परमेश्‍‍वर हामीहरूसँग

27/45

ईश्‍‍वरीय रहस्यहरूका खोजि

“प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्‍‍वरका हुन् । तर प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्तानका लागि सदाको निम्ति हुन्” (व्यवस्था २९:२९) । स्‍वयम् उहाँकै प्रकटबारे जुन कुराहरू परमेश्‍‍वरले हाम्रो निम्ति उहाँको वचनमार्फत दिनुभएको छ, त्यो हाम्रो अध्ययनको निम्ति हो । यसैलाई बुझ्‍नका निम्ति हामीले प्रयास गर्नुपर्छ । तर हामी योभन्दा पर गहिराइमा पुग्‍ने प्रयास गर्नुहुँदैन । सबैभन्दा उच्‍च विद्धान् पनि परमेश्‍‍वरको स्‍वभाव बुझ्‍ने प्रयास स्‍वरूप आफ्‍नो तर्क, अनुमानले भ्याएसम्म प्रयत्‍न गर्न सक्‍नेछ होला, तर उक्त परिश्रम फलहीन हुनेछ । यो समस्या हामीलाई समाधान गरिनका लागि दिइएको होइन । कुनै पनि मानिसको बुद्धिले परमेश्‍‍वरबारे बुझ्‍न सक्‍नेछैन । उहाँको स्‍वभावको बारेमा कोही पनि कल्पनामा अल्झिनु हुँदैन । यस्तो अवस्थामा मौनता नै वक्तृत्‍व शक्ति हो । सर्वशक्तिमान् वाद-विवादभन्दा माथि हुनुहुन्छ । PHs 46.1

जब मुक्तिको योजना बनाइएको थियो, तब पिता र पुत्रको बीचमा परार्मश दिनका निम्ति स्‍वर्गदूतहरूलाई समेत अनुमति दिइएको थिएन र मानव-जातिले पनि सर्वोच्‍चको रहस्यहरूका बारेमा खोजिनिति गर्नुहुँदैन । परमेश्‍‍वरमको बारेमा हामी एउटा नाबालक शिशु झैँ नै अनभिज्ञ छौं; तर एउटा नाबालक शिशुले झैँ नै हामीले उहाँलाई प्रेम गर्न र उहाँको आज्ञा पालन गर्न सक्‍नेछौं । उहाँको स्‍वभाव र विशेषाधिकारका बारेमा कल्पना गर्नुको साटो उहाँले बोल्‍नुभएका वचनहरूप्रति ध्यान दिआैं: PHs 46.2

“के तपाईं परमेश्‍‍वरको रहस्यको गहिराइलाई बुझ्‍न सक्‍नुहुन्छ ?
के तपाईं सर्वशक्तिमानको सीमालाई जाँच्‍न सक्‍नुहुन्छ ?
त्यो त स्‍वर्गभन्दा अग्‍लो छ, तपाईं के गर्न सक्‍नुहुन्छ ?
त्यो त चिहानभन्दा गहिरो छ, तपाईं के गर्न जान्न सक्‍नुहुन्छ ?
त्यसको नाप पृथ्वीभन्दा लामो छ,
र समुद्रभन्दा चौडा छ ।” “तर बुद्धिचाहिँ कहाँ पाइन्छ ?
समझशक्तिको मूल कहाँ छ ?
मानिसले त्यसको मुल्य थाहा पाउँदैन,
जीवित मानिसहरूको देशमा त्यो पाइँदैन ।
महासागरको गहिराइले भन्दछ, ‘त्यो मसँग छैन ।’
अनि समुन्द्र भन्दछ, ‘त्यो मसित छैन ।’
निखुर सुनले त्यो किन्न सकिँदैन,
नता चाँदीसँग त्यसको मोल गर्न सकिन्छ ।
ओपीरको सुनले त्यो किन्न सकिँदैन,
अथवा बहुमुल्य आनिक्स वा नीरसित त्यो किन्न सकिँदैन ।
सुन र स्फटिकसँग त्यसको तुलना गर्न सकिँदैन,
नता निखुर सुनको गहनासित त्यो साट्‍न सकिन्छ ।
मुगा र बिल्‍लौरको ता कुरै गर्नुपदैन,
बुद्धिको मुल्य मानिकभन्दा धेरै हुन्छ ।
कूश देशको पुष्पराज त्यसको बराबर हुन सक्दैन ।
निखुर सुनले त्यो किन्न सकिँदैन ।
तब बुद्धि कहाँबाट आउँछ ?
र समझशक्तिको मूल कहाँ छ ? ...
विनाश र मृत्युले भन्दछन्,
‘हामीले ता सुनेका मात्र हौं ।’
परमेश्‍‍वरले त्यसको चाल बुझ्‍नुहुन्छ,
उहाँले मात्र त्यो कहाँ बस्छ जान्नुहुन्छ,
किनभने उहाँले पूथ्वीको पल्‍लो छेउसम्म देख्‍नुहुन्छ,
र उहाँले आकाशमुनिका सबै कुराहरूलाई निरीक्षण गर्नुहुन्छ ।
तब उहाँले वृष्‍टिको हद तोकिदिनुभयो
र बिजुली बज्रको मार्न तोकिदिनुभयो ।
त्यस बेला उहाँले बुद्धिलाई देखेर त्यसलाई जाँच्‍नुभयो ।
उहाँले त्यसलाई विचार गर्नुभयो, र त्यसको भेद बुझ्‍नुभयो ।
अनि उहाँले मानिसलाई भन्नुभयो, ‘परमेश्‍‍वरको डर नै बुद्धि हो,
र दुष्‍टताबाट अलग रहनु समझशक्ति हो ।’”
PHs 46.3

(अय्यूब ११:७-९; २८:१२-२८)

न ता पृथ्वीको गुफाहरूमा खोजी गरेर वा परमेश्‍‍वरको अस्तित्‍वको रहस्यहरूका बारेमा बुझ्‍ने व्यर्थको प्रयास गरेर नै बुद्धि प्राप्‍त हुनेछ । यो त वास्तवमा नम्रतापूर्वक त्यस प्रकाशनलाई ग्रहण गरेर प्राप्‍त गर्न सक्‍नेछौ, जुन उहाँ आफ्‍नो सहमतिसित दिनका निम्ति खुशी हुनुहुन्छ । PHs 48.1

सबैभन्दा तीक्ष्ण बुद्धि भएका व्यक्तिहरूले पनि प्रकृतिमा प्रकट भएअनुसार सर्वशक्तिमानको रहस्यलाई बुझ्‍न सक्दैनन् । ईश्‍‍वरीय प्रेरणाले धेरै यस्ता प्रश्‍नहरू गर्दछ, जुन सबैभन्दा महान् विद्वान्‍ले पनि जवाफ दिन सक्दैन । यी प्रश्‍नहरू यसकारण सोधिएका छैनन्, ताकि हामीले तिनका जवाफ दिऔँ, तर हाम्रा ध्यान परमेश्‍‍वरको गहिरो रहस्यहरूमा केन्द्रित गर्न र हाम्रो बुद्धि कति सीमित छ भनेर हामीलाई सिकाउनका निम्ति यी प्रश्‍नहरू सोधिएका छन्; तर हाम्रा दैनिक जीवन वरिपरि त्यहाँ धेरै यस्ता कुराहरू छन्, जुन हाम्रो सीमित अस्तित्‍वको बुझ्‍ने शक्तिको पहुँचभन्दा धेरै पर छ । PHs 48.2

नास्तिकहरू परमेश्‍‍वरमा विश्‍‍वास राख्‍न इन्कार गर्दछन्, किनभने जुन असिमित शक्तिद्वारा उहाँले स्‍वयमलाई प्रकट गर्नुहुन्छ, सो कुरा तिनीहरूले बुझ्‍न सक्दैनन् । तर जुन कुराहरू हाम्रा सीमित समझशक्तिको निम्ति खुला छन्, त्यसको साथसाथै जुन कुराहरूद्वारा उहाँले स्‍वयम् आफ्‍नै बारेमा प्रकट गर्नुहुँदैन, ती कुराहरूद्वारा पनि हामीले परमेश्‍‍वरमा आस्था विश्‍‍वास राख्‍नुपर्छ । ईश्‍‍वरीय प्रकाशन र प्रकृति दुवैमा परमेश्‍‍वरले हाम्रो विश्‍‍वासलाई प्रभुत्‍वमा राख्‍नका निम्ति रहस्यहरू दिनुभएको छ । यो यस्तै हुनुपर्छ । हामीले सदा खोजिरहेका हुन सक्‍नेछौं; सदा सोधपूछ गरिरहेका हुन सक्‍नेछौं, सदा सिक्दैगर्न सक्‍नेछौं, तर त्यहाँ अनन्तता छ । PHs 48.3

“कसले पानीलाई आफ्‍नो अँजुलीमा
अथवा आफ्‍नो बित्ताले आकाशलाई नापेको छ ?
कसले पृथ्वीको माटो डालोमा भरेको छ,
अथवा पर्वतहरू तराजुमा
र डाँडाहरूलाई काँटामा जोखेको छ ?
कसले परमप्रभुको मन बुझेको छ,
अथवा उहाँको सल्‍लाहकार भएर उहाँलाई शिक्षा दिएको छ ? ... जाति-जाति त बाल्टीको एक थोपो पानीजस्तै छन् ।
तिनीहरू तराजुमा टाँसिएका धूलोजस्तै छन् ।
उहाँले त टापुहरूलाई मसिनो धूलोजस्तै जोख्‍नुहुन्छ ।
वेदीका दाउराको निम्ति लेबनान प्रशस्त हुँदैन,
नता त्यसमा भएका पशुहरू होमबलिको निम्ति प्रशस्त हुन्छन् ।
सारा जातिहरू उहाँको सामुन्ने केही पनि होइनन् ।
उहाँले तिनीहरूलाई बेकामका र केही न केहीका ठान्नुहुन्छ ।
PHs 48.4

“तब तिमीहरू परमेश्‍‍वरलाई कससित तुलना गर्नेछौ ?
अथवा केको प्रतिरूपसित उहाँको तुलना गर्नेछौ ? ...
के तिमीहरूले जानेका छैनौ ?
के तिमीहरूले सुनेका छैनौ ?
के यो कुरो तिमीहरूलाई शुरूदेखि नै भनिएको छैन ?
के पृथ्वीको जग बसालेको बेलादेखि नै तिमीहरूले बुझेका छैनौ ?
उहाँ पृथ्वीको परिधिभन्दामाथि विराजमान् हुनुहुन्छ
र पृथ्वीका मानिसहरूचाहिँ फट्याङग्राजस्तै छन् ।
उहाँले आकाशलाई पर्दाझैँ फिँजाउनुहुन्छ,
अनि त्यसमा वास गर्नलाई पालझैँ फैँलाउनुहुन्छ । ...
‘तिमीहरू मलाई कोसित तुलना गर्नेछौ ? ...’
परमपवित्र भन्नुहुन्छ ।
तिमीहरूका आँखामाथि उठाएर आकाशलाई हेर,
यी सबै कसले बनाएका हुन् ?
उहाँले नै होइन र, जसले पुञ्‍जलाई एक-एक गरी ल्याउनुहुन्छ
र प्रत्येकलाई नाउँ काढी बोलाउनुहुन्छ ।
उहाँको ठूलो शक्ति र शक्तिशाली सामर्थ्यको कारण
तिनीहरूमध्ये एउटै पनि हराउँदैन ।
PHs 49.1

“हे याकूब, तँ किन भन्छस् ?
हे इस्राएल, तँ किन यस्तो गुनासो पोखाउँछस् ?
‘मेरो बाटो परमप्रभुदेखि लुकेको छ,
परमेश्‍‍वरले मेरो वास्ता गर्नुभएको छैन ।’
के तँलाई थाहा छैन ?
के तैंले सुनेको छैनस् ?
परमप्रभु सदासर्वदा परमेश्‍‍वर हुनुहुन्छ,
पृथ्वीको पल्‍लो छेउसम्मका सृष्‍टिकर्ता हुनुहुन्छ ।
उहाँ नता थकित न हैरान हुनुहुन्छ,
र कसले पनि उहाँको समझलाई नाप्‍न सक्दैन ।”
PHs 49.2

(यशैया ४०:१२-२८)

पवित्र आत्माद्वारा उहाँका अगमवक्ताहरूलाई दिइएको वर्णनद्वारा हामी हाम्रा परमेश्‍‍वरको गौरवका बारेमा सिकौं । अगमवक्ता यशैया लेख्‍छन्: PHs 49.3

“उज्‍जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्‍लो र उच्‍च सिंहासनमा विराजमान् हुनुभएको देखें । उहाँको वस्‍‍त्रको छेउले मन्दिरै ढाकेको थियो । उहाँको मास्तिर सराफहरू (स्‍वर्गदूतहरू) खड़ा थिए— प्रत्येकका छ-छओटा पखेटा थिए । दुईओटा पखेटाले तिनीहरूले आफ्‍नो मुख ढाकेका थिए, दुईओटाले आफ्‍ना खुट्टा ढाकेका थिए, र दुईओटाले तिनीहरू उड्‍दैथिए । अनि एउटाले अर्कालाई यसो भन्दै पुकार्दैथिए: ‘सर्वशक्तिमान् परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ ।’ तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्‍लिए, र मन्दिर धूवाँले भरियो । PHs 50.1

“मैले भनें, ‘धिक्‍कार ! म नष्‍ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्दछु, र मैले मेेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु ।’ PHs 50.2

“तब चिम्टाले वेदीबाट आगोको भुङ्गा्रो हातमा लिएर सराफहरूमध्ये एक जना मकहाँ उडेर आए । तिनले मेरो मुख त्यस भुङ्ग्रोले छोएर भने, ‘हेर यसले तिम्रो ओंठ छोएको छ । अब तिम्रो अर्धम मेटियो, र तिम्रो पापको प्रायश्‍चित भयो’” (यशैया ६:१-७) । PHs 50.3

“हेर परमप्रभु, तपाईंजस्तो कोही पनि छैन ।
तपाईं महान् हुनुहुन्छ ।
पराक्रममा तपाईंको नाउँ महान् छ ।
हे जाति-जातिका महाराजा, कसले तपाईंलाई सम्मान गर्नुपर्दैन र ?”
“हे परमप्रभु, तपाईंले मेरो पारख गर्नुभएको छ,
अनि मलाई चिन्नुहुन्छ ।
तपाईं मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ,
टाढ़ैबाट मेरो विचार बुझ्‍नुहुन्छ ।
तपाईंले मेरो बाहिरी जवाइ र मेरो सुताइ स्पष्‍टसँग जान्नुहुन्छ,
र मेरा सबै आचरणहरूसँग तपाईं परिचित हुन्नुहुन्छ ।
मेरो जिब्रोमा कुनै कुरा आउनुअघि नै, हे परमप्रभु, तपाईंले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ ।
तपाईंले मलाई अगि र पछि घेर्नुभएको छ,
र आफ्‍नो बाहुली ममाथि राख्‍नुभएको छ ।
यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्‍चर्यपूर्ण छ,
यो प्राप्‍त गर्न मेरो निम्ति अति गाह्रो छ ।”
PHs 50.4

(यर्मिया १०:६, ७; भजन १३९:१-६)

“हाम्रा परमप्रभु महान् हुन्नुहुन्छ, सर्वशक्तिमान् र सर्वज्ञानी हुन्नुहुन्छ” (भजन १४७:५) । PHs 51.1

“मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्छ, र उहाँले त्यसका सबै मार्गहरू जाँच्‍नुहुन्छ” (हितोपदेश ५:२१) । PHs 51.2

“उहाँले गहिरा र लुकिएका कुराहरू प्रकट गर्नुहुन्छ, उहाँले अन्धकारमा के छ भनि जान्नुहुन्छ, र ज्योतिले उहाँमा वास गर्छ” (दानिएल २:२२) । PHs 51.3

“संसारको उत्पत्तिदेखि यी कुरा जनाउने परमप्रभु भन्नुहुन्छ ।” “‘किनभने प्रभुको मनलाई कसले जानेको छ ? अथवा उहाँको सल्‍लाहकार को भएको छ ? अथवा कसले उहाँलाई कुनै उपहार दिएको छ, र परमेश्‍‍वरले उसलाई फिर्ता दिनुपरोस् ?’ किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस्” (प्रेरित १५:१८; रोमी ११:३४-३६) । PHs 51.4

“युग-युगका राजा, अविनाशी र अदृष्य एक मात्र परमेश्‍‍वर” “उहाँमा नै अमरत्‍व छ, र उहाँ त्यस ज्योतिमा वास गर्नुहुन्छ, जसको नजीक कोही जान सक्दैन । उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन र देख्‍न सक्छ । उहाँलाई नै आदर र पराक्रम सदासर्वदा होस्” (१ तिमोथि १:१७; ६:१६) । PHs 51.5

“के परमेश्‍‍वरको महिमाले तपाईंहरूलाई भयभीत पार्दैन र ?
के उहाँको भयले तपाईंहरूलाई विह्‍वल पार्दैन ?”
“निश्‍चय नै परमेश्‍‍वर ता आकाशको शिरबिन्दुमा हुनुहुन्छ,
र सबै सर्वोच्‍च ताराहरू कति महान् छन् भनी देख्‍नुहुन्छ ।” “के उहाँको फौज गन्न सकिन्छ
कसमाथि उहाँको ज्योति उदाउँदैन र ?”
“हाम्रा बुद्धिले नभियाउने महाकार्यहरू उहाँ गर्नुहुन्छ ।
उहाँले हिउँलाई भन्नुहुन्छ, ‘पृथ्वीमा झर्,’
र वर्षालाई भन्नुहुन्छ, ‘मुसलधारे वृष्‍टि होऊ ।’
यसरी उहाँले सृष्‍टि गर्नुभएका उहाँका कार्यहरू मानिसहरूले जानून् ।
उहाँले मानिसको सबै परिश्रमलाई रोक्‍नुहुन्छ,
यसरी उहाँँले तिनीहरूलाई सृष्‍टि गर्नुभएको हो भनी
सबै मानिसहरूले जान्न सक्छन् । ...
उहाँले बादललाई बाफको भारी बोकाउनुहुन्छ,
र उहाँले आफ्‍नो बिजुली तीद्वारा छरपष्‍ट पार्नुहुन्छ ।
तिनीहरू सम्पूर्ण पृथ्वीमाथि उहाँको निर्देशनमा घुम्दै रहन्छ,
उहाँले अह्राएका सबै काम गर्नलाई ।
परमेश्‍‍वरले पृथ्वीलाई भिजाउनलाई वृष्‍टि पठाउनुहुन्छ,
मानिसहरूलाई दण्ड दिन अथवा आफ्‍नो निगाह देखाउन पनि,
उहाँले त्यो पठाउनुहुन्छ ।
... यो कुरा सुन्नुहोस् ।
चूपचाप भएर परमेश्‍‍वरका उदेकका कामहरूलाई विचार गर्नुहोस् ।
परमेश्‍‍वरले बादलहरूका काम कसरी खटाइदिनुहुन्छ,
र आफ्‍ना मेघहरूबाट कसरी बिजुली चम्काउनुहुन्छ, सो तपाईं जान्नुहुन्छ र ?
बादलहरू कसरी माथि आकाशमण्डलमा झुण्डी रहन्छन् ?
यो ता उहाँको अचम्मको काम हो
जो ज्ञानमा सिद्ध हुनुहुन्छ भनी के तपाईंलाई थाहा छ ? ...
“के तपाईं आकाशमण्डललाई उहाँले झैँ पगालेर बनाएको
धातुको ऐनाजस्तै कडा बनाउन सक्‍नुहुन्छ र ? उहाँलाई के भन्नुपर्ने हो तपाईं हामीलाई सिकाउनुहोस्,
किनभने हाम्रो अन्धकारको कारण हामी सोच्‍नै सक्दैनौं । ...
हावाले उडाएर सफा बनाएको,
आकाशमा चम्कने सूर्यलाई कसैले हेर्न सक्दैन ।
PHs 51.6

“उत्तर दिशाबाट उहाँ सुनौलो चमकमा आउनुहुन्छ,
परमेश्‍‍वर प्रभावशाली महिमामा आउनुहुन्छ ।
तर सर्वशक्तिमानलाई हामी भेट्टाउन सक्दैनौं ।
उहाँको शक्ति हाम्रो समझको बाहिर छ ।
उहाँको महान् धार्मिकता
र न्यायमा उहाँले अत्याचार गर्नुहुन्न ।
यसैकारण मानिसहरू उहाँलाई आदर गर्छन् ।”
PHs 53.1

“परमप्रभु हाम्रा परमेश्‍‍वरको समान को छ र ?
उहाँ, जो उच्‍चस्थानमा विराजमान् हुनुन्छ,
जो आकाश र पृथ्वीमाथि दृष्‍टि गर्न निहुरहनुहुन्छ ।”
PHs 53.2

“भुमरी र आँधीमा उहाँको बाटो छ,
र बादलहरूचाहिँ उहाँका खुट्टाका धुला हुन् ।”
PHs 53.3

“परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको अति योग्य
र उहाँको महान्ता अगम छ ।
एक पुस्ताले अर्को पुस्तालाई तपाईंका कार्यको प्रशंसा गर्नेछ,
तिनीहरूले तपाईंका शक्तिशाली कार्यहरूको घोषणा गर्नेछन् ।
तिनीहरूले तपाईंको ऐश्‍‍वर्य र तेजस्‍वी वैभवको वर्णन गर्नेछ
र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमाथि चिन्तन गर्नेछु ।
मानिसहरूले तपाईंको महान् कामहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्,
र म तपाईंको महान् कार्यहरूको घोषणा गर्नेछु ।
तिनीहरूले तपाईंको प्रचुर भलाइमा आनन्द मनाउने छन्,
र तपाईंका धार्मिकताको जयजयकार गर्नेछन् । ...
PHs 53.4

“तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले, हे परमप्रभु तपाईंको प्रशंसा गर्नेछन्,
र तपाईंका पवित्र जनहरूले तपाईंको स्तुति गर्नेछन् ।
तिनीहरूले तपाईंको राज्यका महिमाको चर्चा गर्नेछन्
र तपाईंका शक्तिको बखान गर्नेछन्,
कि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू थाहा पाऊन्
अनि तपाईंका राज्यको महिमापूर्ण वैभव देखून् ।
तपाईंको राज्य अनन्तको राज्य छ,
र तपाईंका प्रभुत्‍व पुस्तौँ-पुस्तौँसम्म रहिरहनेछ ...
मेरो मुखले परमप्रभुको प्रशंसामा बोल्‍नेछ ।
प्रत्येक प्राणीले सदासर्वदा उहाँको पवित्र नाउँको प्रशंसा गरून् ।”
PHs 54.1

(अय्यूब १३:११; २२:१२; २५:३; ३७:५-२४; भजन ११३:५,६; नहूम १:३; भजन १४५:३-२१)

जब हामीले परमेश्‍‍वर कस्तो हुनुहुन्छ, र उहाँको दृष्‍टिमा हामीहरू स्‍वयम् कस्ता छौं भनी झन्-झन् बढ्‍ता सिक्दै जानेछौं, तब हामीले उहाँको भय मान्नेछौं र उहाँको सामुन्ने काम्‍नेछौं । प्राचीन समयमा मानिसहरूले जुन कुरा परमेश्‍‍वरले पवित्र भनी घोषणा गर्नुभएको थियो, ती कुरा माथि आफू-खुशी गरेर जुन दुर्भाग्य तिनीहरूमाथि निम्त्याएका थिए, त्यसबाट आजका मानिसहरूले चेतावनी पाऊन् । जब प्यालेस्टाइनको भूमिबाट फर्किदै गर्दा इस्राएलीहरूले सन्दूकलाई खोल्‍ने साहस गरे, तिनीहरूका अपमानपूर्ण साहसलाई असाधारण रूपले दण्डित गरिएको थियो । PHs 54.2

जुन इन्साफ उज्‍जियाह राजामाथि आइपरेको थियो, त्यस बारेमा पुनःचिन्तन गर्नुहोस् । जसरी राजा दाऊदको राज्यकालमा सन्दूकलाई यरुशलेमसम्म बोकेर लगिँदै थियो, उज्‍जियाह राजाले सन्दूकलाई सीधा पार्नका निम्ति आफ्‍नो हात बढाए । परमेश्‍‍वरको उपस्थितिको प्रतिकलाई छुने साहस गरेको हुनाले उनलाई आकस्मिक मृत्युद्वारा प्रहार गरियो । PHs 54.3

जलिरहेको पोथ्रामा जब मोशाले परमेश्‍‍वरको उपस्थितिलाई चिन्न नसकेर, त्यस अदभूत दृष्यतिर नजर लाउन फर्केका मात्र के थिए, तब यस्तो आज्ञा दिइयो: “यता नजीक नआइज । तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको यो ठाउँ पवित्र भूमि हो । ... तब मोशाले आफ्‍नो मुख ढाके, किनकि तिनी परमेश्‍‍वरलाई हेर्न डराए” (प्रस्थान ३:५, ६) । PHs 55.1

“बेर्शेबा छोडेर याकूब हारानतिर लागे । कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्ताएको हुनाले तिनी त्यस रात त्यही वास बसे । त्यस ठाउँका ढुङ्गाहरूबाट एउटा लिएर तिनले आफ्‍नो सिरान बनाएर सुत्‍नलाई त्यहीँ पल्टे । PHs 55.2

“तिनले यस्तो सपना देखे: जमीनमा खड़ा गरिएको एउटा भऱ्याङ् रहेछ, र त्यसको टुप्पाचाहिँ आकाशसम्मै पुगेको रहेछ, र परमेश्‍‍वरका दूतहरू त्यसमा उक्‍लने र ओर्लने गर्दारहेछन् । परमप्रभु त्यसमाथि उभिनुभयो, र याकूबलाई भन्नुभयो, ‘म परमप्रभु, तेरा पिता अब्राहामका पमेश्‍‍वर र इसाकका परमेश्‍‍वर हुँ । जुन भूमिमा तँ ढल्किरहेको छस्, त्यो म तँलाई र तेरा सन्तानहरूलाई दिनेछु । ... हेर, म तँसगँ छु र तँ जहाँसुकै गए तापनि तँलाई रक्षा गर्नेछु, र तँलाई यस ठाउँमा फर्काएर ल्याउनेछु । मैले तँलाई भनेको कुरा पूरा नगरुञ्‍जेल म तँलाई छोड्‍नेछैनँ ।’ PHs 55.3

“तब याकुब निद्राबाट ब्यूँझेर भने, निश्‍चय नै यस ठाउँमा परमेश्‍‍वर हुनुहुँदोरहेछ, र यो मलाई थाहा थिएन । तिनी साह्रै डराए र तिनले भने, यो ठाउँ कस्तो भययोग्य रहेछ । यो त परमेश्‍‍वरको घरबाहेक अरू केही होइन रहेछ । यो त स्‍वर्गको ढोका पो रहेछ” (उत्पत्ति २८:१०-१७) । PHs 55.4

उजाड़-स्थानको पवित्र स्थान र मन्दिर जुन परमेश्‍‍वरको वासस्थानको एक संसारिक प्रतिक थिए, ती दुबैमा एउटा कोठाचाहिँ उहाँको उपस्थितिको निम्ति पवित्र थिए । यसको प्रवेशद्वारको करूबहरूद्वारा जडित पर्दा केवल एक मात्र व्यक्तिले बाहेक कसैले पनि खोल्‍नुहुँदैनथ्यो । त्यस पर्दालाई उचाल्‍नु र महा-पवित्रस्थानको पवित्र रहस्य बुझ्‍नका निम्ति अधिकार नभईकन पनि पस्‍नु भनेको मृत्यु थियो । कृपा-आसनमाथि अति पवित्रको ज्योति थियो— जुन ज्योति तर्फ हेरेर कुनै पनि मानिस जीवितै रहन सक्दैनथे । महा-पवित्रस्थानमा सेवाकाइ गर्नको निम्ति वर्षभरिमा तोकिएको केवल एक निश्‍चित दिनमा मात्रै महा-पूजाहारी भयले काम्दै परमेश्‍‍वरको उपस्थितिमा प्रवेश गर्दथे, जब धूपको बादलले ज्योतिलाई तिनको दृष्‍टिबाट ओझेल पार्दथे । मन्दिरको चोकभरि नै स्तब्धताले छाएको हुन्थ्यो । वेदीहरूमा पनि कुनै पनि पूजाहारीहरू सेवा-काइ गरिरहेका हुँदैनथे । भक्त जनहरूले शान्तमय भक्तिका साथ निहुँरिदै परमेश्‍‍वरको अनुग्रह पाउनका लागि आ-आफ्‍ना बिन्तीहरू चढा़उँदथे । PHs 55.5

“यी कुराहरू तिनीहरूलाई चेताउनीको निम्ति भए तापनि ती हाम्रै शिक्षाको निम्ति लेखिएका हुन्, जसमाथि युगको अन्त्य आइसकेको छ” (१ कोरिन्थी १०:११) । PHs 56.1

“परमप्रभु त आफ्‍नो पवित्र मन्दिरमा हुनुहुन्छ ।
सारा पृथ्वी उहाँको सामुन्ने चूपचाप रहोस् ।”
PHs 56.2

“परमप्रभुले राज्य गर्नुहुन्छ,
जाति-जातिहरू कम्पयमान होऊन् ।
उहाँ करूबहरूका बीचमा विराजमान् हुनुहुन्छ,
पृथ्वी हल्‍लिउठोस् ।
परमप्रभु सियोनमा महान् हुनुहुन्छ,
र उहाँ सबै जातिहरूमाथि सर्वोच्‍च हुनुुहुहन्छ ।
तिनीहरूले तपाईंको महान् र भय मान्नुपर्ने नाउँको प्रशंसा गरून्—
उहाँ पवित्र हुनुहुन्छ ।”
PHs 56.3

“परमप्रभु आफ्‍ना स्‍वर्गीय सिंहासनमा विराजमान् हुनुहुन्छ ।
मानिसका सन्तानलाई उहाँले नियालेर हेर्नुहुन्छ ।”
“परमप्रभुले उच्‍चस्थानमा रहेको आफ्‍ना पवित्रस्थानबाट,
तल पृथ्वीमाथि दृष्‍टिपात गर्नुभयो ।” “आफ्‍नो वासस्थानबाट
उहाँ पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर राख्‍नुहुन्छ ।”
“उहाँ, जसले सबैका मनको रचना गर्नुहुन्छ,
र तिनीहरू सबैका कामको विचार गर्नुहुन्छ ।”
“सारा पृथ्वीले परमप्रभुको भय मानोस्,
संसारका सारा निवासहरूले उहाँको भक्ति गरून् ।
PHs 56.4

(हबकूक २:२०; भजन ९९:१-३; ११:४; १०२:१९; ३३:१४, १५, ८)

मानिसले खोजी गरेर परमेश्‍‍वरलाई भेट्टाउन सक्‍नेछैन । जुन पर्दा उहाँको महिमालाई ढाकेर राखेको छ, कसैले पनि अभिमानी हातद्वारा सो पर्दा उघार्ने प्रयत्‍न नगरोस् । “उहाँका इन्साफहरू कति अगम र उहाँका मार्न बुझ्‍न नसकिने !” (रोमी ११:३३) । यो उहाँको अनुग्रहको प्रमाण हो, कि त्यहाँ उहाँको अदृष्य शक्ति छ; किनकि जुन पर्दा ईश्‍‍वरीय उपस्थितिलाई ढाकेको छ, त्यसलाई उघार्नु भनेको मृत्यु हो । कुनै पनि मरणशील बुद्धिले त्यस रहस्यमा प्रवेश गर्न सक्‍नेछैन, जसमा सर्वशक्तिमान् रहनुहुन्छ र कार्य गर्नुहुन्छ । स्‍वयम्-आफ्‍नै बारेमा जुन कुरा उहाँले प्रकट गर्ने योग्यको ठान्नुहुन्छ, केवल त्यही कुरा मात्र हामीले बुझ्‍न सक्‍नेछौं । विचार-शक्तिले जुन अधिकार स्‍वयम् आफैभन्दा महान् छ, यसलाई स्‍वीकार्नुपर्छ । ‘म नै हुँ’ भन्नुहुने महान् सर्वशक्तिमानप्रति हृदय र बुद्धि झुक्‍नुपर्छ । PHs 57.1