणाम हुनेछ। जसले आफ्‍नो अभिलाषाहरूलाई बाधा गरेको कारण उसको कर्तव्यको प्रमाण जानी-जानी हटाउँछ त्यसले अन्तमा सत्य र झूटको बीचको भिन्‍नता पहिचान गर्ने शक्ति गुमाउनेछ। समझशक्ति अँध्यारो हुन्छ, विवेक निर्दयी हुन्छ, हृदय कठोर हुन्छ, र आत्मा परमेश्‍‍वरबाट छुटिन्छ। जहाँ ईश्‍‍वरीय सत्यताको सन्देश तिरस्कार गरिन्छ वा अर्थहीन ठानिन्छ, त्यहाँ चर्च अन्धकारमा डुबेको हुन्छ; विश्‍‍वास र प्रेम चिसो हुँदै जान्छ, अनि फाटो र मतभेद चर्चभित्र प्रवेश गर्छ। चर्चका सदस्यहरूले तिनीहरूका इच्छाहरू र बलहरूलाई सांसारिक कार्यमा केन्द्रित बनाउछँन् र पापीहरू तिनीहरूको अपश्‍चात्तापमा कडा हुँदै जान्छन्। MBND 112.2

परमेश्‍‍वरको न्यायको घड़ी घोषणा गर्ने र मानिसहरूलाई उहाँको भय मान्‍नु र सेवा गर्नु भनी आह्वान गर्ने प्रकाश १४को पहिलो स्‍वर्गदूतको सन्देशचाहिँ परमेश्‍‍वरमा विश्‍‍वास गर्ने दाबी गर्ने मानिसहरूलाई संसारको भ्रष्‍ट प्रभावबाट छुट्याउन र तिनीहरूको सांसारिकपन र पथभ्रष्‍टताको वास्तविक अवस्था देख्‍न सचेत बनाउन सृजना गरेको थियो। यो सन्देशमा परमेश्‍‍वरले चर्चलाई एउटा चेतावनी पठाउनुभएको छ, यदि त्यसलाई स्‍वीकार गरेको भए तिनीहरूलाई उहाँबाट टाढ़ा पार्ने दुष्‍टताहरूबाट सुधारिनेथिए। यदि तिनीहरूले स्‍वर्गबाट आएको सन्देश स्‍वीकार गरेको भए, परमप्रभुको सामु तिनीहरूका हृदयहरू नम्र पारेर ईमानदारिताका साथ उहाँको उपस्थितिमा उभिने तयारी गरेको भए, परमेश्‍‍वरको आत्मा र शक्ति तिनीहरूको माझमा प्रकट हुनेथियो। चर्च फेरि एकता, विश्‍‍वास र प्रेमको त्यो आशिषित अवस्थामा पुग्‍नेथियो जुन प्रेरितहरूको दिनहरूमा थियो, जब विश्‍‍वासीहरू “एकै हृदय र एकै आत्माका भएका थिए,” र “तिनीहरूले साहससित परमेश्‍‍वरको वचन बोले,” तब “उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।” प्रेरित ४:३२, ३१; २:४७। MBND 112.3

जसरी उहाँको वचनबाट तिनीहरूमाथि ज्योति चम्कन्छ त्यसरी नै परमेश्‍‍वरमा विश्‍‍वास गर्छु भनी दाबी गर्ने मानिसहरूले स्‍वीकार गरेको भए, तिनीहरू येशूले प्रार्थना गर्नुभएको एकतामा पुग्‍नेथिए, जसलाई प्रेरितले वर्णन गर्दछ, “शान्तिको बन्धनमा पवित्र आत्माको एकता।” तिनी भन्छन्, “शरीर एउटै छ, र पवित्र आत्मा एउटै हुनुहुन्छ—जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ—एउटै प्रभु, एउटै विश्‍‍वास र एउटै बप्‍तिस्मा।” एफिसी ४:३-५। MBND 113.1

दोस्रो आगमनको सन्देश स्‍वीकार गर्नेहरूद्वारा यस्ता आशिषित परिणामहरूको अनुभव गरियो। तिनीहरू विभिन्‍न संस्थाबाट आएका थिए, र तिनीहरूका संस्थागत पर्खालहरू भत्किसकेको थियो; चर्चहरूका विरोधी विश्‍‍वासका सिद्धान्तहरू टुक्रा-टुक्रा भए; धर्मशास्‍‍त्रहीन एक सांसारिक एक हजार वर्षको आशालाई त्यागिदिए, दोस्रो आगमनको झूटा विचारहरूलाई संशोधन गरियो, घमण्ड र संसारका ढाँचाहरूलाई हटाइयो; गल्तीहरूलाई सुधार गरियो; हृदयहरू सबैभन्दा मिठो सङ्‌गतिमा एक भए, र प्रेम र आनन्दले सर्वोच्‍चरूपमा शासन गरे। यो सिद्धान्तले त्यसलाई स्‍वीकार गर्ने थोरै जनालाई यसो गऱ्यो भने यदि सबैले त्यो स्‍वीकार गरेको भए सबैलाई त्यसै गर्नेथियो। MBND 113.2

तर चर्चहरूले साधारणतया चेतावनी स्‍वीकार गरेनन्। “इस्राएलको घरनाको” पहरेदारको रूपमा रहेका तिनका प्रचारकहरू जो येशूको आगमनका चिन्हहरूलाई चिन्‍नेहरूमध्ये प्रथम हुनुपर्थ्यो, तिनीहरूले न अगमवक्ताहरूको गवाहीबाट नता समयहरूको चिन्हहरूबाट नै सत्यता सिके। जसरी सांसारिक आशा र अभिलाषाले हृदय भरियो, त्यसरी परमेश्‍‍वरप्रतिको प्रेम र उहाँको वचनप्रतिको विश्‍‍वास चिसो हुँदै आयो; र जब दोस्रो आगमनको सिद्धान्त प्रकट गरियो, तब यसले तिनीहरूमा मतभेद र अविश्‍‍वास मात्र उक्सायो। वास्तविक कुरा यो थियो कि प्रायः जसो सर्वसाधारण मानिसहरूद्वारा त्यो सन्देश प्रचार भयो, र त्योचाहिँ त्यसको विरुद्धमा एक औजारको रूपमा साबित भयो। प्राचीन समयमा झैँ परमेश्‍‍वरको वचनको स्पष्‍ट गवाहीलाई यही प्रश्‍नले सामना गऱ्यो: “के शासकहरू वा फरिसीहरूमध्ये कसैले ... विश्‍‍वास गरेको छ र?” अनि अगमवाणीबाट निकालिएको समय अवधिहरूलाई झूटो साबित गर्ने कार्य कति कठिन छ भनी थाहा पाएर अगमवाणीका पुस्तकहरूमा मोहोर लगाइएको छ, यसलाई बुझ्‍नुहुँदैन भन्‍ने शिक्षा दिँदै धेरै जनाले अगमवाणीहरूको अध्ययनमा निराश ल्याए। भीडहरूले तिनीहरूका पास्टरहरूमा सम्पूर्ण भरोसा राखेर चेतावनी सुन्‍न इन्कार गरे; र अरूचाहिँ सत्यतामा चित्त बुझे तापनि “सभाघरबाट निकालिदिन्छन्” भन्‍ने डरले गर्दा यसलाई स्‍वीकार गर्ने आँट गरेनन्। परमेश्‍‍वरले चर्चलाई जाँच गर्न र शुद्धीकरण गर्न पठाउनुभएको सन्देशले प्रकट गऱ्यो कि ख्रीष्‍टभन्दा पनि संसारप्रति प्रेम गर्नेहरूको सङ्ख्या निश्‍चय नै धेरै विशाल थियो। तिनीहरूलाई संसारले बाँधेको बन्धन स्‍वर्गतिरको आकर्षणभन्दा बलियो थियो। तिनीहरूले संसारको बुद्धिको आवाज सुन्‍न रुचाए र हृदयलाई अनुसन्धान गर्ने सत्यताबाट तर्काए। MBND 113.3

पहिलो स्‍वर्गदूतको चेतावनी इन्कार गर्नेद्वारा तिनीहरूलाई स्‍वर्गले पुनर्स्थापनाको निम्ति प्रबन्ध गरिदिएको माध्यमलाई इन्कार गरे। जसले तिनीहरूको परमेश्‍‍वरबाट अलग गरिदिने दुष्‍टतालाई सुधार्नेथिए, त्यही अनुग्रहकारी समाचारवाहकलाई तिनीहरूले तिरस्कार गरे, र असाध्यै उत्सुकतासाथ तिनीहरू संसारको मित्र बन्‍न लागे। त्यो सांसारिकपन, पछि हट्‍ने, आत्मिकी अचेतपनाको भयङ्‌कर अवस्थाको कारक तत्त्‍व यही नै थियो जुन १८४४मा भएका चर्चहरूमा पनि रहेको थियो। MBND 114.1

प्रकाश १४मा पहिलो स्‍वर्गदूतद्वारा लगत्तै दोस्रो घोषणा भएको छ: “पतन भयो! जाति-जातिलाई आफ्‍नो व्यभिचारका क्रोधको मद्य पिउन लाउने महान् बेबिलोनको पतन भयो।” प्रकाश १४:८। “बेबिलोन” भनिने शब्द “बाबेल”-बाट निकालिएको हो, र यसको खैलाबैला भन्‍ने अर्थ लाग्छ। यो धर्मशास्‍‍त्रमा विभिन्‍न प्रकारका झूटो वा पतित धर्मलाई देखाउन प्रयोग गरिएको छ। प्रकाश १७मा बेबिलोनले एक स्‍‍त्रीको रूपमा प्रतिनिधित्‍व गरेको छ—यो एउटा सङ्केत हो जुन बाइबलमा एक चर्चको सङ्केत स्‍वरूप प्रयोग भएको छ, एक चरित्रवान् स्‍‍त्रीले एक शुद्ध चर्चलाई प्रतिनिधित्‍व गर्दछ, एक दुष्‍ट स्‍‍त्रीले एक पतित चर्चलाई प्रतिनिधित्‍व गर्दछ। MBND 114.2

बाइबलमा ख्रीष्‍ट र उहाँको चर्चको बीचमा हुने सम्बन्धको पवित्र र सहनशील चरित्र वैवाहिक सम्बन्धले प्रतिनिधित्‍व गरेको छ। परमप्रभुले उहाँका मानिसहरूलाई एउटा गम्भीर करारसाथ आफैसँग सम्बन्ध गाँस्‍नुभएको छ, उहाँले तिनीहरूको परमेश्‍‍वर हुने प्रतिज्ञा गर्नुभएको छ, र तिनीहरू आफैले उहाँको र उहाँकै मात्र हुने शपथ लिएका छन्। उहाँ घोषणा गर्नुहुन्छ: “म तँलाई सधैँको निम्ति मेरी पत्‍नी तुल्याउनेछु। म धार्मिकता र न्यायमा दृढ़ प्रेम र माया गरेर तँलाई पत्‍नी तुल्याउनेछु।” होशे २:१९। अनि फेरि: “म तेरो पति हुँ।” यर्मिया ३:१४। अनि पावलले पनि नयाँ नियममा त्यही सङ्केत प्रयोग गर्दछन् जब तिनी भन्छन्: “एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्तुत गर्न मैले ख्रीष्‍टसँग तिमीहरूको मगनी गरिदिएँ।” २ कोरिन्थी ११:२। MBND 114.3

ख्रीष्‍टमाथि रहेको भरोसा र माया उहाँबाट हटाउने मौका दिएमा, र संसारका थोकहरूद्वारा मन ओगटिएमा उहाँप्रति चर्चको अविश्‍‍वासीपनलाई नै विवाहको करार भङ्ग भएको कुरासँग तुलना गरिएको छ। इस्राएलले परमप्रभुबाट भड्‍केर पाप गरेको कुरालाई यही सङ्केतद्वारा प्रकट गरेको छ; र तिनीहरूले यसरी घृणा गरेको परमेश्‍‍वरको अचम्मलाग्दो प्रेमलाई मर्म स्पर्शी ढङ्गले कोरिएको छ: “‘मैले तँसित बाचा बाँधें र करार पनि गरें, र तँ मेरो भइस्, परमप्रभु परमेश्‍‍वर भन्‍नुहुन्छ।’” “‘तँ अत्यन्त्यै सुन्दरी भएर बढ़िस्, र रानी हुने योग्यकी तँ भइस्। तेरो सौन्दर्यले गर्दा तेरो ख्याति जाति-जातिहरूका बीचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्दर्य कलङ्करहित थियो। ... तर तैंले आफ्‍नो सौन्दर्यमा भरोसा राखिस् र तेरो ख्याति फिँजाएर तँ एक वेश्‍‍या भइस्।’” “‘जसरी एक विश्‍‍वासघाती पत्‍नीले आफ्‍नो लोग्‍नेलाई त्याग्छे, त्यसरी नै तिमीहरू पनि मप्रति विश्‍‍वासघाती भएका छौ, हे इस्राएलका घराना हो,’ परमप्रभु भन्‍नुहुन्छ।” “‘तँ व्यभिचारी पत्‍नी, आफ्‍नो लोग्‍नेको सट्टामा बिरानाहरूलाई रुचाउँछेस्!’” इजकिएल १६:८, १३-१५, ३२; यर्मिया ३:२०। MBND 115.1

जसले परमेश्‍‍वरको अनुग्रहभन्दा धेरै संसारसँग मित्रता गाँस्‍न रुचाउँदछ त्यस्ता नामधारे इसाईहरूलाई नयाँ नियममा त्यस्तै शब्दले सम्बोधन गरिएको छ। प्रेरित याकूब भन्दछन्: “व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्‍‍वरसँगको शत्रुता हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्‍‍वरको शत्रु बनाउँछ।” [याकूब ४:४]। MBND 116.1

प्रकाश १७मा भएका स्‍‍त्री (बेबिलोन)-लाई यसरी वर्णन गरिएको छ, “बैजनी र चहकिलो रातो लुगा लाएकी थिई, अनि त्यो सुन, रत्‍न र मोतीहरूले सिङ्गारिएकी थिई, र घिनलाग्दा ... अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला हातमा लिएकी थिई। त्यसको निधारमा एउटा नाउँ लेखिएको थियो: रहस्य, पृथ्वीका वेश्‍‍याहरू र घिनलाग्दा कुराहरूकी आमा महान् बेबिलोन।” अगमवक्ता भन्छन्: “अनि मैले त्यस स्‍‍त्रीलाई सन्तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखें।” बेबिलोनको विषयमा अझै यसरी घोषण गरियो कि “त्यो महानगरी हो, जसले पृथ्वीका राजाहरूमाथि प्रभुत्‍व गर्छ।” प्रकाश १७:४-६, १८। त्यति धेरै शताब्दीहरूसम्म इसाईजगत्‌का राजाहरूमाथि स्‍वेच्छाकारी शासन कायम राख्‍ने शक्तिचाहिँ रोम नै हो। बैजनी र रातो रङ्ग, सुन र रत्‍नहरू र मोतीहरूले रोमको घमण्डी शासनद्वारा देखाइएको भव्यता र राजकीयभन्दा पनि बढि आडम्बरको स्पष्‍ट तस्‍वीर प्रकट गरिएको छ। “सन्तहरूको रगतले मातिएकी” भन्‍ने भनाइअनुसार त्यो चर्चले यस्तो क्रूरतासाथ ख्रीष्‍टका चेलाहरूलाई अत्याचार गरेका थिए कि अरू कुनै पनि शक्तिको विषयमा त्यो तथ्यलाई घोषणा गर्न सक्दैनथ्यो। “पृथ्वीका राजाहरू”-सँग गैर-कानूनी ढङ्गले सम्बन्ध राखेको पापको दोष बेबिलोनलाई लगाइएको थियो। यहूदी चर्च परमप्रभुबाट बरालियो र त्यसले मूर्तिपूजकहरूसँग मिलाप गऱ्यो, त्यसकारणले त्यो वेश्‍‍या भयो; र रोमले जसरी सांसारिक शक्तिहरूको सहायता खोजेर आफैलाई भ्रष्‍ट पाऱ्यो त्यसरी नै दोषी ठहरिन्छ। MBND 116.2

बेबिलोनलाई “वेश्‍‍याहरूकी आमा” भनियो। तिनकी छोरीहरूले त्यसका सिद्धान्तहरू र चलनहरूलाई अपनाउने, र संसारसँग गैर-कानूनी मिलाप गर्न सत्यता र परमेश्‍‍वरको सहमति बलिदान गर्ने उदाहरण अनुकरण गर्ने चर्चहरूलाई नै सङ्केत गरेको हुनुपर्छ। प्रकाश १४मा भएको बेबिलोनको पतन घोषणा गर्ने सन्देशले कुनै समयमा शुद्ध रहेका र अहिले भ्रष्‍ट भएका धार्मिक सम्प्रदायहरूलाई देखाएको हुनुपर्छ। त्यो सन्देश न्यायको चेतावनी लगत्तै आएको कारणले यो अन्तिमको दिनमा दिनुपर्ने कुरा हुनुपर्छ; त्यसकारण यसले केवल रोमन क्‍याथोलिकलाई मात्र प्रतिनिधित्‍व गर्न सक्दैन, किनकि त्यो चर्च शताब्दीऔँसम्म पतित अवस्थामा रहेको छ। त्यति मात्र नभएर, प्रकाश अठार अध्यायमा परमेश्‍‍वरका मानिसहरूलाई बेबिलोनबाट निस्केर आउने बोलावट आएको छ। यो पदअनुसार धेरै जना परमेश्‍‍वरका जनहरू अझै पनि बेबिलोनमा नै छन्। अनि कुन धार्मिक सम्प्रदायमा चाहिँ ख्रीष्‍टका चेलाहरूको धेरै सङ्ख्याहरू हुनुपर्ने हो त? निसन्देह, प्रोटेस्टेन्टहरूको विश्‍‍वास दाबी गर्ने चर्चहरूमा नै हुनुपर्ने हो। ती चर्चहरूको सुरुवातमा तिनीहरू परमेश्‍‍वर र सत्यताको पक्षमा भद्रसाथ खडा रहे, र उहाँको आशिष् तिनीहरूमाथि थियो। अविश्‍‍वासी संसारले पनि सुसमाचारका सिद्धान्तहरू स्‍वीकार गरेर नै यी फाइदाजनक परिणामहरू आएका हुन् भनी स्‍वीकार गर्न बाध्य थिए। इस्राएलको अगमवक्ताका शब्दहरूमा: “तेरो सौन्दर्यले गर्दा तेरो ख्याति जाति-जातिहरूका बीचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्दर्य कलङ्करहित थियो, परमप्रभु परमेश्‍‍वर भन्‍नुहुन्छ।” तर तिनीहरू पनि अभक्तिका चालचलनहरूलाई देखासिकी गर्ने र सम्बन्ध गाँस्‍ने उस्तै इच्छाद्वारा इस्राएलमाथि परेको अभिशाप र विनाशद्वारा पतन भए। “तर तैंले आफ्‍नो सौन्दर्यमा भरोसा राखिस् र तेरो ख्याति फिँजाएर तँ एक वेश्‍‍या भइस्।” इजकिएल १६:१४, १५। MBND 116.3

धेरै वटा प्रोटेस्टेन्ट चर्चहरूले जस्तै राष्‍ट्रिय चर्चहरूले सांसारिक सरकारसँग सम्बन्ध गाँस्‍ने र अन्य संस्थाहरूले संसारको सहमति खोज्‍ने कामद्वारा “पृथ्वीका राजाहरू”-सँग अधार्मिक सम्बन्ध गाँसेर रोमको उदाहरण अनुकरण गरिरहेका छन्। “बेबिलोन” भन्‍ने भनाइ अर्थात् गोलमोल यी सम्प्रदायहरूमा उचितरूपमा प्रयोग हुन सक्छ, तिनीहरू सबैले आफ्‍ना सिद्धान्तहरू बाइबलबाट नै निकालेका हुन् भनी दाबी गर्दछन्, तापनि लगभग अनगिन्ती समूहहरूमा ती विभाजित भएका छन् जसका विश्‍‍वासहरू र शिक्षाहरू एकदमै अमिल्दा छन्। MBND 117.1

संसारसित पापपूर्ण मिलापबाहेक रोमबाट विभाजन भएका चर्चहरूले त्यसको अन्य चरित्रगुणहरू प्रकट गर्छन्। MBND 117.2

एक रोमन क्‍याथोलिक लेखले जोड़ दिन्छ कि “यदि रोमको चर्च सन्तहरूको सम्बन्धमा कहिले मूर्तिपूजाको दोषी हुन्छ भने, त्यसको छोरी बेलायतको चर्च पनि त्यही कुरामा दोषी ठहरिन्छ, जसले दश वटा चर्चहरू मरियमलाई अर्पण गऱ्यो र एउटाचाहिँ ख्रीष्‍टलाई अर्पण गऱ्यो।” —Richard Challoner, The Catholic Christian Instructed, Preface, pages 21, 22. MBND 117.3

अनि डा. होप्किन्स “हजार वर्षको विषयमा एक पुस्तक”-मा घोषणा गर्छन्: “ख्रीष्‍ट विरोधी आत्मा र व्यवहारहरू रोमको चर्चमा मात्र हुन्छ भनी विचार गर्ने कुनै कारण छैन। प्रोटेस्टेन्ट चर्चहरूमै प्रशस्त मात्र ख्रीष्‍ट विरोधी आत्माहरू छन्, तिनीहरू भ्रष्‍टता र दुष्‍टता ... बाट सम्पूर्णरूपले सुधार हुन गाह्रो छ।” —Samuel Hopkins, Works, vol. 2, p. 328. MBND 117.4

रोमबाट प्रेस्‍बीटेरियन चर्चको विच्छेदनको विषयमा डा. गथ्रि लेख्‍छन्: “तीन सय वर्ष अघि हाम्रो चर्च उनको झण्डामा एउटा खुल्‍ला बाइबल र उनको चर्म पत्रमा ‘धर्मशास्‍‍त्रहरू खोजी गर्ने’ भन्‍ने चल्‍ने सिद्धान्तसाथ रोमको ढोकाबाट हिँडेर निस्केकी थिई।” अनि तिनी एक महत्‍वपूर्ण प्रश्‍न सोध्छन्: “के तिनीहरू बेबिलोनबाट शुद्ध भई बाहिर आए र?” —Thomas Guthrie, The Gospel in Ezekiel, page 237. MBND 118.1

स्पोर्जीयन भन्छन्, “बेलायतको चर्चलाई संस्कारिकताले वारपार गरेर खाएको जस्तै देखिन्थ्यो; तर असहमत दर्शनशास्‍‍त्रीय अधर्मीहरू अझै त्यत्तिकै चाँडो फिँजिए जस्तो देखिन्थे। जसलाई हामीले असल सोचेका छौं तिनीहरूले नै एकपछि अर्को गर्दै विश्‍‍वासका मौलिकताहरू किनारा लाउँदैछन्। पूर्णरूपले म विश्‍‍वास गर्छु कि बेलायतको हृदयको प्रत्येक कुनासम्म घृणित अधर्म पुगेको छ जो अझै पुल्पिटमा जान र आफैलाई इसाई भन्‍ने आँट गर्छ।” MBND 118.2

महान् पतनको मूल तत्त्‍वचाहिँ के थियो? प्रथमत: कसरी चर्च सुसमाचारको साधारणताबाट टाढा गयो? मूर्तिपूजकहरूलाई इसाई धर्म स्‍वीकार गर्ने सुविधा प्रदान गर्न मूर्तिपूजकहरूको व्यवहारमा परिवर्तन भयो। प्रेरित पावलले तिनकै समयमा पनि घोषणा गरे, “किनकि अधर्मको रहस्यले अघिबाटै काम गरिरहेछ।” २ थेसलोनिकी २:७। प्रेरितहरूको जीवनकालमा चर्च तुलनात्मक रूपमा शुद्ध रह्यो। तर “दोस्रो शताब्दीको अन्ततिर प्रायः चर्चहरूले नयाँ ढाँचा धारण गरे; अघिल्‍लो साधारणता अलप भयो, र जब पुराना चेलाहरू चिहानमा गए तब थाहा नपाईकन तिनीहरूका सन्तानहरूका साथै नयाँ विश्‍‍वासीहरूले ... नयाँ संशोधन भएको काम लिएर अघि आए।” —Robert Robinson, Ecclesiastical Researches, ch. 6, par. 17, p. 51. विश्‍‍वासीहरू ल्याउनका लागि इसाई विश्‍‍वासको उच्‍च स्तरलाई तल झारियो, र परिणाम स्‍वरूप “चलनहरू, व्यवहारहरू र मूर्तिहरू लिएर मूर्तिपूजक बाढ़ी चर्चमा बग्यो।” —Gavazzi, Lectures, page 278. जब इसाई धर्मले सांसारिक शासकहरूको सहयोग र अनुग्रह प्राप्‍त गऱ्यो, तब त्यो भीडहरूले नामको रूपमा स्‍वीकार गरे; तर जब हेर्दा इसाई भए पनि धेरै जनाले “मूर्तिपूजक तत्त्‍व अर्थात् विशेष गरी तिनीहरूका मूर्तिहरूलाई सेवा गरी नै रहे।” —Gavazzi, Lectures, page 278. MBND 118.3

के आफैलाई प्रोटेस्टेन्ट भनिने प्रायः सबै चर्चहरूमा त्यही कुरा दोहोरिएको छैन र? जब सुधारको सत्य आत्मा धारण गर्ने निर्माणकर्ताहरू बितेर गए, तिनीहरूका सन्तानहरू “नौलो ढाँचाको काम” लिएर आए। जब तिनीहरू पिताहरूको विश्‍‍वासमा अन्धोपनका साथ झुण्डिरहे र तिनीहरूले देखेका सत्यताहरूभन्दा बढी स्‍वीकार गर्न इन्कार गरे, तब सुधारकहरूका सन्तानहरू तिनीहरूका नम्रता, आत्म-इन्कार, र संसारलाई त्याग गर्ने उदाहरणबाट धेरै बरालिए। यसरी “प्रथम साधारणता लोप हुन्छ।” चर्चमा बगेको सांसारिक बाढ़ीले चर्चभित्र “त्यसका संस्कारहरू, प्रथाहरू र मूर्तिहरू बोकेर पस्यो।” MBND 118.4

ओहो, संसारप्रतिको मित्रताचाहिँ “परमेश्‍‍वरसँगको शत्रुता” हो भन्‍ने कुरा कस्तो भयङ्‌कर छ, जुन अहिले ख्रीष्‍टका नामधारे चेलाहरूले आत्म-सात् गरेका छन्! इसाईजगत्‌भरिका प्रसिद्ध चर्चहरू बाइबलको नम्रता, आत्म-त्याग, साधारणता र भक्तिको स्तरबाट कति टाढ़ा गएका छन्! पैसाको सदुपयोग गर्ने प्रसङ्‌गमा कुरा गर्दै जोन वेश्‍‍लीले भने: “यो बहुमूल्य प्रतिभाको कुनै पनि अंश अनावश्‍‍यक वा महँगो पोशाक, अथवा अनावश्‍‍यक गहनाद्वारा आँखाको अभिलाषालाई सन्तुष्‍टि पार्न खेर नफाल्‍नू। यसको कुनै अंश पनि घरहरूलाई राम्ररी सिङ्गार्नमा; अनावश्‍‍यक वा महँगो घरभित्र काठका सामानहरूमा; महँगो तस्‍वीरहरूमा, रङ्ग लगाएका, सुनले सजिएका थोकहरूमा खेर नफाल्‍नू। ... जीवनको घमण्डलाई सन्तुष्‍ट पार्न, मानिसहरूबाट श्रद्धा र प्रशंसा प्राप्‍त गर्न केही नगर। ... ‘जतिसम्म तिमीले आफैलाई असल गर्छौ, तिम्रो विषयमा मानिसहरूले असल भन्छन्।’ जतिसम्म तिमीले ‘बैजनी वस्‍‍त्र र मसिनो मलमल’ लगाउँछौ र प्रत्येक दिन ‘भव्यको जीवन’ जिउँछौ, निसन्देह तिम्रो त्यो इच्छापूर्ण सौन्दर्य, तिम्रो दानीपन र अथितिसत्कारलाई धेरै जनाले तारिफ गर्नेछन्। तर तिनीहरूको तारिफ पनि धेरै रकममा नकिन्‍नू। बरु परमेश्‍‍वरबाट आएको आदरमा सन्तुष्‍ट बस।” —Wesley, Works, Sermon 50, “The Use of Money.” तर हाम्रो समयका धेरै चर्चहरूले यस्ता शिक्षाहरूलाई ध्यान दिँदैन। MBND 119.1

संसारमा धर्मको दाबी प्रसिद्ध भएको छ। शासकहरू, राजनैतिक अगुवाहरू, वकिलहरू, डाक्टरहरू, व्यापारीहरू सामाजिक भरोसा र आदर प्राप्‍त गर्ने, र तिनीहरूको आफ्‍नै सांसारिक इच्छाहरूलाई अगाड़ि बढाउने माध्यमको रूपमा चर्चमा समावेश हुन्छन्। यसरी तिनीहरूका सबै अधार्मिक कारोबार इसाई धर्मको भेषमा ढाक्‍ने प्रयास गर्छन्। यो बप्‍तिस्मा लिएका सांसारिक व्यक्तिहरूको धन र प्रभावद्वारा विभिन्‍न धार्मिक सम्प्रदायहरू बलियो पारिएर प्रसिद्धता र सेवाको अझै ठूलो माग राखे। असाध्यै खर्चालु तरिकाले सिङ्गारिएका गौरवमय चर्चहरू प्रख्यात मार्गहरूमा स्थापना गरिएका छन्। आराधकहरूले आफैलाई ढाँचायुक्त दामी-दामी वस्‍‍त्रले पहिराउँछन्। मानिसहरूलाई मनोरञ्‍जन दिलाउन र आर्कषण गराउन प्रतिभाशाली प्रचारकहरूलाई धेरै पैसा दिइन्छ। उसका प्रवचनहरूले प्रचलित पापहरूलाई छुनुहुँदैन; तर उसले नरम र सौखिन खालका कानहरूलाई खुशी पार्ने गरी प्रचार गर्नुपर्दछ। यसरी प्रचलित पापीहरूलाई चर्चका खाताहरूमा दर्ता गरिन्छ, र चलन चल्तीका पापहरू भक्तिको भेषमुनि लुकाइन्छ। MBND 120.1

वर्तमान इसाई नाम लिनेहरूको संसारप्रतिको आचरणको विषयमा बोल्दै एक प्रमुख सांसारिक अखबार भन्छ: “चर्च अचेत अवस्थामा नै यो युगको आत्मामा अर्पित भएको छ, र यसले आधुनिक आवश्‍‍यकताअनुसारको सेवा गर्ने ढाँचा अपनाएको छ।” “निश्‍चय नै सबै कुरा जसले धर्मलाई आकर्षित बनाउन मद्दत गर्छ, अहिले चर्चले यसको औजारको रूपमा ती प्रयोग गरेको छ।” अनि न्यु योर्क इनडिपेण्डेन्ट भनिने पत्रिकामा मेथोडिस्ट धर्मको विषयमा एक जना लेखक यसरी भन्छन्: “धर्मी र अधर्मीको बीचमा भएको विभाजनको लहर एक प्रकारले अस्पष्‍ट नै भएको छ, र दुवैतिरका जोशिला मानिसहरूले व्यवहार र मनोरञ्‍जनका तरिकाहरूमा तिनीहरूको बीचमा भएको भिन्‍नतालाई उन्मुलन गर्न परिश्रम गरिरहेका छन्।” “धर्मको प्रसिद्धताले त्यसका कर्तव्यहरू पूरा नगरीकन त्यसका फाइदा प्राप्‍त गर्ने सङ्ख्या असाध्यै बढाउन लागी परेको छ।” MBND 120.2

होवार्ड क्रोस्‍बी भन्छन्: “यो गहिरो चिन्ताजनक विषय हो कि हामी ख्रीष्‍टको चर्च यस्तो पाउँछौं कि त्यसले प्रभुको उद्देश्‍‍य थोरै मात्र पूरा गरेको छ। जसरी प्राचीन यहूदीहरूले मूर्तिपूजक जातिहरूसँग घनिष्‍ठ अन्तर-सम्बन्ध राखे त्यसैले तिनीहरूको हृदय परमेश्‍‍वरदेखि चोरेर लग्यो, ... त्यसरी नै वर्तमान येशूको चर्च अविश्‍‍वासी संसारसित त्यसको झूटो सम्बन्धद्वारा त्यसको सत्य जीवनको दैवी उदाहरणलाई छोडिरहेको छ र हेर्दा प्रायः मनपर्दो भए पनि ख्रीष्‍टविहीन समाजको विनाशकारी बानीप्रति समर्पण गरिरहेको छ, विवादहरू प्रयोग गरिरहेको छ र परमेश्‍‍वरको प्रकाशभन्दा फरक, र सबै अनुग्रहमा विकासको प्रत्यक्ष विरोधी निर्ष्कषहरू निकालिरहेको छ।” —The Healthy Christian: An Appeal to the Church, pages 141, 142. MBND 121.1

यो सांसारिकपन र भोगविलाशको वेगमा ख्रीष्‍टको निम्ति आत्म-इन्कार र आत्म-बलिदान झण्डै हराइसकेका छन्। “हाम्रा चर्चहरूमा क्रियाशील जीवन यापन गरिरहेका कति जना पुरुषहरू र स्‍‍त्रीहरू तिनीहरूको बाल्यकालमा नै ख्रीष्‍टको खातिर केही कुरा दिन वा गर्नका लागि बलिदानहरू गर्ने भनी शिक्षा प्राप्‍त गरेका थिए।” तर “यदि अहिले रकमको आवश्‍‍यकता परे ... कसैलाई योगदान गर्न निमन्‍त्रणा गर्नु कदापि हुँदैन। एउटा मेला राख्‍नू, चित्रात्मक कृति बनाउनू, नकली मुद्दा चलाउनू, प्राचीन भोज लगाउनू, वा केही खाने कुरा दिनू—मानिसहरूलाई खुशी पार्नलाई जे पनि गर्नू।” MBND 121.2

विस्कोन्सिनको शासक वाशबर्नले वार्षिक सन्देश १८७३ जनवरी ९मा घोषणा गरे: “जहाँ जुवाडे उत्पादित भएका छन् ती स्कुलहरू कुनै व्यवस्थाद्वारा भत्काउनुपर्ने जस्तो देखिन्छ। तिनीहरू जहाँतहीँ छन्। चर्चले पनि (अनजान, निसन्देहा) कहिलेकाहीँ दियाबलसको काम गरिरहेको पाइन्छ। कहिलेकाहीँ धार्मिक वा परोपकारी लक्ष्यहरूको सहयोग गर्न भए पनि प्रायः चिट्ठाहरू जस्ता अझै अयोग्य अभिप्रायहरूसाथ गरिएको उपहार दिने सङ्गीत समारोहहरू, उपहार दिने कार्यक्रमहरू र पुरस्कार पाउन सकिने टिकटहरूको बिक्री सबै मूल्यवान् कुरा नदिईकन पैसा पाउने उपायहरू हुन्। विशेष गरी युवाहरूमा परिश्रमविना नै पैसा र जमिन आर्जन गर्ने जस्ता कुराहरूभन्दा नैतिक पतन ल्याउने र नषालु कुरा अरू कुनै हुन सक्दैन। आदरयुक्त मानिसहरू यी दाउपूर्ण धन्दाहरूमा लागिरहेका छन्, तिनीहरूका विवेकहरूलाई यसरी शान्त पार्दैछन् कि पैसा त असल कामको लागि प्रयोग हुन्छ, यो कुरा अनौठो होइन कि राज्यका युवाहरू प्रायः जसो यस्तो आदत्‌मा फस्छन् जुन आदत जोखिमपूर्ण खेलहरूको उत्तेजनाले निश्‍चय नै उत्पादन गर्दछ।” MBND 121.3

इसाईजगत्‌का चर्चहरूभरि नै सांसारिक ढाँचाका आत्माहरू प्रचलित भएका छन्। रोबर्ट आटकिन्सले लन्डनमा प्रचार गर्दा बेलायतमा भएको प्रचलित आत्मिकी पतनको कालो तस्‍वीर कोर्दछन्: “साँचो धर्मीहरू पृथ्वीबाट विनाश भए, र त्यस कुराको कसैले आफ्‍नो मनमा वास्ता गरेनन्। प्रत्येक चर्चमा भएको वर्तमानको धर्म लिनेहरू संसारलाई प्रेम गर्नेहरू, सांसारिक ढाँचामा चल्‍नेहरू, शारीरिक आरामदायी प्रेमीहरू, आदर्णीयताको आकाङ्‍क्षीहरू हुन्। तिनीहरू ख्रीष्‍टसँगै कष्‍ट भोग्‍न बोलाइएकाहरू हुन्, तर तिनीहरू घृणाले गर्दा नै पछि हट्‍छन्। ... प्रत्येक चर्चहरूको अगाड़ि पतन, पतन, पतन खोपिएको छ; यदि तिनीहरूले यो थाहा पाएका भए, र तिनीहरूले महसुस गरेका भए त्यहाँ आशा हुन सक्छ; तर हाय! तिनीहरू चिच्याउँछन्, ‘हामीहरू धनी छौं, र सम्पत्तिमा उन्‍नति भएको छ, केही कुराको अभाव छैन।’” —Second Advent Library, tract No. 39. MBND 122.1

बेबिलोनको विरुद्धमा आरोप लगाएको महान् पापचाहिँ यो हो कि उनले “जाति-जातिलाई आफ्‍नो व्यभिचारका क्रोधको मद्य पिउन” लगाइन्। उनले संसारलाई प्रस्तुत गरेको नषालु कचौराले झूटा शिक्षाहरूलाई देखाउँदछ जुन उनले पृथ्वीका महान् जनहरूसँग अनुचित सम्बन्धको परिणाम स्‍वरूप ग्रहण गरेकी थिइन्। संसारप्रतिको मित्रताले उनको विश्‍‍वासलाई भ्रष्‍ट पार्दछ, र उनको पालोमा पवित्र लेखको प्रत्यक्ष भनाइहरूको विरोधी सिद्धान्तहरू सिकाउनेद्वारा उनले संसारमाथि भ्रष्‍ट प्रभाव पार्छिन्। MBND 122.2

रोमले मानिसहरूबाट बाइबल निषेध गऱ्यो र मानिसहरूलाई त्यसको स्थानमा उनका शिक्षाहरू ग्रहण गर्न कर लगायो। सुधार-कार्यले मानिसहरूलाई परमेश्‍‍वरको वचन पुनः प्राप्‍ती गराउनुपर्नेथियो; तर के हाम्रो समयमा मानिसहरूलाई तिनीहरूका विश्‍‍वास धर्मशास्‍‍त्रहरूमा भन्दा बरु तिनीहरूका धर्म र चर्चका शिक्षाहरूमा भरोसा गर्न सिकायो भन्‍ने कुरा अत्यन्त्यै सत्य होइन र? प्रोटेस्टेन्ट चर्चहरूको विषयमा कुरा गर्दै चारल्स बिचरले भने: “तिनीहरू धर्ममतहरूको विरुद्धमा कुनै असभ्य शब्दहरूदेखि संवेदनशीलतासाथ पछि हट्‍छन् जसरी ती पवित्र पिताहरू तिनीहरूले अपनाएका सन्तहरू र सहिदहरूको उत्सवको विरुद्धमा असभ्य शब्द बोल्दा हट्‍दथे। ... प्रोटेस्टेन्ट सुसमाचार प्रचारक संस्थाहरूले एक अर्काका हातहरू र तिनीहरूको आफ्‍नै पनि यसरी बाँधेका छन् र तिनीहरू सबैका बीचमा कुनै व्यक्तिले बाइबलबाहेक अरू कुनै पुस्तक प्रयोग नगरी कही पनि प्रचारक बन्‍न सक्दैन। ... उक्त भनाइमा काल्पनिक कुरा केही छैन कि त्यो धर्म विश्‍‍वासको त्यो शक्तिले पनि रोमले जस्तै अथवा अझै चतुरताका साथ बाइबल बहिष्कार गर्न सुरु गरिरहेछन्।” —Sermon on “The Bible a Sufficient Creed,” delivered at Fort Wayne, Indiana, Feb. 22, 1846. MBND 122.3

जब विश्‍‍वासयोग्य शिक्षकहरूले परमेश्‍‍वरको वचनलाई वर्णन गर्दछन्, त्यहाँ शिक्षित व्यक्तिहरू, अर्थात् धर्मशास्‍‍त्रहरूलाई बुझेको दाबी गर्ने प्रचारकहरू उठ्‍छन् जसले असल शिक्षालाई धर्म विरोधीको रूपमा इन्कार गर्छन्, र यसरी सत्यताका अनुसन्धाताहरूलाई फर्काइदिन्छन्। यदि बेबिलोनको मद्यबाट संसार यति आशाहीनतासाथ नमातिएको भए भीडहरू सीधा काट्‍ने परमेश्‍‍वरको वचनका सत्यताहरूबाट चित्त बुझ्‍ने र परिवर्तन हुनेथिए। तर धार्मिक विश्‍‍वास यति खलबल र अमिल्दो देखिन्छ कि कुन कुरालाई सत्यता भनी विश्‍‍वास गर्ने भन्‍ने कुरा मानिसहरूलाई थाहा छैन। संसारको अपश्‍चात्तापी पाप चर्चको ढोकामै पडिरहन्छ। MBND 123.1

प्रकाश १४मा भएको दोस्रो स्‍वर्गदूतको सन्देश प्रथम पल्ट १८४४को शरद् ऋतुमा प्रचार भयो, र त्यो समयमा संयुक्त राज्यका चर्चहरूमा प्रत्यक्षरूपमा लागु भएको थियो, जहाँचाहिँ न्यायको चेतावनी धेरै व्यापक रूपमा प्रचार गरिएको थियो र इन्कार गरिएको पनि थियो, र जहाँ चर्चको पतन पनि अझै वेगसाथ भयो। तर दोस्रो स्‍वर्गदूतको सन्देश १८४४मा चरम पूर्णतामा पुग्‍न सकेन। त्यति बेला चर्चहरूले आगमनको सन्देशको ज्योतिलाई इन्कार गरेको परिणाम स्‍वरूप नैतिक पतनको महसुस गरे; तर त्यो पतन पूर्ण थिएन। जब तिनीहरूले यो समयको विशेष सत्यताहरू निरन्तर इन्कार नै गरे तब तिनीहरू अझै तल तल पतन हुँदै गएका छन्। जे भए पनि अहिलेसम्म “बेबिलोन ढल्यो; किनभने त्यसले आफ्‍नो व्यभिचारको क्रोधको मद्यबाट सबै जातिहरूलाई पिउन लगायो” भन्‍न सकिँदैन। (KJV)। ... अझैसम्म उनले सबै जाति-जातिलाई यो गरेकी छैनन्। संसारको ढाँचामा चल्‍ने र हाम्रो समयमा रहेको अनुसन्धानात्मक सत्यताहरू हेलचेक्‍य्राइँ गर्ने आत्मा सबै इसाईजगत्‌का सम्पूर्ण देशहरूमा प्रोटेस्टेन्ट विश्‍‍वासका चर्चहरूमा छ र त्यसले विजय प्राप्‍त गरिरहेको छ; यी चर्चहरू दोस्रो स्‍वर्गदूतको गम्भीर र डरलाग्दो दोषारोपनमा समावेश भएका छन्। तर पतित काम अझै यसको चरमबिन्दुमा पुगेको छैन। MBND 123.2

बाइबल घोषणा गर्दछ कि परमप्रभुको आगमनभन्दा अगाड़ि शैतानले “सारा शक्ति र छलपूर्ण चिन्हरू र चमत्कारसहित ... छलमा पार्ने समस्त दुष्‍टतासहित” काम गर्नेछ, र तिनीहरू जसले “सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्‍न इन्कार” गर्नेछन्, तिनीहरूले “झूटा कुरामा विश्‍‍वास गरून् भनेर ... एक शक्तिशाली भ्रम” स्‍वीकार गर्न छोडिदिनुहुनेछ। २ थेसलोनिकी २:९-११। यो अवस्था पूरा नभएसम्म र इसाईजगत्‌भरि चर्च र संसारको एकता पूर्णरूपले सम्पन्‍न नभएसम्म बेबिलोनको पतन पूरा हुनेछैन। परिवर्तनचाहिँ परिवर्तनशील छ, र प्रकाश १४:८को प्रत्यक्ष पूर्णता अझै भविष्यमा नै छ। MBND 124.1

तापनि आत्मिकी अन्धकार र परमेश्‍‍वरबाट बिरानो भएको अवस्था जुन चर्चहरूमा रहेको छ जसले बेबिलोनको रचना हुन्छ, तिनीहरूमध्येबाट पनि ख्रीष्‍टका सत्य चेलाहरूको विशाल समूह अझै पनि पाइनुपर्नेछ। त्यहाँ कति जना यस्ता मानिसहरू पनि छन् जसले यो समयका विशेष सत्यताहरू देखेका छैनन्। तिनीहरूको वर्तमान अवस्थामा धेरै जना सन्तुष्‍ट छैनन्, र तिनीहरूले अझै स्पष्‍ट ज्योतिको चाहना गरिरहेका छन्। तिनीहरूले व्यर्थमा तिनीहरूसँग सम्बन्धित चर्चहरूमा ख्रीष्‍टको प्रतिरूप खोज्छन्। जसरी यी समूहहरू सत्यताबाट टाढ़ा-टाढ़ा जान्छन्, र तिनीहरू आफैले संसारसँग घनिष्‍ठ मिलाप गर्छन्, त्यसरी नै दुई समूहको बीचमा भिन्‍नता फराकिलो हुनेछ, र परिणाम स्‍वरूप अन्तमा विभाजन हुनेछ। कुनै समय आउँछ जसमा परमेश्‍‍वरलाई सर्वोच्‍चरूपमा प्रेम गर्नेहरू यस्तो “परमेश्‍‍वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार” गर्नेहरूसँग सम्बन्धित हुन सक्दैनन्। MBND 124.2

प्रकाश १४:६-१२मा भएको तीन गुणाको चेतावनीलाई इन्कार गरेको परिणाम स्‍वरूप दोस्रो स्‍वर्गदूतले पूर्ववाणी गरेको अवस्थामा चर्च पूर्णरूपमा पुगेर, अझै बेबिलोनमै भएका परमेश्‍‍वरका जनहरूलाई उनको सम्बन्धबाट निस्कने निमन्‍त्रणाको समयलाई प्रकाश १८ले देखाउँछ। संसारलाई दिइएका सन्देशहरूमध्ये योचाहिँ अन्तिम हुनेछ; र यसले आफ्‍नो काम पूरा गर्नेछ। जसले “सत्यमाथि विश्‍‍वास” गर्दैनन्, “तर अधार्मिकतामा आनन्द” मनाउँछन् (२ थेसलोनिकी २:१२), जब तिनीहरू शक्तिशाली भ्रम र छललाई विश्‍‍वास गर्न छोडिनेछन्, त्यसपछि सत्यताको ज्योति तिनीहरू सबैमाथि चम्कनेछ जसका हृदयहरू ग्रहण गर्न खुला भएका छन्, र बेबिलोनमा भएका सबै परमेश्‍‍वरका छोराछोरीहरूले बोलावट सुन्‍नेछन्: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ।” (प्रकाश १८:४)। MBND 124.3