परमेश्‍‍वर हामीहरूसँग

3/45

पापको प्रवेश कसरी भयो

स्‍वर्गमा नै यो नियम भङ्ग गरिएको थियो । आफैलाई महत्‍व दिनाले पापको सृजना भयो । लुसिफर, जो देव-पुरुष थियो— स्‍वर्गमा प्रथम स्थान ओगट्‍ने विचार राख्‍न थाल्यो । उसले स्‍वर्गदूतहरूमाथि वश प्राप्‍त गरी उनीहरूलाई आफ्‍ना सृष्‍टिकर्ताबाट बहकाएर आफूप्रति तिनीहरूका भक्ति जित्‍ने प्रयास गऱ्यो । तसर्थ उसले परमेश्‍‍वरको गलत प्रतिनिधित्‍व गऱ्यो र उहाँलाई आत्म-तारीफ प्रशंसा गर्नुहुनेको रूपमा गलत उपाधि दियो । स्‍वयम् आफ्‍नै दुष्‍ट चरित्रद्वारा उसले सृष्‍टिकर्तामाथि आक्रमण गर्ने प्रयत्‍न गऱ्यो । यसरी उसले स्‍वर्गदूतहरूलाई छल्यो । यसै गरी उसले मानिसहरूलाई पनि छकायो । उसले तिनीहरूलाई परमेश्‍‍वरको वचनप्रति शङ्का गर्न र उहाँको भलाइप्रति भरोसा नराख्‍न अग्रसित गऱ्यो । किनकि परमेश्‍‍वर न्यायको परमेश्‍‍वर र भयङ्कर गौरवशाली हुनुभएको कारण शैतानले तिनीहरूलाई उहाँतर्फ एक कठोर र क्षमादान नदिनेको रूपमा हेर्न अभिप्रेरित गऱ्यो । यसरी उसले मानिसहरूलाई उहाँको विरुद्धमा सामेल हुनलाई उक्सायो र यस संसारमा सरापको रात छायो । PHs 4.1

परमेश्‍‍वरप्रतिको मिथ्याग्रहणद्वारा संसार अन्धकार हुन पुगेको थियो । अन्धकारमय छायाँलाई ज्योतिमय तुल्याइनका निम्ति र संसारलाई पुनः परमेश्‍‍वरतर्फ फर्काइनका निम्ति शैतानको कपटी शक्तिलाई नष्‍ट पारिनु आवश्‍‍यक थियो । यो बलपूर्वक गर्न सकिँदैनथ्यो । शक्तिको प्रयोग गर्नु भनेको परमेश्‍‍वरको व्यवस्थाका विरुद्वको कुरा हो । उहाँ प्रेमपूर्ण सेवा मात्र चाहनुहुन्छ; र प्रेम प्राप्‍त गर्न आज्ञा दिन मिल्दैन; यो बल र अधिकार प्रयोगद्वारा जित्‍न सकिँदैन । प्रेमद्वारा नै प्रेमलाई जगाउन सकिन्छ । परमेश्‍‍वरलाई चिन्नु भनेको उहाँलाई प्रेम गर्नु हो । उहाँको चरित्र शैतानको चरित्रभन्दा फरक रूपमा प्रस्तुत हुनुपर्दछ । यो कार्य सारा जगत्‌मा केवल एक जनाले मात्र गर्न सक्‍नुभयो । केवल उहाँ मात्र जसले प्रेमको लम्बाइ र गहिराइ जान्नुहुन्थ्यो, उहाँ त्यस बारेमा जानकारी दिन सक्‍नुहुन्थ्यो । संसारको अँध्यारो रातमा धार्मिकताका सूर्यको उदय हुनुपर्छ, “आफ्‍नो पखेटामा आरोग्यता लिएर” (मलाकी ४:२) । PHs 4.2