परमेश्‍‍वर हामीहरूसँग

26/45

विश्‍‍व-देवतावाद सिद्धान्तहरू

आज शैक्षिक संस्थाहरू र सर्वत्र यसका मण्डलीहरूमा एक यस्तो अध्यात्मावादी शिक्षाहरू आउँदैछ, जसले परमेश्‍‍वर र उहाँको वचनप्रतिको विश्‍‍वासलाई आघात पुऱ्याउँदैछ । जो मानिसहरू पवित्रशास्‍‍त्रमा विश्‍‍वास गर्दछौं भनी दाबी गर्दछन्, तिनीहरू पनि परमेश्‍‍वर एक यस्तो अस्तित्‍व हुनुहुन्छ, जो सारा प्रकृतिमा व्याप्‍त हुनुहुन्छ भन्ने सिद्धान्तलाई स्‍वीकार गर्दछन्; तर जतिसुकै सुन्दर रूपमा पहिराइए तापनि यो सिद्धान्त एक अति खतरापूर्ण छल हो । यसले परमेश्‍‍वरको गलत प्रतिनित्‍व गर्दछ, र उहाँको महान्ता र महिमाको विरुद्धमा एक अपमान हो र निश्‍चित रूपमा यसले मानिसलाई कुमार्गतिर धकेल्‍ने मात्र होइन तर मान पनि घटाउँछ । अन्धकार यसको मूल तत्‍व हो भने इन्द्रिय-सुख यसको क्षेत्र हो । यसको स्‍वीकारको प्रतिफल भनेको परमेश्‍‍वरबाट अलग्गिनु हो र पतित मानव स्‍वभावको निम्ति यो विनाश नै हो । PHs 44.2

पापद्वारा हाम्रो अवस्था अप्रकृतिक छ, र जुन शक्तिले हामीलाई सुधार्न सक्‍नेछ, त्यो अलौकिक हुनुपर्छ, नत्र यसको कुनै महत्‍व रहनेछैन । मानिसका हृदयमा शैतानको शक्तिलाई तोड्‍न सक्‍ने त्यहाँ केवल एक मात्र शक्ति छ, र त्यो हो येशू ख्रीष्‍टमा परमेश्‍‍वरको शक्ति । क्रूसमा टाँगिनुहुनेको रगतद्वारा मात्र पापदेखि शुद्धिकरण प्राप्‍त हुनेछ । केवल उहाँको अनुग्रहले मात्र हामीलाई हाम्रा पतित स्‍वभाव विरुद्ध सामना गर्न वा त्यस स्‍वाभावलाई वशमा राख्‍न सक्षम तुल्याउन सक्‍नेछ । परमेश्‍‍वरसम्बन्धी आध्यात्मिक सिद्धान्तहरूले उहाँको अनुग्रहलाई प्रभावहीन तुल्याइदिन्छ । यदि परमेश्‍‍वर सबै प्रकृतिमा व्याप्‍त हुनुहुने अस्तित्‍व हुनुहुन्छ भने उहाँ सबै मानिसहरूभित्र रहनुहुन्छ; र धार्मिकता प्राप्‍त गर्नका निम्ति कुनै व्यक्तिले आफूभित्र भएको शक्तिको विकास गर्नुपर्छ । PHs 44.3

यी सिद्धान्तहरूलाई तिनका तर्कअनुसारको निष्कर्ष मुताबिक अनुसरण गरिएको खण्डमा पूरा इसाई व्यवस्थालाई नै पखालिदिन्छ । तिनले प्रायश्‍चितको आैचित्यलाई हटाइदिन्छ र एक व्यक्तिलाई स्‍वयम् आफ्‍नै मुक्तिदाता बनाइदिन्छ । परमेश्‍‍वरको बारेका यी सिद्धान्तहरूले उहाँको वचनलाई प्रभावहीन तुल्याइदिन्छ र जस-जसले तिनलाई स्‍वीकार गर्दछन्, तिनीहरू अन्तमा बाइबल एक मिथ्या कल्पना हो भन्ने सोचाइतर्फ उन्मुख हुने ठूलो खतरामा पर्दछन् । तिनीहरूले पापलाई भन्दा धर्मलाई असल ठान्नेछन् होला, तर परमेश्‍‍वरलाई उहाँको सर्वोच्‍च उचित पदबाट हटाएर तिनीहरूले आफ्‍नो भरोसा मानव-शक्तिमा सुम्पिदिएका छन्, जुन परमेश्‍‍वरविना व्यर्थको हुनेछ । असहाय मानव संकल्पशक्तिमा दुष्‍टता विरुद्ध सामना गर्ने वा विजय प्राप्‍त गर्न सक्‍ने कुनै वास्तविक शक्ति छैन । आत्माका प्रतिरक्षाहरू चकनाचुर भएका छन् । मानिससित पापको विरुद्ध कुनै पर्खाल छैन । जब एक पटक परमेश्‍‍वरको वचनका बन्देजहरूलाई र उहाँको पवित्र आत्मालाई इन्कार गरिन्छ, तब हामी कति गहिराइसम्म डुब्‍न सक्‍नेछौं भनी हामीलाई थाहै हुनेछैन । PHs 45.1

“पमेश्‍‍वरको हरेक वचन दोषरहित छ ।
उहाँमा शरण लिनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ ।
उहाँका वचनहरूमा नथप्,
नत्रता उहाँले तँलाई हप्काउनुहुनेछ र झूटा प्रमाणित गर्नुहुनेछ ।”
PHs 45.2

“दुष्‍ट मानिसको खराब कामले त्यसलाई पासोमा पार्छ,
र आफ्‍नै पापको बन्धमा त्यो जेलिन्छ ।”
PHs 45.3

(हितोपदेश ३०:५, ६; ५:२२)