महान् विवाद अन्धकारदेखि ज्योतिमा
५ — जोन विक्लिफ
(अंग्रेजी पुस्तक अध्याय ५ पृष्ठ ७९)
सुधारको समय अवधिअघि कुनै-कुनै समयमा बाइबलका प्रतिहरूको अस्तित्व कमै थियो, तर परमेश्वरले उहाँको वचनलाई पूर्ण नष्ट हुन दिनुभएको थिएन । त्यसका सत्यताहरू अनन्तसम्मको लागि गुप्त रहनु हुँदैनथ्यो । उहाँले जसरी आफ्ना दासहरूलाई स्वतन्त्र पार्न जेलका ढोकाहरू र फलामका द्वारहरू खोल्नुभयो त्यसरी नै जीवनका शब्दहरू खोल्न सक्नुहुन्थ्यो । युरोपका विभिन्न राष्ट्रहरूका मानिसहरूले लुकिएको गाडधनझैँ सत्यताको खोजी गर्न तिनीहरूलाई परमेश्वरको पवित्र आत्माद्वारा उत्प्रेरित गरियो । तिनीहरूले दैवीयरूपमा पवित्र धर्मशास्त्रतर्फ केन्द्रित भई पवित्र पानाहरू बडो चाहनाकासाथ अध्ययन गरे । तिनीहरूले आफूलाई जस्तो सुकै हानि भए पनि ज्योति स्वीकार गर्न तयार भए । तिनीहरूले सबै कुरा त स्पष्टसाथ बुझेनन्, तापनि लामो समयसम्म गाडिएका धेरै सत्यताहरू बुझ्न तिनीहरू सक्षम भए । स्वर्गबाट पठाइएका समाचारवाहकहरू स्वरूप झूट र अन्धविश्वासका सिक्रीहरू धुजा-धुजा पार्दै र लामो समयसम्म दासत्वमा रहेकाहरूलाई आफ्नो स्वतन्त्रतामा उभिने उत्साह दिँदै बाहिर निस्के । MBAJ 71.1
युगौँसम्म वाल्डेन्सीहरूको माझमा बाहेक अरूको माझमा परमेश्वरको वचन शिक्षितका भाषाहरूमा बन्द रहेको थियो; तर धर्मशास्त्र अनुवाद गरेर विभिन्न देशहरूका मानिसहरूलाई आ-आफ्नै मातृ भाषामा दिने समय आयो । संसारले त्यसको मध्य रात पार गरिसकेको थियो । अन्धकारका घडीहरू हट्दैथिए, र धेरै भूमिहरूमा आउने प्रभात्का चिन्हहरू प्रकट भएका थिए । MBAJ 71.2
चौधौँ शताब्दीमा बेलायतमा एउटा “सुधारको बिहानको तारा” उदय भयो । जोन विक्लिफ बेलायतमा मात्र होइन तर समस्त इसाईजगतमा सुधारको सन्देशवाहक भए । रोमको विरुद्ध जुन महान् प्रतिरोध तिनले उठाउने मौका पाएका थिए सो कहिल्यै पनि शान्त हुनु हुँदैन थियो । त्यही प्रतिरोधले संघर्ष आरम्भ गऱ्यो जसको परिणामले व्यक्तित्वहरू, चर्चहरू र राष्ट्रहरूको छुटकारा हुनुपर्ने थियो । (एपेण्डिक्समा हेर्नुहोस्) । MBAJ 71.3
विक्लिफले उच्च शिक्षा हासिल गरेका थिए, तिनका लागि परमप्रभुको भय नै बुद्धिको सुरुवात् थियो । तिनी तिनको कलेजमा उत्सुक भक्तिले गर्दा साथै अधिक प्रतिभा र उत्कृष्ट विद्धान् भएकोले गर्दा प्रसिद्ध भएका थिए । तिनको ज्ञानको तिर्सनाको कारण प्रत्येक शिक्षण शाखाबाट शिक्षा हासिल गर्ने प्रयास गरे । तिनले औपचारिक दर्शनशास्त्र र चर्चका नियमहरूमा शिक्षा हासिल गरेका थिए, सरकारी कानूनमा विशेषगरी आफ्नै देशका कानूनहरूमा पनि शिक्षा हासिल गरेका थिए । तिनको अघिल्लो प्रशिक्षणको मूल्य पछिका कामहरूमा स्पष्ट देखियो । तिनको समयको चिन्तनशील दर्शनशास्त्रको पूर्ण सङ्गतले गर्दा त्यसका झूटहरू प्रकट गर्न सक्षम तुल्यायो; र तिनको राष्ट्र र धर्म सम्बन्धी नियमको अध्ययनले राजनैतिक र धार्मिक स्वतन्त्रताको महान् संघर्षमा सामना गर्न सक्षम भए । तिनले परमेश्वरको वचनबाट निकालेको हातहतियार चलाउन सक्थे तापनि स्कुलहरूको विवेकशील अनुशासन प्राप्त गरेका थिए, र स्कुलका कार्यकर्ताहरूको कार्य प्रणालीहरू बुझेका थिए । तिनको असाधरण बुद्धि, वृहत् र पूर्ण ज्ञानको शक्तिले मित्रहरू र शत्रुहरू दुवैलाई आदरको माग राख्यो । तिनका चेलाहरू पनि सन्तुष्ट भए किनकि तिनीहरूको अगुवा कुनै पनि देशको अगुवाभन्दा उत्कृष्ट थिए; अनि तिनका शत्रुहरू सुधार-कार्यका समर्थकहरूको कमजोरी वा अनजानपनलाई प्रकट गरेर घृणा गर्न बञ्चित भए । MBAJ 72.1
जब विक्लिफ कलेजमा थिए त्यति बेलादेखि नै तिनले धर्मशास्त्र अध्ययन गर्न थाले । ती अघिल्ला समयहरूमा जब बाइबल प्राचीन भाषाहरूमा मात्र थियो, जुन अशिक्षित वर्गकाहरूका लागि अज्ञात् थियो तब शिक्षितहरूले सत्यताको मूल पत्ता लगाउन सफल भए । यसरी सुधारकको रूपमा विक्लिफको भविष्यको कामको मार्ग तयार भइसकेको थियो । शिक्षित मानिसहरूले परमेश्वरको वचन अध्ययन गरेका थिए र त्यहाँ उहाँको सित्तैको अनुग्रहको दान रूपी महान् सत्यता प्रकट भएको भेटाए । तिनीहरूका शिक्षाहरूमा तिनीहरूले यो सत्यताका ज्ञानहरू फैल्याए, अनि अरूहरूलाई जिउँदो इतिहास पल्टाउन उत्सुक तुल्याए । MBAJ 72.2
जब विक्लिफको ध्यान धर्मशास्त्रतर्फ फर्क्यो, तब जुन परिपूर्णताले तिनलाई स्कुलहरूका वृहत शिक्षा पूर्णरूपले प्राप्त गर्न सक्षम तुल्याएको थियो, ती कुराहरूका अनुसन्धान त्यहीँ परिपूर्णतासाथ तिनले आरम्भ गरे । यहाँसम्म कि तिनलाई ठूलो अभावको अनुभूति भयो कि जुन नता विश्वविद्यालयका अध्ययनहरूले न चर्चको शिक्षाले नै सन्तुष्ट पार्न सक्थ्यो । जुन कुरा तिनले पहिले व्यर्थमा खोजे अब तिनले परमेश्वरको वचनमा भेट्टाए । यहाँ मुक्तिको योजना प्रकट भएको र ख्रीष्ट मानिसका लागि एउटा मात्र वकिलको रूपमा प्रस्तुत गरिएको तिनले देखे । तिनले आफैलाई ख्रीष्टको सेवामा सुम्पिदिए र तिनले पत्ता लगाएका सत्यताहरू घोषणा गर्ने निर्णय गरे । MBAJ 72.3
विक्लिफले पनि पछिल्ला सुधारकहरूले झैँ तिनको कामको सुरुमा त्यसको गन्तव्य देखेनन् । तिनले जानी-जानीकन रोमको विरोध गरेका होइनन् । तर सत्यताको भक्त हुँदा झूटोसँग लड़ाइँ उत्पन्न गरायो । तिनले जति स्पष्ट पोपतन्त्रका झूटहरू देखे त्यति नै बाइबलका शिक्षाहरू यत्नपूर्वक प्रकट गरे । तिनले देखे कि रोमले परमेश्वरको वचनलाई मानवीय परम्पराका खातिर त्यागेको थियो; तिनले हिम्मतसाथ धर्मशास्त्र बहिष्कार गर्ने पूजाहारीहरूलाई दोष लगाए, र मानिसहरूलाई बाइबल पुनःप्रदान गर्नुपर्ने र यसको अधिकार चर्चमा पुनः स्थापना हुनुपर्ने माग तिनले राखे । तिनी एक सक्षम र उत्सुक शिक्षक र एक सिपालु भाषणकलामा पोख्त प्रचारक थिए र तिनको दैनिक जीवन नै आफूले सिकाएका शिक्षाहरूको उदाहरण थियो । तिनको धर्मशास्त्रको ज्ञान, बुद्धिको शक्ति, तिनको जीवनको शुद्धता, र तिनको दृढ साहस र पूर्णताले साधारण सम्मान र भरोसा जित्न सफल भए । रोमी चर्चमा अधर्म फैलिएको देखेर धेरै जना मानिसहरूले अघिल्लो विश्वासप्रति असन्तुष्ट जनाए, र विक्लिफले पत्ता लगाएका सत्यताहरूलाई तिनीहरूले हर्षसाथ स्वागत गरे; तर जब पोपतन्त्रका अगुवाहरूले थाहा पाए कि यो सुधारकले तिनीहरूको तुलनामा धेरै मानिसहरूलाई प्रभावित पारेको छ तब तिनीहरू रिसले चूर भए । MBAJ 73.1
विक्लिफ झूटको तेजिलो निरीक्षक थिए, र तिनले रोमको अधिकारद्वारा अनुमोदन गरेका धेरै अत्याचारहरूलाई साहससाथ विरोध गरे । राजाको प्रचारकको काम गर्दै पोपले बेलायतको राजाबाट दाबी गरेको शुल्कको विरोधमा साहससाथ खडा भए र सांसारिक शासकहरूमाथि पोपतन्त्रको अधिकार गर्ने मान्यताचाहिँ विवेक र बाइबल दुवैको विपरीत थियो भनी देखाए । पोपका मागहरूले गर्दा विशाल क्रोध उत्तेजित भयो, र विक्लिफका शिक्षाहरूले राज्यलाई अगुवाइ गर्ने मष्तिष्कहरूलाई पनि प्रभाव पार्ने चेष्टा गरे । राजा र उच्च पदाधिकारीहरू पोपको सांसारिक अधिकारप्रति गरिएको दाबी इन्कार गर्दै र कर तिर्न अस्वीकार गर्दै एकत्रित भए । यसरी बेलायतमा पोपतन्त्रको सर्वोच्चताको विरुद्धमा प्रभावशाली प्रहार आइपऱ्यो । MBAJ 73.2
मेन्डिकन सन्यासीहरूका संस्थाको स्थापना नै अर्को दुष्टता थियो जसको विरुद्ध सुधारकले लामो र निर्णायक लड़ाइँ गरे । ती सन्यासीहरू राज्यको महानता र उन्नतिमाथि अभिशाप फैल्याउँदै बेलायतमा ओइरिए । उद्योग, शिक्षा, नैतिकताहरूमा सबै थोकमा निस्तेज प्रभाव पारे । भिक्षुहरूको अल्छि जीवन र मगन्ते स्वभावले मानिसहरूको स्रोतलाई मात्र सुकाउने होइन, तर यसले लाभदायिक कामलाई पनि घृणित बनायो । युवाहरू अनैतिक र भ्रष्ट भए । सन्यासीहरूको प्रभावले गर्दा धेरै जना आश्रममा प्रवेश गर्न लोभिए र आफैलाई भिक्षुक जीवन बिताउन समर्पित गरे, र तिनीहरूको आमा बाबाको सहमति मात्र होइन, तर तिनीहरूको ज्ञानविना र तिनीहरूको नियन्त्रण विपरीत गएका थिए । रोमी चर्चका पहिलो फादरहरूमध्ये एक जनाले बुबा र आमाप्रतिको प्रेम र जिम्मेवारीको कर्तव्यभन्दा भिक्षु जीवनलाई नै दबाब दिदै घोषणा गऱ्यो: “तिम्रो पिता ढोकामा आएर रुनु र विलाप गर्नु परेतापनि, तिमीलाई गर्भमा बोक्ने आमाले शरीर र तिमीलाई खुवाउने स्तन देखाए तापनि, हेर तिमीले तिनीहरूलाई खुट्टामुनि कुल्चेर अगाडि ख्रीष्टतिर सीधा बढ ।” जसरी लुथरले यसलाई पछि उपनाम दिएका थिए “यो अस्वभाविक पाशविक इसाई र मानिसको व्यवहारभन्दा ब्वाँसो र तानाशाही बानीद्वारा” छोराछोरीहरूको हृदय आमाबुवाहरूप्रति कडा बनाएको थियो । —Barnas Sears, The Life of Luther, pages 70, 69. यसरी पोपतन्त्रका अगुवाहरूले पहिलाका फरिसीहरूले झैँ परमेश्वरको आज्ञालाई तिनीहरूका परम्पराहरूद्वारा विना कामको बनाए । यसरी नै घरहरू पनि उजाड़ भए र आमाबाबाहरूले आफ्ना छोराछोरीहरूको सङ्गत गुमाए । MBAJ 73.3
विद्यार्थीहरूसमेत भिक्षुहरूको झूटो शिक्षाद्वारा बहकिए र तिनीहरूको संस्थामा प्रवेश गर्ने अभिलाषा गरे । धेरै जनाले तिनीहरूको जीवनमाथि आफैले अभिशाप ल्याए र तिनीहरूको बाबु-आमालाई दुखित तुल्याएको वास्तविक कुरा थाहा पाएपछि यी मार्गबाट पश्चात्ताप गरे; तर एक पल्ट जालमा जाकिएपछि स्वतन्त्र हुन असम्भव नै थियो । धेरै जना बाबु-आमाहरूले भिक्षुहरूको प्रभावको डरले विश्वविद्यालयहरूमा छोराहरू पठाउन इन्कार गरे । शिक्षालयमा ठूलो सङ्ख्यामा विद्यार्थीहरू हाजिर नभएको देखिन्थ्यो । स्कुलहरू दुर्बल भए र मानिसहरू अन्जान भए । MBAJ 74.1
पोपले यी भिक्षुहरूलाई पाप स्वीकार गराउने र क्षमा दिने शक्ति दिएको थियो । यो एउटा महादुष्टताको स्रोत बन्यो । तिनीहरूकहाँ आउनेहरू जस्तो सुकै शीर्षकका अपराधीहरू भएपनि तिनीहरूको लाभ प्राप्तिका लागि सन्यासीहरू हर्षसाथ क्षमा दिन तयार हुन्थे जसको कारणले गर्दा सबभन्दा खराब दुष्टताहरू तीब्र गतिमा बढ्दै गए । बिरामी र गरिबहरूचाहिँ कष्टमा छाड़िए जबकि तिनीहरूको आवश्यकता पूरा गर्नुपर्ने कुराहरूचाहिँ भिक्षुहरूलाई उपहार दिइयो, तिनीहरूले धम्क्याउँदै मानिसहरूबाट भेटी ल्याउन माग गर्दथे, जसले तिनीहरूका संस्थालाई उपहार दिँदैनथे तिनीहरूलाई अधर्मी भनेर निन्दा गर्दथे । सन्यासीहरूले दरिद्रताको दाबी गरेतापनि तिनीहरूको धन भने निरन्तर रूपमा बढिरहेको थियो, र तिनीहरूका सुन्दर महलहरू र आरामदायी टेबुलहरूले राज्यको दरिद्रता बढेको अझै स्पष्ट पारेको थियो । तिनीहरूले सुखविलासमा समय बिताउँदै तिनीहरूको सट्टामा अशिक्षित मानिसहरूलाई पठाए, जोहरूले मानिसहरूलाई मनोरञ्जन दिन अचम्मलाग्दो दन्त्य कथा, काल्पनिक कथाहरू र ठट्यौली मात्र भन्न सक्थे, र तिनीहरूलाई भिक्षुहरूले अझै पूर्णरूपमा सजिलै ठग्न सक्थे । सन्यासीहरूले अन्धविश्वासी भीडहरूलाई नियन्त्रण गरे र पोपको सर्वोच्चतालाई स्वीकार गर्ने, सन्तहरूलाई आराधना गर्ने, भिक्षुहरूलाई उपहार दिने कार्यमा सबै धार्मिक कर्तव्यहरू समाविष्ट भएको थियो र यसैबाट तिनीहरूका निम्ति स्वर्गमा ठाउँ सुरक्षित गर्न पर्याप्त छ भनी तिनीहरूलाई विश्वास दिलाए । MBAJ 75.1
भक्ति र शिक्षित मानिसहरूले यी भिक्षुक संस्थाहरूमा व्यर्थमा सुधार ल्याउने प्रयास गरे; तर विक्लिफले अझै स्पष्टतासाथ दुष्टताको त्यस जड़लाई यसरी घोषणा गर्दै आक्रमन गरे, प्रणाली नै झूट थियो र यसलाई हटाउनुपर्छ । छलफल र अनुसन्धानहरू जागृत भइरहेको थियो । जसरी भिक्षुहरू पोपका क्षमाहरू बेच्दै देश वरिपरि घुम्थे, त्यसरी धेरै जनाले क्षमालाई पैसाले किन्ने सम्भावनामा शंका गर्न थाले, र तिनीहरूले रोमको पोपबाट भन्दा बरु परमेश्वरबाट क्षमा खोज्नुपर्छ होला भनी प्रश्न गर्न थाले । (एपेण्डिक्समा हेर्नुहोस् पृष्ठ ५९) । सन्यासीहरूको लोभमा कम्ती मात्र सचेत थिएनन्, जसको लोभ कहिल्यै पनि सन्तुष्टि हुन्छ जस्तो लाग्दैनथ्यो । तिनीहरूले भने, “रोमका पूजाहारीहरू र भिक्षुहरूले क्यान्सरले जस्तै हामीलाई खाइरहेका छन् । परमेश्वरले हामीलाई बचाउनै पर्छ नत्रभने मानिसहरू नष्ट हुनेछन् ।” —D’Aubigné, b. 17, ch. 7. यी मगन्ते भिक्षुहरूले तिनीहरूको अर्थलोभलाई लुकाउनको लागि मुक्तिदाताको उदाहरण लिएर हिडेको दाबी गर्दथे, कि येशू र उहाँका चेलाहरू पनि अरू मानिसहरूको दानमा निर्भर हुनुभयो । यो दाबीले तिनीहरूको काममा हानि पुऱ्यायो, किनकि यसले गर्दा धेरै जना आफै बाइबलबाट सत्यता सिक्न उत्सुक भए—जुन परिणाम रोमले अरूभन्दा कम्ती मात्र चाहना गर्दथ्यो । मानिसहरूका दिमागहरू सत्यताको स्रोततर्फ केन्द्रित भए, जसलाई त्यसले लुकाउने उद्देश्य राखेको थियो । MBAJ 75.2
विक्लिफले सन्यासीहरूको विरोधमा पत्रिकाहरू लेख्न र प्रकाशन गर्न थाले, जे भए पनि तिनीहरूसँग विवाद गर्न होइन तर मानिसहरूका दिमागहरू बाइबलको शिक्षा र त्यसको सृजकतर्फ केन्द्रित गराउने गरेका थिए । तिनले घोषणा गरे कि पोपको क्षमा याचना वा चर्चदेखि बहिष्कार गर्ने शक्ति साधारण पूजाहारीहरूको भन्दा धेरै छैन, अनि कुनै व्यक्तिले आफैमाथि परमेश्वरको दोष नल्याएसम्म वास्तवमा कोही पनि बहिष्कार हुँदैन । आत्मिकी नियमहरू र सांसारिक अधिकारको विशाल प्रणालीलाई नाश गर्न अन्य कुनै प्रभावशाली उपाय थिएन जुन पोपले स्थापना गरेको थियो जहाँ लाखौँका प्राणहरू र शरीरहरूलाई बन्दी बनाइएको थियो । MBAJ 76.1
विक्लिफलाई फेरि अङ्ग्रेज राजाका अधिकारहरूको पक्षमा रोमको आक्रमण विरुद्ध उभिन बोलाइयो; त्यसपछि तिनलाई राजदूत नियुक्ति गरियो र तिनले नेदरल्याण्डमा पोपका कर्मचारीहरूसँग परामर्श गर्दै दुई वर्ष बिताए । त्यहाँ तिनले फ्रान्स, इटाली र स्पेनका पादरीहरूसँग वार्तालाप गरे, र त्यो समयमा तिनले पर्दा पछाड़ि हेर्ने र धेरै कुराहरूको ज्ञान हासिल गर्ने अवसर पाए जुन कुराहरू बेलायतमा तिनीबाट गुप्त रहन्थे । तिनले आफ्नो पछिल्ला कार्यहरूमा सहायता पुऱ्याउने धेरै कुराहरू सिके । तिनले पोपको दरबारबाट आएका यी प्रतिनिधिहरूमा पुरोहितहरूको शासनका सत्य योजनाहरू र चरित्र पढे । तिनको पहिला शिक्षाहरूलाई अझै खुल्ला र अधिक साहसकासाथ पुनः प्रचार गर्न र लालच, घमण्ड र छल नै रोमका देवताहरू थिए भनी घोषणा गर्न बेलायत फर्के । MBAJ 76.2
तिनका पत्रिकाहरूमध्ये एउटामा तिनले पोप र उसका संग्राहकहरूको विषयमा बोल्दै यसो भनेका थिए: “तिनीहरूले हाम्रा देशबाट गरिब मानिसहरूको जीविकोपार्जन नै लुट्दछन्, र वर्षमा हजारौँ रूपैयाँहरू राजाको पैसा धार्मिक विधिहरू र आत्मिकी कुरामा लगानी गरेको छ, सो सिमोन जस्तै धार्मिक कुरा किनबेच गर्ने श्रापित अपधर्म जस्तै हो, र सबै इसाईजगतलाई यो अपधर्ममा सहमत जनाउन र कायम राख्न बाध्य पार्दछ । यदि हाम्रो देशमा विशाल सुनको पहाड़ भएको भएतापनि यहीँ घमण्डी सांसारिक पूजाहारीको संकलनकर्ताले बाहेक अरू कसैले पनि लैजाँदैन थियो, समयको प्रक्रियामा यो पहाड़ निश्चय नै खत्तम हुनेथियो; किनकि त्यसले हाम्रो भूमिबाट सबै पैसा लैजान्छ, र त्यस धार्मिक कुराहरू किन्ने व्यक्तिहरूले परमेश्वरको श्राप बाहेक केही पनि दिँदैन ।” —John Lewis, History of the Life and Sufferings of J. Wiclif, page 37. MBAJ 76.3
तिनी बेलायतमा फर्कने बित्तिकै राजाले विक्लिफलाई लुटरवोर्थको क्षेत्रमा पूजाहारी स्परूप नियुक्त गरे । यो एउटा भरोसा थियो कि कम्तीमा राजा तिनको सिधा बोलीबाट रिसाएका थिएनन् । विक्लिफको प्रभाव दरबारका कार्यहरूको ढाँचामा पनि महसुस भएको थियो, साथै राज्यको विश्वासलाई पनि आकार दिइरहेको थियो । MBAJ 77.1
चाँडै नै पोपतन्त्रका चट्याङ्गहरू तिनीमाथि बर्सन थाले । पोपको तीन ओटा आदेश-पत्रहरू बेलायतमा पठाइयो—विश्वविद्यालयलाई, राजालाई, प्रधान पुरोहितहरूलाई—यस अपधर्मको शिक्षकलाई तुरुन्तै र निर्णायक तरिकाले शान्त पार्न माग राखिएको थियो । (Augustus Neander, General History of the Christian Religion and Church, period 6, sec. 2, pt. 1, par. 8. एपेण्डिक्समा पनि हेर्नुहोस्) । आदेश-पत्र पुग्नुभन्दा पहिले नै उनीहरूको जोशमा विशपहरूले विक्लिफलाई अनुसन्धानका लागि बोलाए । तर तिनीसँग दुई जना राज्यका सबभन्दा शक्तिशाली अधिकृतहरू पनि अदालतमा गएका थिए; मानिसहरूले महल वरिपरि घेरेका थिए र झम्टिदै भित्र आउँदैथिए, र ती गतिविधिले न्यायाधीशहरू यति तर्सिए कि अदालतको कार्यावली नै केही समयसम्म स्थगित राखियो, र तिनलाई शान्तिसाथ आफ्नो बाटो जाने अनुमति दिइयो । केही समयपछि प्रधान पुरोहितहरूले एड्वर्ड तेस्रोलाई वृद्ध अवस्थामा सुधारकको विरोधमा प्रभाव पार्ने प्रयास गरिरहेका थिए, तर उसको मृत्यु भयो, अनि विक्लिफको पहिलेको रक्षक नै राज्यको राजप्रतिनिधि बने । MBAJ 77.2
तर पोपतन्त्रका आदेश-पत्रहरूको आगमनले बेलायतभरि नै त्यो अपधर्मीलाई गिरफ्तार गर्ने र जेलमा हाल्ने अनिवार्य आदेश ल्यायो । यस वैधानिक कार्बाहीले सीधै तख्ताको आगोमा केन्द्रित गरेको थियो । अब यो कुरा निश्चित जस्तै देखियो कि विक्लिफ चाँडै नै रोमको प्रतिशोधमा शिकार हुनेछ । तर जसले कुनै एक प्राचीन व्यक्तिलाई घोषणा गर्नुभएको थियो, “नडरा । तेरो ढाल म नै हुँ,” (उत्पत्ति १५:१) फेरि उहाँको हात आफ्नो दासलाई बचाउन तन्काउनुभयो । सुधारकलाई मृत्युले आक्रमण गर्न सकेन, तर जुन पोपले सुधारकको विनाशको आदेश जारी गरेको थियो त्यहीँ ग्रेगोरी एघारौँको मृत्यु भयो, अनि विक्लिफको अनुसन्धानमा भेला भएका चर्च अधिकारीहरू आ-आफ्नाे बाटो लागे । MBAJ 77.3
सुधार कार्यलाई विकसित हुने मौका दिन परमेश्वरको अनुग्रहले अझै पनि घटनाहरूलाई शासन गरेको थियो । ग्रेगोरीको मृत्यु पश्चात् दुई जना प्रतियोगी पोप चुनावमा लड़े । दुवै प्रतिद्वन्द्वी शक्तिहरूले तिनीहरू निष्पाप भएको दाबी गरे, अब तिनीहरूले आज्ञाकारिताको दाबी गर्न थाले । (ऐपेन्डिक्समा हेर्नुहोस् पृष्ठ ५०) । दुवैले एक-अर्काको विरुद्धमा लड़ाइँ गर्न विश्वासयोग्य सहयोगीहरू बोलाए, उसका शत्रुहरू विरुद्ध डरलाग्दो सराप दिँदै उसका मागहरूमा दबाब दिँदैथिए, र उसका समर्थकहरूलाई स्वर्गका इनामहरूको पनि प्रतिज्ञा गरेका थिए । यो घटनाले पोपतन्त्रको शक्ति अति नै कमजोर बनायो । विरोधी दलहरूले जतिसक्दो एक-अर्कालाई आक्रमण गरिरहेका थिए त्यहीँ समयमा विक्लिफले विश्राम पाए । पोपहरू एक-अर्का मै सराप र अत्याभियोग लगाइरहेका थिए, तिनीहरूको विरोधी दाबीहरूका समर्थन गर्न रगतको धारा बग्यो । अपराध र अपवाद चर्चमा भरिए । सुधारकले शान्तसाथ लुटरवोर्थको पेरिशमा [प्रचारकको अधिकार क्षेत्रमा] बसे, त्यहीँ समयमा मानिसहरूलाई ती विरोधी पोपहरूदेखि येशू, शान्तिको राजकुमारतर्फ केन्द्रित गर्न मेहनतसाथ परिश्रम गरिरहेका थिए । MBAJ 78.1
फूटको कारणले सबै लड़ाइँ र भ्रष्टता ल्यायो, त्यसरी पोपतन्त्र वास्तवमा के थियो त भन्ने कुरा मानिसहरूलाई देखाउनेद्वारा सुधारको बाटो तयार भयो । विक्लिफले पोपहरूको फूटको विषयमा भन्ने एउटा पत्रिका प्रकाशित गरेका थिए, जसमा यी दुई पूजाहारीहरूले एक-अर्कालाई ख्रीष्ट विरोधी दोष लगाउँदा सत्य थियो कि थिएन तिनले सो मनन गर्न आमन्त्रण गरेका थिए । तिनले भने, “परमेश्वरले यो दानवलाई यसरी एउटै मात्र पूजाहारीले राज्य गरेको सहनु भएन, तर ... दुई बीचमा विभाजित पारिदिनु भयो, ताकि मानिसहरू ख्रीष्टको नाममा दुवैमाथि सजिलै विजय हुन सकून् ।” —R. Vaughan, Life and Opinions of John de Wycliffe, vol. 2, p. 6. MBAJ 78.2
विक्लिफले पनि तिनका मालिकले झैँ गरिबहरूलाई सुसमाचार प्रचार गरे । तिनी लुटरवोर्थको आफ्नो पेरिशका दरिद्र घरहरूमा मात्र ज्योति फैल्याएर सन्तुष्टि भएनन्, तिनले बेलायतका प्रत्येक क्षेत्रमा फैलिनुपर्छ भनी संकल्प गरे । तिनले यो कार्य सफल पार्न एक साधारण, समर्पित प्रचारकहरूको समूह गठन गरे, तिनीहरूले सत्यलाई अति नै प्रेम गरे र त्यसलाई फैलाउनभन्दा धेरै अरू कुनै पनि ठूलो चाहना राखेनन् । यी मानिसहरू सर्वत्र गए, बजारहरूभित्र, ठूला-ठूला शहरहरूका गल्लीहरूमा, गाउँको साँधुरो बाटाहरूमा सिकाए । तिनीहरूले वृद्ध, बिरामी र गरिबहरूलाई खोजे र तिनीहरूलाई परमेश्वरको अनुग्रहको शुभ खबर खोले । MBAJ 78.3
अक्स्फोर्डमा धार्मिक विज्ञानको अध्यापकको रूपमा विक्लिफले परमेश्वरको वचन विश्वविद्यालयका भवनमा पनि प्रचार गरे । तिनले यति विश्वासयोग्य भएर आफ्ना विद्यार्थीहरूलाई सत्यता प्रकट गरे कि त्यहीँ शिक्षाले गर्दा तिनको नाम पनि “सुसमाचारको डाक्टर” रहन गयो । तर तिनको जीवनको सबभन्दा ठूलो कामचाहिँ धर्मशास्त्रलाई अङ्ग्रेजीमा अनुवाद गर्नु थियो । धर्मशास्त्रको सत्यता र त्यसको अर्थको विषयमा भनिने तिनको लेखमा तिनको अभिप्राय नै बाइबल अनुवाद गर्ने हो भनी तिनले बताएका थिए, ताकि बेलायतको प्रत्येक मानिसले परमेश्वरका अचम्मलाग्दा कामहरू उनीहरूको मातृ भाषामा नै पढ्न सकून् । MBAJ 79.1
तर अचानक तिनका कामहरू रोकिए । तिनी साठी वर्ष नपुग्दै अविरल श्रम, अध्ययन र शत्रुहरूको हमलाले तिनको बल घटेर बेसमयमै तिनी वृद्ध भएका थिए । तिनलाई एक खतरनाक रोगले आक्रमण गऱ्यो । यो खबरले भिक्षुहरू अति नै हर्षित भए । तिनीहरूले सोचे, अब तिनले चर्चलाई गरेको दुष्ट कामहरूबाट खेदलाग्दो पश्चात्ताप गर्छन्, र तिनीहरू तिनको कोठातिर पाप-स्वीकार सुन्न हतारिदै गए । चार धार्मिक संस्थाहरूका प्रतिनिधिहरू, चार सरकारी अधिकारीहरूसँग सिकिस्त विरामी व्यक्तिको वरिपरि भेला भए । तिनीहरूले भने “तिम्रो ओठमा मृत्यु छ, तिम्रो गल्तीहरूलाई महसुस गर, हाम्रो उपस्थितिमा तिमीले हाम्रो विरोधमा बोलेका सबै कुराहरूलाई स्वीकार गर ।” सुधारकले शान्तसाथ सुने; त्यसपछि तिनको सुसारेलाई ओछ्यानमा उठाउन अनुरोध गरे, र तिनको शिक्षाबाट पश्चात्ताप सुन्न पर्खिरहेका मानिसहरूलाई एकटक लाएर हेरे र दृढतासाथ तिनले भने, जुन बलियो आवाज सुनेर प्रायः तिनीहरू काम्थे: “म मर्ने छैनँ, तर बाँच्नेछु; र भिक्षुहरूको दुष्ट कार्यहरू फेरि घोषणा गर्नेछु” —D’Aubigné, b. 17, ch. 7. अचम्म र लाज मान्दै भिक्षुहरू त्यो कोठाबाट निस्केर गइहाले । MBAJ 79.2
विक्लिफका वचनहरू पूरा भए । रोमको विरोधमा कुनै पनि हतियारहरूभन्दा पनि सबभन्दा शक्तिशाली हतियार [तिनीहरूलाई बाइबल दिन] आफ्ना देशका मानिसहरूलाई हस्तान्तरण गर्न तिनी बाँचे, जुन मानिसहरूलाई स्वतन्त्र पार्न, समझदार बनाउन र सुसमाचार सुनाउन स्वर्गबाट निर्धारण गरेको औजार थियो । त्यो कार्य सम्पन्न हुन धेरै ठूला भयंकर बाधाहरू ओइरिनुपर्ने थियो । विक्लिफलाई रोगले ग्रस्त पाऱ्यो; तिनलाई थाहा थियो कि तिनको काम गर्ने समय अब केही वर्षसम्म मात्र बाँकी छ; तिनले सामना गर्नै पर्ने बाधाहरू पनि देखे; तर परमेश्वरको वचनका प्रतिज्ञाहरूद्वारा साहस प्राप्त गरेर निडरतासाथ अगाडि बढे । बौद्धिक शक्तिहरूको पूरा जोशमा, प्रशस्त अनुभवसाथ तिनको सबभन्दा महान् कार्यको लागि परमेश्वरको विशेष अनुग्रहद्वारा तिनी बचाइएका थिए र तयार पारिएका थिए । जुनबेला समस्त इसाईजगतमा हलचलले भरिएको थियो, त्यति बेला पनि सुधारक आफ्नो लुटरवोर्थको निवासमा वरिपरिको आँधीलाई वास्ता नगरी आफ्ना निर्धारित काम गरी नै रहे । MBAJ 79.3
अन्तमा कार्य सफल भयो—पहिलो पल्ट बाइबल अङ्ग्रेजी भाषामा अनुवाद भयो । बेलायतमा परमेश्वरको वचन खोलियो । अब सुधारकलाई जेल र आगोदेखि डर थिएन । तिनले अङ्ग्रेजहरूका हातहरूमा कहिल्यै ननिभ्ने एउटा ज्योति राखिदिएका थिए । दुष्टता र मुर्खताका साङ्गलाहरू तोड्न र तिनका देशका मानिसहरूलाई स्वतन्त्र पार्न र उच्च पार्न कुनै पनि रणभूमिमा सबभन्दा प्रभावशाली विजयहरूले हासिल गरेको सफलता भन्दा पनि तिनले आफ्ना देशका नागरिकहरूलाई बाइबल दिएर धेरै गरे । MBAJ 80.1
छाप्ने [प्रिन्टिङ्ग] कलाचाहिँ त्यति बेलासम्म अज्ञात् नै थियो, त्यो कार्य ढीलो र थकानपूर्ण परिश्रम गरेर मात्र बाइबलका प्रतिहरू वृद्धि गर्न सकिन्थ्यो । त्यो पुस्तक प्राप्त गर्ने चाहना अधिक मात्रामा थियो कि धेरै जना त्यो सार्ने कार्यमा खुशीसाथ लागे, तर त्यो सार्ने कार्य गर्नेहरूले माग पूरा गर्न मुश्किल पऱ्यो । कोही धनी ग्राहकहरूले त झन पूरा बाइबल नै किन्ने इच्छा गर्दथे । कसैले एक अंश मात्र किन्ने गर्दथ्यो । धेरैजसो दुई-तीन परिवार मिलेर एक अंश किन्ने गर्दथे । यसरी चाँडै विक्लिफका बाइबलहरूले मानिसहरूका घरहरूमा स्थान पाए । MBAJ 80.2
पोपतन्त्रको कानूनप्रति निर्विरोध समर्पणदेखि जोगाउन मानिसहरूको समझमा आग्रह गऱे । अहिले विक्लिफले ख्रीष्टमा विश्वासद्वारा मुक्ति र एकमात्र धर्मशास्त्रको अटलता जस्ता प्रोटेस्टेन्ट धर्मका विशेष सिद्धान्तहरू सिकाए । तिनले पठाएका प्रचारकहरूले बाइबल साथै सुधारकका लेखहरू पनि बाँडे, तिनले यस्तो सफलता हासिल गरे कि बेलायतका झण्डै आधा मानिसहरूले नयाँ विश्वास स्वीकार गरे । MBAJ 80.3
धर्मशास्त्रको उपस्थितिले चर्चको अधिकृतहरूमाथि व्याकुलता उत्पन्न गरायो । अब तिनीहरूले विक्लिफभन्दा शक्तिशाली साधनसँग सामना गर्नुपर्ने थियो— यस्तो साधन जसमा तिनीहरूका हतियारहरूले काम गर्न कठिन थियो । यो समय बेलायतमा कुनै पनि बाइबल निषेधाज्ञा थिएन, किनकि पहिले कहिल्यै पनि मानिसहरूको भाषामा यो प्रकाशन भएको थिएन । यस्ता व्यवस्थाहरूपछि मात्र बनाए र निर्ममताका साथ लागू गरे । पूजाहारीहरूले दृढ प्रयत्न गरेतापनि केही समयसम्म परमेश्वरको वचनले परिक्रमा गर्ने एक अवसर पायो । MBAJ 80.4
फेरि पोपतन्त्रका अगुवाहरूले सुधारकको आवाजलाई शान्त पार्ने षड्यन्त्र रचे । तीन ओटा न्यायालयमा तिनलाई एकपछि अर्को गर्दै बोलाइयो, तर केही लाभ भएन । सर्वप्रथम परिषद्का विशपहरूले तिनका लेखनहरूलाई धर्म विरोधी घोषणा गरे, र जवान राजा रिचार्ड दोस्रोलाई तिनीहरूको पक्षमा उठाए, जसले यस्ता दोषी सिद्धान्तहरू अपनाउँछन् तिनीहरू सबै जेलमा कैदी बनाउने राजकीय आदेश जाहेर गरियो । MBAJ 81.1
विक्लिफले परिषद्बाट महासभालाई निवेदन गरे; तिनले निडरतासाथ राष्ट्रिय परिषद्को सामुन्ने पुरोहित शासनलाई दोष दिए र चर्चद्वारा स्थापपना गरेका कठोर अत्याचारहरूबाट सुधारको माग राखे । पोपतन्त्रका अतिक्रमण र भ्रष्टचारहरूमा मन छुने शक्तिले वर्णन गरे । तिनका शत्रुहरू पनि अलमलमा परे । विक्लिफका साथीहरू र समर्थकहरू समर्पित बन्न बाध्य भएका थिए, र यसमा कुनै शंका थिएन कि सुधारक आफै पनि तिनको वृद्ध अवस्थामा, एक्लो र मित्रहीन भएर राजा र पोपको मुकुट संयुक्त अधिकारमा झुक्नुपर्छ । तर त्यसको सट्टामा पोपतन्त्रका प्रतिनिधिहरूले आफै नै पराजित भएकाे देखे । महासभामा विक्लिफको स्फूर्तिमय बिन्तीद्वारा सचेत भई सतावटको राजहुकुम रद्द गरिदियो, र सुधारक फेरि स्वतन्त्र भए । MBAJ 81.2
तेस्रो पल्ट तिनी अनुसन्धानमा ल्याइए, र त्यसपटकचाहिँ राज्यकै सर्वोच्च धार्मिक न्यायालयमा लगिएका थिए । यहाँ अपधर्मीहरूलाई कुनै पनि अनुग्रह प्रकट गरिदैनथ्यो । यहाँ अन्त्यमा रोम विजेता हुनुपर्ने थियो, र सुधारकको काम समाप्त हुनुपर्ने थियो । पोपतन्त्रका अधिकारीहरूले यसरी नै सोचे । यदि तिनीहरूले सफलतापूर्वक तिनीहरूको उद्देश्य प्राप्त गरेको भए, विक्लिफ आफ्ना सिद्धान्तहरू त्याग्न बाध्य हुनेथिए, वा न्यायालयपछि आगोमा जान बाध्य हुन्थे । MBAJ 82.1
तर विक्लिफले तिनका सिद्धान्तहरू झूटो थिए भनी स्वीकार गरेनन्; तिनले भेष परिवर्तन गर्दैनथे । तिनी निडरतासाथ आफ्ना शिक्षाहरू कायम राखे र तिनका अत्याचारीहरूका दोषहरूलाई इन्कार गरे । तिनले आफ्ना स्रोताहरूलाई आफू र आफ्नो पद र त्यहाँको अवस्थालाई वास्ता नगरी ईश्वरीय न्यायालयको सामुन्ने आमन्त्रण गरे, र तिनीहरूका कुतर्कहरू र छलहरूलाई अनन्त सत्यताका तराजुहरूमा जोखे । परिषद् कोठामा पवित्र आत्माको शक्ति महसुस भयो । स्रोताहरूमाथि परमेश्वरको चकित पार्ने अवतरण भएको थियो । तिनीहरूलाई यस्तो लाग्यो कि तिनीहरूसँग त्यो ठाउँ छोड्ने बल नै थिएन । प्रभुले प्रहार गर्नुभएका काँड़हरूले झैँ सुधारकका वाक्यहरूले तिनीहरूको हृदय घोचे । जुन अपधर्मको दोष तिनको विरुद्धमा तिनीहरूले लगाएका थिए, तिनले तिनीहरूमाथि त्यही दोष भरपर्दाे शक्तिसाथ फर्काइदिए । तिनले जोड़ दिएर भने, किन तिनीहरूले आफ्ना झूटहरू फैल्याउने आँट गरे त ? लाभ प्राप्त गर्न, र परमेश्वरको अनुग्रहलाई व्यापार गर्न होइन र ? MBAJ 82.2
अन्त्यमा तिनले भने, “तपाईंहरू कोसँग विवाद गरिरहनुभएको जस्तो लाग्छ ? चिहानको छेउमा पुगेको वृद्ध मानिससँग ? होइन ! सत्यतासँग—जुन सत्य तपाईंहरूभन्दा बलियो छ, र यसले तपाईंहरूलाई जित्नेछ ।” —Wylie, b. 2, ch. 13. यसो भनेर तिनी सभाबाट निस्केर गए, तिनका शत्रुहरूमध्ये एक जनाले पनि रोक्ने चेष्टा गरेनन् । MBAJ 82.3
विक्लिफको काम सकिनै लागेको थियो; तिनले लामो समयदेखि उठाउँदै आएको सत्यताको झण्डा तिनको हातबाट खस्नै लागेको थियो; तर अझै एक पल्ट तिनले सुसमाचारको गवाही दिनुपर्ने थियो । सत्यताचाहिँ झूटको राज्यको त्यहीँ किल्लाबाट नै घोषणा हुनुपर्ने थियो । विक्लिफलाई रोमको पोपतन्त्रको न्यायालयको सामुन्ने अनुसन्धानका लागि बोलाइयो, जसले प्रायः सन्तहरूको रगत बगाएको थियो । तिनलाई तर्साएको खतराहरूप्रति तिनी अन्धा थिएनन्, तापनि यदि तिनको यात्रा पक्षाघात्ले असक्षम नपारेको भए बोलावटलाई इन्कार गर्ने थिएन । तर तिनको आवाज रोममा सुन्नु हुँदैनथ्यो, तापनि तिनी पत्रद्वारा बोल्न सक्थे, र तिनले त्यसै गर्ने निर्णय गरे । सुधारकले तिनको निवासबाट पोपलाई एउटा पत्र लेखे, जुन पत्रमा आदरपूर्ण लय र इसाई स्वभाव साथै पोपतन्त्रको घमण्ड र पाखण्डीपनलाई हृदयस्पर्शी अर्ती दिएका थिए । MBAJ 83.1
तिनले भने, “मैले अपनाएको विश्वास प्रत्येक मानिस विशेष गरेर रोमको विशपको सामुन्ने खोल्न र घोषणा गर्न साँच्चै नै म आनन्दित छु, जो मैले जानेंअनुसार यो सत्य र निर्मल छ, मैले बोलेका वचनहरूलाई उहाँले सजिलै सहमत जनाउनुहुनेछ, वा यदि अशुद्ध भए त्यसलाई संशोधन गर्नुहुनेछ । MBAJ 83.2
“सर्वप्रथम, ख्रीष्टको सुसमाचारचाहिँ परमेश्वरको व्यवस्थाको सम्पूर्ण शरीर म ठान्दछु । ... म विश्वास गर्छु कि रोमको विशप, यहाँ पृथ्वीमा ख्रीष्टको प्रतिनिधि भएको कारणले अरू सबै मानिसहरूभन्दा सुसमाचारको व्यवस्थाप्रति अझै धेरै जिम्मेवारी रहेको हुन्छ । किनकि ख्रीष्टका चेलाहरूको बीचमा सांसारिक महानता र मान-मर्यादामा समावेश भएको थिएन, तर ख्रीष्टको अनुसरणमा उहाँको जीवन र व्यवहारमा सही र संगी भएर बिताए । ... ख्रीष्टले उहाँको तिर्थयात्राको समयमा अति दरिद्रताको रूप धारण गर्नुभयो, र सांसारिक शासन र आदर इन्कार गर्दै पर सर्नुभयो । ... MBAJ 83.3
“कुनै विश्वासयोग्य मानिसले पोप वा कुनै पवित्र जनको अनुकरण गर्नु हुँदैन, तर उसले येशू ख्रीष्टको अनुकरण गरेका कुराहरूमा मात्र उसको अनुकरण गर्नुपर्दछ; किनकि पत्रूस र जब्दियाका छोराहरूले ख्रीष्टका पाइलाहरू छोडेर सांसारिक मान-मर्यादा चाहना गरेर गल्ती गरे, त्यसकारण यस्ता गल्तीहरूलाई अनुसरण गरिनु हुँदैन । ... MBAJ 83.4
“पोपले सबै सांसारिक अधिकार र शासन सांसारिक शक्तिको हातमा छोड्नुपर्छ, र तिनको सम्पूर्ण अधिकारीहरूलाई प्रभावकारितासाथ त्यसै गर्न लगाउनुपर्छ र प्रोत्साहन दिनुपर्छ; किनकि ख्रीष्टले विशेष गरी उहाँका प्रेरितहरूद्वारा त्यसै गर्नुभयो । त्यसकारण, यदि मैले यी बुँदाहरूमा केही गल्ती गरेको छु भने, म सुधार्नको लागि नम्रसाथ समर्पित हुनेछु, यदि आवश्यकताअनुसार मर्नै परेपनि म तयार हुनेछु; र यदि म आफ्नो इच्छा र विचारले मेरो व्यक्तित्वमा काम गर्न सक्थें भने म निश्चय नै रोमको विशप अगाडि उपस्थित हुनेथिएँ; परमप्रभुले मलाई जान दिनुभएन, र उहाँले मलाई मानिसको भन्दा परमेश्वरको आज्ञा पालन गर्न सिकाउनु भएको छ ।” MBAJ 83.5
अन्त्यमा तिनले भने: “हामी हाम्रा परमेश्वरसँग प्रार्थना गरौं ताकि उहाँले हाम्रो पोप अर्बेन छैठौँलाई यसरी चलाउनुहुनेछ कि उहाँले आरम्भ गर्नु भएझैँ सबै अधिकारीहरूसँगै मिलेर हाम्रो प्रभु येशू ख्रीष्टको जीवन र व्यवहारमा अनुसरण गर्न सकून्; तिनीहरूले प्रभावकारितासाथ मानिसहरूलाई सिकाऊन्, अनि त्यसरी तिनीहरूले तिनीहरूलाई विश्वासयोग्यसाथ अनुसारण गरून् ।” —John Foxe, Acts and Monuments, vol. 3, pp. 49, 50. MBAJ 84.1
यसरी विक्लिफले पोप र त्यसका अधिकारीहरूलाई ख्रीष्टको नम्रता र दीनता प्रकट गरिदिए, तिनीहरूलाई मात्र होइन तर पूरा इसाईजगतमा तिनीहरू र जुन मालिकको तिनीहरू आफैले प्रतिनिधित्च गरेको दाबी गर्दथे ती दुई बीच भिन्नता प्रकट गरिदिए । MBAJ 84.2
विक्लिफले निश्चय नै सोचेका थिए कि तिनको विश्वासको मूल्य जीवन नै दिनुपर्छ । तिनको विनाश गर्न राजा, पोप र विशपहरू एक भएका थिए, तिनलाई केही महीनाभित्रमै आगोमा ल्याउने निश्चित सम्भावना देखिन्थ्यो । तर तिनको साहस अटल थियो । तिनले भने, “तपाईंहरू किन शहिदको मुकुट टाढा ठाउँहरूमा खोज्ने कुरा गर्नुहुन्छ ? ख्रीष्टको सुसामाचार हठी पुरोहितहरूलाई सुनाउनुहोस्, र तपाईं निश्चय नै शहिद हुनुहुनेछ । के ! म शान्त भएर बाँच्नु ? ... कहिल्यै पनि हुँदैन ! प्रहार उर्लेर आओस्, म त्यसको पर्खाइमा छु ।” —D’Aubigné, b. 17, ch. 8. MBAJ 84.3
तर परमेश्वरको अगुवाइले उहाँको दासलाई अझै सुरक्षित राख्यो । त्यो व्यक्ति जो तिनको दैनिक जीवनका जोखिमहरूमा जीवनभरि नै सत्यताको पक्षमा साहससाथ उभिएका थिए, तिनका शत्रुहरूको घृणाबाट शिकार भई पतन हुनु हुँदैनथ्यो । विक्लिफले कहिल्यै पनि आफूलाई बचाउने प्रयास गरेनन्, तर तिनका सुरक्षाकर्ता प्रभु नै हुनुभएको थियो, जब तिनका शत्रुहरूले तिनलाई तिनीहरूको शिकार बनाउने निश्चित भइसकेका थिए, तब परमेश्वरको हातले तिनलाई तिनीहरूले भेट्न नसक्ने ठाउँमा लिएर जानुभयो । जब तिनी आफ्नो लुटरवोर्थ चर्चमा प्रभु भोजको सेवा गर्नै लागेका थिए, तब तिनी पक्षघातले सिकिस्त भएर लड़े र छोटो समयपछि नै तिनले आफ्नो प्राण त्यागे । MBAJ 85.1
परमेश्वरले नै विक्लिफलाई तिनको काममा नियुक्त गर्नुभएको थियो । उहाँले तिनको ओठमा सत्यताका वचनहरू राखिदिनु भएको थियो, र उहाँले नै तिनको वरिपरि सुरक्षाकर्मी खटाउनुभयो ताकि यी वचनहरूले मानिसहरूको बीचमा प्रवेश गर्न पाऊन् । तिनको जीवन सुरक्षित भयो, र तिनको कार्यावधि सुधार-कार्यको महान् कामको जग नबसालिएसम्म विस्तृत हुँदै गयो । MBAJ 85.2
विक्लिफ अन्धकार युगको अस्पष्टताबाट आएका थिए । सुधार-कार्यको विधिमा आकार दिने व्यक्ति तिनीभन्दा अगाडि अरू कोही पनि थिएन । बप्तिस्मा दिने यूहन्ना जस्तै विशेष काम पूरा गर्न आएका थिए, तिनी एक नयाँ युगको उद्घोषक भए । तापनि जुन सत्यताको प्रणाली तिनले प्रकट गरे, त्यहाँ एकता र पूर्णता थियो जुन तिनीभन्दा पछिल्ला सुधारकहरूले पनि त्यसलाई उछिन्न सकेनन्, कति जना लगभग सय वर्षपछि पनि त्यस स्थानमा पुग्न सकेका थिएनन् । अति फराकिलो र गहिरो जग बसालिएको थियो, अति नै दृढ र सत्य आकार निकालिएको थियो कि तिनी पछिकाहरूले पुनर्निर्माण गर्नुपर्ने आवश्यकता नै थिएन । MBAJ 85.3
विक्लिफले उद्घाटन गरेको महान् घटनाले विवेक र बुद्धिलाई स्वतन्त्र पार्नुपर्ने थियो, र धेरै समयदेखि रोमको विजयी अधिकारमा बाँधिएका राज्यहरूलाई स्वतन्त्र पार्नुपर्ने थियो, त्यसको मूलचाहिँ बाइबलबाट फुटेको थियो । यहीँ नै त्यो आशिषको खोलाको स्रोत थियो, जुन जीवनको पानीझैँ चौधौँ शताब्दीदेखि युगौँसम्म बग्दै आएको छ । विक्लिफले पवित्र धर्मशास्त्रलाई प्रेरणामुलक परमेश्वरको इच्छाको प्रकाश स्वरूप सम्पूर्ण विश्वासका साथ स्वीकार गरे, र यो विश्वास र अभ्यासको शासनमा पर्याप्त नियम थियो भन्ने कुरा स्वीकार गरे । रोमको चर्च ईश्वरीय, अटल अधिकार हो, र स्थापित शिक्षाहरू र हजारौँ वर्षहरूका परम्पराहरू प्रश्नविना नै सम्मानीय ढंगले स्वीकार गर्नुपर्छ भन्ने कुरा तिनले सिक्दै आएका थिए; तर तिनी परमेश्वरको पवित्र वचन सुन्न यी सबै कुराहरूबाट फर्के । तिनले सबै मानिसहरूलाई यहीँ अधिकार नै स्वीकार गर्न आग्रह गरे । तिनले घोषणा गरे कि पोपद्वारा चर्च बोल्ने होइन, तर परमेश्वरको आवाज उहाँको वचनद्वारा बोलेको हुनुपर्छ, त्यही एकमात्र सत्य अधिकार हो । बाइबलचाहिँ परमेश्वरको पूर्ण इच्छाको प्रकाश स्वरूप मात्र तिनले सिकाएनन्, तर त्यसको अनुवादकचाहिँ पवित्र आत्मा मात्र हुनुहुन्छ भनेर पनि सिकाए कि प्रत्येक व्यक्तिले त्यसमा भएका शिक्षाहरू अध्ययन गरेर आफैले आफ्नो कर्तव्य सिक्नुपर्छ । यसरी तिनले मानिसहरूका दिमागहरू पोप र रोमको चर्चबाट परमेश्वरको वचनतर्फ फर्काइदिए । MBAJ 85.4
सबभन्दा महान् सुधारकहरूमध्ये विक्लिफ पनि एक थिए । वृहत् विवेक, विचारको स्पष्टता, सत्यता कायम राख्न दृढता, र त्यसको रक्षा गर्ने साहसीपनले गर्दा तिनी पछि आउने सुधारकहरूमध्ये थोरै मात्र तिनी समान थिए । जीवनको शुद्धता, अध्ययन र परिश्रममा अथक मेहनत, अविनाशी निष्कपटता, र तिनको सुसमाचरीय कार्यमा ख्रीष्टको जस्तै प्रेम र विश्वासयोग्यताले प्रथम सुधारकलाई चिनायो । बौद्धिक अन्धकार र नैतिक भ्रष्टताको युगबाट तिनको उदय भएतापनि तिनले यी उल्लेखनीय गुणहरू धारण गरेका थिए । MBAJ 86.1
विक्लिफको चरित्रचाहिँ पवित्र धर्मशास्त्रको शिक्षा दिने र परिवर्तन गराउने शक्तिको एक गवाही हो । बाइबलले नै तिनलाई त्यस्तो अवस्थामा पुऱ्याएको थियो । प्रकाशित महान् सत्यताहरूलाई समात्ने प्रयत्न गर्दा सम्पूर्ण बौद्धिक क्षमताहरूलाई ताजा र जागृत बनाइदिन्छ । यसले दिमागको विकास गर्दछ, विचारलाई धारिलो बनाइदिन्छ, न्यायलाई परिपक्क बनाउँदछ । बाइबल अध्ययनले प्रत्येक विचार, भावना र आकांक्षाहरूलाई अरू अध्ययनले दिन नसक्ने विकास गर्दछ । यसले उद्देश्यको स्थिरता, धैर्य, साहस र दृढता दिदछ; यसले चरित्र शुद्ध पार्दछ र हृदयलाई पवित्र पार्दछ । एक उत्सुक र श्रद्धालु धर्मशास्त्र अध्ययनले विद्यार्थीका दिमागले असीम दिमागसँग प्रत्यक्ष सम्बन्ध राख्दछ, र संसारमा अझै बलियो र अझै क्रियाशील विचारशक्तिका साथै अझै महान् सिद्धान्त भएका मानिसहरू उत्पन्न हुनेथिए, यस्तो परिणाम अहिलेसम्मका सबभन्दा सक्षम मानवीय दार्शनशास्त्रको तालिमबाट आएको थिएन । भजनसंग्रहका लेखक भन्दछन्, “तपाईंका वचनको व्याख्याले ज्योति प्रदान गर्छ, त्यसले ... समझशक्ति दिन्छ ।” भजनसंग्रह ११९:१३० । MBAJ 86.2
जुन सिद्धान्तहरू विक्लिफले सिकाएका थिए त्यो केही समयसम्म निरन्तर फैलिरह्यो; विक्लिफाइट्स र लोलार्डस भनेर चिनिने तिनका अनुयायीहरू बेलायतभरि मात्र होइन, तर अरू देशहरूमा पनि सुसमाचारको ज्ञान लिएर छरपष्ट भए । अब तिनीहरूका अगुवा थिएनन्, तापनि प्रचारकहरूले अघिभन्दा पनि अझै प्रचण्ड जोशकासाथ परिश्रम गरे, भीडका भीड मानिसहरू तिनीहरूका शिक्षाहरू सुन्न ओइरिए । कति कुलीन परिवार र राजाको श्रीमती पनि विश्वास गर्नेहरूमध्ये थिए । धेरै ठाउँहरूमा मानिसहरूको व्यवहारमा स्पष्टरूपमा सुधार देखिन्थ्यो, रोमी धर्मको मूर्तिपूजक चिन्हहरूलाई चर्चबाट हटाइयो । तर बाइबललाई तिनीहरूको अगुवाको रूपमा स्वीकार गर्नेहरूमाथि चाँडै नै निर्दयी सतावटको भुमरी चल्यो । अङ्ग्रेजका राजाहरू रोमको समर्थनद्वारा तिनीहरूको शक्ति सुदृढ पार्ने उत्सुकताले सुधारकहरूलाई बलिदान गर्न पनि पछि हटेनन् । बेलायतको इतिहासमै पहिलो पल्ट सुसमाचारका अनुयायीहरूको विरुद्ध जलाउने तख्ता स्थापना गर्ने आदेश निकाल्यो । एकपछि अर्को गर्दै शहिदहरू जलाउन थाले । सत्यताका सर्मथकहरूलाई दोषी ठहराए र यातना दिए, तिनीहरूले सिपाहीहरूको प्रभुलाई मात्र आफ्नो वेदना चढाउन सक्थे । तिनीहरूलाई चर्चको शत्रु र राजद्रोहीलाई झैँ खोजिरहेका थिए, तापनि तिनीहरू यथाशक्य गरिबहरूका साधारण घरहरूमा, प्रायः गुफाहरू र ओड़ारहरूहुँदि लुक्दै गुप्त ठाउँहरूमा प्रचार गरी रहे । MBAJ 87.1
तापनि सतावटको प्रचण्डतामा एक शान्त, भक्तिपूर्ण, उत्सुक, धैर्यसाथ धार्मिक विश्वासको प्रचलित भ्रष्टताको विरोध गऱ्यो जुन युगौँसम्म बोलिरह्यो । ती अघिका इसाईहरूसँग सत्यताको अल्प ज्ञान मात्र थियो, तर तिनीहरूले परमेश्वरको वचनलाई प्रेम गर्न र पालन गर्न सिकेका थिए, र तिनीहरूले त्यसको खातिर धैर्यसाथ कष्ट सहे । प्रेरितहरूको समयका चेलाहरूले झैँ धेरैले ख्रीष्टका खातिर तिनीहरूको सांसारिक सम्पत्ति बलिदान गरिदिए । जसले तिनीहरूका घरहरूमा बस्ने अनुमति पाएका थिए तिनीहरूले बहिष्कार भएका दाजु-भाइहरूलाई हर्षसाथ आफ्नो घरमा शरण दिए, जब तिनीहरू पनि घरबाट निकालिए तिनीहरूले पनि बहिष्कृतको अंश खुशीसाथ स्वीकार गरे । वास्तवमा हजारौँ मानिसहरू अत्याचारीहरूका क्रोधदेखि भयभीत भएका थिए, त्यसैले तिनीहरूले विश्वासलाई बलिदान गरेर स्वतन्त्रतालाई खरिद गरे, र आफ्नो विश्वासलाई त्यागेको कुरालाई सार्वजनिक पार्न पश्चात्तापको वस्त्र धारण गरी जेलबाट निस्केर गए । तर सङ्ख्या भने त्यति सानो थिएन—तिनीहरूमध्ये कुलीन घरनामा जन्म लिएकाहरू साथै नम्र र साधारण मानिसहरू पनि थिए—जसले “लोलार्डहरूलाई थुन्ने धरहराहरूमा,” कालकोठरीको कोठामा निडरसाथ सत्यताको गवाही दिए, यातना र ज्वालामा पनि “उहाँको कष्टमा सहभागी हुने” योग्य पाइएको कारण तिनीहरू रमाए । MBAJ 87.2
विक्लिफको जीवनकालमा पोपका अनुयायीहरूले तिनलाई तिनीहरूको इच्छा अनुसार गर्न असफल भएका थिए, तिनको शरीर चिहानमा शान्तसाथ आराम गरिरहँदा पनि तिनीहरूको घृणा पूर्ण हुनै सकेन । त्यसकारण कन्सट्यान्सको परिषद्को आदेशअनुसार, मृत्यु भएको चालिस वर्षभन्दा धेरै भएका हड्डीहरूलाई निकालेर सार्वजनिक रूपमा जलाए, त्यसका खरानीहरूचाहिँ नजिकको खोल्सामा फालिदिए । एक जना प्राचीन लेखकले यसरी भनेका छन्, “यो खोल्साले तिनका खरानीहरू अभोनमा लग्यो, अभोनले सभर्नमा, सभर्नले समुद्रको सानो क्षेत्रहरूमा अनि तिनीहरूले महासागरमा लिएर गए । यसरी विक्लिफका खरानीहरू तिनका सिद्धान्तहरूको प्रतीक भयो जुनचाहिँ अहिले सम्पूर्ण संसारभरि फैलिएका छन् ।” —T. Fuller, Church History of Britain, b. 4, sec. 2, par. 54. तिनका दुश्मनहरूले गरेका घृणित कार्यको अर्थ त्यति बुझेनन् । MBAJ 88.1
विक्लिफका लेखहरूद्वारा नै बोहिमियाको जोन हसले पनि रोमीहरूका धेरै गल्तीहरूलाई इन्कार गरे र सुधारको काममा प्रवेश गरे । यसरी यी दुई देशहरू यति टाढ़ा भएपनि सत्यताको बीउ छरियो । बोहिमियाबाट अरू देशहरूमा काम बढ्दै गयो । मानिसहरूका दिमागहरू लामो समयदेखि बिर्सिएका परमेश्वरको वचनतर्फ केन्द्रित भए । एक दैवी हातले महान् सुधार-कार्यका लागि मार्ग तयार पारिरहेको थियो । MBAJ 88.2