परमेश्वर हामीहरूसँग
उहाँले हामीलाई व्यक्तिगत रूपमा जान्नुहुन्छ
जसरी संसारिक गोठालाले आफ्ना भेडाहरू चिन्दछ, त्यसरी नै स्वर्गीय गोठालाले संसारभरि छरिएका आफ्ना बथानलाई चिन्नुहुन्छ । “तिमीहरू मेरा भेडाहरू हौ, मेरो खर्कका भेडाहरू, मेरै मानिसहरू हौ, र मचाहिँ तिमीहरूका परमेश्वर हुँ, परमप्रभु, परमेश्वर भन्नुहुन्छ ।” येशूले भन्नुभएको छ, “मैले तँलाई तेरो नाउँ काढेर बोलाएको छु, तँ मेरै होस् ।” हेर्, “मैले तँलाई मेरो हत्केलामा खोपेको छु” (इजकिएल ३४:३१; यशैया ४३:१; ४९:१६) । PHs 18.1
येशूले हामीलाई व्यक्तिगत रूपमा चिन्नुहुन्छ र हाम्रो कमी-कमजोरीहरूका भावनाले उहाँलाई छुने गर्दछ । जुन घरमा हामी बस्दछौं त्यस बारेमा उहाँ जान्नुहुन्छ, र प्रत्येकको नाउँ पनि जान्नुहुन्छ । उहाँले कहिलेकाहीँ आफ्ना सेवकहरूलाई शहरका घर-घरमा गएर आफ्ना एक-एक भेडालाई खोज्ने निर्देशन दिनुभएको छ । PHs 18.2
प्रत्येक आत्माप्रति येशू यसरी परिचित हुनुहुन्छ कि मानौं ऊ मात्र एक यस्तो व्यक्ति हो जसको निम्ति मुक्तिदाता मर्नुभयो । प्रत्येकका दुःख-कष्टले उहाँको मुटु छुँदछ । सहायताको लागि गरिएको पुकार उहाँसम्मै पुग्दछ । उहाँ सबै मानिसलाई आफूतिरै खिच्नका निम्ति आउनुभयो । उहाँले तिनीहरूलाई “मलाई पछ्याउ” भनी आज्ञा गर्नुहुन्छ, र उहाँको आत्मा तिनीहरूलाई उहाँतर्फ खिच्नका लागि परिचालित हुन्छ । धेरैले उहाँमा आउन अस्वीकार गर्दछन् । तिनीहरू को हुन् भनी येशू चिन्नुहुन्छ । उहाँको बोलावटलाई क-कसले खुसीसाथ सुन्छन् र उहाँको गोठालोरूपि सुरक्षाको वशमा आउन तयार रहन्छन् भनी जान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरा भेडाहरूले मेरो सोर सुन्नेछन्, र म तिनीहरूलाई चिन्दछु, र तिनीहरू मलाई पछ्याउँछन् ।” पृथ्वीमा तिनीहरूको हेरचाहा गर्ने अर्को कोही छैन, जुन रूपमा उहाँले तिनीहरू प्रत्येकलाई हेरचाहा गर्नुहुन्छ । PHs 18.3
“उसले आफ्ना भेडाहरूलाई नाउँ काढी-काढी बोलाउँछ, अनि तिनीहरूलाई बाहिर लैजान्छ ... भेडाहरूले उसलाई पछ्याउँछन्, किनभने तिनीहरूले उसको स्वर चिन्छन् ।” पूर्वी देशका गोठालाहरूले आफ्ना भेडाहरूलाई जबरजस्ती धपाउँदैनन् । उसले डर र धम्की देखाएर खेद्ने होइन तर तिनीहरूको अगाडि हिँडेर भेडालाई बोलाउँदछन् । तिनीहरूले उसको स्वर चिन्छन् र उसको पछि लाग्छन् । सोहि रूपमा गरी हाम्रो मुक्तिदाता-गोठालाले पनि आफ्ना भेडाहरूप्रति यस्तै गर्नुहुन्छ । पवित्र-शास्त्र भन्दछ, “मोशा र हारुनका हातद्वारा तपाईंले आफ्ना प्रजालाई भेडाको बगाललाई जस्तै डोऱ्याउनुभयो । भविष्यवक्ताद्वारा येशू घोषणा गर्नुहुन्छ, सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु । मैले तँलाई दया गरी खिचेको छु ।” उहाँलाई पछ्याउनमा उहाँ कसैलाई पनि कर गर्नुहुन्न । उहाँ भन्नुहुन्छ, “मैले तिनीहरूलाई मानिस-जातिका मायाको डोरी, प्रेमको बन्धनले बाँधेर डोऱ्याएँ” (भजन ७७:२०; यर्मिया ३१:३; होशे ११:४) । PHs 19.1
येशूका चेलाहरूले उहाँलाई दण्डको डर अथवा अनन्त (जीवन) को उपहारको आशाले पछ्याएका होइनन् । तिनीहरूले मुक्तिदाताको बखान गर्न नसकिने प्रेम देखे जो बेथलेहेमको गोठदेखि कलवरी क्रुससम्मको उहाँको संसारिक जीवन-यात्रामा प्रकट भएको थियो, उहाँको यस दृष्यले आत्मालाई उहाँप्रति आकर्षण गर्छ, र हृदयलाई पगाल्छ । यो दृश्य हेर्नेहरूका हृदयमा प्रेमको जागरण हुन्छ । तिनीहरूले उहाँको सोर सुन्छन् र उहाँको पछि लाग्दछन् । PHs 19.2