महान् विवाद अन्धकारदेखि ज्योतिमा
३ — आत्मिकी अन्धकारको युग
(अंग्रेजी पुस्तक अध्याय ३ पृष्ठ ४९)
थेसलोनिकीहरूलाई दोस्रो पत्रमा प्रेरित पावलले एउटा ठूलो पतनको बारेमा अगमवाणी गरे जसको परिणाम स्वरूप पोपतन्त्रको शक्ति स्थापना हुन्थ्यो । तिनले घोषणा गरे कि “पहिले विद्रोह नआएसम्म पापको मानिस, अर्थात् सर्वनाशको छोरो प्रकट नभएसम्म त्यो दिन आउनेछैन । त्यसले ईश्वर कहलिएका सबै अथवा पूज्य वस्तुहरूको विरोध गर्छ र तीभन्दा आफैलाई उच्च तुल्याउँछ, यहाँसम्म कि आफैलाई परमेश्वर नै घोषणा गरेर परमेश्वरको मन्दिरमा त्यो बस्छ,” त्यसपछि ख्रीष्टको दिन आउनुपर्छ । प्रेरित आफ्ना भाइहरूलाई थप चेतावनी दिन्छन् कि “अधर्मको रहस्यले अघिबाटै काम गरिरहेछ ।” २ थेसलोनिकी २:३-४, ७ । त्यही समयमा पनि तिनले यस्तो झूटहरू चर्चभित्र प्रवेश गरिरहेको देखे, जसले पोपतान्त्रिक शक्ति विकसित पार्ने मार्ग तयार पार्दथ्यो । MBAJ 37.1
सुरुमा बिस्तारै-बिस्तारै चाल नपाउने गरी शान्तसाथ र त्यसको शक्ति वृद्धि भयो र मानिसहरूका दिमाग नियन्त्रण गऱ्यो, त्यसपछि “त्यो अधर्मको रहस्य”-ले अझै खुल्लारूपमा आफ्नो छली र ईश्वरनिन्दक कामलाई अगाडि बढायो । बडो सुक्ष्मता र गुप्तरूपले मूर्तिपूजक धर्मका रीतिविधिहरू इसाई मण्डलीभित्र प्रवेश गरायो । मूर्तिपूजक धर्मको शासनमा मण्डलीले सहेको भयंकर सतावटद्वारा सम्झौता र परिवर्तनको आत्मा केही समयसम्म बन्द भयो । तर जसरी सतावट अन्त्य भयो र इसाई धर्म राजाहरूका दरबारहरू र राज भवनहरूमा प्रवेश भयो; तब त्यसले मूर्तिपूजक पूजाहारीहरू र शासकहरूको घमण्ड र आडम्बरको खातिर ख्रीष्ट र उहाँका प्रेरितहरूमा भएका नम्र सरलतालाई किनारा लगाइदियो; र परमेश्वरका आज्ञाहरू र विधानहरूको स्थानमा मानवनिर्मित सिद्धान्तहरू, शिक्षाहरू र दस्तुरहरूलाई मण्डलीमा स्थापित गऱ्यो । चौथो शताब्दीको आरम्भमा कन्सट्यानटिन नामधारे इसाई भएपछि बडो आनन्द आयो; र संसारचाहिँ धार्मिकताको वस्त्र पहिरेर मण्डलीभित्र प्रवेश गऱ्यो । अब भ्रष्टताको काम शीघ्रतापूर्वक बढ्न थाल्यो । मूर्तिपूजक धर्म विनाश भएजस्तो देखिएता पनि त्यो विजयी भयो । त्यसको आत्माले मण्डलीलाई नियन्त्रण गऱ्यो । त्यसका सिद्धान्तहरू, रीतिहरू र अन्धविश्वासहरू ख्रीष्टको नाम दाबी गर्ने मानिसहरूकाे विश्वास र आराधनामा समावेश गरियो । MBAJ 37.2
मूर्तिपूजक र इसाई धर्मबीच भएको सम्झौताको परिणाम स्वरूप नै “पापको मानिस” विकसित भयो, त्यो परमेश्वरको विरोधमा उठ्नेछ र आफैलाई परमेश्वरभन्दा उच्च ठहऱ्याउनेछ भनी त्यसको विषयमा अगमवाणी गरिएको थियो । झूटो धर्मको त्यो विशाल प्रणालीचाहिँ शैतानको शक्तिको सर्वोत्कृष्ट रचना हो—त्यसको इच्छाअनुसार पृथ्वीलाई शासन गर्न आफैले सिंहासनमा बसाल्ने प्रयासको एक स्मारक हो । MBAJ 38.1
शैतानले एकपल्ट ख्रीष्टसँग सम्झौता गर्ने प्रयास गऱ्यो । ऊ परमेश्वरको पुत्रकहाँ परीक्षाको उजाड़स्थानमा आयो र यदि उहाँले अन्धकारको राजकुमारको सर्वोच्चता मात्र स्वीकार गर्नुभयो भने त्यसले उहाँलाई सारा संसारका राज्यहरू र त्यसको महिमालाई देखाएर यी सब उहाँलाई सुम्पिदिने प्रलोभन देखायो । ख्रीष्टले हठी परीक्षाकर्तालाई हप्काउनु भयो र त्यसलाई त्यहाँदेखि हटिजाने आज्ञा गर्नुभयो । तर शैतानले मानिसहरूलाई त्यही परीक्षामा पारेर बडो सफलता हासिल गरेको छ । सांसारिक धन-दौलत र आदर-सम्मान हासिल गर्न मण्डलीलाई पृथ्वीका महान् मानिसहरूकाे सहयोग र समर्थन खोज्न लागायो; र यसरी ख्रीष्टलाई इन्कार गरेको कारण शैतानको प्रतिनिधि रोमको विशपप्रति बफादारिता देखाउन प्रभावित तुल्यायो । MBAJ 38.2
रोमी धर्मका प्रमुख सिद्धान्तहरूमध्ये एउटाचाहिँ पोप नै ख्रीष्टको विश्वव्यापी मण्डलीमा देखिने शिर हो, जसलाई संसारका हरेक कुनाका विशपहरू र पास्टरहरूमाथि ठूलो अधिकार प्रदान गरेको छ । त्यति मात्र नभएर पोपलाई परमेश्वरकै शीर्षक दिइएको छ उसलाई “परमप्रभु परमेश्वर पोप”-को शीर्षक दिइएको छ, र उसलाई अचुक घोषणा गरिएको छ । (एपेण्डिक्समा हेर्नुहोस्) । उसले सम्पूर्ण मानिसहरूबाट आदर माग गर्दछ । जुन दाबी शैतानले येशूलाई उजाड़स्थानको परीक्षामा माग गरेको थियो त्यही दाबी रोमको चर्चद्वारा पोपले अहिले पनि माग गर्दछ र विशाल समूहका मानिसहरू उसलाई आदर गर्न तयार छन् । MBAJ 38.3
तर ज-जसले परमेश्वरको भय मान्दछन् र उहाँको श्रद्धा गर्दछन्, जसरी ख्रीष्टले यो धूर्त शत्रुका प्रलोभनहरू सामना गर्नुभयो त्यसरी नै तिनीहरूले यो स्वर्गलाई चुनौती दिने अभिमानलाई सामना गर्छन्, “तैंले परमप्रभु आफ्ना परमेवरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू ।” लुका ४:८ । परमेश्वरले आफ्ना वचनमा कुनै व्यक्तिलाई चर्चको शिर नियुक्त गर्नुभएको संकेत वा सूचना कतै पनि पाइँदैन । पोपीय सर्वोच्चताका सिद्धान्तहरू धर्मशास्त्रका शिक्षाहरूको प्रत्यक्ष विरोधी हुन् । पोपले ख्रीष्टका मण्डलीमाथि जबरजस्ती नगरी कुनै शक्ति प्राप्त गर्न सक्दैन । MBAJ 38.4
रोमीहरू प्रोटेस्टेन्टहरूमाथि झूटो शिक्षा र साँचो मण्डलीबाट स्वेच्छिक विच्छेदन जस्ता दोष लगाउन निरन्तर लागी परेका छन् । तर यी दोषहरूचाहिँ बरु तिनीहरू आफैलाई नै सुहाँउछ । तिनीहरू नै हुन् जसले ख्रीष्टको झण्डा तल खसालेर “सन्तहरूलाई सदाकालको निम्ति सुम्पिएको विश्वास”-बाट आफै तर्कने । यहूदा ३ । MBAJ 39.1
शैतानलाई राम्रोसँग थाहा थियो कि पवित्रशास्त्रले मानिसहरूलाई उसका छलहरू पत्ता लगाउन र त्यसको शक्तिको विरोधमा खडा हुन सक्षम तुल्याउनेथियो । यहाँसम्म कि संसारका मुक्तिदाताले पनि धर्मशास्त्रको वचनद्वारा नै त्यसका आक्रमणहरूलाई सामना गर्नुभयो । शैतानको हरेक आक्रमणमा ख्रीष्टले अनन्त सत्यताको ढाल “यस्तो लेखिएको छ” भनी प्रस्तुत गर्नुभयो । शत्रुको हरेक सुझावलाई उहाँले वचनको बुद्धि र शक्तिद्वारा प्रतिकार गर्नुभयो । शैतानले मानिसहरूमाथि शासन कायम राख्न र पोपीय अनाधिकृत हडप्ने अधिकार स्थापना गर्न तिनीहरूलाई पवित्र धर्मशास्त्रको कुरामा अज्ञात् राख्नु नै पर्ने थियो । बाइबलले परमेश्वरलाई उच्च पार्नेथियो र मरणशील मानिसहरूलाई तिनीहरूको वास्तविक स्थानमा राख्नेथियो; त्यसकारण यसको पवित्र सत्यताहरू दबाउनु र लुकाउनु आवश्यक थियो । यो मनोभाव रोमी चर्चले अपनाएको थियो । सयौँ वर्षसम्म बाइबल वितरण गर्न निषेध गरिएको थियो । मानिसहरूलाई त्यो पढ्न वा आफ्नो घरमा राख्न पनि मनाही गरिएको थियो र विवेकहीन पूरोहितहरू र चर्चका अधिकारीहरूले तिनीहरूकाे छल र बहानालाई कायम राख्न बाइबलका शिक्षाहरूको अर्थ लगाउँदथे । यसरी पृथ्वीमा पोपचाहिँ झण्डै विश्वव्यापी रूपमा परमेश्वरको उपशासक झैँ स्वीकार्य भयो र त्यसलाई चर्च र राज्यमाथि अधिकार प्रदान गरियो । MBAJ 39.2
जब झूट पत्ता लगाउने उपकरण नै [बाइबल] हटाइयो तब शैतानले आफ्नो इच्छानुसार काम गऱ्यो । अगमवाणीले घोषणा गरेको थियो कि पोपको शक्तिले “समय र व्यवस्थाहरू फेर्न प्रयत्न गर्नेछ ।” दानिएल ७:२५ । यस काममा विलम्ब भएन । मूर्तिपूजक धर्मबाट परिवर्तन भएकाहरूलाई मूर्तिपूजाको सट्टामा, र तिनीहरूकाे इसाई धर्मकाे नक्कली स्वीकृतिलाई कायम गराउन प्रतिमाहरू र मरेका मान्छेहरूका अवशेषहरूकाे आराधना बिस्तारै इसाईको आराधनामा प्रवेश गरायो । आखिरमा एक साधारण परिषद्को आदेशले यो मूर्तिपूजाको विधि स्थापना गऱ्यो । (एपेण्डिक्स हेर्नुहोस्) । यो अपवित्र धर्मको कार्य पूरा गर्नका लागि रोमले परमेश्वरको व्यवस्थाबाट मूर्तिपूजा जस्ता निषेधित दोस्रो आज्ञा मेटाउन र सङ्ख्या कायम राख्नका लागि दशौँ आज्ञालाई चाहिँ विभाजित गर्ने साहस गऱ्यो । MBAJ 39.3
मूर्तिपूजक धर्मप्रति सम्झौताको आत्माले स्वर्गीय अधिकारलाई अपमान गर्न अझै ठूलो बाटो खोलिदियो । शैतानले भक्तिहीन चर्च अगुवाहरूद्वारा काम गर्दै चौथो आज्ञा परिवर्तन गऱ्यो र प्राचीन शबाथ दिनलाई पनि हटाउने प्रयास गऱ्यो, र त्यसको बदला “सूर्यको पवित्र वा पूज्य दिन” स्वरूप मूर्तिपूजकले मान्ने चाड़ उच्च पार्नको लागि जुन दिनलाई परमेश्वरले आशिष् दिनुभएको थियो र पवित्र गर्नुभएको थियो, त्यसलाई पनि अनाधिकारपूर्ण साथ परिवर्तन गऱ्यो (उत्पती २:२, ३) । त्यो परिवर्तन सुरुमा खुल्लारूपमा प्रयास गरिएको थिएन । प्रथम शताब्दीहरूमा सबै इसाईहरूद्वारा साँचो शबाथ पालन गरिएकाे थियो । तिनीहरू परमेश्वरको आदरप्रति उत्साही थिए, र उहाँको व्यवस्था अटल छ भनी विश्वास गरेर त्यसका विधानहरूको पवित्रतालाई जोशका साथ सुरक्षित राख्थे । तर शैतानले आफ्ना प्रतिनिधिहरूद्वारा आफ्नो उद्देश्य पूरा गर्न एकदमै चतुऱ्याइँसाथ काम गऱ्यो । ख्रीष्टको पुनरुत्थानको आदरमा एउटा चाड़ स्थापना गऱ्यो ताकि मानिसहरूका ध्यान आइतबारतर्फ फर्काउन सकोस् । त्यसमा धार्मिक सेवाहरूको आयोजना गरिन्थ्यो; त्यसलाई एक मनोरञ्जनात्मक दिन स्वरूप मान्ने गर्दथे तैपनि शबाथचाहिँ अझै पनि पवित्रसाथ पालन गर्दथे । MBAJ 40.1
ख्रीष्टको आगमनभन्दा अगाडि शैतानले यहूदीहरूको अगुवाइमा कठोर नियमद्वारा शबाथलाई बोझपूण बनायो र त्यसलाई पालन गर्न दिक्कलाग्दो बनायो, र त्यसले सम्पन्न गर्न चाहेको बाटो तयार गऱ्यो । त्यसले त्यसरी मनाउन लगाएको कुरालाई झूटो ज्योतिको फाइदा उठाएर यहूदीको व्यवस्था स्वरूप घृणा गऱ्यो । जब प्राय इसाईहरूले आइतबार एउटा हर्षपूर्ण चाड़को रूपमा मान्दै तिनीहरूको नजरमा यहूदी धर्मलाई घृणा प्रकट गर्न शबाथलाई एउटा उपवास, दुःखपूर्ण र नैराश्यको दिन बनायो । MBAJ 40.2
चौथो शताब्दीको सुरुवात्मा सम्राट कन्ट्यान्टिनले आइतबारलाई एक राष्ट्रिय चाड़ बनाउनको लागि रोम साम्राज्यभरि आदेश जाहेर गऱ्यो । (एपेण्डिक्समा हेर्नुहोस्) । उसका मूर्तिपूजक प्रजाहरूले सूर्यको दिनलाई आदर दिए र इसाईहरूले पनि त्यसलाई सम्मान गरे; मूर्तिपूजक र इसाई धर्मको मतभेद मिलाउने सम्राटको षड्यन्त्र थियो । ऊ मण्डलीका विशपहरूद्वारा यो गर्न अभिप्रेरित भयो जो अभिलाषा र शक्तिको तृष्णाद्वारा उत्साहित थिए, त्यसले पत्ता लगायो कि यदि इसाई र मूर्तिपूजक दुवैले एउटै दिन पालन गरेको भए मूर्तिपूजकहरू इसाई धर्म ग्रहण गर्नेथिए र यसरी मण्डलीको महिमा र शक्ति विकसित हुनेथियो । तर जब धेरै परमेश्वरकाे भय मान्ने इसाईहरूले बिस्तारै आइतबारको पवित्रता स्वीकार गरे तब पनि तिनीहरूले प्रभुको निम्ति अझै सत्य शबाथ पवित्र राखे र चौथो आज्ञाप्रति आज्ञाकारी भई पालन गरे । MBAJ 40.3
प्रमुख धोकेबाजले उसको काम सम्पन्न गरेको थिएन । उसले इसाईजगतलाई आफ्नो झण्डामुनि ल्याउने निर्णय गरेको थियो र उसको प्रतिनिधि, अर्थात् ख्रीष्टको प्रतिनिधि दाबी गर्ने घमण्डी पोपद्वारा त्यसको शक्ति प्रयोग गर्ने निर्णय गऱ्यो । अल्प परिवर्तित मूतिपूजकहरू, उच्चाभिलाषी मुख्य पादरीहरू र संसार-प्रेमी विश्वासीहरूद्वारा त्यसले आफ्नो उद्देश्य पूरा गऱ्यो । विशाल परिषद् बेला-बेलामा आयोजना गरिन्थ्यो, जसमा समस्त संसारभरिकाे मण्डलीका मुख्य पदाधिकारीहरू भेला हुन्थे । प्रायः हरेक सभामा परमेश्वरको स्थापित शबाथको महत्व घटाउँदथे भने आइतबारको महत्वलाई उच्च पार्दथे । यसरी मूर्तिपूजक चाड़लाई नै ईश्वरीय स्थापित चाड़ स्वरूप पालन गर्न थाले, जबकि बाइबल शबाथलाई यहूदीहरूको स्मारक भनी उपनाम दिइयो, र यसलाई मान्नेहरूलाई श्रापित भनेर घोषणा गरे । MBAJ 41.1
ठूलो अधर्मीले आफूलाई “ईश्वर कहलिएका सबै अथवा पूज्य वस्तुहरूको विरोध गर्न र ती भन्दा आफैलाई उच्च तुल्याउन” सफल भयो । २ थेसलोनिकी २:४ । उसले सारा मानिस जातिहरूलाई अटल सत्य र जीवित परमेश्वरको बारेमा दर्शाएको परमेश्वरको आज्ञा बदल्ने हिम्मत गऱ्यो । यही चौथो आज्ञाले नै परमेश्वरलाई स्वर्ग र पृथ्वीका सृष्टिकर्ताको रूपमा प्रकट गरेको छ, र यसैद्वारा सारा झूटो देवी-देवताहरूभन्दा परमेश्वर उत्कृष्ट हुनुभएको छ । यो सृष्टिको कामको एक स्मारक थियो कि सातौँचाहिँ दिन मानव जातिका विश्रामको लागि पवित्र ठहराउनु भएको थियो । योचाहिँ मानिसको दिमागको सामु जीवित परमेश्वरलाई जीवनको स्रोत, श्रद्धा र आराधनाको केन्द्रको रूपमा सँधैभरिका लागि स्थापना गर्नु भएको थियो । शैतानले मानिसहरूलाई परमेश्वरप्रति अबफादारी र उहाँका व्यवस्थाप्रति अनाज्ञाकारी बनाउन भरमग्दूर प्रयास गरेको छ; त्यसैकारण परमेश्वरलाई सृष्टिकर्ताको रूपमा चिनाउने आज्ञाको विरुद्ध नै विशेष गरी निर्णायक प्रयास गरेको छ । MBAJ 41.2
आजकाल प्रोटस्टेन्टहरू यसरी जोड़ दिन्छन् कि ख्रीष्टको पुनरूत्थान आइतबार भएको थियो त्यसैले यसलाई इसाई धर्मको शबाथ बनाइयो । तर धर्म शास्त्रीय प्रमाण भने छैन । ख्रीष्ट वा उहाँका प्रेरितहरूले यस दिनलाई त्यस्तो आदर प्रदान गरेको पाइँदैन । आइतबारलाई इसाई शबाथको रूपमा मान्ने प्रचलनको उत्त्पति वा सुरुवात “अधर्मको रहस्य,” बाट सुरु भएको थियो (२ थेसलोनिकी २:७) जसले पावलको दिनमा नै आफ्नो कामको सुरुवात् गरिसकेको थियो । प्रभु परमेश्वरले कहिले र कहाँ यस पोपतन्त्रलाई धर्मपुत्र बनाउनु भयो र ? त्यस परिवर्तनको विषयमा कुन मान्य कारण दिन सकिन्छ जसको बारेमा धर्म शास्त्रले अनुमोदन नै गर्छ ? MBAJ 41.3
छैठौँ शताब्दीमा पोपतन्त्र सम्पूर्ण रूपले स्थापित भइसकेको थियो । त्यसको शक्तिको सिंहासन राजकीय नगर रोममा स्थापना भएको थियो, र रोमको विशप सारा इसाई मण्डलीहरूको प्रधान स्वरूप घोषणा भयो । मूर्तिपूजकले पोपतन्त्रलाई स्थान प्रदान गऱ्यो । अजिङ्गरले पशुलाई “आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अधिकार दियो ।” प्रकाश १३:२ । (एपेण्डिक्समा हेर्नुहोस्) । त्यसपछि दानिएल र प्रकाशमा अगमवाणी गरेको १२६० वर्षहरूको पोपको अत्याचार आरम्भ भयो । दानिएल ७:२५; प्रकाश १३:५-७ । इसाईहरूले तिनीहरूका इमान्दारिता छोड्ने र पोपतन्त्रको रीति-रिवाजप्रति भक्त बन्ने कि तिनीहरूका जीवन कैद खानाहरूमा पारेर नष्ट हुने वा हातखुट्टा तन्काएर यातना दिने साधन मृत्युको सामना गर्ने वा जलाउने तख्ताहरूमा जलेर खरानी बन्ने अथवा शासकहरूको बन्चरोबाट काँटिने यी दुईकाे बीचबाट निर्णय गर्न बाध्य भए । येशूका वचनहरू यसैमा पूरा हुन आयो: “तर तिमीहरूका बुबा-आमा र दाजुभाइहरू, नातेदारहरू र मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन्, र तिमीहरूमध्ये कोही-कोहीलाई तिनीहरूले मार्नेछन् । मेरो नाउँको खातिर तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन् ।” लुका २१:१६-१७ । पहिलेभन्दा अझै भयंकर सतावट विश्वासयोग्य जनहरूमाथि आइपऱ्यो, सारा पृथ्वी नै एक विशाल युद्ध मैदान बन्न पुग्यो । ख्रीष्टको मण्डलीले सयौँ वर्षसम्म एकान्त र दुर्लभ स्थानहरूमा शरण लियो । यसप्रकार अगमवक्ता लेख्दछन्: “त्यो स्त्रीचाहिँ उजाड़-स्थानभित्र भागी, जहाँ एक हजार दुई सय साठी दिनसम्म त्यसको पालनपोषण होस् भनेर परमेश्वरले त्यसको लागि ठाउँ तयार राख्नुभएको थियो ।” प्रकाश १२:६ । MBAJ 42.1
रोमी चर्चले सिंहासन हासिल गरेपछि अन्धकारका युगहरूको सुरुवात् भयो । जति उनको शक्ति बढ्दै गयो त्यति अन्धकार पनि बाक्लो हुँदै गयो । सत्य जग ख्रीष्टदेखि रोमको पोपतर्फ विश्वास स्थानान्तरण भयो । पापको क्षमा र अनन्त मुक्तिका लागि परमेश्वरको पुत्रमाथि भरोसा गर्न छोडेर मानिसहरूले पोप, पूजाहारीहरू र पुरोहितहरूमाथि भरोसा राखे जुनहरूलाई उसकाे [पोप] अधिकार सुम्पिएको थियो । पोप नै तिनीहरूकाे पृथ्वीको मध्यस्थकर्ता हो र उसको माध्यमद्वारा बाहेक कोही पनि परमेश्वरको नजिक आउन सक्दैन, त्यति मात्र नभएर ऊ तिनीहरूको लागि परमेश्वरको स्थानमा खडा छ, त्यसैकारण उसको आज्ञा पूणतौरले पालन गर्नुपर्छ भनी तिनीहरूलाई सिकाइयो । उसको विधि-विधानबाट तर्केर जाँदा दोषीहरूका शरीरहरू र आत्मामा कठोर दण्ड आइपर्ने पर्याप्त कारण हुन सक्थ्यो । यसरी मानिसहरूका दिमागहरू परमेश्वरदेखि पतित, गलतपूर्ण र क्रूर मानिसहरूतर्फ फर्काइए, त्यति मात्र होइन, अन्धकारको राजकुमार आफैतर्फ फर्काइए जुनहरूले त्यसकै शक्ति प्रयोग गरेका थिए । पापचाहिँ पवित्रताको वस्त्रले ढाकिएको थियो । जब परमेश्वरका वचनहरू दबाइएका हुन्छन् र मानिस आफूले आफैलाई सर्वोच्च पार्दछ तब हामीले छल, कपट र घिनलाग्दा अधर्म मात्र देख्छौं । मानविक व्यवस्थाहरू र संस्कृतिहरू उच्च पार्दा सधैँ परमेश्वरको व्यवस्थालाई किनारा लगाएको कारण भ्रष्टता प्रकट हुन्छ । MBAJ 42.2
ती दिनहरू ख्रीष्टका मण्डलीकाे लागि सङ्कटको दिन थियो । विश्वासयोग्य झण्डा उठाउनेहरू साँच्चै नै थोरै मात्र थिए । सत्यता साक्षीहरूविना छाड़िएको थिएन, तापनि कहिलेकाही यस्तो आभास हुन्थ्यो कि झूट र अन्धविश्वास व्यापक भएर साँचो धर्म संसारबाट बाहिरिएको जस्तो देखिन्थ्यो । सुसमाचार बेकम्मा भयो, तर धर्मका ढाँचाहरू वृद्धि भए र मानिसहरूमाथि कठोर आज्ञाको बोझ लादिदियो । MBAJ 43.1
तिनीहरूले पोपलाई आफ्नो मध्यस्थकर्ताको रूपमा मात्रै होइन, तर पापको प्रायश्चितका लागि तिनीहरूका आफ्नै काममाथि भरोसा गर्न तिनीहरूलाई सिकाइएको थियो । थकित तिर्थयात्राहरू, पापको लागि यातना, सन्तहरूकाे अवशेषको उपासना, चर्च, पुण्यस्थलहरू र वेदीहरू निर्माण कार्य र अधिक मात्रामा चर्चमा रकम जम्मा गर्ने जस्ता कुराहरू र अन्य समान कार्यले परमेश्वरको क्रोधलाई शान्त पार्ने वा उहाँको अनुग्रह प्राप्त गर्ने कुरामा समावेश गरेको थियो । परमेश्वरलाई सानोतिनो कुरामा क्रोधित हुने वा उपहार र यातनाद्वारा फकाउन सक्ने एक मनुष्यको रूपमा तुलना गरियो । MBAJ 43.2
रोमी मण्डलीका अगुवाहरूको बीचमा दुष्टताको काम पाइएतापनि त्यसको प्रभाव स्थिर गतिमा बढ्दै गएजस्तै देखिन्थ्यो । आठौँ शताब्दीका लगभग अन्ततिर रोमन क्याथोलिक धर्मावलम्बीले यो दाबी गरे कि मण्डलीको अघिल्लो युगहरूमा रोमको विशपले त्यही आत्मिकी सामर्थ हासिल गरेको थियो जुन सामर्थ अहिले छ भनी ठान्दछ । यस दाबी स्थापित गरेर त्यसको अधिकार देखाउन कुनै माध्यमहरूलाई प्रयोग गर्नै पर्ने थियो; र त्यस झूटको पिताले त्यस कुरामा झट्टै सुझाव दिइहाल्यो । प्राचीन लेखहरूलाई क्याथोलिक सन्यासीहरूद्वारा जालसाजी गरिए । पोपको सर्वव्यापी सर्वोच्चताको स्थापना सुरुदेखि थियो भन्ने कहिल्यै नसुनिएका आदेशहरू परिषद्बाट जानकारी प्राप्त भयो । जुन मण्डलीले सत्यलाई त्यागेको थियो, त्यसले यी झूटहरूलाई बडो प्रसन्नताका साथ स्वीकार गऱ्यो । (एपेण्डिक्समा हेर्नुहोस्) । MBAJ 43.3
साँचो जगमाथि रहेका केही विश्वासयोग्य निर्माताहरू चिन्तित थिए र कार्यलाई बाधा ल्याउने झूटो शिक्षाको मैला झैँ रोकटोक लगाइयो । (१ कोरिन्थी ३:१०, ११) । जसरी नहेम्याहको समयमा यरूशलेमको पर्खाल निर्माताहरूका बीचमा केही मानिसहरू यसो भन्न तयार भए, “भारी बोक्नेहरूको बल घटिसक्यो, र धूलोमैला धेरै छ; यसैले हामी यो पर्खाल बनाउन सक्दैनौं ।” नहेम्याह ४:१० (KJV) । सतावट, धोखा, पाप साथै कार्यमा बाधा पुऱ्याउने शैतानका अन्य उपायहरूका विरुद्ध निरन्तररूपमा सामना गर्नुपर्दा कोही-कोही विश्वासयोग्य निर्माणकर्ताहरू थाकेर निराश भए, र आफ्नाे शान्तिका खातिर र तिनीहरूको सम्पत्ति र जीवनकाे सुरक्षाका लागि उनीहरू सत्य जगदेखि तर्के । अरूहरूले चाहिँ तिनीहरूका शत्रुहरूको विरोधप्रति निडर भई अति साहससाथ घोषणा गरे: “तिनीहरूसँग नडराओ । महान् र भययोग्य परमप्रभुको सम्झना गर,” (नहेन्याह ४:१४) त्यसपछि हरेक व्यक्ति आ-आफ्नो म्यानमा तरवार भिरेर आ-आफ्नो काममा लागे । एफिस्सी ६:१७ । MBAJ 44.1
हरेक युगमा सत्यताप्रति भएको यही घृणा र विरोधको आत्माले परमेश्वरको शत्रुलाई प्रेरणा दिएको छ, र त्यस्तै किसिमको सचेतपन र स्वामी भक्ति उहाँका दासहरूका लागि पनि आवश्यक परेको छ । ख्रीष्टले जुन कुराहरू प्रथम चेलाहरूलाई भन्नुभएको थियो त्यही कुरा संसारको अन्त्यसम्मै उहाँलाई अनुसरण गर्नेहरूलाई उपयोगी हुनेछ । “जे म तिमीहरूलाई भन्दछु त्यो म सबैलाई भन्दछु, ‘जागा रहो’ ।” मर्कूस १३:३७ । MBAJ 44.2
अन्धकार अझै घोर भएको जस्तो देखिन्थ्यो । प्रतिमा पूजा अझै व्यापक भयो । मानिसहरूले प्रतिमाहरूको सामु मैनबत्ती बाले र तिनीहरूको सामुन्ने प्रार्थाना पनि गरे । अत्याधिक मुर्ख र अन्धविश्वासी रीतिहरू प्रचलित भए । मानिसहरूका मनहरूलाई त्यस अन्धविश्वासले पूर्णरूपमा नियन्त्रण गरे जसले गर्दा विवेक आफैले नै आफ्नो समक्षशक्ति गुमाइसकेको जस्तै देखिन्थ्यो । जब मण्डलीका पूजाहारीहरू र विशपगण नै सुखविलास-प्रेमी, कामवासनापूर्ण र भ्रष्टचारी थिए भने तिनीहरूद्वारा अगुवाइ पाएकाहरू जो कोही पनि अन्जान र दुष्टताको गहिराइमा पुगेको हुन्थ्यो । MBAJ 44.3
जब एघारौँ शताब्दीमा पोप ग्रेगोरी सातौँले रोमन क्याथोलिक मण्डलीको सिद्धतालाई घोषणा गऱ्यो तब यसले पोपको शक्तिको मान्यतामा अझै अर्को एक कदम बढायो । उसका प्रस्तावहरूमध्ये एउटाचाहिँ यस्तो थियो कि पवित्र शास्त्र बाइबलअनुसार रोमन क्याथोलिक मण्डलीले कहिल्यै पनि गल्ती गरेको छैन, नता त्यसले कहिल्यै गर्ने नै छ । तर यस दाबीमा बाइबलीय प्रमाणले समर्थन गरेको थिएन । घमण्डी पोपले सम्राटहरूलाई पदच्युत गर्ने शक्तिको पनि दाबी गऱ्यो, र उसले दिएको सजाय कसैले पनि फिर्ता गर्न सक्दैन, तर अरू सबैका निर्णयहरूलाई फिर्ता गर्न सक्ने उसको विशेषाधिकार हो भनी घोषणा गऱ्यो । (एपेण्डिक्समा हेर्नुहोस्) । MBAJ 44.4
यस अटलताको पक्षमा बोल्ने यो व्यक्तिको तानाशाही चरित्रले जर्मर्नीका सम्राट, हेनरी चौथोलाई गरेको व्यवहारद्वारा एउटा हृदयस्पर्शी उदाहरण प्रस्तुत गरेको थियो । सम्राटले पोपको अधिकारलाई अस्वीकार गरेको कारण उसलाई मण्डलीबाट बहिष्कार गर्ने र सिंहासन च्युत भएको घोषणा गरियो । उसको आफ्नै अधिकारीहरूले पोपतन्त्रको हुकुम-पत्रद्वारा प्रेरित भएर विद्रोह गरी उसलाई त्यागी र धम्कि दिएको कारण ऊ अत्यन्तै भयभीत भयो, त्यसकारण सम्राट हेनरीले रोमसँग शान्ति कायम गर्नुपर्छ भन्ने आवश्यकता ठाने । तिनी आफ्नो पत्नी र विश्वासयोग्य सेवकलाई साथमा लिएर मध्यहिउँदमा आल्पहरू काटेर गए, ताकि तिनले पोपको सामु आफैलाई नम्र पार्न सकून् । जब तिनी एउटा किल्लामा पुगे जहाँ ग्रेग्रोरी पनि आएको थियो, तिनी बाहिरी आँगनमा आफ्नो सुरक्षाकर्मीविना नै लगिए र त्यो सहनै नसकिने जाड़ोको मौसममा टोपीविना, खाली खुट्टा र तुच्छ वस्त्रमा पोपकहाँ आउने अनुमतिको प्रतीक्षा गर्दै खडा रहे । सम्राटले तीन दिनसम्म उपवास र गल्तीको पश्चताप गरेपछि मात्र पोपले तिनलाई क्षमा प्रदान गऱ्यो । सम्राटले यसो गरेतापनि पुनः सिंहासनारोहण गर्न र राजकीय शक्तिको प्रयोग गर्नका लागि पोपको स्वीकृतिलाई प्रतीक्षा गर्नुपर्ने शर्त राखिएको थियो । अनि ग्रेगोरीले उसको विजयमा गर्व गऱ्यो, घमण्डी राजाहरूलाई होच्याउने त्यसको कतर्व्य हो भनी अभिमान गऱ्यो । MBAJ 45.1
यस हठी पोपको अहङ्कारपूर्ण घमण्ड र ख्रीष्टको नम्रता र कोमलताको बीचमा कति धेरै भिन्नता थियो, जसले हृदयको द्वारमा प्रवेश गर्ने अनुमतिको लागि आफै बिन्ती गर्नुहुन्छ, कि उहाँ क्षमा र शान्ति प्रदान गर्न भित्र प्रवेश गर्नुहुन्छ, र जसले उहाँका चेलाहरूलाई यसो भनी सिकाउनु भयो: “तिमीहरूका बीचमा जो पहिलो हुने इच्छा गर्दछ, ऊचाहिँ तिमीहरूको दास बनोस् ।” मत्ती २०:२७ (KJV) । MBAJ 46.1
रोमका शिक्षाहरूमा दुष्टताहरू निरन्तररूपमा अत्याधिक मात्रामा वृद्धि भएको पछिल्ला शताब्दीहरूतिर देख्न सकिन्थ्यो । पोपतन्त्र स्थापना हुनुभन्दा अगाडि नै मूर्तिपूजकहरूका दार्शनिकहरूका शिक्षाहरूप्रति विशेष ध्यान आकर्षित भएको थियो र त्यसले मण्डलीमा पनि प्रभाव पाऱ्यो । धेरै जनाले परिवर्तनको बहाना गरेपनि तिनीहरू आफैले अझै पनि मूर्तिपूजक दर्शनशास्त्रीय सिद्धान्तमा लागिरहेका थिए, र तिनीहरू मात्रै यसको अध्ययन नगरेर अरूलाई पनि मूर्तिपूजकहरूलाई पनि प्रभावित पार्ने माध्यमको रूपमा जोड दिएका थिए । यसरी इसाई विश्वासमा गम्भीर झूटाहरू प्रवेश गऱ्यो । यीमध्ये प्रमुखचाहिँ मानिसको स्वभाविक अमरत्व र मृत्युमा पनि चेतना हुन्छ भन्ने विश्वास थियो । यस सिद्धान्तले नै रोमले स्थापना गरेका सन्तहरूलाई प्रार्थाना गर्ने तथा कुमारी मरियमलाई आराधना गर्ने जस्ता सिद्धान्तहरूको जग बसालेको थियो । अन्तमा पश्चात्ताप नगर्नेहरूलाई अनन्त यातना हुन्छ भन्ने झूट पनि त्यहीँबाट आएको थियो, जुन पोपतन्त्रको विश्वासमा पहिले नै समाविष्ट भइसकेको थियो । MBAJ 46.2
त्यसपछि मूर्तिपूजकको अझै अर्को आविष्कारका परिचयको लागि पनि बाटो तयार भयो, जसलाई रोमले परगोटोरी [वा तपो भूमि] भन्ने नाम दियो, र त्यसलाई शंका वा प्रश्न नगर्ने र अन्धविश्वासी भीडहरूका निम्ति एक भयभीत पार्ने औजारको रूपमा प्रयोग गऱ्यो । यो झूटद्वारा एक यातना-स्थलको अस्तित्वलाई अनुमोदन गरियो, जसमा ज-जसका आत्माहरू अनन्त सजायमा परेका छैनन् तिनीहरूका पापहरूको सजाय तिनीहरूले भोग्नुपर्नेछ, त्यहाँ जब तिनीहरू पापमुक्त भएका हुन्छन् तब स्वर्गमा प्रवेश गर्छन् । (एपेण्डिक्समा हेर्नुहोस्) । MBAJ 46.3
रोमलाई त्यसका अनुयायीहरूका त्रासहरू र दुष्टताहरूदेखि लाभ हासिल गर्न अझै अर्को काल्पनिक सिर्जनाको आवश्यकता थियो । त्योचाहिँ पाप क्षमा-पत्रको सिद्धान्तद्वारा पूर्ति भयो । उसको संसारिक सरकारको विकास गर्न, र उसका शत्रुहरूलाई सजाय दिन वा जसले उसको आत्मिक सर्वोच्चतालाई इन्कार गर्छन् तिनीहरूलाई सत्यनाश गर्न जो जति पोपको युद्धमा सामेल हुन्छन्, तिनीहरू सबैको भूत, वर्तमान, भविष्यका सारा पापहरू क्षमा गर्ने, तिनीहरूका सम्पूर्ण कष्टहरू र आर्थिक दण्डमुक्त गर्ने प्रतिज्ञा गरिएको थियो । मानिसहरूलाई यसरी सिकाइएको थियो कि तिनीहरूले चर्चमा पैसा तिरेको खण्डमा तिनीहरू पापमुक्त हुनेछन्, र त्यति मात्र नभई आफ्ना मरेका प्रियजनहरूका आत्माहरूलाई पनि मुक्ति दिलाउन सकिन्छ जो आगोको ज्वालाद्वारा यातना भोगिरहेका छन् । यी साधनहरूद्वारा रोमले आफ्नो ढुकुटी भऱ्यो र तिनीहरूले भव्यता, विलासिता र अपराधहरूलाई कायम राखे, र तिनीहरूले जसको प्रतिनिधिको बहाना गरेका थिए उहाँको त टाउको लुकाउने ठाउँ पनि थिएन । (एपेण्डिक्समा हेर्नुहोस्) । MBAJ 46.4
धर्मशास्त्रीय प्रभुभोजको विधिको सट्टामा मासको मूर्तिपूजक बलिदानको विधि स्थापित गऱ्यो । पोपतन्त्रका पूजाहारीहरूले आफ्नो ज्ञानहीनता बुझ्नै नसकिने आवाजमा साधारण रोटी र दाखमद्यलाई “ख्रीष्टको वास्तविक देह र रगतमा” परिवर्तन गर्ने नाटक गरे । —Cardinal Wiseman, The Real Presence of the Body and Blood of Our Lord Jesus Christ in the Blessed Eucharist, Proved From Scripture, lecture 8, sec. 3, par. 26. ईश्वर निन्दक दुःसाहससाथ तिनीहरूले प्रत्यक्षरूपमा परमेश्वरलाई सृष्टि गर्ने शक्तिको दाबी गरे, जबकि उहाँं नै यावत् थोकको सृष्टिकर्ता हुनुहुन्छ । इसाईहरूले यो स्वर्ग निन्दक डरलाग्दो अपधर्मलाई स्वीकार गर्न अनिवार्य थियो, र यदि यो अस्वीकार गरिएको खण्डमा तिनीहरूले मृत्यु दण्ड भोग्नुपर्दथ्यो । त्यसलाई अस्वीकार गर्ने भीडहरूलाई आगोको ज्वालामा हालियो । (एपेण्डिक्समा हेर्नुहोस्) । MBAJ 47.1
तेह्रौँ शताब्दीमा पोपतन्त्रका सम्पूर्ण यन्त्रहरूमध्ये सबभन्दा भयानक यन्त्र स्थापना भयो—त्योचाहिँ इन्क्वीजिसन [मण्डली अनुसन्धान आयोग] थियो । अन्धकारको राजकुमारले पोपतन्त्रका पूरोहित शासनका अधिकारीहरूसँग काम गरेको थियो । तिनीहरूका गुप्त सभाहरूमा शैतान र उसका दूतहरूले दुष्ट मानिसहरूको दिमाग नियन्त्रण गरे, जबकि अदृश्यरूपमा परमेश्वरको दूत तिनीहरूका अपराधी अध्यादेशहरूको डरलाग्दो अभिलेख लेख्न र मानविक नजरमा अति नै घिनलाग्दा कार्यहरूको विवरण लिन तिनीहरूको बीचमा खडा भए । “महान् बेबिलोन सन्तहरूको रगतले मातेको” थियो । लाखौँ शहिदहरूका टुक्राहरूले परमेश्वरलाई यस पतित शक्तिको विरुद्धमा बदलाको दुहाइदिए । MBAJ 47.2
यो पोप संसारको एक अति अत्याचारी शासक भएको थियो । रोमको पोपका आदेशहरूका सामुन्ने संसारका राजाहरू र सम्राटहरूले शिर झुकाए । मानिसहरूको समय र अनन्तता दुवैका गन्तव्यहरू उसकै नियन्त्रणमा छ जस्तै देखिन्थ्यो । मानिसहरूले सयौँ वर्षसम्म रोमका सिद्धान्तहरूलाई विस्तृत रूपमा र पूर्णरूपले स्वीकार गरे, त्यसका रीतिहरू श्रद्धापूर्वक प्रयोगमा ल्याए, र त्यसका चाडपर्वहरू व्यापकरूपमा पालन गरे । यस मण्डलीका धर्मगुरूहरू सम्मानित भए र तिनीहरू आर्थिकरूपमा सम्पन्न थिए । त्यहाँदेखि यता रोमन मण्डलीले यस्तो ठूलो गौरव, ऐश्वर्य र अधिकार प्राप्त गरेको छैन । MBAJ 47.3
तर “पोपतन्त्रको मध्यदिनचाहिँ संसारको मध्यरात थियो ।” —J. A. Wylie, The History of Protestantism, b. 1, ch. 4. पवित्रशास्त्र मानिसहरूका लागि मात्र होइन तर पूजाहारीहरूलाई पनि प्रायः अज्ञात भइसकेको थियो । प्रचीन समयका फरिसीहरूले झैँ पोपतन्त्रका अधिकारीहरूले पनि तिनीहरूका पापहरू प्रकट गर्ने ज्योतिलाई घृणा गरे । तिनीहरूले परमेश्वरको व्यवस्था, अर्थात् धार्मिकताको स्तरलाई हटाएर आफ्नो शक्तिलाई असिमितरूपमा प्रयोग गरे, र नियन्त्रणविना नै दुष्कर्म गरे । छल, धनको लोभ र दुराचार बढ़ायो । मानिसहरूले धनसम्पत्ति वा स्थान प्राप्त गर्न सङ्कोचविना सबै खालका अपराधहरू गर्न पछि हटेनन् । पोपहरू र अधिकारीहरूका महलहरूमा नै सबभन्दा विलासिताका दृश्यहरू देखिन्थे । कतिजना शासन गर्ने पोपहरू अपराधहरूका दोषी ठहरिए त्यसकारण सांसारिक राजाहरूले मण्डलीका पदाधिकारीहरूलाई सहनै नसकिने दुष्ट राक्षसको रूपमा पदच्युत गर्न विद्रोह गरे । शताब्दीऔँसम्म युरोपमा शिक्षा, कला र सभ्यतामा विकसित भएको थिएन । इसाईजगतमा नैतिक र मानसिक पक्षघात् भएको थियो । MBAJ 48.1
रोमी शक्तिको शासनमा भएको संसारको अवस्थालाई होशे अगमवक्ताको वचनमा एक भयानक र हृदयस्पर्शी पूर्णता प्रस्तुत गरेको थियो: “मेरो प्रजा ज्ञानको अभावले नष्ट भयो; तिमीले ज्ञानलाई रद्द गरेका हुनाले म पनि तिमीलाई ... रद्द गर्नेछु; तिमीले आफ्ना परमेश्वरको व्यवस्था बिर्सिदिएका हुनाले म पनि तिम्रा छोराछोरीहरूलई बिर्सिदिनेछु ।” “यस देशमा न सत्यता छ, न कृपा, न परमेश्वरको ज्ञान नै छ । कसम खान, झूट बोल्न, हत्या गर्न, चोरी गर्न र व्यभिचार गर्नमा तिनीहरू सीमा नाघेर जान्छन्; अनि रक्तपातमाथि रक्तपात हुन्छ ।” होशे ४:६, १, २ । परमेश्वरको वचनलाई बहिष्कार गर्दा यस्तै परिणामहरू आए । MBAJ 48.2