महान् विवाद नयाँ देशमा ज्योति

10/13

१० — परमेश्‍‍वरको अपरिवर्तनीय व्यवस्था

“स्‍वर्गमा परमेश्‍‍वरको मन्दिर खोलियो, र उहाँको मन्दिरभित्र उहाँका करारको सन्दूक देखियो।” प्रकाश ११:१९। परमेश्‍‍वरको करारका सन्दूक पवित्रस्थानको दोस्रो कोठा अर्थात् पवित्रहरूको पनि पवित्रमा थियो। पृथ्वीमा भएका पवित्र वासस्थानको सेवाकार्यले “स्‍वर्गीय थोकहरूको उदाहरण र छाया स्‍वरूप” काम गरेको थियो, जुन सेवाकार्यमा प्रायश्‍चित्तको महान् दिनमा मात्र पवित्रस्थान शुद्ध गर्न यो कोठा खुल्‍ला गरिन्थ्यो। त्यसकारण स्‍वर्गमा परमेश्‍‍वरको मन्दिर खोलियो र करारको सन्दूक देखियो भन्‍ने घोषणाले ख्रीष्‍ट १८४४मा प्रायश्‍‍यितको अन्तिम कार्य गर्न महा-पवित्रस्थानमा प्रवेश गर्नुहुँदा स्‍वर्गीय पवित्र वासस्थानको महा-पवित्रस्थान खुला भएको सङ‌्केत गरेको छ। तिनीहरूका प्रधान पूजाहारी महा-पवित्रस्थानमा आफ्‍नो कार्य गर्न प्रवेश गर्नुहुँदा, ज-जसले उहाँलाई विश्‍‍वासद्वारा पछ्याए तिनीहरूले उहाँको करारको सन्दूक देखे। तिनीहरूले पवित्रस्थानको विषयमा अध्ययन गरेका थिए त्यसकारण तिनीहरूले मुक्तिदाताको सेवा परिवर्तन भएको कुरा बुझे, र अब उहाँ परमेश्‍‍वरको सन्दूकका सामुन्‍ने पापीहरूका लागि उहाँको रगतले बिन्ती गरिरहनुभएको तिनीहरूले देखे। MBND 175.1

पृथ्वीको पवित्र वासस्थानमा भएको सन्दूकमा दुई वटा शिलापाटी पनि थिए, जसमा परमेश्‍‍वरका व्यवस्थाहरू खोपिएका थिए। सन्दूकचाहिँ केवल एक व्यवस्थाका शिलापाटीको पात्र थियो, र यसलाई यी नै ईश्‍‍वरीय व्यवस्थाहरूको उपस्थितिले यसका मूल्य र पवित्रता प्रदान गरेको थियो। जब स्‍वर्गमा परमेश्‍‍वरको मन्दिर खोलियो, तब उहाँको करारको सन्दूक देखियो। स्‍वर्गमा भएको पवित्र वासस्थानका पवित्रहरूको पवित्रमा ईश्‍‍वरीय व्यवस्था पवित्रतासाथ राखिएको छ—सिनैका चट्याङहरूमाझ परमेश्‍‍वर आफैले बोल्‍नुभएको र उहाँको आफ्‍नै औँलाले ढुङ्गाका शिलापाटीहरूमा लेख्‍नुभएको व्यवस्था यही नै थियो। MBND 175.2

स्‍वर्गमा भएको पवित्र वासस्थानमा अवस्थित परमेश्‍‍वरको व्यवस्थाचाहिँ प्रारम्भिक हो, त्यही व्यवस्थाबाट नै ढुङ्गाको शिलापाटीमा खोपिएको र मोशाद्वारा पाँच वटा पुस्तकमा लेखिएका आज्ञाहरूचाहिँ एउटा ठीक प्रतिलिपी थियो। जसले यो बुझाइको महत्‍वपूर्ण बुँदा बुझ्‍न पुगे, यसरी पवित्र अर्थात् अपरिवर्तनीय ईश्‍‍वरीय व्यवस्थाको चरित्र देख्‍न पुगे। तिनीहरूले मुक्तिदाताका वचनहरूको शक्ति यस्तो तरिकाले देखे जुन तिनीहरूले पहिले देखेका थिएनन्: “जबसम्म स्‍वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्‍नेछैन।” मत्ती ५:१८। परमेश्‍‍वरको व्यवस्था उहाँको इच्छाका प्रकाश र उहाँको चरित्रका प्रतिलिपि भएको कारणले “आकाशमा रहेको विश्‍‍वासनीय साक्षी”-को रूपमा अनन्तसम्म रहनैपर्छ। एउटा आज्ञा पनि रद्द गरिएको छैन, एउटा मात्रा वा बिन्दु परिवर्तन भएको छैन। भजनसंग्रहको लेखक भन्छन्: “हे परमप्रभु, तपाईंको वचन सनातन र अनन्त छ, आकाशमा त्यो स्थिर रहन्छ।” “उहाँका सबै आदेश विश्‍‍वसनीय हुन्छन्। ती सदाकालको लागि अटल छन्।” भजनसंग्रह ११९:८९; १११:७, ८। MBND 176.1

यो प्रथम पटक घोषणा भएदेखि यता दश आज्ञाको काखैमा चौथो आज्ञा छ: “शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू। छ दिनसम्म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍‍वरको निम्ति शबाथ-दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्। किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र पार्नुभयो।” प्रस्थान २०:८-११। MBND 176.2

परमेश्‍‍वरको आत्माले उहाँको वचनका ती विद्यार्थीहरूको हृदयलाई प्रभावित पार्नुभयो। दोष-प्रमाणले तिनीहरूलाई दबाब दियो कि तिनीहरूले अनजानमा सृष्‍टिकर्ताको विश्राम दिनलाई नमानेर उहाँको व्यवस्थालाई भङ्ग गरेका थिए। परमेश्‍‍वरले पवित्र पार्नुभएको दिनको सट्टामा हप्‍ताको पहिलो दिन पालन गर्ने कारणहरू तिनीहरूले जाँच गर्न थाले। तिनीहरूले धर्मशास्‍‍त्रहरूमा चौथो आज्ञा बहिष्कृत भएको वा शबाथ परिवर्तन भएको प्रमाण फेला पार्न सक्दैनथे: सातौँ दिनलाई नै पवित्र पारिएको त्यो आशिष् कहिल्यै पनि हटाइएको थिएन। तिनीहरू परमेश्‍‍वरको इच्छा जान्‍न र उहाँको इच्छाअनुसार हिँड्‍न इमान्दारसाथ प्रयास गरिरहेका थिए: अब जब तिनीहरूले आफैलाई उहाँका व्यवस्थाको दोषी देखे, तिनीहरूको हृदय दुःखित भए, र तिनीहरूले उहाँको शबाथ-दिनलाई पवित्र राख्‍नेद्वारा परमेश्‍‍वरप्रति तिनीहरूको बफादारिता प्रकट गरे। MBND 176.3

तिनीहरूको विश्‍‍वासलाई तहसनहस पार्न धेरै र उत्सुक प्रयासहरू गरियो। यदि पृथ्वीको पवित्र वासस्थान स्‍वर्गको नकल वा प्रतिक थियो भने पृथ्वीको सन्दूकमा रहेको व्यवस्था पनि ठीक स्‍वर्गको सन्दूकमा भएका व्यवस्थाको प्रतिलिपी हो भनी बुझ्‍न नसक्‍ने कोही हुँदैनथियो, जसमा स्‍वर्गीय पवित्र वासस्थानको विषयमा भएको सत्यतालाई स्‍वीकार गरेमा परमेश्‍‍वरको व्यवस्थाको दाबी र चौथो आज्ञाको शबाथ आज्ञाको कर्तव्यलाई पनि स्‍वीकार गर्नुपर्दछ। धर्मशास्‍‍त्रहरूको अनुसार गरिएको प्रदर्शनलाई कठोर र निर्णायक विरोधको रहस्य यही नै थियो, जुन प्रदर्शनले स्‍वर्गीय पवित्र वासस्थानमा ख्रीष्‍टको सेवाकार्यलाई प्रकट गरेको थियो। परमेश्‍‍वरले खोल्‍नुभएका ढोकाहरू मानिसहरूले बन्द गर्ने प्रयास गरे, र जुन उहाँले बन्द गर्नुभएको थियो सो तिनीहरूले खोल्‍ने प्रयास गरे। तर “जसले खोल्छ, कसैले थुन्‍नेछैन, र जसले थुन्छ, कसैले खोल्‍नेछैन।” उहाँले घोषणा गर्नुभयो: “हेर, मैले तिम्रा सामुन्‍ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्‍न सक्दैन।” प्रकाश ३:७, ८। ख्रीष्‍टले महा-पवित्रस्थानको ढोका वा सेवाकार्य खोल्‍नुभयो, स्‍वर्गको पवित्र वासस्थानको खुला ढोकाबाट ज्योति चम्किरहेको थियो, र चौथो आज्ञा पनि व्यवस्थामा समावेश भएको देखियो जुन त्यहाँ पवित्र पारी राखिएको थियो; जुन कुरा परमेश्‍‍वरले स्थापना गर्नुभयो अब कसैले नष्‍ट गर्न सक्दैनथ्यो। MBND 177.1

जसले ख्रीष्‍टको मध्यस्थता र परमेश्‍‍वरको व्यवस्थाका सनातनको विषयमा ज्योति स्‍वीकार गरेका थिए तिनीहरूले यी सत्यताहरू प्रकाश १४मा प्रस्तुत गरेको भेटाए। यो अध्यायका सन्देशहरूमा तीन गुणा चेतावनी रहेको छ (एपेण्डिक्स हेर्नुहोस्) जुन पृथ्वीका बासिन्दाहरूलाई परमप्रभुको दोस्रो आगमनको निम्ति तयार गराउनको लागि हो। “उहाँका इन्साफको घड़ी आएको छ” भन्‍ने घोषणाले ख्रीष्‍टले मानिसहरूका मुक्तिको लागि गर्ने सेवाकार्यको अन्तिम कामलाई केन्द्रित गर्दछ। यसले यस्तो सत्यता घोषणा गर्दछ जुन मुक्तिदाताको मध्यस्थता बन्द नभएसम्म र उहाँ पृथ्वीमा उहाँका मानिसहरूलाई आफूकहाँ लान फर्केर नआउनुभएसम्म घोषणा गर्नुपर्छ। १८४४मा सुरु भएको न्यायका काम मृतकहरू र जीवितहरू दुवैको मुद्दा निश्‍चित नभएसम्म चलिरहनुपर्छ, त्यसरी मानवीय पश्‍चात्ताप गर्ने समयको अन्तिमसम्म चलिरहनेछ। मानिसहरू न्यायमा उभिन तयारी हुन सकोस् भनेर “परमेश्‍‍वरसँग डराओ, र उहाँलाई महिमा देओ,” र “स्‍वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत गर,” भन्‍ने आदेश यस सन्देशले दिन्छ। यी सन्देशहरूलाई स्‍वीकार गर्दा आउने परिणामको विषयमा यस्तो वचन दिइएको छ: “परमेश्‍‍वरको आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्‍‍वास” राख्‍ने यिनीहरू नै हुन्। मानिसहरूले न्यायको लागि तयार गर्दाखेरि परमेश्‍‍वरको व्यवस्था पालन गर्न आवश्‍‍यक छ। न्यायमा त्यही व्यवस्था नै चरित्रको स्तर हुनेछ। प्रेरित पावल घोषणा गर्छन्: “व्यवस्थामुनि रहेर पनि पाप गर्नेहरूको इन्साफ व्यवस्थाद्वारा नै हुनेछ। ... यो त्यस दिन हुनेछ जब परमेश्‍‍वरले मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा मानिसहरूका गुप्‍त कुराको इन्साफ गर्नुहुनेछ।” अनि तिनी भन्छन्: “तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछन्।” रोमी २:१२-१६। परमेश्‍‍वरको व्यवस्था पालन गर्न विश्‍‍वास आवश्‍‍यक छ; किनकि “विश्‍‍वासविना परमेश्‍‍वरलाई प्रसन्‍न पार्नु असम्भव छ।” अब “विश्‍‍वासबाट उत्पन्‍न नभएको कुनै पनि कुरा पाप हो।” हिब्रू ११:६; रोमी १४:२३। MBND 178.1

“परमेश्‍‍वरसँग डराओ, र उहाँलाई महिमा देओ,” उहाँलाई स्‍वर्ग र पृथ्वीको सृष्‍टिकर्ताको रूपमा सेवा गर्न पहिलो स्‍वर्गदूतद्वारा मानिसहरूलाई बोलावट गरेको छ। यसो गर्नको लागि तिनीहरूले उहाँको व्यवस्था पालन गर्नुपर्छ। बुद्धिमानी मानिस भन्दछन्: “परमेश्‍‍वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो।” उपदेशक १२:१३। उहाँका आज्ञाहरूमा आज्ञाकारी नभईकन परमेश्‍‍वरलाई कुनै पनि आराधनाले खुशी पार्न सक्दैन। “परमेश्‍‍वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं।” “यदि कसैले व्यवस्थाप्रति आफ्‍नो कान बन्द गर्छ भने, त्यसका प्रार्थनाहरूसमेत घृणित हुन्छन्।” १ यूहन्‍ना ५:३; हितोपदेश २८:९। MBND 178.2

उहाँ सृष्‍टिकर्ता हुनुहुन्छ र अरू सबै प्राणीहरू उहाँकै कारण अस्तित्‍वमा आएका हुन् भन्‍ने अर्थमा परमेश्‍‍वरलाई सेवा गर्नुपर्ने हाम्रो कर्तव्यको आधार हो। अरू मूर्तिपूजकहरूका देवताहरूभन्दा उच्‍च श्रद्धा र सेवा गर्नुपर्ने दाबीलाई जहाँ-जहाँ बाइबलद्वारा प्रस्तुत गरिएको छ, त्यहाँ उहाँको सृजनात्मक शक्तिको प्रमाण उल्‍लेखित छ। “जाति-जातिहरूका सबै देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्‍वर्ग सृष्‍टि गर्नुभयो” भजनसंग्रह ९६:५। “‘तिमीहरू मलाई कोसित तुलना गर्नेछौ? अथवा को मसमान छ?’ परमपवित्र भन्‍नुहुन्छ। तिमीहरूका आँखा माथि उठाएर आकाशलाई हेर, यी सबै कसले बनाएका हुन्?” “किनकि परमप्रभु यसो भन्‍नुहुन्छ—उहाँ, जसले आकाश सृष्‍टि गर्नुभयो, उहाँ नै परमेश्‍‍वर हुनहुन्छ, जसले पृथ्वीको रूप रच्‍नुभयो र बनाउनुभयो, ... ‘म परमप्रभु हुँ मबाहेक अरू कोही छैन।’” यशैया ४०:२५, २६; ४५:१८। भजनसंग्रहको लेखक भन्दछन्: “परमप्रभु नै परमेश्‍‍वर हुनुहुन्छ भनी जान; हामीलाई बनाउनुहुने उहाँ नै हुनुहुन्छ; अनि हामीले आफैलाई बनाएका होइनौं।” (KJV)। “आओ, दण्डवत् गरौं र निहुरौं, हाम्रा सृष्‍टिकर्ता परमेश्‍‍वरकै सामु घुँड़ा टेकौं।” भजनसंग्रह १००:३; ९५:६। अनि स्‍वर्गमा परमेश्‍‍वरलाई आराधना गर्ने पवित्र जनहरूले उहाँलाई आदर गर्नुपर्ने कारण यसरी व्यक्त गर्छन्: “हे हाम्रा प्रभु र परमेश्‍‍वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्‍टि गर्नुभएको हो।” प्रकाश ४:११। MBND 179.1

प्रकाश १४मा मानिसहरूलाई सृष्‍टिकर्ताको सेवा गर्न आह्वान गरेको छ, र अगमवाणीले एक वर्गलाई देखाउँदछ, जसले तीन गुणा सन्देशको परिणाम स्‍वरूप परमेश्‍‍वरका आज्ञाहरू पालन गरिरहेका छन्। यी आज्ञाहरूमध्ये एउटाले परमेश्‍‍वर नै सृष्‍टिकर्ता हुनुहुन्छ भनी प्रत्यक्ष देखाउँदछ। चौथो आज्ञाले घोषणा गर्दछ: “तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍‍वरको निम्ति शबाथ-दिन हो। ... किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो।” प्रस्थान २०:१०, ११। परमप्रभुले शबाथको विषयमा अझै भन्‍नुभयो, कि यो “चिन्ह होऊन्। तब तिमीहरूले म नै परमप्रभु तिमीहरूका परमेश्‍‍वर हुँ भनी जान्‍नेछौ।” इजकिएल २०:२०। यहाँ एक कारण दिएको छ: “किनभने परमप्रभुले छ दिनमा आकाश र पृथ्वी बनाउनुभयो, तर सातौँ दिनमा उहाँले काम छोडे़र विश्राम गर्नुभयो।” प्रस्थान ३१:१७। MBND 180.1

“सृष्‍टिको सम्झनाको रूपमा शबाथको महत्‍वका कुरा गर्दा यसले परमेश्‍‍वरलाई सेवा गर्नुपर्ने साँचो कारण सधैँ प्रकट गर्दछ”—किनकि उहाँ सृष्‍टिकर्ता हुनुहुन्छ, र हामी उहाँका सृष्‍टि भएका प्राणीहरू हौं। “त्यसकारण शबाथचाहिँ दैवीय सेवाको आधार हो, किनकि यसले असाध्यै प्रभावशाली ढङ्गले यो महान् सत्यता सिकाउँदछ, र अरू कुनै विधिविधानले यस्तो गर्दैन। दैवीय सेवाको सत्य आधार, केवल सातौँ दिनमा भएको सेवाको मात्र होइन, तर सबै सेवाहरूको चाहिँ सृष्‍टिकर्ता र सृष्‍टि भएका प्राणीहरूको बीचमा भएको भिन्‍नतामा पाइन्छ। यो महान् सत्यता कहिल्यै पनि लोप हुन सक्दैन, र कहिल्यै पनि बिर्सनुहुँदैन।” —J. N. Andrews, History of the Sabbath, chapter 27. यो सत्यता सधैँ मानिसहरूको सामु राख्‍नको लागि परमेश्‍‍वरले अदनमा शबाथ स्थापना गर्नुभयो; र जबसम्म उहाँ हाम्रो सृष्‍टिकर्ता हुनुहुन्छ भन्‍ने तथ्य नै उहाँलाई सेवा गर्ने हाम्रो कारण भइरहन्छ, तबसम्म यसको चिन्ह र सम्झना स्‍वरूप शबाथ रहनेछ। यदि शबाथ विश्‍‍वव्यापीरूपमा पालन गरेको भए, मानिसका विचारहरू र स्‍नेहहरूचाहिँ सृष्‍टिकर्तातर्फ आराधना र श्रद्धाको पात्र स्‍वरूप फर्कनेथिए, र त्यहाँ कहिले पनि मूर्तिपूजक, नास्तिक वा अभक्ति हुनेथिएनन्। शबाथ पालनचाहिँ सत्य परमेश्‍‍वरप्रति बफादारीताको चिन्ह हो, उहाँले “स्‍वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू” बनाउनुभयो। त्यसपछि यस्तो सन्देश दिइनेछ जसले मानिसहरूलाई परमेश्‍‍वरको आराधना गर्न र उहाँका आज्ञाहरू पालन गर्न आज्ञा गर्नेछ, विशेष गरी तिनीहरूलाई चौथो आज्ञा पालन गर्ने आह्वान गर्नेछ। MBND 180.2

जसले परमेश्‍‍वरका आज्ञाहरू पालन गर्छन् र येशूमाथि विश्‍‍वास राख्‍छन् तिनीहरूभन्दा अर्को विपरीत समूहलाई तेस्रो स्‍वर्गदूतको सन्देशले देखाउँदछ जसको विरोधमा गम्भीर र डरलाग्दो चेतावनी उच्‍चारण भएको छ: “यदि कुनै मानिसले त्यो पशु र त्यसको मूर्तिलाई पुज्यो र निधार वा हातमा त्यसको छाप लियो भने, त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्‍‍वरका क्रोधको कड़ा मद्य पिउनेछ।” प्रकाश १४:९, १०। यो सन्देशलाई बुझ्‍नको लागि प्रयोग गरिएका सङ्केतहरूको सही वर्णन गर्न आवश्‍‍यक छ। पशु, मूर्ति र छापले केको प्रतिनिधित्‍व गर्दछ? MBND 181.1

प्रकाश १२बाट यी साङ‌्केतिक अगमवाणीका लहर आरम्भ भएको पाइन्छ, जहाँ अजिङ्गरले ख्रीष्‍टलाई उहाँको जन्ममा नै नष्‍ट गर्न खोजेको थियो। अजिङ्गर शैतान हो (प्रकाश १२:९); उसले नै हेरोदलाई मुक्तिदाताको हत्या गर्न उक्साएको थियो। तर ख्रीष्‍ट र उहाँका मानिसहरूसँग इसाई युगका प्रथम शताब्दीहरूभरि लड़ाइँ गर्ने रोमी साम्राज्य नै त्यसको प्रमुख प्रतिनिधि थियो, जसमा मूर्तिपूजकचाहिँ प्रचलित धर्म थियो। यसरी जब अजिङ्गरले विशेष गरी शैतानलाई प्रतिनिधित्‍व गर्दछ भने दोस्रो अर्थमा यो एक मूर्तिपूजक रोमको पनि चिन्ह हो। MBND 181.2

अध्याय १३ (१-१०)-मा अर्को जनावरको विषयमा वर्णन गरिएको छ, त्यो “चितुवाजस्तै थियो,” त्यसलाई अजिङ्गरले “आफ्‍नो शक्ति, आफ्‍नो सिंहासन र ठूलो अधिकार दियो।” प्राय: प्रोटेस्टेन्टहरूले विश्‍‍वास गरेअनुसार यो सङ‌्केतले पोपको रोमलाई प्रतिनिधित्‍व गर्दछ, जो प्राचीन रोमी साम्राज्यले शासन गरेको शक्ति र सिंहासन र अधिकारको उत्तराधिकारी थियो। त्यो चितुवाजस्तो जनावरको विषयमा यसो भनिएको छ: “त्यसलाई अहङ्कारी र ईश्‍‍वर-निन्दक शब्दहरू उच्‍चारण गर्ने मुख दिइयो। … परमेश्‍‍वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाउँ र उहाँको वासस्थान, र स्‍वर्गमा बस्‍नेहरूसमेत सबैको निन्दा गर्नलाई त्यसले आफ्‍नो मुख खोल्यो। अनि त्यसलाई सन्तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्‍न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्यसलाई अधिकार दिइयो।” यो अगमवाणीले निसन्देह पोपको रोमलाई नै प्रतिनिधित्‍व गर्दछ जसरी दानिएल ७मा भएको सानो सीङको विषयमा वर्णन गरिएको छ। MBND 182.1

“त्यसलाई बयालीस महिनासम्म अधिकार चलाउने अनुमति दिइयो।” अनि अगमवक्ता भन्छन्, “त्यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्तो देखिन्थ्यो।” फेरि भन्छन्: “कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ।” बयालिस महिनाहरू वा दानिएल सातमा भएको “समय, समयहरू र आधा समय” अथवा साढ़े तीन वर्ष वा बाह्र सय साठी दिनहरू एउटै हुन्। यो समय पोपतन्‍त्रको शक्तिले परमेश्‍‍वरका जनहरूलाई अत्याचार गर्ने अवधि थियो। जसरी अघिका अध्यायहरूमा भनेझैँ यो अवधि पोपतन्‍त्रको सर्वोच्‍चता ५३८मा सुरु भई १७९८मा समाप्‍त भयो। त्यो समयमा फ्रान्सका सिपाहीहरूले पोपलाई कैदी बनाए, यसरी पोपतन्‍त्रको शक्तिमा त्यसको घातक चोट लाग्यो, र “कैदमा जानुपर्ने कैदमा नै जानेछ” भनिने अगमवाणी पूरा पनि भयो। MBND 182.2

यो सयममा अर्को सङ‌्केत पनि दिएको छ। अगमवक्ता भन्छन्: “अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखें। त्यसको पनि थुमाका जस्तै दुई वटा सीङ थिए।” प्रकाश १३:११। त्यो पशु र निस्किआउने तरिका दुवै कुराले देखाउँछ कि त्यसले प्रतिनिधित्‍व गरेको राज्यचाहिँ पहिलेका सङ्केतहरूभन्दा फरक थियो। ती महान् राज्यहरू जसले संसार शासन गरेका छन् जब “आकाशका चार बतासहरूले ठूलो समुद्रलाई मन्थन” गरिरहेका थिए तब शिकार गर्ने जनावरहरूको रूपमा ती राज्यहरू दानिएल अगमवक्ता समझ प्रस्तुत गरिएका थिए। दानिएल ७:२। प्रकाश १७मा स्‍वर्गदूतले पानीको अर्थ वर्णन गरेको छ, जसको अर्थ “मानिसहरू, भीड़हरू, जातिहरू र भाषाहरू” हुन्। प्रकाश १७:१५। बतासले लड़ाइँलाई सङ्केत गर्दछ। महान् समुद्रमाथि बतास मन्थन गरिरहेको अर्थचाहिँ डरलाग्दो लड़ाइँ र क्रान्तिको दृश्‍‍य हो जसद्वारा राज्यहरूले शक्ति प्राप्‍त गरेका छन्। MBND 183.1

तर थुमाको जस्तो सीङ भएको पशु “पृथ्वीबाट निस्किरहेको” देखियो। यसरी प्रकट गरिएको राज्यले आफ्‍नो शक्ति स्थापना गर्न अरू शक्तिहरूलाई नष्‍ट नपारीकन आबादी नभएको भूभागबाट उठ्‍नुपर्छ र शान्तिपूर्णसाथ बिस्तारै बढ्‍नुपर्छ। त्यसो भए यो पुरानो संसार [युरोप]-को भीड र सङ‌्घर्षमय जातित्‍वको बीचबाट उठ्‍दैनथ्यो—“मानिसहरू, भीड़हरू, जातिहरू र भाषाहरू”-रूपी समुद्रको मन्थनबाट होइन। त्यसलाई पश्‍चिमी महादेशतिर खोज्‍नुपर्छ। MBND 183.2

१७९८मा सामर्थ्य र महानताको प्रतिज्ञा दिँदै र संसारको ध्यानाकर्षण गर्दै नयाँ संसार [अमेरिका]-को कुन राज्य शक्तिमा आइरहेको थियो? यो सङ्केतको अर्थमा कुनै प्रश्‍न छैन। एउटै राज्य, एउटैले मात्र यस अगमवाणीका विशेष गुणहरूलाई पूरा गर्दछ; यसले प्रष्‍टरूपमा संयुक्त राज्य अमेरिकालाई देखाउँछ। यो राज्यको स्थापना र विकाशलाई वर्णन गर्दा प्रवक्ता र इतिहासकारले थाहा नपाए तापनि पवित्र लेखकको विचार वा झण्डै उस्तै शब्दहरू बारम्बार प्रयोग गरेका छन्। त्यो पशु “पृथ्वीबाट निस्किरहेको” देखिएको थियो; र अनुवादकहरूको भनाइअनुसार, “निस्किरहेको” शब्दले वास्तवमा “बिरूवा जस्तै बढ्‍नु वा उम्रनु” भनी देखाउँदछ। अनि जसरी हामीले देखेका छौं, त्यो राज्यचाहिँ आबादी नभएको भूभागमा उठ्‍नुपर्छ। एक प्रख्यात लेखकले संयुक्त राज्यको स्थापनालाई वर्णन गर्दै “त्यो खाली भूमिबाट आउने रहस्य”-को विषयमा भन्छन्: “हामी शान्त बीउ सरह साम्राज्यसम्म बढ्‍दैआयौं।” —G. A. Townsend, The New World Compared With the Old, page 462. १८५०मा युरोपको समाचार पत्रले संयुक्त राज्यको विषयमा प्रशंसनीय साम्राज्यको रूपमा कुरा गरेको थियो, जुन “उदाइरहेको” थियो र “पृथ्वीको शान्तमय अवस्थामा दैनिकरूपमा शक्ति र घमण्ड थपिरहेको थियो।” —The Dublin Nation. एडवार्ड एभरेटले यो राज्यका तीर्थयात्री स्थापकहरूका विषयमा बोल्दै यसो भने: “के तिनीहरूले त्यसको अप्रसिद्धताको कारणले बाधा नदिने र त्यसको दुर्लभतामा सुरक्षित हुने एक एकान्त स्थान खोजे जहाँ लेडनको सानो चर्चले विवेकको स्‍वतन्‍त्रता अभ्यास गर्न सक्थे? शक्तिशाली क्षेत्रहरू हेर जसमा शान्तिपूर्ण आक्रमणमा ... तिनीहरूले क्रूसको झण्डा बोकेका छन्!” —Speech delivered at Plymouth, Massachusetts, Dec. 22, 1824, page 11. MBND 183.3

“त्यसको पनि थुमाका जस्तै दुई वटा सीङ थिए।” थुमाको जस्तो सीङहरूले युवापन, निर्दोषपन र दीनतालाई देखाउँछ, जसले १७९८मा अगमवक्ताले भनेझैँ “निस्किरहेको” संयुक्त राज्यलाई नै उपयुक्तरूपले प्रतिनिधित्‍व गरेको छ। प्रथम पल्ट अमेरिकामा भाग्‍ने र राजकीय अत्याचार र पूजाहारीहरूको असहनशीलताबाट शरणस्थान खोज्‍ने बहिष्कृत इसाईहरूमध्ये धेरै जनाले राज्य र धार्मिक स्‍वतन्‍त्रताको ठूलो जगमाथि सरकार स्थापना गर्ने निर्णय गरे। स्‍वतन्‍त्रताको घोषणामा तिनीहरूका विचारहरूले स्थान पाए, जसले यस्ता प्रकारका महान् सत्यता स्थापना गरे कि “सबै मानिसहरू समानरूपले सृष्‍टि भएका हुन्,” र “जीवन, स्‍वतन्‍त्रता र खुशीसाथ रहने” अभिन्‍न अधिकार प्रदान गरिएका छन्। अनि संविधानले मानिसहरूलाई स्‍वशासनको अधिकार, जनताको मतदानद्वारा छानिएका प्रतिनिधिहरूले व्यवस्थाहरू जारी गर्न र परिचालन गर्ने प्रबन्धसमेत निश्‍चित गर्दछ। धार्मिक विश्‍‍वासको स्‍वतन्‍त्रता पनि प्रदान गरेको थियो, यसरी प्रत्येक मानिस उसकै विवेकको निर्देशनअनुसार परमेश्‍‍वरलाई सेवा गर्न अनुमति दिइयो। प्रजातन्‍त्र र प्रोटेस्टेन्ट विश्‍‍वासचाहिँ देशको मौलिक सिद्धान्तहरू भए। यी सिद्धान्तहरू नै यो देशको शक्ति र उन्‍नतिको रहस्य हुन्। इसाईजगत्‌भरि अत्याचारमा परेका र थिचोमिचोमा परेकाहरू उत्सुकता र आशासाथ त्यो भूमितिर लागे। लाखौँले यसको किनार खोजेका छन्, र पृथ्वीमा भएका सबभन्दा शक्तिशाली देशहरूमध्ये संयुक्त राज्य पनि एउटा स्थानसम्म बढ्‍दैआएको छ। MBND 184.1

तर त्यो थुमाको जस्तो सीङ हुने पशु “अजिङ्गरजस्तै ... बोल्दथ्यो। त्यसले पहिलो पशुको उपस्थितिमा त्यही पशुको सारा अधिकार चलाउँदथ्यो, र पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो, जसको घातक चोट निको भएको थियो। ... तरवारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको सम्मानमा एउटा मूर्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो।” प्रकाश १३:११-१४। MBND 184.2

थुमाको जस्तो सीङ र अजिङ्गरको जस्तो आवाजको सङ‌्केतद्वारा यो कुरा देखाउँछ कि यसरी प्रकट गरिएको राज्यको प्रतिबद्धता र व्यवहारबीच अचम्मलाग्दो भिन्‍नता छ। देशको “बोली”-चाहिँ त्यसको व्यवस्थापिका र न्यायपालिका अधिकारको कारबाही हो। यस्तो कार्यले ती उदारवादी र शान्तिपूर्ण सिद्धान्तहरूलाई झूटो ठहराउनेछ जुन त्यसको कार्यशैलीको जग स्‍वरूप प्रस्तुत गरेको छ। यसले “अजिङ्गर जस्तै बोल्‍नेछ,” र “पहिलो पशुको सारा अधिकार” चलाउनेछ भन्‍ने अगमवाणीले स्पष्‍टसाथ असहनीयता र सतावटको आत्माको विकास हुने कुरालाई देखाएको छ जुन अजिङ्गर र चितुवा जस्तो पशुद्वारा प्रतिनिधित्‍व गरेका राज्यहरूद्वारा प्रकट भएको थियो। दुई सीङ भएको पशुले “पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो” भन्‍ने भनाइले यस्तो सङ‌्केत गर्दछ कि राज्यको अधिकारले कुनै एक उत्सव लागू गर्नुपर्नेछ जुन पोपतन्‍त्रप्रति श्रद्धाको विधि हुनेछ। MBND 185.1

यस्तो कार्यचाहिँ यस सरकारका सिद्धान्तहरू, यसको स्‍वतन्‍त्र संस्थापनाको असाधारण बौद्धिक शक्ति, र प्रत्यक्ष र गम्भीर स्‍वतन्‍त्रताको घोषणाका प्रतिबद्धताहरू र संविधानको प्रत्यक्ष विपरीत हुनेथियो। सरकारी शक्ति चर्चमा प्रयोग गर्दा निश्‍चय नै असहनशीलता र सतावट हुन्थ्यो त्यसकारण त्यो राज्यका निर्माताहरूले त्यसो नहोस् भनी बुद्धिमतासाथ सुरक्षा गर्ने प्रयास गरे। “कंग्रेस [महासभा]-ले धर्मको स्थापना वा स्‍वतन्‍त्रता निषेधको विषयमा कुनै व्यवस्था बनाउन नपाउने,” र “संयुक्त राज्यको अधीनमा कुनै पनि सार्वजनिक कार्यालयमा योग्यताको लागि धार्मिक अनुसन्धान कहिल्यै पनि आवश्‍‍यक नपर्ने” भनी संविधानमा उल्‍लेख गरेको छ। राज्यको स्‍वतन्‍त्रतामा यी सुरक्षाहरूको निन्दाजनक अपराध गरेर मात्रै सरकारी अधिकारले कुनै पनि धार्मिक विधि-विधान लागू गर्न सक्दछ। तर यस्तो कार्यको अमेलपना सङ‌्केतमा प्रतिनिधित्‍व गरेझैँ हुन्छ। त्यही थुमाको जस्तो सीङ हुने पशुको व्यवहार शुद्ध, भद्र र हानिहीन देखिन्छ, तर त्यो अजिङ्गर जस्तो बोल्दछ। MBND 185.2

“त्यसले पृथ्वीका बासिन्दाहरूलाई … पशुको सम्मानमा एउटा मूर्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो।” यहाँ यस्तो प्रकारको एक सरकार स्पष्‍टसाथ प्रकट गरिएको छ जसमा व्यवस्थापिका शक्ति जनताहरूमा नै निर्भर छ, जो अत्यन्तै स्पष्‍ट प्रमाण हो कि अगमवाणीमा सङ‌्केत गरेको राज्यचाहिँ संयुक्त राज्य नै हो। MBND 185.3

तर “पशुको मूर्ति”-चाहिँ के हो त? र त्यो कसरी बनिनुपर्नेछ त? दुई सीङ भएको पशुद्वारा नै त्यो मूर्ति बनिएको हुन्छ र त्यो पशुको सम्मानमा बनिएको हुन्छ। अनि त्यसलाई पशुको मूर्ति पनि भनिन्छ। मूर्ति कस्तो देखिन्छ र यो कसरी बनिने हो, त्यसको विषयमा सिक्‍नको लागि हामीले पशु अर्थात् पोपतन्‍त्रका चरित्रगुणहरू अध्ययन गर्नैपर्छ। MBND 186.1

जब अघिल्‍लो चर्च सुसमाचारको सामान्यतादेखि टाढा गयो र मूर्तिपूजकका विधिहरू स्‍वीकार गर्नेद्वारा भ्रष्‍ट भयो, तब त्यसले परमेश्‍‍वरको आत्मा र शक्ति गुमायो; र मानिसहरूको विवेक नियन्‍त्रण गर्न त्यसले सरकारी शक्तिको सहयोग लियो। परिणाम स्‍वरूप पोपतन्‍त्र स्थापना भयो, यस्तो चर्च स्थापना भयो जसले राज्यको शक्ति हातमा लियो र त्यो त्यसकै फाइदाका लागि प्रयोग गऱ्यो, विशेष गरी “अपधर्म”-लाई सजाय दिन प्रयोग गऱ्यो। संयुक्त राज्यले पशुको मूर्ति बनाउन धार्मिक शक्तिले निजामती प्रशासनलाई यसरी नियन्‍त्रण गर्नुपर्छ ताकि राज्यको अधिकार चर्चले त्यसको उद्देश्‍‍यहरू हासिल गर्न प्रयोग गर्नेछ। MBND 186.2

जब-जब चर्चले सांसारिक शक्ति प्राप्‍त गरेको हुन्छ, तब-तब त्यसले आफ्‍ना सिद्धान्तहरूमा सहमत नजनाउनेहरूलाई सजाय दिन त्यो प्रयोग गरेको छ। प्रोटेस्टेन्ट चर्चहरू जसले सांसारिक शक्तिहरूसँग मिलाप गर्नेद्वारा रोमको पाइलामा हिँडेका छन् तिनीहरूले पनि त्यसरी नै विवेकको स्‍वतन्‍त्रतालाई बन्देज गर्ने इच्छा प्रकट गरेका छन्। प्रचलित सिद्धान्तमा असहमति हुनेहरूप्रति बेलायतको चर्चद्वारा लामो समयसम्म निरन्तर भएको सतावटचाहिँ यसको एक उदाहरण स्‍वरूप प्रकट गरिएको छ। सोह्रौँ र सत्रौँ शताब्दीहरूभरि सम्झौता नगरिएका हजारौँ प्रचारकहरू तिनीहरूका चर्चहरूबाट भाग्‍न बाध्य भए, र धेरै मानिसहरू र पास्टरहरू दुवैलाई जरिवाना लगाए, जेलमा हाले, यातना दिए र सहिद बनाए। MBND 186.3

पतनको कारणले गर्दा अघिल्‍लो चर्चलाई सांसारिक सरकारमा मद्दत खोज्‍न डोऱ्याइयो, र यसले पोपतन्‍त्र अर्थात् पशुको विकासको मार्ग तयार पाऱ्यो। पावल भन्छन्: “विद्रोह” आउनेछ, “पापको मानिस” प्रकट हुनेछ। २ थेसलोनिकी २:३। त्यसकारण चर्चमा भएको पतनले पशुको मूर्तिको मार्ग तयार पार्नेछ। MBND 187.1

बाइबल घोषणा गर्छ कि परमप्रभुको आगमनभन्दा अगाड़ि प्रथम शताब्दीहरूमा भएको धार्मिक पतनको जस्तै अवस्था आउनेछ। “आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्। किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, स्‍वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्‍वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्‍‍वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्‍‍वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्।” २ तिमोथी ३:१-५। “पवित्र आत्मा प्रष्‍टै भन्‍नुहुन्छ, कि पछि आउने समयमा छली आत्मा र भूतप्रेतका सिद्धान्ततिर मन लाएर कोही विश्‍‍वासबाट तर्किजोनछन्।” १ तिमोथी ४:१। “सारा शक्ति र छलपूर्ण चिन्हहरू र चमत्कारसहित, र नाश हुनेहरूलाई छलमा पार्न समस्त दुष्‍टतासहित” शैतानले काम गर्नेछ। “सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्‍न इन्कार” गर्ने सबै जना “शक्तिशाली भ्रम” स्‍वीकार गर्न र “झूटा कुरामा विश्‍‍वास” गर्न छोडिनेछन्। २ थेसलोनिकी २:९-११। जब यो राज्य भक्तिहीनताको अवस्थामा पुग्‍नेछ, तब प्रथम शताब्दीहरूमा झैँ त्यस्तै परिणामहरू हुनेछन्। MBND 187.2

प्रोटेस्टेन्ट चर्चहरूमा भएको विभिन्‍न विश्‍‍वासले गर्दा जबरजस्ती ल्याउन खोजेको एकता कहिल्यै हुन सक्दैन भन्‍ने धेरै जनाले यसलाई ठोस प्रमाणको रूपमा ठानेका छन्। धेरै वर्षदेखि प्रोटेस्टेन्ट विश्‍‍वासका चर्चहरूमा एक बलियो र विकसित धारणा छ जुन सिद्धान्तका सर्वमान्य बुँदाहरूको आधारमा एकतामा आउने कुरा नै हो। यस्तो संयुक्तता हासिल गर्न बाइबलको दृष्‍टिकोणबाट ती जति नै महत्‍वपूर्ण भए पनि सबै जना सहमति नभएका विषयवस्तुहरूको छलफल त्याग गर्नु अनिवार्य हुन्छ। MBND 187.3

चारल्स बिचरले १८४६ सालमा एउटा प्रवचनमा घोषणा गरे कि “सुसमाचार प्रचार गर्ने प्रोटेस्टेन्ट संस्थाहरू”-को सेवाकार्यचाहिँ “केवल मानवीय डरको भयङ‌्कर दबाबले मात्रै सृजना भएको होइन, र जुन कुराहरूका आधारभूत कुराहरू भ्रष्‍ट छन् त्यसमा नै तिनीहरू बस्छन्, हिँड्‌डुल गर्छन् र सास फेर्छन्, र प्रत्येक घड़ीमा तिनीहरूले सत्यतालाई शान्त पार्न आफ्‍नो स्‍वभावका प्रत्येक नीच तत्त्‍वहरूलाई आह्वान गर्छन्, त्यसरी पतनको शक्तिमा तिनीहरू घुँडा टेक्छन्। रोमले पनि यस्तै गरेन र? हामी फेरि त्यसको जीवन जिएका छैनौं र? अनि अलिक अगाड़ि हामी के देख्‍छौं? अर्को साधारण सभा! संसारको सभा! सुसमाचार प्रचारको मिलाप, र विश्‍‍वव्यापी मत!” —Sermon on “The Bible a Sufficient Creed,” delivered at Fort Wayne, Indiana, Feb. 22, 1846. जब यो हासिल हुनेछ तब पूर्ण एकता प्राप्‍त गर्ने प्रयत्‍नमा शक्ति परिचालन गर्न एक पाइला मात्र बाँकी हुनेछ। MBND 187.4

संयुक्त राज्यका मुख्य चर्चहरू तिनीहरूका सर्वमान्य सिद्धान्तका यस्ता बुँदाहरूमाथि सामान्यरूपमा तिनीहरू एकतामा आउँछन्, र तिनीहरूले राज्यलाई यसरी प्रभाव पार्नेछन् कि तिनीहरूका आदेशहरू लागू गर्न र तिनीहरूका संस्थाहरू परिचालन गर्न प्रभावित पार्नेछन्, त्यसपछि प्रोटेस्टेन्ट अमेरिकाले रोमन पुरोहित शासनको एउटा मूर्ति बनाएको हुनेछ, र परिणाम स्‍वरूप मत नमिल्‍नेहरूलाई सरकारी सजायहरूको कष्‍ट अनिवार्य हुनेछ। MBND 188.1

दुई सीङ भएको पशुले “साना र ठूला, धनी र गरिब, स्‍वतन्‍त्र र कमाराहरू सबैलाई तिनीहरूको दाहिने हातमा अथवा तिनीहरूका निधारहरूमा एउटा निशान लिन लगाउँछ [आज्ञा दिन्छ], अनि जससँग त्यो निशान, त्यस पशुको नाम वा त्यसको नामको संख्या छ, योबाहेक अरू कसैले पनि किन्‍न वा बेच्‍न नपाउने गराउँछ।” प्रकाश १३:१६, १७ (KJV)। तेस्रो स्‍वर्गदूतको चेतावनी यस्तो छ: “यदि कुनै मानिसले त्यो पशु र त्यसको मूर्तिलाई पुज्यो र निधार वा हातमा त्यसको छाप लियो भने, त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्‍‍वरका क्रोधको कडा मद्य पिउनेछ।” यस सन्देशमा भनिएको “त्यो पशु”-चाहिँ त्यही पहिलो पशु अर्थात् प्रकाश १३मा भएको चितुवा जस्तो पशु हो, जो पोपतन्‍त्र हो र त्यसकै आराधना त्यो दुई सीङे पशुले लागू गर्छ। “पशुको मूर्ति”-ले त्यो प्रकारको पतित प्रोटेस्टेन्ट धर्मलाई प्रतिनिधित्‍व गर्दछ; जब प्रोटेस्टेन्ट चर्चहरूले तिनीहरूका सिद्धान्तहरूलाई लागू गर्न सरकारी शक्तिको मद्दत खोज्‍नेछ तब त्यो मूर्ति निर्माण हुनेछ। “पशुको छाप” अझै पनि वर्णन गर्न बाँकी नै रहन्छ। MBND 188.2

पशु र त्यसको मूर्तिलाई सेवा गर्नेहरूको विरुद्ध चेतावनी गरेपश्‍चात् त्यो अगमवाणी घोषणा गर्छ: “परमेश्‍‍वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्‍‍वास” राख्‍नेहरू यी नै हुन्। परमेश्‍‍वरको आज्ञा पालन गर्नेहरू यसरी पशु र त्यसको मूर्तिको सेवा गर्नेहरू र त्यसको छाप स्‍वीकार गर्नेहरूको विपक्षमा देखाइएको कारणले यस्तो बुझिन्छ कि एकापट्टिमा परमेश्‍‍वरको व्यवस्थाको पालन र अर्कोपट्टिमा त्यसको उल्‍लङ्‌घनले नै परमेश्‍‍वरका आराधकहरू र पशुका आराधकहरूको बीचमा भिन्‍नता जनाउनेछ। MBND 188.3

पशु साथै त्यसका मूर्तिको विशेष चरित्रगुणचाहिँ परमेश्‍‍वरका आज्ञाहरू भङ्ग गर्ने नै हो। दानिएलले सानो सीङ अर्थात् पोपतन्‍त्रको विषयमा भन्छन्: “उसले ... ठहऱ्याइएका समय र व्यवस्थाहरू फेर्न प्रयत्‍न गर्नेछ।” दानिएल ७:२५। पावलले त्यही शक्तिलाई “पापको मानिस” भनी उपनाम दिए, जसले आफैलाई परमेश्‍‍वरभन्दा उच्‍च पार्नुपर्नेथियो। एउटा अगमवाणी अर्कोको पूरकतत्त्‍व हो। परमेश्‍‍वरको व्यवस्था परिवर्तन गरेर मात्र पोपतन्‍त्रले आफैलाई परमेश्‍‍वरभन्दा उच्‍च पार्न सक्थ्यो; जो कोहीले पनि जानीबुझीकन यसरी परिवर्तन भएको व्यवस्थालाई पालन गर्छ त्यसले त्यो परिवर्तन गर्ने शक्तिलाई सर्वोच्‍च आदर दिएको हुन्छ। पोपतन्‍त्रको व्यवस्थाहरूप्रति यस्तो आज्ञाकारी व्यवहारले परमेश्‍‍वरलाई दिनुपर्ने बफादारिता पोपलाई दिएको चिन्ह हुनेछ। MBND 189.1

पोपतन्‍त्रले परमेश्‍‍वरको व्यवस्थालाई फेर्न प्रयास गऱ्यो। मूर्तिपूजा निषेध गर्ने दोस्रो आज्ञालाई व्यवस्थाबाट हटाइएको छ, र चौथो आज्ञा यस्तो तरिकाले परिवर्तन गरेको छ कि सातौँ दिन शबाथको सट्टामा पहिलो दिन मान्‍ने अधिकार दिएको छ। तर पोपतान्‍त्रीहरू दोस्रो आज्ञा मेटाउने कारण स्‍वरूप यसरी तर्क गर्छन् कि त्यो पहिलो आज्ञामै समावेश छ र यसमा राख्‍न आवश्‍‍यक छैन, र परमेश्‍‍वरको रचनाअनुसार बुझ्‍ने गरी ठ्याक्‍कै त्यस्तै व्यवस्था प्रस्तुत गरेका छन्। योचाहिँ अगमवक्ताले पूर्ववाणी गरेको परिवर्तन हुनै सक्दैन। यहाँ जानीबुझी परिवर्तन गर्ने भन्‍ने कुरा प्रकट गरिएको छ: त्यसले “ठहऱ्याइएका समय र व्यवस्थाहरू फेर्न प्रयत्‍न गर्नेछ।” चौथो आज्ञाको परिवर्तनले अगमवाणी ठ्याक्‍कै पूरा गर्दछ। यसको लागि दाबी गरेको अधिकारचाहिँ केवल चर्चबाट भएको अधिकार मात्र हो। यहाँ पोपतन्‍त्रको शक्तिले आफैलाई खुल्‍लमखुल्‍ला परमेश्‍‍वरभन्दा माथि राख्दछ। MBND 189.2

जब परमेश्‍‍वरका आराधकहरू चौथो आज्ञा पालन गरेको कारणले विशेष गरी चिनिनेछन्—किनकि यो उहाँको सृजनात्मक शक्तिको चिन्ह र मानिसप्रति उहाँले दाबी गर्नुभएको श्रद्धा र सम्मानको गवाही हो—तब पशुका आराधकहरू सृष्‍टिकर्ताको स्मरणलाई नष्‍ट पार्ने, रोमको विधिलाई उचाल्‍ने प्रयासद्वारा चिनिनेछन्। पोपतन्‍त्रले अहङ्कारीसाथ गरेको पहिलो दाबीहरूचाहिँ आइतबारको पक्षमा पुष्‍टि गऱ्यो (एपेण्डिक्समा हेर्नुहोस्); र यसले राज्यका शक्तिको प्रयोग गरेको पहिलो पल्टचाहिँ आइतबारलाई “प्रभुका दिन”-को रूपमा पालन गराउन बाध्य तुल्याउनेमा थियो। तर बाइबलले प्रभुको दिन भनी पहिलो दिनलाई होइन तर सातौँ दिनलाई देखाउँछ। ख्रीष्‍टले भन्‍नुभयो: “यसैकारण मानिसको पुत्र शबाथ-दिनको पनि प्रभु हो।” चौथो आज्ञा घोषणा गर्दछ: “तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍‍वरको निम्ति शबाथ-दिन हो।” अनि यशैया अगमवक्ताद्वारा परमप्रभु देखाउनुहुन्छ: “मेरो पवित्र दिन।” मर्कूस २:२८; यशैया ५८:१३। MBND 189.3

ख्रीष्‍टले शबाथ परिवर्तन गर्नुभयो भनी बारम्बार दाबी गरे तापनि उहाँका आफ्‍नै शब्दहरूले असहमत जनाउँछन्। उहाँको डाँड़ाको उपदेशमा उहाँले भन्‍नुभयो: “व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ। किनभने साँच्‍चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्‍वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्‍नेछैन। यसैकारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्‍लङ्घन गर्ला, र मानिसहरूलाई त्यसै गर्न सिकाउला, स्‍वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्यमा त्यो ठूलो कहलाइनेछ।” मत्ती ५:१७-१९। MBND 190.1

यो यस्तो वास्तविकता हो कि शबाथ परिवर्तनमा धर्मशास्‍‍त्रले कुनै अधिकार दिएको छैन भनी प्रोटेस्टेन्टहरूद्वारा सहमती भएको छ। अमेरिकन ट्रयाक्ट सोसाइटी र अमेरिकन सण्डे स्कुल युनियन प्रकाशनमा स्पष्‍ट यो कुरा व्यक्त गरिएको थियो। “यो शबाथ [आइतबार, हप्‍ताको पहिलो दिन] वा यसको पालनको विषयमा स्थिर नियमहरूको विषयमा नयाँ करारले कुनै पनि ठ्याक्‍कै आज्ञा दिएको छैन,” भनी यी प्रकाशनहरूमध्ये एउटाले स्‍वीकार गर्दछ। —George Elliott, The Abiding Sabbath, page 184. MBND 191.1

अर्कोले भन्छ: “ख्रीष्‍टको मृत्यु भएको समयसम्म दिनमा केही परिवर्तन गरेको थिएन,” र “अभिलेखअनुसार तिनीहरूले [प्रेरितहरू] सातौँ दिन शबाथलाई त्याग्‍नु र त्यसको पालना हप्‍ताको पहिलो दिनमा गर्नु भन्‍ने कुनै निश्‍चित आज्ञा दिएका थिएनन्।” —A. E. Waffle, The Lord’s Day, pages 186-188. MBND 191.2

रोमन क्‍याथोलिकहरूले स्‍वीकार गर्छन् कि शबाथ फेर्ने काम तिनीहरूको चर्चबाट भएको हो, र यसरी घोषणा गर्छन् कि प्रोटेस्टेन्टहरूले आइतबार पालन गर्नेद्वारा त्यसका शक्तिको मान्यता गर्दछन्। इसाई धर्मको क्‍याथोलिक क्‍याटिकिजममा चौथो आज्ञामा आज्ञाकारी भई पालन गर्नुपर्ने दिनको विषयमा भएको एउटा प्रश्‍नको उत्तरमा यो वाक्‍य बोलिएको छ: “प्राचीन व्यवस्थाको समय अवधिमा पवित्र पारिएको दिनचाहिँ शनिबार नै थियो; तर चर्चले येशू ख्रीष्‍टद्वारा शिक्षा पाएर परमेश्‍‍वरको पवित्र आत्माद्वारा अगुवाइ भईकन शनिबारको सट्टामा आइतबार राखेको छ; त्यसकारण अहिले हामीले पहिलो दिनलाई पवित्र पारेका छौं, तर सातौँ दिनचाहिँ होइन। अहिले आइतबारको अर्थ प्रभुको दिन हो।” MBND 191.3

क्‍याथोलिक चर्चको अधिकारको चिन्हको रूपमा पोपतन्‍त्रका लेखकहरूले “त्यही शबाथलाई आइतबारमा परिवर्तन भएको कार्य” लेख्‍छन्, “जसमा प्रोटेस्टेन्टहरू पनि सहमत छन्, … किनकि आइतबार पालन गर्नेद्वारा चाड़पर्वहरू ठहऱ्याउने र पालन नगरेमा पाप हुन्छ भन्‍ने डर देखाएर ती लागु गर्न चर्चको अधिकार तिनीहरूले स्‍वीकार गर्दछन्।” —Henry Tuberville, An Abridgment of the Christian Doctrine, page 58. त्यसो भए शबाथ परिवर्तनचाहिँ के हो? यो रोमी चर्चको अधिकारको चिन्ह अर्थात् “पशुको छाप” मात्र होइन त? MBND 191.4

रोमी चर्चले त्यसका सर्वोच्‍चताको दाबीलाई छोडेको छैन; जब संसार र प्रोटेस्टेन्ट चर्चहरूले त्यसको शबाथलाई स्‍वीकार गर्दछन् र बाइबलको शबाथलाई इन्कार गर्दछन्, तिनीहरूले वास्तवमा त्यो दाबी स्‍वीकार गर्छन्। तिनीहरूले परम्परा र पुर्खाहरूको अधिकारद्वारा परिवर्तनको दाबी गर्न सक्छ; तर त्यसो गर्नाले रोमबाट विभाजन गर्ने सिद्धान्तलाई नै तिनीहरू बेवास्ता गर्छन्—“प्रोटेस्टेन्टहरूको धर्मचाहिँ बाइबल र बाइबल मात्र” थियो। पोपतन्‍त्रलाई थाहा छ कि तिनीहरूले जानी-जानी प्रकट भएको सत्यताप्रति आँखा बन्द गरेर आफूलाई छलिरहेका छन्। जब आइतबार लागू हुने अभियान मान्य हुन्छ, तब बिस्तारै सम्पूर्ण प्रोटेस्टेन्ट संसार रोमको झण्डामुनि आउने भरोसाको महसुसले त्यो आनन्दित हुन्छ। MBND 192.1

रोमीहरू घोषणा गर्छन् कि “प्रोटेस्टेन्टहरूले आइतबार पालन गरेर आफ्‍नो विरुद्धमा भए पनि चर्च [क्‍याथोलिक]-को अधिकारलाई श्रद्धा गरेका छन्।” —Mgr. Ségur, Plain Talk About the Protestantism of Today, page 213. प्रोटेस्टेन्ट चर्चहरूले आइतबार पुनः लागू गर्दा पोपतन्‍त्र अर्थात् पशुको पूजा पुनः कार्यान्वयन गरेको हो। जसले चौथो आज्ञाका दाबीहरू बुझेर पनि सत्य शबाथको सट्टामा झूटोलाई पालन गर्ने निर्णय गर्छन् जुन शक्तिद्वारा मात्र यो आज्ञा गरिएको छ तिनीहरूले त्यसैलाई मान्यता दिएका हुन्छन्। तर धार्मिक विधिहरू सांसारिक शक्तिद्वारा लागू गरेर नै ती चर्चहरू आफैले पशुको निम्ति मूर्ति बनाउनेछन्; यसरी संयुक्त राज्यमा भएको आइतबार पालन गर्ने दबाब नै पशु र त्यसको मूर्तिको सेवालाई दबाब गर्नु हो। MBND 192.2

तर विगत युगहरूका इसाईहरूले आइतबार नै पालन गरे, किनकि तिनीहरूले यसो गर्दा बाइबलको शबाथ नै पालन गरेको भन्ठाने; र रोमन क्‍याथोलिक समाजसहित प्रत्येक चर्चहरूमा अब सत्य इसाईहरू छन्, जसले इमान्दारसाथ विश्‍‍वास गर्छन् कि आइतबारचाहिँ ईश्‍‍वरले नियुक्त गर्नुभएको शबाथ हो। परमेश्‍‍वरले तिनीहरूका अभिप्रायको इमान्दारीता र उहाँको सामुन्‍ने भएको निष्कपटता स्‍वीकार गर्नुहुन्छ। तर जब व्यवस्थाद्वारा आइतबार पालन लागू गरिनेछ, र सत्य शबाथको कर्तव्यको विषयमा संसार उज्‍ज्‍वल पारिनेछ, त्यसपछि ज-जसले रोमको अधिकारको विधानलाई पालन गर्न परमेश्‍‍वरको आज्ञालाई भङ्ग गर्छन्, तिनीहरूले त्यसद्वारा परमेश्‍‍वरलाई भन्दा पोपतन्‍त्रलाई उच्‍च आदर दिनेछ। त्यसले रोम र त्यो शक्तिलाई आदर दिइरहेको हुन्छ जसले रोमद्वारा आयोजित विधिलाई लागू गर्दछ। त्यसले पशु र त्यसको मूर्तिलाई पूजा गरिरहेको हुन्छ। जब मानिसहरूले त्यस बेला यस्तो नियम इन्कार गर्छन् जुन परमेश्‍‍वरले आफ्‍नो अधिकारको चिन्ह स्‍वरूप घोषणा गर्नुभएको छ, र यसको सट्टामा जुन रोमले त्यसको सर्वोच्‍चताको चिन्ह स्‍वरूप चुनेको छ त्यसलाई नै आदर गर्छन्, तब तिनीहरूको रोमप्रति गरिएको बफादारिताको चिन्हचाहिँ “पशुको छाप”-लाई स्‍वीकार गर्नेछन्। अनि यसरी मानिसहरूको सामुन्‍ने त्यो विषयवस्तु स्पष्‍ट प्रस्तुत गरेपछि, र तिनीहरूले परमेश्‍‍वरका आज्ञाहरू र मानिसहरूका आज्ञाहरूको बीचमा निर्णय गर्नुपरेपछि मात्र जसले व्यवस्था भङ्ग गरी नै रहन्छ त्यसले “पशुको छाप” लगाउनेछ। MBND 192.3

मरणशील प्राणीहरूलाई कहिल्यै नबताएको डरलाग्दो चेतावनीचाहिँ तेस्रो स्‍वर्गदूतको सन्देशमा पाइन्छ। त्यो अति नै भयङ‌्कर पाप हुनुपर्छ जसले कृपासँग नमिसाएका परमेश्‍‍वरको क्रोध ल्याउनेछ। यो महत्‍वपूर्ण विषयवस्तुको सन्दर्भमा मानिसहरू अँध्यारोमा छोडिनुहुँदैन; परमेश्‍‍वरका न्यायहरू आइपर्न अघि नै यो पापको विरुद्ध संसारलाई चेतावनी दिनैपर्छ, ताकि ती न्यायहरू किन दिइन्छ सो सबै जान्‍न सकून् र तीबाट उम्कने मौका पाउन सकून्। अगमवाणी घोषणा गर्छ कि पहिलो स्‍वर्गदूतले “हरेक जाति, कुल, भाषा र मानिसहरू”-लाई आफ्‍नो सूचना घोषणा गर्नेछ। तेस्रो स्‍वर्गदूतको चेतावनी जुन त्यही तीन गुणा सन्देशको एक अंश हो, त्यसलाई पनि विश्‍‍वव्यापीरूपमा प्रचार गर्नुपर्नेछ। अगमवाणीमा चर्को स्‍वरले मध्य आकाशमा उड़िरहेको स्‍वर्गदूतद्वारा त्यो घोषित भएको भनी चित्रण गरेको छ; र यसले संसारको ध्यानाकर्षण गर्ने नै छ। MBND 193.1

यो सङ‌्घर्षको विषयमा सम्पूर्ण इसाईजगत् परमेश्‍‍वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्‍‍वास राख्‍ने, र पशु र त्यसको मूर्तिलाई सेवा गर्ने र त्यसको छाप लिने गरी दुई वटा ठूलो समूहहरूमा विभाजित हुनेछ। चर्च र राज्यले “साना र ठूला, धनी र गरीब, फुक्‍का र कमारा” सबैलाई “पशुको छाप” लिन बाध्य तुल्याउन तिनीहरूका शक्ति समायोजित गरे तापनि परमेश्‍‍वरका मानिसहरूले यो स्‍वीकार गर्नेछैनन्। (प्रकाश १३:१६)। पत्मोसको अगमवक्ता देख्‍छन् “त्यो पशु, त्यसको मूर्ति, त्यसको निशान र त्यसको नामको संख्यामाथि विजय पाउनेहरूलाई परमेश्‍‍वरका वीणाहरू लिएर त्यस काँचको समुद्रमाथि उभिरहेका” थिए र तिनीहरूले मोशा र थुमाको भजन गाए। प्रकाश १५:२, ३ (KJV)। MBND 194.1