महान् विवाद अन्धकारदेखि ज्योतिमा

13/18

११ — राजकुमारहरूको प्रतिरोध

(अंग्रेजी पुस्तक अध्याय ११ पृष्‍ठ १९७)

१५२९को स्पायर्सको परिषद्‍मा जर्मनीका इसाई राजकुमारहरूले प्रस्तुत गरेको विरोध नै सुधार-कार्यमा भएको गवाहीहरूमध्ये एक उच्‍च गवाही थियो । ती परमेश्‍‍वरका मानिसहरूको साहस, विश्‍‍वास र दृढताले आगामी युगहरूका लागि विवेक र सोच-विचारको स्‍वतन्‍‍त्रता प्रदान गऱ्यो । तिनीहरूको प्रतिरोधले गर्दा सुधारिएको चर्चलाई प्रोटेस्टेन्ट नाम प्रदान गरियो; यसका सिद्धान्तहरू नै “प्रोटेस्टेन्ट धर्मको सार” हुन् । —D’Aubigné, b. 13, ch. 6. MBAJ 207.1

सुधार कार्यको लागि एउटा अँध्यारो र डरलाग्दो समय आएको थियो । वोर्मसको आदेशले लुथर र तिनका सिद्धान्तहरूको शिक्षा वा विश्‍‍वासलाई बहिष्कार र निषेधित घोषणा गरेतापनि साम्राज्यमा धार्मिक सहनशीलता यतिसम्म रहेको थियो । परमेश्‍‍वरको कृपाले सत्यताका विरोधीहरूलाई थामीराख्‍नु भएको थियो । चारल्स पाँचौँ सुधार-कार्यलाई नष्‍ट पार्ने निर्णयसाथ लागी परे, तर जति पल्ट तिनले आक्रमण गर्न हात उठाए त्यति नै पल्ट सो हटाउन विवश भए । जसले रोमको विरोधमा उठ्‍ने आँट गर्थे तिनीहरू सबैमा पटक-पटक तत्कालीन अकाट्य विनाश आएको जस्तै देखिन्थ्यो; तर यस्तो सङ्कष्‍टको घडीमा टर्कीका सिपाहीहरू पूर्वको सीमानामा देखा पर्थे, वा फ्रान्सको राजा अथवा पोप आफै सम्राटको महानताको विकासमा डाह गरेर तिनीसँग लड़ाइँ गर्न आउथे; यसरी राज्यहरूको लड़ाइँ र हुलदङ्गाको माझमा पनि सुधार-कार्यले सुदृढ बन्‍ने र फैलिने अवसर पायो । MBAJ 207.2

जेभएपनि अन्तिममा पोपतन्‍‍त्रका शासकहरूले तिनीहरूको झगड़ा रोके, ताकि तिनीहरू मिलेर सुधारकहरूको विरोधमा काम गर्न सकून् । १५२६को स्पायर्सको परिषद्‍ले प्रत्येक राज्यलाई साधारण परिषद् नभएसम्म धर्मका विषयहरूमा पूर्ण स्‍वतन्‍‍त्रता दिएको थियो; तर चाँडै नै यो दाबीलाई रक्षा गर्न खतराहरू आउन थाल्यो, त्यसपछि सम्राटले झूट नष्‍ट पार्ने उद्देश्‍‍यले १५२९मा स्पायर्समा दोस्रो परिषद् बोलाएका थिए । राजकुमारहरूलाई सम्भव भएसम्म शान्तिपूर्ण ढंगले सुधार-कार्यप्रति विरोधी बन्‍न अभिप्रेरित गर्नुपर्ने थियो; तर यदि यो प्रयास असफल भए चारल्स तरवार चलाउन पनि तयार भएका थिए । MBAJ 207.3

पोपका समर्थकहरू हर्षित भए । स्पायर्समा तिनीहरू भीषण सङ्ख्यामा भेला भए, तिनीहरूले सुधारकहरू र त्यसका सम्पूर्ण समर्थकहरूप्रति प्रत्यक्ष शत्रुता प्रकट गरे । मलेङ्‍थनले भने: “हामी संसारका घृणित थोक र कसिङ्गरहरू हौं; तर ख्रीष्‍टले उहाँका दरिद्र मानिसहरूमाथि तल हेर्नुहुन्छ, र बचाउनुहुनेछ ।” —D’Aubigné, b. 13, ch. 5. परिषद्‍मा उपस्थित सुसमाचारमा विश्‍‍वास गर्ने राजकुमारहरूलाई तिनीहरूका निवासहरूमा पनि सुसमाचार प्रचार गराउन निषेध गरिएको थियो । तर स्पायर्सका मानिसहरू परमेश्‍‍वरको वचनको निम्ति तिर्खाएका थिए, निषेधित अवस्थामा नै भएतापनि स्याक्सनीको मुख्यमन्‍‍त्रीको सानो चर्चमा भएको सेवामा हजारौँ मानिसहरू ओइरिए । MBAJ 208.1

यसले चाँडै नै सङ्कष्‍ट निम्त्यायो । एक साम्राज्यवादी सन्देश परिषद्‍मा घोषणा भयो कि विवेकको स्‍वतन्‍‍त्रताको पक्षमा निर्णय गर्दा व्यवस्थापनमा बडो हलचल भयो, सम्राटले यसलाई रद्द गर्नै पर्ने कुरा बताए । यो मनोमानी कार्यले बाइबलमा विश्‍‍वास गर्ने इसाईहरूमा रिस र सचेतना जगायो । एक जनाले भने: “ख्रीष्‍ट फेरि कैयाफास र पिलातुसको हातमा पर्नुभएको छ ।” रोमका मानिसहरू अझै क्रोधित भए । पोपको एक कट्टर समर्थकले घोषणा गरे: “टर्कहरू लुथरेनहरूभन्दा असल छन्; किनभने टर्कहरूले उपवासका दिनहरू पालन गर्छन्, तर लुथरेनहरूले त्यसलाई भङ्ग गर्छन् । यदि हामीले परमेश्‍‍वरको पवित्र शास्‍‍त्र र चर्चको पुराना झूटहरूको बीचमा छनोट गर्नुपर्दा हामीले अघिल्‍लोलाई इन्कार गर्नैपर्छ ।” मलेङ्‍थनले भने: “प्रत्येक दिन पूरा सभामा हामी सुसमाचार प्रचारकहरूलाई फेवरले अपमान गर्ने गर्छ ।” —D’Aubigné, b. 13, ch. 5. MBAJ 208.2

धार्मिक स्‍वतन्‍‍त्रता कानूनीरूपमा स्थापना भएको थियो र बाइबलमा विश्‍‍वास गर्ने राज्यहरूले तिनीहरूको अधिकारको अतिक्रमणप्रति विरोध गर्ने निर्णय गरे । लुथर अझै पनि वर्मसको अध्यादेशद्वारा बहिष्कृत अवस्थामा नै भएको कारणले तिनलाई स्पायर्समा उपस्थित हुने अनुमति थिएन; तर तिनका स्थान तिनका सहकर्मीहरू र यस आकस्मिक समयमा तिनको कार्य प्रतिरक्षा गर्न परमेश्‍‍वरले उठाउनु भएका अधिकारीहरूले लिए । लुथरको अघिल्‍लो रक्षक स्याक्सनीका भद्र फेद्रिकको निधन भएको थियो; तर तिनको उत्तराधिकारी भाइ डूक जोनले सुधार-कार्यलाई हर्षसाथ स्‍वागत गरेका थिए, र शान्ति-प्रेमी भएता पनि तिनले विश्‍‍वाससँग सम्बन्धित सबै प्रसङ्गहरूमा बडो शक्ति र साहस प्रस्तुत गरे । MBAJ 209.1

पूजाहारीहरूले यो माग राखे कि सुधार-कार्यलाई स्‍वीकार गर्ने राज्यहरूले पूर्णरूपले रोमको अधिकारमा अर्पण गर्नुपर्छ । अर्कोतिर सुधारकहरूले पहिले नै प्रदान गरिएको स्‍वतन्‍‍त्रता दाबी गरिरहेका थिए । परमेश्‍‍वरको वचनलाई अति आनन्दसाथ स्‍वीकार गरेका राज्यहरूले फेरि रोमको अधिकारमा रहन सहमत हुन सक्दैनथे । MBAJ 209.2

जहाँ सुधार-कार्य भइसकेको थिएन अन्तमा त्यहाँ एक सम्झौता स्‍वरूप यस्तो प्रस्ताव राखियो कि वोर्मसको अध्यादेश कठोरतासाथ लागु गर्नुपर्छ; र “जहाँ मानिसहरू त्यसबाट भड्‍केर गएका थिए, तिनीहरू विद्रोहको खतराविना परिवर्तन हुन सक्दैन भने पनि कम्तीमा तिनीहरूले अरू कुनै पनि सुधार गर्नु हुँदैन, तिनीहरूले कुनै पनि विवादयुक्त प्रसङ्गहरू उठाउनु हुँदैन, तिनीहरूले मासको उत्सवलाई विरोध गर्नु हुँदैन, तिनीहरूले लुथरका शिक्षाहरूमा कुनै पनि रोमन क्‍याथोलिकलाई अपनाउने अनुमति दिनु हुँदैन ।” —D’Aubigné, b. 13, ch. 5. पोपतन्‍‍त्रका पूजाहारीहरू र अधिकारीहरू अति नै सन्तुष्‍ट भए किनकि त्यो नियम परिषद्‍ले पारित गऱ्यो । MBAJ 209.3

यदि यो अध्यादेश लागु भएको भए “सुधार-कार्य अझै अन्‍जान ठाउँहरूमा न फैलिन सक्थ्यो, नता अटल जगहरूमा नै स्थापित हुन सक्थ्यो जहाँ अस्तित्‍वमा आइसकेको थियो ।” —D’Aubigné, b. 13, ch. 5. बोलीको स्‍वतन्‍‍त्रता निषेध हुनेथियो । कसैलाई परिवर्तन गर्न सकिदैनथ्यो । सुधार-कार्यका साथीहरूले यी प्रतिबन्धता र बन्देजमा तुरुन्तै समर्पण गर्न अनिवार्य थियो । संसारका आशाहरू निभ्‍नै लागेको जस्तो देखिन्थ्यो । “रोमीको पुरोहित शासनको पुनः स्थापनाले ... प्राचीन अत्याचारहरूलाई ल्याउने निश्‍चित थियो;” यो कट्टरता र मतभेदले “हिंसापूर्ण तरिकाले हल्‍लिएको कामले पूर्ण विनाश गर्ने” मौकाहरू सजिलै पाउनेथियो । —D’Aubigné, b. 13, ch. 5. MBAJ 209.4

जब बाइबलमा विश्‍‍वास गर्ने समूह परामर्शको लागि भेला भए तब हताश भएर तिनीहरूले एक-अर्कोलाई हेरे । एक-अर्कोलाई प्रश्‍न सोधासोध गरे: “के गर्नुपर्ने हो ?” संसारको शक्तिशाली विषयहरू खतरामा थिए । “सुधारका प्रधानहरूले समर्पण गरेर अध्यादेशलाई स्‍वीकार गर्नेछन् त ? वास्तवमै यति भयंकर सङ्कटमा कति सजिलै सुधारकहरू आफैले गलत कार्यमा विवाद गर्न सक्थे ! तिनीहरूले समर्पण गर्नको लागि कति ओटा ठीकै लाग्‍ने निउहरू र उचित कारणहरू थिए ! लुथरका शिक्षाका अधिकारीहरूलाई धर्मको स्‍वतन्‍‍त्रता सुनिश्‍चित गरिएको थियो । जसले ती बुँदाहरू जाहेर हुनुभन्दा अगाडि सुधारका शिक्षाहरू अपनाएका थिए तिनीहरूको सम्पूर्ण जनताहरूलाई पनि एउटै बरदान हस्तान्तरण गरिएको थियो । के तिनीहरूलाई यसले नै सन्तुष्‍ट पार्नुपर्दैनथ्यो र ? समर्पण गरेर कति ओटा जोखिमबाट जोगाउँछ ! कुन अन्‍जान आपत्हरू र संघर्षहरूमा विरोधले तिनीहरूलाई आरम्भ गराउँछ ! भविष्यमा कस्तो मौका आउन सक्छ कसलाई थाहा छ ? अब हामी शान्ति नै अपनाऔं; रोमले पसारेका जैतुनको हाँगालाई पक्रौं र जर्मनीका घाऊहरूलाई निको पारौं । यस्ता विवादहरूले सुधारकहरूले अपनाएको क्रियाकलापलाई उचित ठहराउन सक्थे जसले थोरै समयपछि निश्‍चय नै तिनीहरूको काम पराजित हुनेथियो । MBAJ 210.1

“तिनीहरूले यो व्यवस्थापनमा आधारित सिद्धान्तलाई खुशीसाथ हेरे र तिनीहरू विश्‍‍वासद्वारा अगाडि बढे । त्यो सिद्धान्त के थियो ? योचाहिँ विवेकलाई दबाउनु र अनुसन्धानको स्‍वतन्‍‍त्रतालाई निषेध गर्ने रोमको अधिकार थियो । तर के तिनीहरू आफै र तिनीहरूको प्रोटेस्टेन्ट जनताहरूले धर्मको स्‍वतन्‍‍त्रता पाउनुपर्ने थिएन र ? हो, विशेषगरी व्यवस्थापनमा कृपा स्‍वरूप दिइएको थियो, तर अधिकारको रूपमा होइन । त्यो व्यवस्थापनभन्दा बाहिरका सबै मानिसहरूलाई अधिकारको महान् सिद्धान्तले शासन गर्नुपर्ने थियो; विवेकचाहिँ सोच बाहिरको कुरा हो; रोमचाहिँ अचूक न्यायाधीश थियो र त्यसका आज्ञा पालन गर्नैपर्छ । यो प्रस्तावित व्यवस्थापनको स्‍वीकारचाहिँ वास्तवमा समर्पण हुनेथियो कि धर्म स्‍वतन्‍‍त्रतालाई सुधार-कार्य स्‍वीकार गरिएको स्याक्सनीमा सीमित राख्‍नुपर्ने थियो; अरू सम्पूर्ण इसाईजगतको सम्बन्धमा चाहिँ सुधार विश्‍‍वासको विषयमा स्‍वतन्‍‍त्र अनुसन्धान र त्यसलाई अपनाउनु जस्ता कुराहरूचाहिँ अपराध ठहरिन्थे; त्यस्तोलाई कालकोठरी वा जलाउने तखतामा सजाय दिनुपर्दथ्यो । के तिनीहरू धार्मिक स्‍वतन्‍‍त्रता स्थानबद्ध पार्न सहमत हुन्थे त ? सुधार-कार्यले परिवर्तन गरेको यो अन्तिम व्यक्ति थियो भनी के तिनीहरूले यो घोषणा गर्न सक्थे त ? यसको अन्तिम रोपनी हात पारिसकेको थियो त ? कि जहाँ रोमको शासन छ त्यहाँ त्यसको अधिकार अनन्तसम्म रहन्थ्यो र ? जोहरू सयौँ र हजारौँले यो व्यवस्थापनलाई अपनाउने क्रममा पोपका देशहरूमा तिनीहरूका प्राण त्याग्‍नुपर्ने थियो तिनीहरूको रगतप्रति निर्दोष थिए भनी के सुधारकहरूले बिन्ती गर्न सक्थे त ? त्यो सर्वोत्कृष्‍ट घडीमा सुसमाचारको काम र इसाईजगतका स्‍वाधीनताहरूप्रति धोका मात्र हुनेथियो ।” —Wylie, b. 9, ch. 15. बरु “तिनीहरू आफ्‍ना सबै थोक राज्यहरू, मुकुटहरू, जीवन पनि बलिदान गर्न” तयार थिए । —D’Aubigné, b. 13, ch. 5. MBAJ 210.2

राजकुमारहरूले भने, “हामी यो आदेश इन्कार गरौं । विवेकको विषयमा बहुमतको केही शक्ति छैन ।” प्रतिनिधिहरूले घोषणा गरे: “१५२६मा भएको आदेशको कारणले साम्राज्यमा भएको शान्तिको हामी ऋणी छौं: यसको उन्मुलनले जर्मनीमा समस्या र विभाजन भरिदिन्छ । त्यो सभाले अर्को परिषद् नभएसम्म धर्मिक स्‍वतन्‍‍त्रतालाई कायम राख्‍नुभन्दा अरू कुनै कार्य गर्न असमर्थ छ ।” —D’Aubigné, b. 13, ch. 5. विवेकको स्‍वतन्‍‍त्रतालाई रक्षा गर्नुचाहिँ राज्यको कर्तव्य हो, धर्मको सम्बन्धमा त्यसको अधिकारको सीमा यही हो । सरकारी अधिकारद्वारा धर्मका पालनहरू नियन्‍‍त्रण गर्न वा लागु गर्न प्रयास गर्ने प्रत्येक सांसारिक सरकारले बाइबलमा विश्‍‍वास गर्ने इसाईहरूद्वारा यति भद्रतासाथ संघर्ष गरेको सिद्धान्तलाई नै बलिदान गरेको हुन्छ । MBAJ 211.1

“साहसी हठ” भन्‍ने कुरालाई पोपतान्‍‍त्रीहरूले दबाउने निर्णय गरे । तिनीहरूले सुधार-कार्यका समर्थकहरू माझमा विभाजन ल्याउने प्रयासद्वारा सुरु गरे जसले त्यसलाई खुल्‍लारूपमा स्‍वीकार गरेका थिएनन् तिनीहरू सबैलाई धम्की दिए । अन्तमा स्‍वतन्‍‍त्र शहरका प्रतिनिधिहरूलाई परिषद्‍को सामु बोलाए र तिनीहरूको प्रस्तावनाका भनाइहरू स्‍वीकार गर्ने कि नगर्ने भनी तिनीहरूले घोषणा गर्नुपर्ने थिए । तिनीहरूले केही समयको निम्ति बिन्ती गरे, तर व्यर्थ भयो । जब तिनीहरू जाँचिए तब झण्डै आधी जस्तै तिनीहरूका जनहरू सुधारकहरूको पक्षमा उभिए । ज-जसले विवेकको स्‍वतन्‍‍त्रता र व्यक्तिगत बुझाईको अधिकारलाई बलिदान गर्न इन्कार गरे तिनीहरूलाई राम्ररी थाहा थियो कि तिनीहरूको विश्‍‍वास भविष्यमा आलोचना गरिन, दोषी ठहरिन र सतावट भोग्‍नका लागि निर्धारण भएको थियो । प्रतिनिधिहरूमध्ये एक जनाले भने, “हामीले परमेश्‍‍वरको वचन इन्कार गर्नुपर्छ कि त जल्‍नुपर्छ ।” —D’Aubigné, b. 13, ch. 5. MBAJ 211.2

परिषद्‍मा सम्राटको प्रतिनिधि राजा फर्दिनन्दले देख्यो कि अधिकारीहरूलाई त्यो ग्रहण र कायम राख्‍न नफकाएको भए त्यो आदेशले गम्भीर फूटहरू उत्पन्‍न गराउनेथियो । त्यसकारण तिनले सेना परिचालन गर्दा यस्ता मानिसहरू झन निर्णायक हुन्छन् भन्‍ने कुरा जानेर सीपपूर्ण साथ फकाउने प्रयास गरे । “सम्राट तिनीहरूसँग अत्यन्त्यै खुशी हुन्छन् भन्‍ने तिनले विश्‍‍वास दिलाउँदै राजकुमारहरूलाई आदेश ग्रहण गर्न आग्रह गरे ।” तर यी विश्‍‍वासयोग्य मानिसहरूले सांसारिक शासकहरूभन्दा उच्‍च अधिकारलाई स्‍वीकार गरे र तिनीहरूले शान्तसाथ जवाफ दिए: “हामी प्रत्येक सम्राटलाई शान्ति कार्य गर्न र परमेश्‍‍वरलाई आदर गर्न योगदान दिन आज्ञाकारी हुन्छौं ।” —D’Aubigné, b. 13, ch. 5. MBAJ 212.1

अन्तमा राजाले मुख्यमन्‍‍त्री र तिनका साथीहरूलाई परिषद्‍को अगाडि घोषणा गरे कि त्यो अध्यादेश “साम्राज्यीय आदेशको रूपमा स्थापना गर्नै लागेको थियो,” र “तिनीहरूको कार्य बहुसङ्ख्यक मानिसहरूमा समर्पण गराउने उपाय मात्र थियो ।” यसरी बोलिसक्‍ने बित्तिकै सुधारकहरूलाई केही तर्क-विर्तक गर्ने वा जवाफ दिने अवसरविना नै तिनी परिषद्‍बाट निस्केर गए । “तिनीहरूले व्यर्थमा राजालाई फर्कने आग्रहसाथ प्रतिनिधि पठाए ।” तिनीहरूको निवेदनप्रति तिनीले जवाफ मात्र दिए: “यो सम्पन्‍न भइसकेको काम हो; अब त समर्पण मात्र बाँकी छ ।” —D’Aubigné, b. 13, ch. 5. MBAJ 212.2

इसाई राजकुमारहरूले मानवीय सिद्धान्तहरू र व्यवस्थाहरूभन्दा पवित्रशास्‍‍त्रलाई उच्‍च तरिकाले अपनाउँछन् भनी साम्राज्यको समिति विश्‍‍वस्त भयो; र तिनीहरूलाई थाहा थियो कि जहाँ यो सिद्धान्त स्‍वीकार्य हुन्थ्यो त्यहाँ पोपतन्‍‍त्र अन्तमा विनाश हुनेथियो । तर तिनीहरूका समयदेखि नै हजारौँ मानिसहरूले “दृश्‍‍य कुराहरूलाई” मात्र हेरिरहेका थिए, तिनीहरू आफैले सम्राट र पोपको कार्य बलवान थियो र सुधारकहरूको चाहिँ कमजोर थियो भनी गर्व गरे । यदि सुधारकहरूले मानवीय सहायतामा भरोसा गरेको भए तिनीहरू पोपतन्‍‍त्रले अनुमान गरेझैँ शक्तिहीन नै हुनेथिए । तर तिनीहरू अल्पसङ्ख्यक र रोमसँग भिन्‍न भएपनि तिनीहरूसँग आफ्‍नो शक्ति थियो । तिनीहरूले “परिषद्‍को प्रतिवेदनबाट परमेश्‍‍वरको वचनमा र सम्राट चारल्सबाट राजाहरूका राजा र प्रभुहरूका प्रभु येशू ख्रीष्‍टमा” देखाए । —D’Aubigné, b. 13, ch. 6. MBAJ 212.3

जब फर्डिनन्दले तिनीहरूको विवेकी दृढ संकल्पलाई मान्यता दिन इन्कार गऱ्यो, राजकुमारहरूले पनि तिनको अनुपस्थितिलाई ध्यान नदिने निर्णय गरे, तर तिनीहरूको विरोध ढिलो नगरी राष्‍ट्रिय परिषद्‍को सामुन्‍ने प्रस्तुत गर्ने निर्णय गरे । एउटा गम्भीर घोषणापत्र तयार गरियो र परिषद्‍मा प्रस्तुत गरियो । MBAJ 213.1

“हामी यी प्रस्तुतीहरूद्वारा हाम्रो एउटै मात्र सृष्‍टिकर्ता, संरक्षक, मुक्तिदाता र उद्धारकर्ता परमेश्‍‍वरको सामु विरोध गर्दछौं, र जो एक दिन हाम्रो न्यायाधीश हुनुहुनेछ, त्यसका साथै सबै मानिसहरू र प्राणीहरूको सामुन्‍ने हामी हाम्रो लागि र हाम्रा मानिसहरूका लागि यो प्रस्तावित आदेश परमेश्‍‍वर, उहाँको पवित्र वचन, हाम्रो सत्य विवेक र हाम्रो आत्माको मुक्ति विपरीत कुनै कुरा छ भने न हामी सहमत जनाउँछौं नता पालन नै गर्छौं ।” MBAJ 213.2

“के रे ! के हामी यो अध्यादेश अनुमोदन गर्ने ! हामी निश्‍चयसाथ भन्छौं कि सर्वशक्तिमान् परमेश्‍‍वरले एक व्यक्तिलाई उहाँको ज्ञानमा बोलाउनुहुँदा पनि त्यो मान्छेले परमेश्‍‍वरको ज्ञान प्राप्‍त गर्न सक्दैन !” “परमेश्‍‍वरको वचनअनुसार बाहेक त्यहाँ कुनै पनि निश्‍चित सिद्धान्त छैन । ... परमप्रभुले अरू कुनै पनि सिद्धान्तको शिक्षालाई निषेध गर्नुहुन्छ । ... पवित्रशास्‍‍त्रलाई अरू अझै स्पष्‍ट पदहरूद्वारा वर्णन गरिनुपर्छ; ... इसाईहरूको लागि हरेक कुरामा आवश्‍‍यक पर्ने यो पवित्र पुस्तक बुझ्‍नमा सजिलो छ, र अन्धकार हटाउन तयार पारिएको छ । जस्तो बाइबलको नयाँ र पुरानो नियममा रहेको छ त्यस्तै हामीले परमेश्‍‍वरको अनुग्रहद्वारा उहाँको एक मात्र वचनको शुद्ध र एउटै मात्र प्रचार कायम राख्‍ने, त्यसको विपरीत हुन सक्‍ने कुनै कुरा पनि नथप्‍ने निर्णय गरेका छौं । यो वचन मात्र एक सत्य हो; यो सबै सिद्धान्त र सबै जीवनको निश्‍चित नियम हो; र यसले हामीलाई कहिल्यै पनि धोका दिदैन र बहकाउँदैन । जो यस जगमा स्थापित हुँदछ नरकको सबै शक्तिहरूको विरुद्ध खडा रहनेछ, जबकि त्यसको विरुद्धमा स्थापना गरिएको मानवीय व्यर्थताहरू परमेश्‍‍वरको सामु सबै ढल्‍नेछन् ।” MBAJ 213.3

“यसकारणले गर्दा हामीमाथि राखिएको जुवालाई हामी अस्‍वीकार गर्छौं ।” “त्यसै गरी नै हामी आशा गर्छौं कि उहाँको साम्राज्यवादको महानताले हामीप्रति एक इसाई राजकुमार स्‍वरूप व्यवहार गर्नुहुनेछ जसले सबै कुराभन्दा धेरै परमेश्‍‍वरलाई प्रेम गर्दछन्; हामी आफै घोषणा गर्छौं कि सबै प्रेम र आज्ञाकारी हाम्रो न्याय र कानुनी कर्तव्यअनुसार उहाँलाई साथै हजूर जस्तै अनुग्रहकारी शासकहरूलाई दिन हामी तयारी छौं ।” —D’Aubigné, b. 13, ch. 6. MBAJ 214.1

परिषद्‍माथि गहिरो प्रभाव पारियो । बहुसङ्ख्यक मानिसहरू प्रतिरोधीहरूको साहसप्रति चकित र सचेत भए । तिनीहरूका भविष्य आँधी बेहरीपूर्ण र अनिश्‍चित देखा पऱ्यो । मतभेद, लड़ाइँ र रक्तपात तार्न सकिदैन जस्तो देखिन्थ्यो । तर सुधारकहरू तिनीहरूको कामको न्यायमा निश्‍चित थिए, र सर्वशक्तिमानको पाखुरामा भरोसा राखेर “पूरा साहस र दृढताले” भरिए । MBAJ 214.2

“यो प्रसिद्ध प्रतिरोधमा समावेश भएका सिद्धान्तहरू नै ... प्रोटेस्टेन्ट धर्मको मुख्य सार थियो । अब यो प्रतिरोधले मानिसको विश्‍‍वासको विषयमा दुई ओटा अत्याचारहरूलाई विरोध गर्दछ; पहिलोचाहिँ सरकारी न्यायाधीशहरूको अधिकारको अनाधिकार चेष्‍टा, दोस्रोचाहिँ चर्चको स्‍वेच्छाकारी अधिकार । यी अत्याचारहरूको सट्टामा प्रोटेस्टेन्ट धर्मले विवेकको शक्तिलाई न्यायाधीशहरूभन्दा उच्‍च स्थानमा राख्‍छ, र परमेश्‍‍वरको वचनको अधिकारलाई दृश्‍‍य चर्चभन्दा उच्‍च स्थानमा राख्‍छ । पहिलो स्थानमै ईश्‍‍वरीय कुराहरूमा सरकारी शक्तिलाई त्यसले अस्‍वीकार गर्दछ, र अगमवक्ताहरू र प्रेरितहरूसँगै यसो भन्छ, ‘हामीले मानिसको भन्दा बरु परमेश्‍‍वरको कुरा मान्‍नुपर्छ ।’ चारल्स पाँचौँको मुकुट हुँदाहुँदै पनि येशू ख्रीष्‍टको मुकुट उच्‍च पार्दछ । तर त्यो अझै बृहत छ: यसले यस्तो प्रकारको सिद्धान्त बसाल्दछ कि सम्पूर्ण मानवीय शिक्षाहरू परमेश्‍‍वरको ईश्‍‍वरीय प्रेरणाहरूको अधीनमा हुनुपर्छ ।” —D’Aubigné, b. 13, ch. 6. त्यति मात्र नभएर प्रतिरोधीहरूले तिनीहरूको सत्यताका प्रमाणहरू स्‍वतन्‍‍त्ररूपले उच्‍चारण गर्ने आफ्‍नो अधिकार निश्‍चित गरे । तिनीहरूले विश्‍‍वास गर्ने र पालन मात्र गर्ने थिएनन्, तर परमेश्‍‍वरको वचनले प्रस्तुत गरेको कुरा सिकाउने काम पनि तिनीहरूको थियो, र तिनीहरूले पूजाहारीहरू र न्यायाधीशहरूका बाधा गर्ने अधिकारलाई इन्कार गरे । स्पायर्सको प्रतिरोधचाहिँ धार्मिक असहनीयताको विरोधमा एक गम्भीर गवाही थियो, र तिनीहरूको विवेकको आदेशअनुसार सम्पूर्ण मानिसहरूले परमेश्‍‍वरलाई सेवा गर्नु पाउने अधिकार प्रमाणित भयो । MBAJ 214.3

यो घोषणा गरिसकेको थियो । यो हजारौँ मानिसहरूको स्मरणमा र स्‍वर्गका पुस्तकहरूमा लेखिएको थियो, जहाँ मानिसको कुनै पनि प्रयासले मेटाउन सक्दैनथ्यो । जर्मनीका सम्पूर्ण बाइबलमाथि आस्था राख्‍ने मानिसहरूले यो प्रतिरोधलाई तिनीहरूका विश्‍‍वासको अभिव्यक्तिको रूपमा स्‍वीकार गरे । यो घोषणामा जताततै मानिसले नयाँ र उत्तम पुस्ताको प्रतिज्ञा देखे । राजकुमारहरूमध्ये एक जनाले स्पायर्सका प्रोटेस्टेन्टहरूलाई भने: “जसले तपाईंहरूलाई जोशसाथ, स्‍वतन्‍‍त्रतासाथ र निडरताका साथ स्‍वीकार गर्ने अनुग्रह दिनुभएको छ उही सर्वशक्तिमान्‍ले नै त्यो इसाई-दृढता अनन्तको दिनसम्म कायम राख्‍नुभएको होस् ।” —D’Aubigné, b. 13, ch. 6. MBAJ 215.1

यदि सुधार-कार्यले केही सफलता हासिल गरेपश्‍चात् संसारको कृपा प्राप्‍त गर्न अवस्थाअनुसार काम गरेको भए, परमेश्‍‍वर र आफैप्रति अविश्‍‍वासी हुनेथियो र यसरी त्यसको विनाशको निश्‍चित हुनेथियो । यी उत्कृष्‍ट सुधारकहरूको अनुभवभित्र सम्पूर्ण आगामी युगहरूका लागि एक पाठ रहेको छ । परमेश्‍‍वर र उहाँको वचन विरुद्ध शैतानको काम गर्ने तरिका परिवर्तन भएको छैन; सोह्र्औं शताब्दीमा झैँ अहिले पनि धर्मशास्‍‍त्रलाई जीवनको मार्ग दर्शक बनाउँदा ऊ त्यत्तिकै विरोधी हुन्छ । हाम्रो समयमा तिनीहरूका शिक्षाहरू र विधानहरूदेखि धेरै टाढ़ा गएको छ, र बाइबल र बाइबल मात्र विश्‍‍वास र कर्तव्यको नियम हो भन्‍ने महान् प्रोटेस्टेन्ट सिद्धान्ततिर फर्कनुपर्ने आवश्‍‍यकता छ । शैतानले अझै पनि त्यसले नियन्‍‍त्रण गर्न सक्‍ने प्रत्येक माध्यमद्वारा धार्मिक स्‍वतन्‍‍त्रता नष्‍ट गर्ने काम गरिरहेछ । स्पायर्सका प्रतिरोधीहरूले इन्कार गरेको इसाई विरोधी शक्ति अब ताजा जोशसाथ त्यसको गुमेको सर्वोच्‍चता पुनः स्थापना गर्न खोजिरहेको छ । सुधार-कार्यको सङ्कटमा परमेश्‍‍वरको वचनप्रति जुन भक्ति प्रकट भएको थियो त्यही अचल भक्ति मात्र वर्तमान सुधारको आशा हो । MBAJ 215.2

त्यहाँ प्रोटेस्टेन्टहरूका निम्ति खतराका सङ्केतहरू देखा परे; त्यहाँ अरू सङ्केतहरू पनि थिए जहाँ विश्‍‍वासयोग्य जनहरूलाई सुरक्षा गर्न ईश्‍‍वरीय हात पसारिएको थियो । लगभग यही समयतिर “मलेङ्‍थनले तिनको साथी सिमन ग्राइनेयसलाई खोला तर्ने प्रोत्साहन दिँदै हतार-हतार स्पायर्सका सड़कहरूद्वारा राइन नदीतर्फ लिएर गए । यस्तो हतार देखेर पछि आश्‍चर्य भए । मलेङ्‍थनले भने, ‘एक जना गम्भीर र सत्यनिष्‍ठ तर मैले नचिनेको बुढो मान्छे मेरो सामु देखा परे र भने, केही समयमा फर्डिनन्दले ग्राइनेयसलाई गिरप्‍तार गर्न पुलिसहरू पठाउनेछन् ।’” MBAJ 215.3

दिउँसो एक मुख्य पोपतन्‍‍त्रको डाक्टर फेबरको प्रवचनले ग्राइनेयसलाई रिस उठायो; अन्तमा “कुनै घृणित झूटहरू” को प्रतिरक्षा गरेको कारण तिनले तिनलाई शक्तिशाली प्रमाण प्रस्तुत गरे । “फेबरले तिनको रिस लुकाए, तर तुरुन्तै राजाकहाँ गए र तिनले हेडेलवर्गको आग्रही अध्यापक विरुद्धमा आदेश प्राप्‍त गरे । परमेश्‍‍वरले उहाँको पवित्र स्‍वर्गदूत पठाएर पूर्व चेतावनी गराउनु भई तिनको साथीलाई बचाउनु भएको थियो भन्‍ने कुरामा मलेङ्‍थनले शंका गरेनन् । MBAJ 216.1

“ग्राइनेयस राइनको किनारमा बगिरहने खोलाको पानीले तिनको अत्याचारीहरूदेखि नबचाएसम्म तिनी अचल अवस्थामा पर्खि बसे । जब तिनले अर्कोपट्टि तिनलाई देख्दा मलेङ्‍थन कराए, ‘अन्तमा तिनी ती क्रूर बांगराबाट छुट्याइए जसले तिनको निर्दोष रगतको तिर्सना गरेका थिए ।’ जब तिनी आफ्‍नो घरमा फर्के, मलेङ्‍थनले जानकारी पाए कि ग्राइनेयसलाई खोज्‍न आउने पुलिसले तलदेखि माथिसम्म तलाश गरिसकेको रहेछ ।” —D’Aubigné, b. 13, ch. 6. MBAJ 216.2

सुधार-कार्य अझै दीर्घकालीनरूपमा पृथ्वीको शक्तिशाली मानिसहरूको सामु ल्याउनुपर्ने थियो । बाइबलमा विश्‍‍वास गर्ने राजकुमारहरूको कुरा राजा फर्डिनन्दले सुन्‍न इन्कार गरेका थिए; तर तिनीहरूलाई आफ्‍नो कुरा सम्राट, चर्च र राष्‍ट्रका प्रतिनिधिहरूको भेला समक्ष पेश गर्ने मौका दिनुपर्ने थियो । साम्राज्यमा भइरहेको वाद-विवादलाई शान्त पार्नको लागि चारल्स पाँचौँले स्पायर्सको प्रतिरोधको दोस्रो वर्षमा अग्सवर्गमा एउटा सभा बोलाए जसमा तिनी व्यक्तिगतरूपमै उपस्थित भई तिनकै अध्यक्षतामा सभा गर्ने इच्छा जाहेर गरे । त्यहाँ प्रोटेस्टेन्टका अगुवाहरू बोलाइए । MBAJ 216.3

सुधार-कार्यमाथि ठूलो खतराहरू आउनै लागेको थियो; तर त्यसका समर्थकहरूले तिनीहरूको कार्य अझै परमेश्‍‍वरको हातमा सुम्पिदिए, र तिनीहरूले आफू सुसमाचारमा दृढ रहने प्रतिज्ञा गरे । स्याक्सनीको मुख्यमन्‍‍त्रीलाई तिनका सभासद्‍हरूले परिषद्‍मा उपस्थित नहुन आग्रह गरे । तिनीहरूले भने, सम्राटले तिनीहरूलाई जालमा पार्नका लागि राजकुमारहरूको उपस्थिति अनिवार्य गरिएको छ । “के आफै शक्तिशाली शत्रुसँग शहरका पर्खालहरूमा गएर थुनिनु सबैथोक जोखिममा पार्नु होइन र ?” तर अरूले भक्तिसाथ घोषणा गरे, “राजकुमारहरूले एक-अर्कामा साहससाथ व्यवहार मात्र गरून्, अनि परमेश्‍‍वरको काम सुरक्षित हुन्छ ।” लुथरले भने, “परमेश्‍‍वर विश्‍‍वासयोग्य हुनुहुन्छ; उहाँले हामीलाई त्याग्‍नुहुनेछैन ।” —D’Aubigné, b. 14, ch. 2. मुख्यमन्‍‍त्री तिनका दलसाथ अग्सवर्गतर्फ बाटो लागे । तिनलाई धम्की दिइएका खतराहरू सम्पूर्णलाई जानकारी थियो, र धेरै जना उदासी मुहार र शौकित हृदय लिएर गए । तर लुथर तिनीहरूलाई पुऱ्याउन कोवर्गसम्म आए, तिनले तिनीहरूको निराशपूर्ण विश्‍‍वासको त्यो यात्रामा लेखेको “हाम्रा परमेश्‍‍वर एक बलियो धरहरा हुनुहुन्छ” भन्‍ने भजन गाउँदै पुनः जीवित पारे । ती प्रेरणा प्राप्‍त लयहरूको आवाजमा धेरै दुखित आशंकाहरू हटेर गए, धेरै बोझले दबिएका हृदयहरू हल्का भए । MBAJ 216.4

सुधारक राजकुमारहरूले तिनीहरूका विचारहरू वक्तव्य पवित्रशास्‍‍त्रको प्रमाणसाथ व्यवस्थित ढंगले परिषद्‍मा प्रकट गर्ने निर्णय गरे; र लुथर, मलेङ्‍थन र तिनीहरूको सहकर्मीहरूलाई यस कार्यको तयारी गर्ने जिम्मा लगाएका थिए । यो आफ्‍नो सिद्धान्तको अभिव्यक्तिलाई प्रोटेस्टेन्टहरूले तिनीहरूका विश्‍‍वासको विवरण स्‍वरूप स्‍वीकार गरे, अनि तिनीहरू यो महत्‍वपूर्ण लिखित पत्रमा तिनीहरूका नाम हस्ताक्षर गर्न भेला भए । त्यो गम्भीर र अग्‍नि परीक्षाको घडी थियो । सुधारकहरूको इच्छा थियो कि तिनीहरूको काम राजनैतिक विषयहरूसँग मिसिनु हुँदैन; तिनीहरूले महशुस गरे कि सुधार-कार्यले परमेश्‍‍वरको वचनबाट निस्केको प्रभाव बाहेक अरू कुनै कुरामा प्रयास गर्नु हुँदैन । जब इसाई राजकुमारहरू सिद्धान्त अभिव्यक्तिमा सही गर्न अगि बढे तब मलेङ्‍थनले बीचमा यसो भने: “यी कुराहरू धर्मशास्‍‍त्रीहरू र सुसमाचार प्रचारकहरूले प्रस्ताव गर्नुपर्ने हो; अब अन्य विषयहरू पृथ्वीका शक्तिशाली अधिकारहरूलाई छोडी दिऊँ ।” स्याक्सनीको जोनले उत्तर दिए, “यस्तो नहोस् कि तपाईंले मलाई पाखा पार्नहुन्छ । किनभने म आफैले मेरो पदप्रति कुनै आपत्तविना नै जे कुरा सत्य छ सोही गर्ने मैले निर्णय गरेको छु । म प्रभुलाई स्‍वीकार गर्ने इच्छा राख्‍छु । मेरो मुख्यमन्‍‍त्रीको टोपी र महँगो वस्‍‍त्रहरू येशू ख्रीष्‍टको क्रूसभन्दा मूल्यवान छैन ।” यसरी बोलेपछि तिनले आफ्‍नो नाम लेखे । अर्को राजकुमारहरूमध्ये एक जनाले कलम टिप्दै भने: “यदि प्रभु येशू ख्रीष्‍टको आदरको लागि यो अनिवार्य छ भने म मेरो सम्पत्ति र जीवन पनि त्यागी दिन ... तयारी छु ।” तिनले अझै भने, “म बरु मेरा जनताहरू र राज्यहरूलाई इन्कार गर्छु, यो आफ्‍नो सिद्धान्तको अभिव्यक्तिमा समावेश भएको सिद्धान्त बाहेक अरू कुनै स्‍वीकार गर्नुभन्दा त बरु हातमा लट्ठी लिएर पितृ भूमि नै छोडिदिन्छु ।” —D’Aubigné, b. 14, ch. 6. ती परमेश्‍‍वरका मानिसहरूका विश्‍‍वास र साहस यस्तो थियो । MBAJ 217.1

सम्राटको सामु उपस्थित हुने निधारित समय आइपुग्यो । चारल्स पाँचौँ तिनको सिंहासनमाथि बसे, वरिपरि संसदहरू र राजकुमारहरू थिए, तिनले प्रोटेस्टेन्ट सुधारकहरूको कुरा सुने । तिनीहरूका सिद्धान्तको अभिव्यक्ति पढियो । त्यो भव्य भेलामा सुसमाचारका सत्यताहरू स्पष्‍टरूपले प्रस्तुत गरिए, र पोपतन्‍‍त्रको चर्चमा भएका झूटहरू औल्याइए । “सुधार-कार्यको सबभन्दा महान् दिन, इसाई धर्म र मानवजातिको लागि सबभन्दा महिमित दिनहरूमध्ये एक दिन हो” भनी त्यो दिन राम्ररी घोषणा भयो । —D’Aubigné, b. 14, ch. 7. MBAJ 218.1

तर वोर्मसको राष्‍ट्रिय परिषद्‍मा विटनवर्गको भिक्षु एकलै उभिएको केही वर्ष मात्रै बितेको थियो । अहिले तिनको सट्टामा साम्राज्यका सबभन्दा उत्कृष्‍ट र सबभन्दा शक्तिशाली राजकुमारहरू थिए । लुथरलाई अग्सवर्गमा आउन निषेध गरिएको थियो, तर तिनका शब्दहरू र प्रार्थनाहरूद्वारा तिनी त्यहाँ उपस्थित भएका थिए । तिनले लेखे, “म अति आनन्दित भए, किनकि म यो घडीसम्म बाँचेको छु, जसमा सार्वजनिकरूपमा र एक यति महिमित भेलामा माननीय समर्थकहरूद्वारा ख्रीष्‍टलाई उच्‍च पारिएको छ ।” —D’Aubigné, b. 14, ch. 7. यसरी धर्मशास्‍‍त्रले भनेको कुरा पूरा भयो: “म राजाहरूका समक्ष तपाईंका कानूनहरूका विषयमा बोल्‍नेछु ।” भजनसंग्रह ११९:४६ । MBAJ 218.2

जुन सुसमाचारका निम्ति पावलको समयमा तिनी जेलमा परेका थिए त्यसकारणले नै राजकुमारहरू र महान् शहरका उत्कृष्‍ट मानिसहरूको अघि ल्याइएको थियो । यसरी नै यो अवसरमा पनि जुन कुरा सम्राटले पुल्पिटबाट प्रचार गर्न मनाही गरेका थिए अब त्यही कुरा दरबारबाट घोषणा भयो; जुन कुरा नोकरहरूले पनि सुन्‍न लायक छैन भनी धेरैले ठानेका थिए त्यही कुरा साम्राज्यका मालिकहरू र अधिकारीहरूले अचम्मसाथ सुने । राजाहरू र महान् व्यक्तिहरू स्रोता थिए, मुकुट पहिरिएका राजकुमारहरू प्रचारक भए, र प्रवचनचाहिँ परमेश्‍‍वरको राजकीय सत्यता थियो । एक जना लेखक भन्छन्, “प्रेरितहरूको युगदेखि यता कहिल्यै पनि योभन्दा महान् काम र अझै अर्थपूर्ण सिद्धान्तको अभिव्यक्ति भएको थिएन ।” —D’Aubigné, b. 14, ch. 7. MBAJ 218.3

पोपतन्‍‍त्रको विशपले घोषणा गरे, “लुथ्रेनहरूले भनेको सबै कुरा सत्य हो, हामी यसलाई अस्‍वीकार गर्न सक्दैनौं ।” डाक्टर इकलाई अर्कोले सोधे, “के मुख्यमन्‍‍त्री र तिनका समर्थकहरूको सिद्धान्तको अभिव्यक्तिलाई तपाईंको अटल कारणहरूद्वारा झूटो साबित गर्न सक्‍नुहुन्छ ?” यस्तो जवाफमा आउँछ, “प्रेरितहरू र अगमवक्ताहरूको लेख अनुसार—सक्दिनँ ! तर पिताहरू र परिषद्‍हरू अनुसार—सक्छु !” प्रश्‍नकर्ताले प्रतिक्रिया जनाए, “मैले बुझें । तपाईंको भनाइअनुसार लुथ्रेनहरूचाहिँ बाइबलमा आधारित छन् भने हामीचाहिँ त्यसको विपरीत छौं ।” —D’Aubigné, b. 14, ch. 8. MBAJ 219.1

जर्मनीको कति जना राजकुमारहरू सुधारिएको विश्‍‍वासमा आए । सम्राट आफैले घोषणा गरे कि प्रोटेस्टेन्टका अनुच्छेदहरू सत्य थिए । त्यो सिद्धान्तकोअभिव्यक्ति धेरै भाषाहरूमा अनुवाद गरियो र पूरै युरोपभरि फैलियो, त्यसपछिका पुस्ताहरूले तिनीहरूको विश्‍‍वासको विवरण स्‍वरूप लाखौँले स्‍वीकार गरे । MBAJ 219.2

परमेश्‍‍वरको विश्‍‍वासयोग्य दासहरू एक्‍लै परिश्रम गरिरहेका थिएनन् । जब तिनीहरूको विरुद्धमा शासनहरू र शक्तिहरू र उच्‍च स्थानमा भएका दुष्‍ट आत्माहरू जम्मा हुन्थे, तब परमप्रभुले उहाँका मानिसहरूलाई त्याग्‍नु भएन । यदि तिनीहरूको आँखा खोलिएको भए दैवीय उपस्थिति र प्राचीन अगमवक्तालाई दिइएको सहयोगको स्पष्‍ट प्रमाण झैँ तिनीहरूले स्पष्‍ट देख्‍ने थिए । जब एलिशाको नोकरले उम्कने कुनै मौका नदेखेर तिनीहरूलाई घेरिरहेको विरोधी सेनाहरूको फौजतिर तिनको मालिकलाई केन्द्रित गराए, तब अगमवक्ताले प्रार्थना गरे: “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस् ।” २ राजा ६:१७ । अनि हेर, पहाड़ अग्‍निमय रथहरू र घोड़ाहरूले भरिएको थियो, स्‍वर्गका सिपाहीहरू परमेश्‍‍वको जनलाई बचाउन तैनाथ गरिएका थिए । यसरी स्‍वर्गदूतहरूले सुधार-कार्यका कामदारहरूलाई पहरा दिए । MBAJ 219.3

लुथरले दृढतासाथ कायम राखेका सिद्धान्तहरूमध्ये एउटाचाहिँ यो थियो कि सुधार-कार्यले सहयोग पाउन सांसारिक शक्तिमा शरण लिनु हुँदैन, यसको प्रतिरक्षा गर्न कुनै पनि हतियार प्रयोग गर्नु हुँदैन । साम्राज्यका राजकुमारहरूले सुसमाचार स्‍वीकार गरेकोले तिनी आनन्दित भए; तर जब तिनीहरूले रक्षात्मक एकतामा सहमत गर्ने प्रस्ताव राखे तब तिनले घोषणा गरे कि “सुसमाचारको सिद्धान्तचाहिँ परमेश्‍‍वरद्वारा मात्रै प्रतिरक्षा गरिएको हुनुपर्छ । ... जति थोरै मानिस काममा सहभागी हुन्छन् परमेश्‍‍वरले यसको पक्षमा त्यति नै अचम्मलाग्दो तरिकाले मध्यस्थता गर्नुहुन्छ । तिनको विचारमा सम्पूर्ण राजनैतिक पूर्वसावधानीहरू व्यर्थ भय र पापपूर्ण अविश्‍‍वासकै कारणले हुन्छ ।” —D’Aubigné, London ed., b. 10, ch. 14. MBAJ 219.4

जब शक्तिशाली शत्रुहरू सुधार-कार्यलाई नष्‍ट पार्न एकमत भएका थिए, र हजारौँ तरवारहरू त्यसको विरुद्धमा म्यानबाट निस्कन आँटेको जस्तो देखिन्थे, तब लुथरले लेखे: “शैतानले त्यसको रिस प्रकट गर्दैछ; दुष्‍ट पोपहरूले षड्यन्‍‍त्र रच्दैछन्; र हामीलाई लड़ाइँको धम्की दिएका छन् । प्रभुको सिंहासन अगाडि साहससाथ विश्‍‍वास र प्रार्थनाद्वारा वाद-विवाद गर्न मानिसहरूलाई अनुरोध गर्नुहोस्, ताकि हाम्रा दुश्‍‍मनहरू परमेश्‍‍वरको आत्माद्वारा पराजित भएर शान्त हुन बाध्य होस् । हाम्रो मुख्य आवश्‍‍यकता र हाम्रो मुख्य परिश्रमचाहिँ प्रार्थना नै हो; मानिसहरूलाई यो थाहा होस् कि तिनीहरू अब तरवारको धार र शैतानको रिसमा प्रकट भएका छन्, अब तिनीहरूले प्रार्थना गरून् ।” —D’Aubigné, b. 10, ch. 14. MBAJ 220.1

फेरि पछिल्‍लो समयमा सुधार-कार्यका राजकुमारहरूले विचार गरेका संगठनको विषयमा बोल्दै लुथरले घोषणा गरे कि यो लड़ाइँमा प्रयोग गर्न सक्‍ने हतियार भनेको नै “आत्माको तरवार” नै हुनुपर्छ । तिनले स्याक्सनीको मुख्यमन्‍‍त्रीलाई लेखे: “यो प्रस्तावित सन्धिमा हाम्रै विवेकले सहमति जनाउन सक्दैनौं । हाम्रो सुसमचारले गर्दा एक थोपा रगत बगेको हेर्नु भन्दा त बरु हामी दश पल्ट मर्ने थियौं । मार्न राखिएका थुमाहरू जस्तै बन्‍नु हाम्रो अंश हो । ख्रीष्‍टको क्रूस बोक्‍नैपर्छ । महाशय, भयभीत नहुनुहोस् । हाम्रा सम्पूर्ण शत्रुहरूले तिनीहरूको अभिमानद्वारा भन्दा हामी हाम्रा प्रार्थनाहरूले अझै धेरै कार्य गर्नेछौं । हजूरका भाइहरूको रगतले हजूरको हात मात्र कलङ्कित नहोस् । यदि सम्राटले उहाँको न्यायालयमा समर्पित गर्ने माग गर्नुहुन्छ भने पनि हामी उपस्थित हुन तयार छौं । हजूरले हाम्रो विश्‍‍वासलाई रक्षा गर्न सक्‍नुहुन्‍न: प्रत्येकले आ-आफ्‍नो जोखिम र खतरामा विश्‍‍वास गर्नुपर्छ ।” —D’Aubigné, b. 14, ch. 1. MBAJ 220.2

प्रार्थनाको गुप्‍त स्थानबाट यस्तो शक्ति आयो जसले महान् सुधार-कार्यमा संसारलाई थर्कमान बनाइदियो । त्यहाँ पवित्र शान्तपनसाथ प्रभुका दासहरूले तिनीहरूको गोड़ा उहाँका प्रतिज्ञाहरूको चट्टानमा राखे । अग्सवर्गको संघर्षभरि नै लुथरले “दिनमा तीन घण्टा प्रार्थनामा नबिताएसम्म दिन पार गरेनन्, र त्यो अध्ययनको लागि सबभन्दा उत्तम समयहरूबाट अलग गरे ।” “जसरी कुनै व्यक्तिले एक मित्रसँग कुराकानी गर्दछ” त्यसरी तिनले आफ्‍नो व्यक्तिगत कोठामा परमेश्‍‍वरको सामुन्‍ने “पूर्ण आराधना, भय र आशाको शब्दमा” हृदयका कुराहरू पोखाएको सुनिथ्यो । तिनले भने, “मलाई थाहा छ कि तपाईं हाम्रो पिता र हाम्रो परमेश्‍‍वर हुनुहुन्छ, र तपाईंका छोराछोरीहरूलाई अत्याचार गर्नेहरूलाई तपाईंले छरपष्‍ट पार्नुहुनेछ; किनकि तपाईं आफै हामीसँग खतरामा पर्नुभएको छ । यो सबै कुरा तपाईं कै हो, तपाईं कै कारणले मात्र हामीले यसमा हात लगाएका छौं । त्यसो भए हे पिता, हामीलाई रक्षा गर्नुहोस् !” —D’Aubigné, b. 14, ch. 6. MBAJ 221.1

तिनले मलेङ्‍थनलाई लेखे, जोचाहिँ शोक र डरको बोझले चकनाचूर भएका थिए: “ख्रीष्‍टमा अनुग्रह र शान्ति छ—म भन्छु, ख्रीष्‍टमा छ, र संसारमा छैन । आमेन । तिमीलाई खाने वेग्र चिन्ताहरूलाई म अति घृणा गर्छु । यदि काममा अन्याय छ भने त्यसलाई त्यागी देओ, यदि काम न्यायसङ्गत छ भने हामीलाई निडरसाथ सुत भनी आज्ञा गर्नुभयो उहाँका प्रतिज्ञाहरूलाई हामी किन झूटो ठानौं त ? ... ख्रीष्‍टले न्याय र सत्यताको काम गर्न बेवास्ता गर्नुहुनेछैन । उहाँ जिउनुहुन्छ, उहाँले शासन गर्नुहुन्छ, त्यसो भए हामीसँग के डर हुन सक्छ र ?” —D’Aubigné, b. 14, ch. 6. MBAJ 221.2

परमेश्‍‍वरले उहाँका दासहरूको चित्कार सुन्‍नुभयो । उहाँले राजकुमारहरू र प्रचारकहरूलाई यो संसारको अन्धकारका शासकहरूका विरुद्ध सत्यता कायम राख्‍ने साहस र अनुग्रह दिनुभयो । परमप्रभु भन्‍नुहुन्छ: “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्य कुने-ढुङ्गो म बसाल्छु, र जसले उहाँमाथि विश्‍‍वास गर्छ त्यो शर्ममा पर्नेछैन ।” १ पत्रुस २:६ । प्रोटेस्टेन्ट सुधारकहरू ख्रीष्‍टमा बसालिएका थिए र नरकका ढोकाहरू तिनीहरूमाथि विजय हुन सक्दैनथ्यो । MBAJ 221.3