महान् विवाद अन्धकारदेखि ज्योतिमा
२ — प्रथम शताब्दीहरूको सतावट
(अंग्रेजी पुस्तक अध्याय २ पृष्ठ ३९)
जब येशूले आफ्ना चेलाहरूलाई यरूशलेमको दशा र दोस्रो आगमनका दृश्यहरू देखाउनुभयो, तब तिनीहरूबाट उहाँको बिदाइको समय, शक्ति र महिमामा तिनीहरूका छुटकाराको निम्ति उहाँको पुनरागमनको अन्तरालमा हुने उहाँका मानिसहरूको अनुभवलाई उहाँले भविष्यवाणी गर्नुभएको थियो । प्रेरित मण्डलीमाथि आउनै लागेको आँधीं-बेहरीहरू मुक्तिदाताले जैतुनको पहाडदेखि देख्नुभयो; उहाँ भविष्यको गहिराइमा डुब्नुभयो, र उहाँको आँखाले प्रचण्ड र विनाशकारी आँधीं-बेहरीहरू देख्यो जुन उहाँका चेलाहरूमाथि आगामी अन्धकार र सतावटका युगहरूमा बज्रनै आँटेको थियो । केही संक्षिप्त भयपूर्ण सार्थक वक्तव्यहरूमा नै यस संसारका शासकहरूद्वारा परमेश्वरका मण्डलीमाथि आउने सङ्कष्टको विषयमा उहाँले भविष्यवाणी गर्नुभयो । मत्ती २४:९, २१, २२ । तिनीहरूका मालिकले अपमान, निन्दा र कष्टको मार्गमा टेक्नुभयो र ख्रीष्टका चेलाहरूले पनि त्यही मार्गमा हिँड्नुपर्छ । संसारको मुक्तिदातामाथि थुप्रिएको दुश्मनीचाहिँ उहाँको नाममाथि विश्वास गर्ने सबै जनाको विरुद्ध प्रकट हुनेथियो । MBAJ 25.1
अघिल्लो मण्डलीको इतिहासले मुक्तिदाताका वचनहरूको पूर्णतामा गवाही दिएको थियो । पृथ्वी र नरकका शक्तिहरू ख्रीष्टका चेलाहरूको रूप धारण गरेर उहाँको विरुद्ध उठे । मूर्तिपूजक धर्ममा पूर्वज्ञान भयो कि सुसमाचार विजय भयो भने तिनीहरूका मन्दिरहरू र वेदीहरू नष्ट हुनेछन्; त्यसकारण त्यसले इसाई धर्म विनाश गर्न त्यसका सेनाहरू बोलायो । सतावटका आगोहरू बल्न थाले । इसाईहरूका सम्पत्तिहरू लुटिए र तिनीहरू घरहरूबाट धपाइए । तिनीहरूले “कष्टहरूसहित कठोर संघर्ष” सहे । हिब्रू १०:३२ । तिनीहरूले “गिल्ला र कोर्राबाजी, बन्धन र कैद पनि भोग्नुपऱ्यो ।” हिब्रू ११:३६ । कैयौँ मानिसहरूले आफ्नै रगतले आफ्नो गवाही सदर गरे । प्रतिष्ठित र दास, धनी र गरिब, शिक्षित र अशिक्षित सबै कृपाविना मारिए । MBAJ 25.2
निरोको शासनकालमा पावल शहिद भएको समयतिर सुरु भएका यी सतावटहरू शताब्दीऔँसम्म कम वा धेरै उग्रतामा भइरह्यो । इसाईहरूमाथि अति नै भयानक अपराधहरूको झूटो आरोप लगाइयो, र अनिकाल, महामारी र भुइँचालो जस्ता भयंकर विपत्तिहरूका कारण नै तिनीहरू हुन् भनी घोषणा गरे । जब तिनीहरू साधारण घृणा र शंकाको केन्द्रबिन्दु भए तब फाइदाका लागि सुराकीहरू निर्दोषलाई विश्वासघात् गर्न तत्पर हुन्थे । तिनीहरूलाई साम्राज्यका विद्रोहीहरू, धर्मका शत्रुहरू र समाजका परजिवीहरू भनी दोष लगाए । भीडौँ मानिसहरू जङ्गली जनावरहरूका सामु फालिए वा रङ्गशालामा जिउँदै जलाइए । कति जना क्रूसमा टाँगिए; अरूचाहिँ जङ्गली जनावरहरूका छाला लगाइदिएर कुकुरहरूबाट च्यातचुत पारिन रङ्गशालामा फालिए । आर्थिक लाभ उठाउने सार्वजनिक कार्यक्रमहरूमा तिनीहरूकाे सजायलाई प्रमुख मनोरञ्जन बनाउँदथे । ठूलो भीडहरू त्यो दृश्यमा रम्न जम्मा हुन्थे र तिनीहरूले गिल्ला र ठट्टासाथ तिनीहरूको मरिरहेकाहरूको संतापमा सलाम गर्थे । MBAJ 26.1
जहाँ ख्रीष्टका चेलाहरूले शरणस्थान खोजे त्यही जङ्गली जनावरले आफ्नो आहाराको शिकार गरेझैँ तिनीहरूको शिकार गरिन्थ्यो । तिनीहरू उजाड़स्थान र एकान्त ठाउँहरूमा लुक्ने ठाउँ खोज्न बाध्य भए । “कङ्गाल भई क्लेश र दुःख पाएर यताउता डुलिहिँडे । संसार तिनीहरूका निम्ति योग्यको थिएन । मरुभूमि, पहाडहरू, गुफाहरू र पृथ्वीका ओडारहरू हुँदो तिनीहरूले घुमिहिँड्नुपऱ्यो ।” हिब्रू ११:३७-३८ । सुरुङहरूले हजारौँंलाई सुरक्षास्थान प्रदान गरे । रोम शहरभन्दा बाहिर पहाडहरूमुनि पृथ्वी र चट्टान छेड्दै लामा सुरुङहरू बनाइएको थियो; ती अँध्यारा र जटिल मार्गहरू जोडिदै शहरका पर्खालहरूभन्दा धेरै माइल टाढासम्म पुगेका थिए । ख्रीष्टका चेलाहरूले यी भूमिगत एकान्तवासहरूमा तिनीहरूका लाश गाड्थे; र जब तिनीहरूलाई आशंका र कानुनी सुरक्षाबाट बञ्चित गरिन्थ्यो तब त्यहाँ तिनीहरूले एउटा घर भेटाउथे । ज-जसले असल लडाइँ लडेका छन्, जब जीवनदाताले तिनीहरूलाई बौरी उठाउनुहुनेछ, तब धेरै जना ख्रीष्टका निम्ति शहिद हुनेहरू ती अँध्यारो गहिरा गुफाहरूदेखि निस्किआउनेछन् । MBAJ 26.2
यी येशूका साक्षीहरूले प्रचण्ड सतावटमा पनि तिनीहरूका निष्खोट विश्वास कायम राखे । तिनीहरू प्रत्येक सुख-सुविधाबाट बञ्चित थिए, घामको प्रकाशरहित थिए, तिनीहरूले अँध्यारो भएपनि पृथ्वीको न्यानो काखमा आफ्नो घर बनाए, यद्यपि तिनीहरूले गनगनचाहिँ गरेनन् । तिनीहरूले एक-अर्कालाई विश्वास, धैर्य र आशाका शब्दहरूले अभाव र नैराश्यमा साहस दिन्थे । हरेक सांसारिक आशिष् गुमाउनु परेतापनि तिनीहरूलाई ख्रीष्टको विश्वास इन्कार गर्न कर लगाउन सक्दैनथे । सङ्कष्टहरू र सतावटले त तिनीहरूलाई झन विश्राम र इनामतर्फ नजिक लगिरहेको थियो । MBAJ 26.3
प्राचीन समयको परमेश्वरका दासहरूले झैँ धेरै जनाले “अझ उत्तम जीवन प्राप्त गर्नलाई छुटकारा इन्कार गरेर बरु सास्ती भोगे ।” हिब्रू ११:३५ । यिनीहरूले आफ्ना प्रभुका वचनहरू स्मरण गरे, जब तिनीहरू ख्रीष्टको नाउँका खातिर सतावट भोग्दा तिनीहरू अत्यन्तै खुशी हुनुपर्ने थिए, किनकि तिनीहरूको इनाम स्वर्गमा महान् हुनेथियो । यसरी नै तिनीहरूभन्दा पहिलाका अगमवक्ताहरूले पनि सतावट भोगेका थिए । तिनीहरू सत्यताको खातिर कष्ट भोग्ने योग्य ठहरिएकोले आनन्दित भए, र दन्किरहेको ज्यालाहरू बीचबाट पनि तिनीहरूले विजयका गीतहरू गाए । तिनीहरूले विश्वासद्वारा मास्तिर हेर्दा ख्रीष्ट र स्वर्गदूतहरू स्वर्गीय किल्लाहरूका पर्खालहरूमा अडेसो लगाएर तिनीहरूमाथि सबभन्दा गहिरो चाखका साथ तिनीहरूको दृढतामा सहमत जनाइरहनुभएको देखे । परमेश्वरको सिंहासनबाट तिनीहरूकहाँ एउटा आवाज निस्केर आयो, “तिमी मृत्युसम्मै विश्वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु ।” प्रकाश २:१० । MBAJ 27.1
ख्रीष्टको मण्डलीलाई आतंकद्वारा नष्ट गर्ने शैतानका प्रयासहरू व्यर्थ भए । जब यी विश्वासयोग्य झण्डा वाहकहरू तिनीहरूका निर्दिष्ट स्थानमा लडे, तब येशूका चेलाहरूले आफ्ना प्राण त्यागेका महान् विवाद त्यतिकै अन्त भएन । पराजय भएर नै तिनीहरूले विजय हासिल गरे । परमेश्वरका कार्यकर्ताहरूको हत्या भयो, तर उहाँको कार्य सुदृढ भएर अगाडि बढ्यो । सुसमाचार निरन्तर फैलिरह्यो र विश्वासीहरूका सङ्ख्या पनि बढ्दै गयो । रोमी सेनाहरूका लागि असम्भव क्षेत्रहरूमा पनि त्यो सुसमाचार प्रवेश गऱ्यो । सतावट अगाडि बढाउन दबाब दिने मूर्तिपूजक शासकहरूसँग तर्क गर्दै एकजना इसाईले भने: तपाईंहरूले “हामीलाई मार्न, दोषी ठहऱ्याउन, शास्ति दिन” त सक्नुहुन्छ, “हामी निर्दोष छौं भनी तपाईंहरूको अन्यायले नै प्रमाण दिन्छ, ... नता तपाईंहरूको क्रूरताले ... तपाईंहरूलाई केही लाभ नै हुन्छ ।” त्यो त तिनीहरूका विश्वासमा अरूलाई ल्याउने अझै शक्तिशाली निमन्त्रणा पो भयो । “जति नै हामी तपाईंहरूद्वारा काटिएका छौं, हामी सङ्ख्यामा त्यति नै बढ्छौं; इसाईहरूको रगत नै बीउ हो ।” —Tertullian, Apology, paragraph 50. MBAJ 27.2
हजारौँ-हजारलाई बन्दी र हत्या गरियो, तर तिनीहरूका स्थानमा अरू खडा भए । अनि जो-जो आफ्ना विश्वासका खातिर शहिद भएका थिए, तिनीहरू ख्रीष्टमा सुरक्षित भए र उहाँद्वारा विजेता घोषित भए । तिनीहरूले असल लडाइँ लडेका थिए, र जब ख्रीष्ट आउनुहुन्छ तिनीहरूले महिमाको मुकुट प्राप्त गर्नुपर्ने थिए । तिनीहरूले भोगेका दुःखहरूले एक-अर्काप्रति साथै मुक्तिदाताप्रति अझै घनिष्ट सम्बन्ध निर्माण गरे । तिनीहरूको जिउँदो उदाहरण र मरिरहेको साक्षी सत्यताका खातिर निरन्तर गवाही भइरह्यो; जहाँ अल्प आशा गरिएको थियो, त्यहीबाट शैतानका जनताहरूले उसको सेवा छोडेर ख्रीष्टको झण्डामुनि दर्ता गरे । MBAJ 27.3
त्यसकारण शैतानले इसाई चर्चमा नै उसको झण्डा खडा गरेर परमेश्वरको सरकार विरुद्ध अझै सफलतापूूर्वक लडाइँ गर्ने योजनाहरू बनायो । यदि ख्रीष्टका चेलाहरू बहकिन सकेको भए र परमेश्वरलाई दुःखी पार्न सकेको भए, तिनीहरूको बल, धैर्यता र दृढता हराएर जानेथियो, अनि तिनीहरू सहजै त्यसको आहारा बनी पतन हुनेथिए । MBAJ 28.1
ठूलो दुश्मनले अब कौशलताद्वारा प्राप्त गर्ने प्रयास गरे जुन उसले शक्तिद्वारा प्राप्त गर्न असफल भएको थियो । सतावट समाप्त भयो, त्यसको सट्टामा अस्थायी उन्नति र सांसारिक प्रतिष्ठाका खतराजनक प्रलोभनहरू देखाए । मूर्तिपूजकहरूले इसाई विश्वासको केही भाग स्वीकार गर्ने दाबी गरेता पनि तिनीहरूले अन्य अत्यावश्यक सत्यताहरू अस्वीकार गरे । तिनीहरूले येशूलाई परमेश्वरको पुत्र स्वरूप स्वीकार गर्ने र उहाँको मृत्यु र पुनरुत्थानमा विश्वास गर्ने दाबी गरे, तर तिनीहरूले पापको दोष-प्रमाण र पश्चात्ताप वा हृदय परिवर्तनको आवश्यकता महसुस गरेनन् । तिनीहरूले आफ्नो पक्षबाट केही कुराहरू त्याग गर्दै इसाईहरूलाई पनि तिनीहरूका केही अंश त्याग गर्नुपर्ने प्रस्ताव राखे, ताकि सबै ख्रीष्टको विश्वासको चौतारामा एकता हुन सकून् । MBAJ 28.2
अब चर्च भयानक जोखिममा थियो । यसको तुलनामा त कैद, यातना, आगो र तरवार नै आशिष् थिए । कतिजना इसाईहरूले दृढतासाथ उभिदै घोषणा गरे कि कुनै पनि सम्झौता हुनै सक्दैन । अरूहरू आफ्नाे विश्वासका केही विशेषताहरूलाई त्याग गर्ने र संशोधन गर्ने पक्षमा थिए र तिनीहरूको पूर्ण परिवर्तनको माध्यम हुन सक्छ भन्ने जोड दिँदै केही अंश स्वीकार गर्ने इसाईहरूसँग एक हुन मन्जुर भए । योचाहिँ ख्रीष्टका विश्वासयोग्य चेलाहरूका निम्ति गहिरो संतापको समय थियो । शैतान आफै इसाईको भेष धारण गरेर तिनीहरूका विश्वास भ्रष्ट पार्न र सत्यताको वचनहरूबाट दिमाग फर्काउन चर्चभित्र बिस्तारै प्रवेश गरिरहेको थियो । MBAJ 28.3
अन्तमा धेरै जना इसाईहरू आफ्नाे स्तर तल झार्न सहमत भए, इसाई धर्म र मूतिपूजाक धर्मको बीचमा एकता कायम भयो । मूर्तिपूजकहरू परिवर्तन भएको बहाना गरिकन चर्चमा संमावेश भएतापनि तिनीहरूका पूज्य वस्तुहरू जस्तै येशू, मरियम र सन्तहरूका प्रतिमामा परिवर्तन गरेर पूजा गर्दै तिनीहरूकाे मूर्तिपूजक विचारमा अडिरहे । मूर्तिपूजाको दुर्गन्धित खमिर यसरी चर्चमा भित्रिएपछि त्यसको घृणित काम निरन्तर भई नै रह्यो । त्यसकाे सेवा र विश्वासमा अनुचित सिद्धान्तहरू, अन्धविश्वासी विधिहरू, मूर्तिपूजक चाडपर्वहरू समावेश भएका थिए । जब ख्रीष्टका चेलाहरू मूर्तिपूजकहरूसँग संयुक्त भए, तब इसाई धर्म भ्रष्ट भयो, चर्चले त्यसको शुद्धता र शक्ति गुमायो । त्यहाँ कुनै यस्ता मानिसहरू पनि थिए जोचाहिँ जेभएपनि ती छलहरूद्वारा बहकिएनन् । तिनीहरूले सत्यताका रचनाकारको भक्तिलाई कायम राखे र परमेश्वरलाई मात्र सेवा गरे । MBAJ 29.1
पहिलेदेखि नै ख्रीष्टका चेला हौं भनी दाबी गर्नेहरू दुई वर्गमा विभाजित हुँदै आएका छन् । जहाँ एक वर्गले मुक्तिदाताको जीवनी पढ्छन् र उत्साहसाथ चरित्रका खोटहरूलाई सुधार्न तत्पर हुन्छन् र देखाइएका नमुनामुताबिक प्रयास गर्छन् भने अर्को वर्गले चाहिँ तिनीहरूको गल्ती प्रकट गर्ने प्रत्यक्ष र व्यवहारिक सत्यतालाई ठाडै अस्वीकार गर्दछन् । चर्चमा त्यसको उत्कृष्ट अवस्थामा पनि पूर्णरूपले सत्य, शुद्ध र निष्कपटताद्वारा स्थापित भएको थिएन । हाम्रा मुक्तिदाताले सिकाउनुभयो कि जसले जानीजानी पाप गरिरहन्छ त्यसलाई चर्चमा स्वीकार नगर्नू; तापनि उहाँले चरित्रखोटीहरूलाई आफैकहाँ तान्नुभयो, तिनीहरूलाई उहाँकाे उदाहरण र शिक्षाका लाभहरू प्रदान गर्नुभयो, ताकि तिनीहरूले आफ्ना गल्तीहरू आफैले देख्ने र सुधार्ने मौका पाऊन् । बाह्र जना पेरितहरूमध्ये एउटाचाहिँ धोकेवाज थियो । यहूदाको चरित्रमा खोट हुँदाहुँदै पनि उहाँले उसलाई स्वीकार गर्नुभयो, तर उसको खोटको कारणले चाहिँ होइन । ऊ चेलाहरूसँग सम्बन्धित थियो, ताकि ख्रीष्टका उदाहरण र शिक्षाद्वारा इसाई चरित्रका गुणहरू सिक्न सकोस्, यसरी आफ्ना गल्तीहरू देखोस् र पश्चात्ताप गर्न सकोस् र दैवीय अनुग्रहको सहायताद्वारा “सत्यता पालन गरेर” उसको आत्मा शुद्ध पार्न सकोस् । तर यति धेरै अनुग्रहका साथ चम्काएको ज्योतिअनुसार यहूदा हिँड़ेन । पापको अतिभोगद्वारा उसले शैतानको परीक्षा निम्त्यायो । उसका खराब चरित्रगुणहरू प्रबल बने । उसले आफ्नो दिमाग अन्धकारका शक्तिको नियन्त्रणमा सुम्पिदिएको थियो, उसका गल्तीहरू देखाउँदा ऊ रिसायो, यसरी उसले आफ्नो मालिकलाई धोका दिने जस्ता भयानक अपराध गर्न पुग्यो । ज-जसले भक्तिको भेष लिएर दुष्टतालाई मनमा आश्रय दिन्छन् र पापकर्मलाई दोष देखाउँदा मन बेचैन पारेर घृणा गर्छन् तिनीहरू सब त्यसै गर्छन् । जब उपयोगी मौका प्रकट हुन्छ यहूदाले झैँ तिनीहरूले पनि उनीहरूकै भलाइका निम्ति सच्याउने व्यक्तिहरूलाई धोका दिनेछन् । MBAJ 29.2
चर्चमा भक्तिको भेष धारण गरेर पनि गुप्तरूपमा अधर्मलाई आश्रय दिनेहरूसँग प्रेरितहरूले सामना गरेका थिए । हननिया र सफिराले पनि परमेश्वरलाई सम्पूर्ण बलिदान गर्ने बहाना गरी धोकेवाजी व्यवहार गरे र तिनीहरूले लोभ गरेर केही भाग आफ्नो लागि बचाएर लालचसाथ लिए । सत्यको आत्माले प्रेरितहरूलाई कपटीहरूको वास्तविक चरित्र प्रकट गर्नुभयो, अनि परमेश्वरको इन्साफले चर्चका मैलाहरू हटाएर त्यसलाई शुद्ध पार्नुभयो । चर्चमा ख्रीष्टको सर्वज्ञानी आत्माको स्पष्ट प्रमाण देखेर पाखण्डीहरू र दुष्टकारकहरू भयभीत भए । ज-जसले बानी र स्वभावद्वारा हरपल ख्रीष्टको प्रतिनिधित्व गरेका थिए तिनीहरूसँग अब उप्रान्त सम्बन्ध कायम राख्न सकेनन्; जब चेलाहरूमाथि कष्ट र परीक्षा आइपऱ्यो, तब जसले सत्यताको खातिर सबथोक त्याग्न तयारी भए, तिनीहरूले मात्र उहाँका चेलाहरू बन्ने इच्छा गरे । त्यसरी जबसम्म सतावट भइरह्यो तबसम्म तुलनात्मक रूपमा चर्च शुद्ध नै थियो । तर जब सतावट अन्त भयो, तब इमान्दारी र समर्पित नभएका अरू विश्वासीहरू थपिए, यसद्वारा शैतानले खुट्टा हाल्ने मौका पायो । MBAJ 30.1
तर ज्योतिको राजकुमार र अन्धकारको राजकुमारको बीच कुनै सम्बन्ध छैन, र तिनीहरूका अनुयायीहरूको बीचमा पनि कुनै सम्बन्ध हुनै सक्दैन । जब इसाईहरूले अल्प परिवर्तित मूर्तिपूजकसँग एकत्रित हुने सहमति जनाए, तब तिनीहरू यस्तो मार्गमा प्रवेश गर्न पुगेको थिए जसले तिनीहरूलाई सत्यताबाट टाढ़ा-टाढ़ा पुऱ्याउँदथ्यो । शैतानले ख्रीष्टका चेलाहरूमध्ये विशाल सङ्ख्यालाई बहकाउन सफल भएको कारण ऊ अति हर्षित भयो । त्यसपछि उसले तिनीहरूलाई उसको पूर्ण शक्ति प्रदान गरी परमेश्वरमा बफादारी रहेका सत्य विश्वासीहरूलाई सतावट गर्न प्रोत्साहन दियो । विगतमा सत्य विश्वासलाई प्रतिरक्षा गर्नेहरूले बाहेक अरू कसैसँग पनि त्यसलाई प्रतिकार गर्ने ज्ञान थिएन; त्यसपछि यी पतित इसाईहरूले अर्ध-मूर्तिपूजक साथीहरूसँग मिलेर ख्रीष्टका सिद्धान्तको उत्कृष्ट विशेषताहरू विरुद्ध गरिएको लड़ाइँमा अगुवाइ गरे । MBAJ 31.1
तिनीहरूले पवित्रताको भेष धारण गराएर छलहरू र घिनलाग्दा कामहरू चर्चमा प्रवेश गराए, विश्वासयोग्य जनहरूले त्यसको विरुद्धमा कठोर संघर्ष गर्नुपऱ्यो । विश्वासको स्तर स्वरूप बाइबल स्वीकार्य भएन । धार्मिक स्वतन्त्रताको सिद्धान्तलाई झूटो शिक्षाको उपनाम दिइयो, यसका समर्थकहरूलाई घृणा गरियो र बहिष्कार गरियो MBAJ 31.2
लामो समयको कडा संघर्षपछि केही विश्वासयोग्य मानिसहरूले निर्णय गरे कि यदि पतित मण्डलीले आफूलाई झूटो र मूर्तिपूजाबाट अझै अलग हुन अस्वीकार गरे भने तिनीहरूसँग भएको सम्बन्ध पूर्ण विच्छेद् गर्नुपर्दछ । यदि तिनीहरूले परमेश्वरको वचन पालन गर्नुपर्छ भने पूर्ण विभाजनको आवश्यकता छ भन्ने कुरा तिनीहरूले महसुस गरे । तिनीहरूले आत्मघाती झूटहरूलाई सहन गरेर आफ्ना छोराछोरी र नाति-नातिनीहरूकाे विश्वासमा जोखिमपूर्ण उदाहरण छोड्ने साहस गरेनन् । तिनीहरू परमेश्वरको भक्ति अनुरूप कुनै उपयुक्त कुरा त्याग गरेर शान्ति र एकता प्राप्त गर्न तत्पर थिए; तर शान्ति पनि यति धेरै मूल्यवान् थिएन जसमा तिनीहरूले सिद्धान्त नै बलिदान गर्नु परून् । यदि धार्मिकता र सत्यताको सम्झौताद्वारा मात्र एकता सम्पन्न हुन्छ भने, बरु विभाजन र लड़ाइँ नै होस् । MBAJ 31.3
यदि ती दृढ मानिसहरूमा परिचालन भएका सिद्धान्तहरू परमेश्वरकाे नाम धारण गर्ने जनको हृदयमा जागृत भएको भए चर्च र संसारलाई असल हुनेथियो । सिद्धान्तहरूको सन्दर्भमा एउटा डरलाग्दो हेलचेक्राइँ भएको छ जुनचाहिँ इसाई विश्वासका स्तम्भहरू हुन् । यी कुराहरूको केही महत्व छैन भन्ने विचारधाराले सोको ठाउँ ओगटेको छ । यो नीचकर्मले शैतानका औजारहरूका हातहरू बलियो पारिरहेको छ, ताकि झूटो शिक्षा र घातक छलहरू जुन विगतका युगहरूका विश्वासयोग्य मानिसहरूले आफ्नो जीवन जोखिममा पारेर अस्वीकार गरेका थिए, अहिले हजारौँ ख्रीष्टको चेला दाबी गर्नेहरूले त्यसलाई खुशीसाथ अपनाएका छन् । MBAJ 32.1
अघिल्ला इसाईहरू साँच्चै नै निजी जाति थिए । तिनीहरूको निष्खोट कार्य र दृढ विश्वासले पापीहरूलाई निरन्तर हप्की दिएको थियो जसले तिनीहरूलाई अशान्त पार्दथ्यो । तिनीहरू सङ्ख्यामा थोरै, गरिब, सम्मानयुक्त र पदविना भएपनि जहाँ तिनीहरूका चरित्र र सिद्धान्तहरूका विषयमा जानेका थिए त्यहाँ दुष्ट मानिसहरू तिनीहरूदेखि आतंकित हुन्थे । जसरी भक्तिहीन कयिनले हाबिललाई घृणा गर्थ्यो त्यसरी नै तिनीहरू दुष्टहरूबाट घृणित भएका थिए । जसले पवित्र आत्माको नियन्त्रणलाई लत्याउन चाहन्छन् तिनीहरूले परमेश्वरका जनहरूलाई मृत्युदण्ड दिए, त्यसरी नै कयिनले पनि हाबिललाई माऱ्यो । यहूदीहरूले मुक्तिदातालाई अस्वीकार गर्ने र क्रूसमा टाँग्ने कारण पनि यही नै थियो—किनभने उहाँको पवित्र र शुद्ध चरित्रले तिनीहरूको स्वर्थीपन र भ्रष्टतालाई सँधै औंल्याइरहेको थियो । ख्रीष्टको समयदेखि लिएर वर्तमानसम्म नै उहाँका योग्य चेलाहरूले पापको मार्ग मन पराउनेहरूलाई घृणा र विरोध उत्तेजित पारेका छन् । MBAJ 32.2
त्यसो भए कसरी सुसमाचार शान्तिको सन्देश भन्न सकिन्छ त ? जब यशैयाले मसीह जन्मने अगमवाणी गर्दा, यसरी सम्बोधन गरेका थिए, “शान्तिको राजकुमार ।” जब स्वर्गदूतहरूले गोठालाहरूलाई येशू जन्मेको सन्देश सुनाए, तब बेतलेहेमको मैदान माथि “परमधाममा परमेश्वरलाई महिमा र पृथ्वीमा शान्ति, मानिसप्रति शुभेच्छा” भनेर गाए । लूका २:१४ (KJV) । यी अगमवाणी र ख्रीष्टका भनाइहरूले सहमति जनाउँदैन जस्तो देखिन्छ: “म मिलाप ल्याउन होइन, तर तरवार चलाउन आएँ ।” मत्ती १०:३४ (KJV) । तर सही ढंगले सोचेमा दुवैले एकदमै पूर्णरूपमा सहमति जनाएको छ । सुसमाचार एउटा शान्तिको सन्देश हो । इसाई धर्म भनेको एउटा प्रणाली हो, यसलाई प्राप्त गरे पश्चात् व्यवहारमा लागू गरे मात्र संसारभरि शान्ति, मिलन, हर्षपन फैल्याउन सक्छ । ख्रीष्टको धर्मले उहाँका शिक्षाहरू स्वीकार गर्ने सबैलाई भातृ प्रेमको बन्धनमा बाँधिदिन्छ । यसरी येशूको कार्यले नै मानिसहरूलाई परमेश्वरप्रति र एक-अर्कासँग पुनः सम्बन्ध सृजना गर्नुपर्ने थियो । तर संसारका धेरै जसो मानिसहरू नै ख्रीष्टको निर्दयी शत्रु शैतानको नियन्त्रणमा छन् । सुसमचारले जीवनका सिद्धान्तहरू दर्शाइ दिन्छ जुनचाहिँ तिनीहरूको बानी र इच्छाभन्दा निकै फरक छन्, जसको कारण तिनीहरू त्यसको विरुद्धमा विद्रोही भई उठ्दछन् । तिनीहरूको पापलाई दोषी ठहऱ्याउने र प्रकट गर्ने शुद्धतालाई घृणा गर्दछन्, जसले तिनीहरूलाई त्यसको न्यायसङ्गत र पवित्र दाबीहरूमा अनुरोध गर्छन् तिनीहरूलाई सताउँछन् र नष्ट पार्दछन् । बेला बखतमा उच्च सत्यताको कारण घृणा र झगड़ा उत्पन्न हुन्छ, यस्तो अवस्थामा सुसमाचारलाई तरवार भनिएको हो । MBAJ 32.3
रहस्यमय ईश्वरीय कृपाले धर्मीहरूलाई दुष्टहरूको हातबाट सतावटमा पर्ने अनुमति दिइएको कारणले विश्वासमा कमजोर हुनेहरू ठूलो चिन्तामा परेका छन् । यस्ता अधर्मी मानिसहरूको विजय भई सबभन्दा असल र शुद्ध मानिसहरूले चाहिँ क्रूर शक्तिबाट यातना र पीड़ा भोग्नुपर्दा कति जनाले परमेश्वरप्रति भएको भरोसालाई त्यागिदिन पनि तयार छन् । यस्तो प्रश्न आयो, तब एक व्यक्ति जो न्यायसङ्गत र अनुग्रहकारी, जसको असीमित शक्ति छ, उहाँले यस्तो अत्याचार र अन्याय कसरी सहन सक्नुहुन्छ र ? यस्तो प्रश्नमा हाम्रो केही सरोकार छैन । परमेश्वरले हामीलाई पर्याप्त प्रेमको प्रमाण दिनुभएको छ, उहाँको अगुवाइमा सम्पन्न भएको काम बुझ्न नसकेता पनि उहाँको भलाइमाथि शंङ्का गर्नु हुँदैन । मुक्तिदाताले उहाँका चेलाहरूलाई अन्धकार र कष्टका दिनहरूमा तिनीहरूको आत्मालाई शङ्काले दबाउनेछ भनी जानेर भन्नुभयो: “दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन भनी मैले तिमीहरूलाई भनेको वचन याद गर । तिनीहरूले मलाई सताएका छन् भने तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् ।” यूहन्ना १५:२० (KJV) । येशूले दुष्ट मानिसहरूबाट कुनै पनि उहाँका चेलाहरूले सहन सक्ने क्रूरताभन्दा अधिक मात्रामा उहाँले हाम्रो खातिर सहनुभयो । जो शहिद हुन र यातना सहन बोलाइएका छन् तिनीहरूले परमेश्वरको प्रिय पुत्रले छोडेका खुड्किल्लाहरूमा नै टेकेका छन् । MBAJ 33.1
आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्न । २ पत्रुस ३:९ । उहाँले आफ्ना छोराछारीहरूलाई कहिल्यै भुल्नुहुन्न वा हेलचेक्राइँ गर्नुहुन्न; तर उहाँले दुष्टहरूलाई उनीहरूको सत्य चरित्र प्रकट गर्ने मौका दिनुहुन्छ, ताकि उहाँको इच्छा पूरा गर्न चाहनेहरू कोही पनि तिनीहरूलाई देखेर भ्रममा नपरोस् । अनि धर्मीहरू कष्टको भट्टीमा जकड़िएका छन्, ताकि तिनीहरू आफै शुद्ध होऊन्, र तिनीहरूको साँचो भक्ति र विश्वासले अरूका निम्ति उदाहरण बन्न सकोस्; र तिनीहरूको निरन्तर कार्यले अधर्मी र अविश्वासीहरूलाई दोषी ठहऱ्याउन सकोस् । MBAJ 33.2
परमेश्वरले दुष्टहरूको उन्नति हुने र उहाँप्रति भएको तिनीहरूको दुश्मनी प्रकट गर्ने मौका दिनुहुन्छ, ताकि तिनीहरूको अपराधको कचौरा भरिएपछि सबैले उहाँका न्याय र कृपा तिनीहरूको पूर्ण विनाशमा देख्नेछन् । उहाँको बद्ला लिने दिन चाँडै आउँदैछ, जसले उहाँको आज्ञा भङ्ग गरे र उहाँका मानिसहरूलाई दबाए, तिनीहरूले आफ्नो कार्यको प्रतिफल पाउनेछन्; परमेश्वरका विश्वासीहरूलाई गरिएको हरेक अन्याय र क्रूर कार्यको सजाय ख्रीष्टलाई गरेझैँ हुनेछ । MBAJ 34.1
वर्तमान् चर्चहरूले ध्यान दिनुपर्ने अझै महत्वपूर्ण एउटा अर्को प्रश्न छ । प्रेरित पावलले भन्छन्, “ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन् ।” २ तिमोथी ३:१२ । त्यसो भए किन सतावट सेलाएको जस्तै देखिन्छ त ? किनभने वर्तमान् चर्च सांसारिक स्तरमा परिवर्तन भएको कारण कसैले विरोध गर्दैन । हाम्रो समयमा भएको धर्ममा ख्रीष्ट र प्रेरितहरूको दिनमा भएको इसाई विश्वासको पवित्र र शुद्ध चरित्र छैन । पापसँग सम्झौता गर्ने सोचबिचारको कारण, परमेश्वरको वचनको महान् सत्यतालाई महत्व नदिएको कारण र चर्चमा भक्ति जीवन नभएको कारणले नै इसाईजगत देखावटीरूपले प्रचलित भएको छ । अघिल्लो चर्चमा भएको विश्वास र शक्तिको जागृति भए सतावटको आत्मा पुर्नजिवित हुनेछ, र सतावटको आगो फेरि जल्नेछ । MBAJ 34.2