महान् विवादको अन्त
५. प्रथम महान् छल
(अंग्रेजी पुस्तक अध्याय ३३ पृष्ठ ५३१)
मानिसको सबभन्दा अघिल्लो इतिहासमा नै शैतानले हाम्रा जातिलाई बहकाउन उसका प्रयासहरू प्रयोग गर्न सुरु गरेको थियो । जसले स्वर्गमा विद्रोह उ्रठाएको थियो उसले नै पृथ्वीका बासिन्दाहरूलाई पनि परमेश्वरको सरकार विरूद्ध उसको लड़ाइँमा समाविष्ट गराउने चाहना गऱ्यो । आदम र हव्वा परमेश्वरको व्यवस्थाको आज्ञाकारिताप्रति पूर्णरूपले खुशी थिए, यही तथ्यचाहिँ यो दाबी विरूद्ध ईमानदार गवाही थियो जुन शैतानले स्वर्गमा जोड़ दिएको थियो कि परमेश्वरको व्यवस्था अत्याचारपूर्ण र उहाँका प्राणीहरूको भलाइ विरोध थियो । त्यति मात्र नभएर, जब शैतानले पापबिहीन जोड़ीका लागि एक सुन्दर घर तयार भएको देख्यो तब उसको डाह उकुसमुकुस भएर आयो । उसले तिनीहरूलाई पतन गराउने निर्णय गऱ्यो ताकि तिनीहरूलाई परमेश्वरबाट अलग पारेर उसको आफ्नै शक्तिको अधीनमा ल्याउनेद्वारा उसले पृथ्वीको अधिकार प्राप्त गर्न सकोस् तथा यही नै उसले सर्वोच्चको विरोधमा उसको राज्य स्थापना गर्न सकोस् । MBA 51.1
यदि शैतानले आफ्नो वास्तविक चरित्रमा प्रकट गरेको भए, ऊ एकै पल्टमा अस्वीकृत हुने थियो, किनकि आदम र हव्वालाई यस खतरा शत्रुको विरूद्ध चेतावनी दिएको थियो; तर उसले आफ्नो उद्देश्य लुकाएर अन्धकारमा काम गऱ्यो, ताकि उसले आफ्नो लक्ष्य अझै प्रभावकारीसाथ पूरा गर्न सकोस् । त्यति बेलाको अति नै सम्मोहित देखिने प्राणी सर्पलाई माध्यम बनाएर ऊ आफैले हव्वालाई भन्यो: “के परमेश्वरले तिमीहरूलाई बगैंचाको कुनै पनि रूखको फल नखानू भनी भन्नुभएको छ ?” उत्पत्ति ३:१ । यदि हव्वाले परीक्षाकर्तासित बहस गर्न इन्कार गरेकी भए उनी सुरक्षित हुनेथिई; तर उनले ऊसँग वार्तालाप गर्ने आँट गरिन् र उसका चतुयाइँहरूको एक शिकार बन्न पुगिन् । अझै पनि धेरैजना यसरी नै पराजित हुन्छन् । तिनीहरूले परमेश्वरका शर्तहरूका विषयमा शंका गर्छन् र विवाद गर्छन्; दैवीय आज्ञाहरू पालन गर्नुभन्दा बरु तिनीहरूले मानविक सिद्धान्तहरू स्वीकार गर्छन् जुन शैतानका विषाक्त युक्तिहरूको भेषमा मात्र बदलिएका छन् । MBA 51.2
“स्त्रीले सर्पलाई भनी: ‘बगैंचाका रूखहरूको फलबाट हामी खान सक्छौं; तर बगैंचाको बीचमा भएको रूखको फलबाट चाहिँ परमेश्वरले भन्नुभएको छ: “यसबाट तिमीहरूले नखानू, न ता तिमीहरूले यसलाई छुनू; नत्र तिमीहरू मर्नेछौ ।”’ तब सर्पले स्त्रीलाई भन्यो: ‘तिमीहरू निश्चय नै मर्नेछैनौ; किनकि जुन दिन तिमीहरू यसबाट खान्छौ, त्यही दिन तिमीहरूका आँखा खोलिनेछन् र तिमीहरू परमेश्वरजस्तै असल र खराब जान्ने हुनेछौ भनी परमेश्वरले जान्नुहुन्छ ।’” उत्पत्ति ३:२-५ (KJV) । उसले घोषणा गऱ्यो कि तिनीहरू परमेश्वरजस्तै हुने थिए, र तिनीहरूले पहिलेको भन्दा अझै बुद्धि र अझै उच्च अस्तित्वको अवस्थाको क्षमता प्राप्त गर्ने थिएnbsp;। हव्वा परीक्षामा परिन्; र उनको प्रभावद्वारा आदम पनि पापमा फसे । तिनीहरूले सर्पका वचनहरू स्वीकार गरे, कि परमेश्वरको भनाइको अर्थ त्यही थिएन; तिनीहरूले आफ्ना सृष्टिकर्तालाई अविश्वास गरे र यसरी सोचे कि उहाँले तिनीहरूको स्वाधीनता बञ्चित गर्दै हुनुहुन्थ्यो र तिनीहरूले उहाँको आज्ञा भङ्ग गर्दा अझै धेरै बुद्धि र उच्चता प्राप्त गर्न सकिन्थ्यो । MBA 52.1
“जुन दिन तिमीले त्यसबाट खान्छौ, त्यही दिन तिमी निश्चय मर्नेछौ,” तर आदमले पाप पश्चात् यस वचनको अर्थमा के पाए ? शैतानले तिनलाई विश्वास दिलाएअनुसार तिनी अझै उच्च अस्तित्वको अवस्थामा हुनुपर्ने थियो, के तिनले सो अर्थपूर्ण पाए त ? त्यतिबेला निश्चय नै व्यवस्था भङ्गद्वारा त्यहाँ अधिक असल लाभ प्राप्त गर्नुपर्ने थियो, र शैतानचाहिँ जातिको हितकारीको रूपमा प्रमाणित हुनुपर्ने थियो । तर आदमले दैवीय सजायको अर्थमा यस्तो केही पनि पाएनन् । परमेश्वरले तिनको पापको सजाय स्वरूप घोषणा गर्नुभयो कि मानिस जमिनमा फर्कनुपर्छ जहाँबाट ऊ निकालिएको थियो: “तिमी माटो हौ, र तिमी माटैमा फर्किजानेछौ ।” उत्पत्ति ३:१९ (KJV) । शैतानका शब्दहरू, “तिमीहरूका आँखा खुल्नेछन्,” यो दृष्टिकोणले मात्रै सत्य प्रमाणित भयो: आदम र हव्वाले परमेश्वरको आज्ञा भङ्ग गरेपछि तिनीहरूको मूर्खता चिन्न तिनीहरूका आँखा खोलिए; तिनीहरू खराब जान्ने भए, र तिनीहरूले व्यवस्था भङ्गको तीतो फल चाखे । MBA 52.2
अदनको बीचमा जीवनको रूख उम्रेको थियो, जसको फलमा जीवनलाई अमर पार्ने शक्ति थियो । यदि आदम परमेश्वरप्रति आज्ञाकारी रहेको भए, तिनले निरन्तररूपमा यस रूखमा जाने अवसर पाउने थिए र तिनी सदासर्वदा बाँच्ने थिए । तर जब तिनले पाप गरे तब तिनी जीवनको रूखमा सहभागी हुने सौभाग्यबाट बञ्चित भए, र तिनी मृत्युको अधीनमा परे । “तिमी माटो हौ, र तिमी माटैमा फर्किजानेछौ” भनिने दैवीय सजायले जीवनको पूर्ण अन्तलाई केन्द्रित गर्दछ । MBA 52.3
आज्ञाकारीको शर्तमा मानिसलाई प्रतिज्ञा गरिएको अमरत्वको अधिकार व्यवस्था भङ्गद्वारा गुमाएको थियो । जुन कुरा तिनीसँग थिएन सो आदमले तिनका सन्ततिहरूलाई दिन सक्दैन थिए; परमेश्वरले उहाँका पुत्रको बलिदानद्वारा तिनीहरूको पहुँचमा अमरत्व ल्याउनुभयो, त्यसो नभए पतित जातिको अन्य कुनै आशा हुने थिएन । जबकि “मृत्यु सबै मानिसमा फैलियो; किनकि सबैले पाप गरेका छन्” ख्रीष्टले “सुसमाचारद्वारा जीवन र अमरतालाई ज्योतिमा ल्याउनुभएको छ ।” रोमी ५:१२; २ तिमोथी १:१० (KJV) । अनि ख्रीष्टद्वारा मात्र अमरत्व प्राप्त गर्न सकिन्छ । येशूले भन्नुभयो: “जसले पुत्रमाथि विश्वास गर्दछ, ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्वास गर्दैन, त्यसले जीवन देख्नेछैन ।” यूहन्ना ३:३६ (KJV) । यो शर्तअनुसार चल्ने प्रत्येक मानिसले यस अमूल्य आशिष्को सम्पत्तिको अधिकार प्राप्त गर्न सक्छ । “धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ ।” रोमी २:७ । MBA 53.1
महान् ठगाहा मात्र एक यस्तो व्यक्ति हो जसले आदमलाई अनाज्ञाकारीमा जीवनको प्रतिज्ञा गऱ्यो । अनि जब सर्पले हव्वालाई अदनको बगैंचामा “तिमीहरू निश्चय नै मर्नेछैनौ” भनी घोषणा गऱ्यो तब प्राणको अमरत्वको विषयमा प्रचार भएको प्रथम प्रवचन त्यही नै थियो । यो घोषणाचाहिँ केवल शैतानको अधिकारमा आधारित थियो, तापनि जसरी हाम्रा प्रथम अभिभावकहरूले स्वीकार गरेका थिए त्यसरी नै तत्परतासाथ मानवजातिका बहुसंख्याद्वारा स्वीकार गरिएको छ र इसाईजगतका पुल्पिटहरूबाट प्रतिध्वनि भएको छ । “त्यो प्राण, जसले पाप गर्छ, त्यही मर्छ” (इजकिएल १८:२०) भन्ने दैवीय सजायमा यसरी अर्थ लगाएको छ: त्यो प्राण, जसले पाप गर्छ, त्यो मर्दैन, तर अनन्तसम्म जीवित रहन्छ । हामी यस अनौठो मोहप्रति अचम्म मान्नु बाहेक अरू केही पनि छैन जसले मानिसहरूलाई शैतानका वचनहरूको विषयमा प्रमाणविना नै यति चाँडै विश्वास दिलाउँछ र परमेश्वरका वचनहरूप्रति यति अविश्वासी तुल्याउँछ । MBA 53.2
यदि मानिसले तिनको पतन पश्चात् पनि जीवनको रूखमा गएर त्यसबाट खाने स्वतन्त्र अवसर पाएको भए, तिनी अनन्तसम्म बाँच्ने थिए, र त्यसरी पाप पनि अनन्तसम्म रहने थियो । तर “जीवनको रूखतर्फको बाटोमा” पहरा गर्न करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिएको थियो । (उत्पत्ति ३:२४) । अनि आदमका परिवारबाट कोही पनि त्यो पर्खाल काटेर जान पाएको छैन र कसैले जीवनदाता रूखको फल खान पाएको छैन । त्यसकारण एउटै पनि अमरत्व पापी छैन । MBA 53.3
तर पाप प्रवेश गरेपश्चात् शैतानले उसका दूतहरूलाई मानिसको स्वभाविक अमरत्वको विश्वास प्रवेश गराउनका निम्ति विशेष प्रयत्न गर्ने आदेश दियो; र मानिसहरूलाई यस झूटो स्वीकार गर्न फुस्लाएर यस्तो निर्णयमा पुऱ्याउनुपर्ने थियो कि पापीहरू अनन्त पीड़ामा रहन्छन् । अब अन्धकारको राजकुमार उसका कामदारहरूद्वारा काम गर्दै परमेश्वरको विषयमा एक प्रतिशोधकारी तानाशाहको रूपमा वर्णन गर्दछ, जसले उहाँलाई खुशी पार्दैनन् तिनीहरू सबैलाई नरकमा फालिदिनुहुन्छ, तथा तिनीहरूले सदासर्वदा उहाँको क्रोधको महसुस गर्नुपर्नेछ; साथै जब तिनीहरूले अनन्त आगोका अवर्णनीय संताप र छट्पटाइ सहनुपर्नेछ, तब तिनीहरूका सृष्टिकर्ताले तिनीहरूमाथि सन्तुष्टिसाथ हेर्नुहुन्छ भनी घोषणा गर्दछ । MBA 54.1
यसरी प्रधान राक्षसले आफ्नै चरित्रमा मानवजातिको सृष्टिकर्ता र हितकारीको भेष धारण गर्छ । क्रूरताचाहिँ शैतानको काम हो । परमेश्वर प्रेम हुनुहुन्छ; र जबसम्म प्रथम महान् विद्रोहकारीद्वारा पाप प्रवेश भएन तबसम्म उहाँले सृष्टि गर्नुभएको सम्पूर्ण थोक शुद्ध, पवित्र र मायालु थियो । शैतान आफैचाहिँ मानिसलाई पापप्रति परीक्षा दिने, र यथाशक्य तिनको विनाश ल्याउने शत्रु हो; र जब उसले आफ्नो शिकार निश्चय नै फेला पारेको हुन्छ तब उसको विनाशको कार्यमा ऊ अति नै रमाहट गर्छ । यदि स्वीकृति पाएको भए त उसले सम्पूर्ण जातिलाई नै उसको जालमा खदार्ने थियो । यदि दैवीय शक्तिको मध्यस्थता नभएको भए आदमको कुनै पनि छोरा वा छोरी उम्कने थिएन । MBA 54.2
जसरी शैतानले तिनीहरूका सृष्टिकर्तामाथि भएको भरोसालाई अस्थिर गराई तथा उहाँको प्रशासनको बुद्धि र उहाँको व्यवस्थाको न्यायमाथि शंका उत्पन गराई हाम्रा प्रथम अभिभावकहरूलाई जित्यो त्यसरी नै आज पनि उसले मानिसहरूलाई जित्ने प्रयास गरिरहेछ । शैतान र उसका प्रतिनिधिहरूले तिनीहरूको आफ्नै दुष्टता र विद्रोहलाई निर्दोष ठराउनका निम्ति परमेश्वर त झन तिनीहरूभन्दा पनि खराब छ भनी वर्णन गर्दछन् । त्यो महान् ठगाहाले उसको आफ्नै डरलाग्दो चरित्रको क्रूरता हाम्रा स्वर्गीय पितामाथि सार्ने प्रयास गर्दछ, ताकि स्वर्गबाट बहिष्कृत हुँदा ऊ आफू अति नै अत्याचारमा परेको थियो भनी देखाउन सकोस् किनकि ऊ यस्तो एक अन्याय शासकप्रति समर्पित हुन चाहँदैनथ्यो । उसले संसारअगि स्वतन्त्रता प्रस्तुत गर्दछ जुन यहोवाका कड़ा आदेशहरूद्वारा स्थापित दासत्व विपरीत तिनीहरू उसको कोमल शासनमा रम्न सक्छन् । यसरी उसले मानिसहरूलाई परमेश्वरप्रति भएको तिनीहरूका बफादारीदेखि बहकाउन सफल हुन्छ । MBA 54.3
प्रत्येक प्रेम र कृपाको भाव तथा हाम्रो न्यायको समझप्रति पनि कस्तो विपरीत त्यो सिद्धान्त छ कि मरेका दुष्टहरू अनन्तसम्म आगो र गन्धक जलिरहेको नरकमा यातना भोगिरहन्छन्; कि तिनीहरूले पृथ्वीको छोटो जीवनका पापहरूका लागि जबसम्म परमेश्वर रहनुहुन्छ तबसम्म यातना भोग्नुपर्नेछन् । तापनि यो सिद्धान्त सर्वत्ररूपमा प्रचार भएको छ र अझै पनि धेरै इसाईजगतका धर्महरूमा समावेश गरिरहेका छन् । धर्मशास्त्रको एक शिष्ट प्रध्यापकले यसरी भन्यो: “नरकका यातनाहरूका दृश्यले सन्तहरूको खुशीयालीपन सदासर्वदा उच्च पार्नेछ । जब तिनीहरूले अरूलाई देख्छन् जो उस्तै स्वभाव र उस्तै परिस्थितिहरूमा जन्मेका हुन्छन् तिनीहरूचाहिँ यस्ता संतापमा फालिएका हुन्छन्, तर उनीहरू ता यति प्रसिद्ध भएका हुन्छन्, तब तिनीहरू कति खुशी छन् भन्ने चेतना जागृत हुनेछ ।” अर्कोले यी शब्दहरू प्रयोग गऱ्यो: “जब क्रोधका पात्रहरूमाथि अनन्त दण्डाज्ञा आइपरेको हुन्छ, तब तिनीहरूको यातनाको धुँवा सदासर्वदा कृपाका पात्रहरूको दृश्यमा गइरहनेछ, जोहरू यी संतापपूर्ण कार्यहरूमा सहभागी हुँदैनन् तर तिनीहरूले भन्नेछन्, आमेन, हल्लेलूयाह ! परमप्रभुको प्रशंसा गर !” MBA 55.1
परमेश्वरको वचनका पानाहरूमा यस्ता शिक्षाहरू कहाँ पाइन्छ ? के स्वर्गका उद्धार पाएकाहरूले सबै स्नेह र दयाका भावनाहरू र साधारण मानवताका भावनाहरू पनि गुमाएका हुन्छन् त ? के यी कुराहरू सुख दुःख उपेक्षीहरूको हेलचेक्राइँ वा असभ्यहरूको क्रूरतामा सटही हुनुपर्ने हो त ? होइन, कदापी होइन; यो शिक्षा परमेश्वरको किताबबाट होइन । जसले माथिका उद्धृत वाक्यहरूमा व्यक्त गरिएका विचारहरू प्रकट गर्दछन् तिनीहरू शिक्षित र ईमान्दारी मानिसहरू पनि हुन सक्छन्, तर तिनीहरू शैतानका कुतर्कद्वारा ठगिएका छन् । उसले तिनीहरूलाई धर्मशास्त्रको तीखो वक्तव्यमा तीतोपन र विद्रोहले रङ्याएका भाषाद्वारा गलत अर्थतर्फ डोऱ्याउँदछ जुन हाम्रा सृष्टिकर्तासँग होइन तर ऊसँग सार्न्दभिक कुरा हो । “जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, दुष्टहरूको मुत्युमा म खुशी हुन्नँ, तर तिनीहरूले आफ्नो चाल त्यागेर बाँचून् भनी म चाहन्छु । आफ्नो दुष्ट चाल त्याग ! हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ ?” इजकिएल ३३:११ । MBA 55.2
अनन्त यातनाहरू हेर्न उहाँ खुशी हुनुहुन्छ भनी हामीले स्वीकार गर्दा परमेश्वरलाई के लाभ ? के उहाँले आफ्ना प्राणीहरूलाई नरकको ज्वालाहरूमा फालेर तिनीहरूका कष्टकारी चित्कारहरू, विलापहरू र सरापहरूमा प्रसन्न हुनुहुन्छ र ? के ती डरलाग्दा आवाजहरू असीम प्रेमका कानमा सङ्गीतजस्तै हुन्छ र ? यस्तो भनाइ पनि छ कि दुष्टहरूमाथि भएको अटल कष्टले पापप्रति परमेश्वरको घृणाको प्रदर्शन गर्दथ्यो, यो दुष्टताचाहिँ ब्रमाण्डकै शान्ति र मिलापमा नष्टकारी भएको छ । ओहो, डरलाग्दो ईश्वर-निन्दा ! पापप्रति परमेश्वरको घृणाले गर्दा नै यो स्थायित्व भएझैँ प्रकट गरेको छ । किनकि यी धर्मशास्त्रीहरूका शिक्षाहरूअनुसार कृपाको आशाविना नै निरन्तर यातना भोग्नुपर्ने विचारद्वारा त्यसका असाह्य पीड़ितहरूलाई बौलाहा तुल्याउँदछ, र जब तिनीहरूले सरापहरू र ईश्वर-निन्दामा आफ्ना रिस पोखाउँछन्, तिनीहरूले आफ्ना दोषको बोझलाई सदासर्वदा थपिरहेका हुन्छन् । यसरी अगम युगहरूभरि निरन्तर बढ्दो पापको स्थायित्वबाट परमेश्वरको महिमाको विकास हुँदैन । MBA 55.3
यस अनन्त यातनाको झूटो शिक्षाको कारणले उत्पन्न भएको दुष्टता मानविक मष्तिष्कको शक्तिले अनुमान गर्न सक्दैन । बाइबलीय धर्मचाहिँ प्रेम र भलाइमा पूर्णता र दयामा प्रशस्तता छ त्यसलाई नै अन्धविश्वासको अन्धकार र आतङ्कित बादलले ढाकेको छ । जब परमेश्वरको चरित्रमा शैतानले रङ्गाएको झूटो रङको विषयमा हामी मनन गर्छौं, के हाम्रा कृपामय सृष्टिकर्तालाई भयभीत, त्रासित र घृणित प्रकट गर्दा हामी छक्क पर्न सक्छौं ? संसारभरि परमेश्वरको विषयमा भयङ्कर विचारहरू पुल्पिटका शिक्षाहरूबाट नै फैलिएका छन् जसले हजारौँ, वास्तवमा लाखौँ शंकालु र भक्तिहीन मानिसहरू उत्पन्न गरेका छन् । MBA 56.1
अनन्त यातनाको शिक्षा पनि झूटा शिक्षाहरूमध्ये एक हो जुन बेबिलोनको घृणित थोकको मद्यले बन्दछ, त्यसबाट नै त्यसले सबै राज्यहरूलाई पिउन लाउँछ । प्रकाश १४:८; १७:२ । जब ती ख्रीष्टका प्रचारकहरूले यस अपधर्म स्वीकार गर्छन् र यसलाई पवित्र पुल्पिटबाट घोषणा गर्छन् तब साँच्चै नै यो रहस्यको कुरा हो । जसरी तिनीहरूले झूटो शबाथ ग्रहण गरे त्यसरी नै यो पनि तिनीहरूले रोमबाट नै ग्रहण गरेका हुन् । वास्तवमा, महान् र असल मानिसहरूद्वारा यो सिकाइएका छन्; तर हामीले जस्तै तिनीहरूले यस विषयमा ज्योति प्राप्त गरेका थिएनन् । तिनीहरूको समयमा जति ज्योति चम्केको थियो तिनीहरू त्यसको मात्र जिम्मेवारी थिए; हामीचाहिँ हाम्रो समयमा चम्केको ज्योतिको जिम्मेवारी हुनुपर्छ । यदि हामी परमेवरको वचनको गवाहीदेखि तर्किन्छौं, र हाम्रा पिताहरूले सिकाएको कारणले हामी झूटा सिद्धान्तहरू ग्रहण गर्छौं भने ता हामी पनि बेबिलोनका निम्ति घोषणा गरिएको दोषको सजायमा सहभागी हुनेछौं; हामी त्यसको घृणित थोकको मद्य पिइरहेका हुन्छौं । MBA 56.2
जसले अनन्त यातनाको शिक्षा विरोधी स्वरूप ठहराए त्यही एक ठूला समूहका मानिसहरू विपरीत झूटतर्फ लाग्न बाध्य भए । तिनीहरू देख्छन् कि धर्मशास्त्रले परमेश्वरलाई मायालु र दयालु स्वरूप वर्णन गर्दछ, र तिनीहरूले यस्तो कुरा विश्वास गर्नै सकेनन् कि उहाँले आफ्ना प्राणीहरूलाई अनन्त जल्ने नरकको आगोमा फाल्नुहुनेछ । तर मानवको स्वभाविक अमरत्वलाई ग्रहण गरेर तिनीहरूले कुनै पनि विकल्प देख्दैनन्, त्यसैले अन्तमा सबै मानवजातिले उद्धार पाउनेछन् भन्ने निष्कर्ष निकाल्दछन् । धेरैजनाले विचार गर्छन् कि बाइबलका चेतावनीहरू मानिसहरूलाई त्रासित गराई केवल आज्ञाकारी बनाउने लक्षित गरेका थिए, तर ती कुराहरू वास्तवमा पूरा हुने थिएनन् । यसरी पापीले परमेश्वरका आज्ञाहरू उल्लङ्घन गरेर स्वार्थी सुखविलासमा जिउन सक्छ, तापनि अन्तमा परमेश्वरको अनुग्रह प्राप्तिको अपेक्षा गर्न सक्छ । यो सिद्धान्तले परमेश्वरको कृपामाथि अनुमान गरेर उहाँको न्यायलाई हेलचेक्राइँ गर्दछ, यसले शारीरिक हृदयलाई प्रसन्न पार्दछ र दुष्टहरूलाई आफ्नो अधर्ममा उत्साहित पार्दछ । MBA 56.3
विश्वव्यापी मुक्तिका विश्वासीहरूले तिनीहरूका आफ्नै आत्मा विनाशी धर्म विधानलाई कायम राख्न कसरी धर्मशास्त्र बिगार्छन् भनी प्रमाणित गर्न तिनीहरूका आफ्नै वाक्यहरू उद्धृत गर्न उचित हुन्छ । एक भक्तिहीन जवान मान्छेको दफनमा, जसको आकस्मिक दुर्घटनामा मृत्यु भएको थियो, एक विश्वप्रख्यात् प्रचारकले दाऊदको विषयमा धर्मशास्त्रको भनाइलाई लिएर बोल्यो: “अनि आमनोनको मृत्युबारे तिनको हृदयले शान्ति” पायो । २ शामूएल १३:३९ । MBA 57.1
वक्ताले भन्यो, “मलाई बारम्बार यसरी सोधेको छ, जसले पापमै संसार छोड्छ त्यसको भविष्य के हुन्छ, शायद ऊ मातेको अवस्थामा मऱ्यो होला, त्यसको पोशाकमा भएका अपराधका राता दागहरूसहित मरेको होला, वा यो जवान मानिसजस्तै धर्मको कहिले स्वीकार वा अनुभवविना नै मऱ्यो होला । हामी धर्मशास्त्रमा नै सन्तुष्टि छौं; त्यसको जवाफले कठिन समस्याहरू पनि समाधान गर्छ । अमनोन अत्यन्तै पापी थियो; ऊ अपश्चात्तापी थियो, उसलाई मताएको थियो, र ऊ मातेकै अवस्थामा उसको हत्या भयो । दाऊद परमेश्वरका एक अगमवक्ता थिए; आगामी संसारमा आमनोनलाई असल वा खराब हुन्छ भन्नेबारे तिनीसँग ज्ञान भएको हुनुपर्छ । तिनका हृदयका वक्तव्यहरू के थिए ? ‘अनि आमनोनको मृत्युबारे तिनका हृदयले शान्ति पाएपछि दाऊदलाई फेरि अब्शालोमकहाँ जान मन लाग्यो ।’ २ शामूएल १३:३९ । MBA 57.2
“यो भाषाबाट कुन निष्कर्ष निकाल्ने त ? त्यसो भए अनन्त कष्टले तिनको धार्मिक विश्वासमा केही भूमिका खेलेको छैन, होइन त ? त्यसैले हामी यसरी बुझ्छौं; यहाँ हामीले आखिरी विश्वव्यापी शुद्धता र शान्तिको अति रमणीय, उज्ज्वल, र परोपकारी परिकल्पनाको समर्थनमा विजयीपूर्ण तर्क पत्ता लगाएका छौं । तिनको छोरोको मृत्यु देखेपछि तिनले सान्त्वना पाए । अनि यस्तो किन त ? किनकि तिनले अगमवाणीको नजरद्वारा अगामी महिमित भविष्यलाई हेर्न सक्थे र त्यो छोरा सम्पूर्ण परीक्षाहरूबाट टाढ़ा लगिएको देख्न सक्थे, ऊ बन्दीबाट फुक्का भएको थियो र पापको भ्रष्टताबाट शुद्ध पारिएको थियो, र पर्याप्त मात्रामा पवित्र र शिष्ट बनाइसकेपछि माथि उचालिएका र आनन्दित आत्माहरूका दलमा प्रवेश गरिएको थियो । तिनको एउटै सान्त्वना यो थियो कि, वर्तमान पाप र दुःखको अवस्थादेखि बञ्चित भएर तिनका प्रिय छोरो यस्तो ठाउँमा गएको थियो जहाँ उसको अन्धकार प्राणमाथि पवित्र आत्माको सर्वोच्च वातावरण छरिएको हुन्थ्यो, जहाँ उसको दिमाग पनि स्वर्गीय बुद्धि र अमरत्व प्रेमका सुमधुर हर्षहरूमा खुल्ला हुन्थ्यो, र यसरी पवित्र स्वभावसाथ स्वर्गीय अंशको विश्राम र समाज उपभोग गर्न तयारी भएको थियो । MBA 57.3
“यी विचारहरूमा हामी यस्तो विश्वास निकाल्न सक्थ्यौं कि स्वर्गको मुक्तिका लागि हामीमाथि केही पनि निर्भर हुँदैन जुन हामी यस जीवनमा गर्न सक्छौं; नता वर्तमान हृदयको परिवर्तन, नता वर्तमान विश्वास, न वर्तमान धर्मको दाबीमाथि नै निर्भर रहन्छ ।” MBA 58.1
यसरी नामधारे ख्रीष्टको प्रचारकले अदनमा सर्पले बोलेको झूटोपन फेरि डोहोऱ्याउँछ: “तिमीहरू निश्चय नै मर्नेछैनौ ।” “जुन दिन तिमीहरू यसबाट खान्छौ, त्यही दिन तिमीहरूका आँखा खोलिनेछन्, र तिमीहरू परमेश्वरजस्तै असल र खराब जान्ने हुनेछौ ।” सबभन्दा खराब पापीहरू—हत्याराहरू, चोरहरू र व्यभिचारीहरू—पनि मृत्युपछि अमर हर्षमा जानलाई तयार भएका हुन्छन् भनी उसले घोषणा गर्दछ । MBA 58.2
तब यो धर्मशास्त्रको भष्टचारीले उसका निष्कर्षहरू कहाँबाट निकाल्छ त ? यो परमेश्वरको कृपाको वितरणको विषयमा दाऊदले अभिव्यक्ति गरेको समर्पणको एउटै वाक्यबाट लिएको छ । “आमनोनको मृत्युबारे तिनको हृदयले शान्ति पाएपछि दाऊदलाई फेरि अब्शालोमकहाँ जान मन लाग्यो ।” तिनको शोकको तीब्रता समय बित्दैजाँदा शान्त भयो, र तिनका विचारहरूचाहिँ मरेकोदेखि जिउँदो छोरोतर्फ फर्के, तिनी आफ्नो अपराधको उचित सजायको डरद्वारा आत्म-तिरस्कृत भएका थिए । अनि प्रमाण यही नै हो कि कौटुम्बिक व्यभिचारी र मताहा आमनोन मृत्युपछि तुरून्तै खुशीको बासिन्दामा लगियो, जहाँ शुद्धिकरण हुनुपर्ने थियो र निष्पाप स्वर्गदूतहरूका सहकर्मी हुनका निम्ति तयार गरिनुपर्ने थियो ! साँच्चै नै एक रमणीय दन्त्यकथा, शारीरिक हृदय अनुरूप राम्ररी मेल खाने ! यो शैतानको आफ्नै सिद्धान्त हो, र यसले उसको काम प्रभावकारितासाथ पूरा गर्छ । यस्तो शिक्षाको कारण दुष्टता बढ़दा के हामी चकित हुनुपर्छ र ? MBA 58.3
यो एकजना झूटो शिक्षकको कार्यले अन्य धेरैजनाका कार्यहरूलाई प्रकट गर्दछ । धर्मशास्त्रका केही शब्दहरू त्यसको प्रसङ्गबाट छुट्याएको खण्डमा प्रायजसो तिनीहरूको वर्णन भन्दा पनि त्यसको वास्तविक अर्थचाहिँ ठीक उल्टो हुन जान्छ; र यस्ता अलग गरिएका वाक्यहरूको कुव्याख्या गरेर यस्ता सिद्धान्तहरूका प्रमाण स्वरूप प्रयोग गर्दछ जुन परमेश्वरको वचनमा कुनै आधार नै छैन । मताहा आमनोन स्वर्ग गएको छ भनी प्रमाणित गर्ने लिखित गवाहीचाहिँ केवल परिकल्पना मात्र हो, कुनै मतवालाले स्वर्गको राज्यमा अधिकार पाउनेछैन भन्ने धर्मशास्त्रको सीधा र वास्तविक वाक्यांशलाई त्यसले प्रत्यक्ष प्रतिकार गर्दछ । १ कोरिन्थी ६:१० । यसरी शंकालुहरू, अविश्वासीहरू र संदेहकर्ताहरूले सत्यतालाई बटारेर झूटो बनाई दिन्छन् । अनि भीडौँ मानिसहरू तिनीहरूको बहसबाट भ्रममा पारेका छन् र तिनीहरूलाई शारीरिक सुरक्षाको कोक्रोमा सुताउन हल्लाएका छन् । MBA 59.1
यदि सबै मानिसहरू मरेकै बखत सीधै स्वर्ग जान्छन् भन्ने कुरा सत्य भए त, बरु हामी पनि जीवनभन्दा मृत्युकै ज्यादा लालच गर्ने थियौं । धेरैजनाले यस्तै विश्वासको कारण तिनीहरूका अस्तित्वलाई नै अन्त्य पारेका छन् । जब समस्या, कष्ट र निराशले चकित हुन्छ, तब जीवनको फुस्को धागोलाई चुड़ाउन र अनन्त संसारका रमाहटमा उड़ेर जान सजिलो कुराजस्तै देखिन्छ । MBA 59.2
परमेश्वरले उहाँको आज्ञा भङ्ग गर्नेहरूलाई सजाय दिनुहुनेछ भनी उहाँको वचनमा निर्णायक प्रमाण दिनुभएको छ । उहाँ अति कृपालु हुनुहुन्छ त्यसकारण पापीहरूमाथि उहाँले न्याय गर्नुहुन्न भनी ज-जसले आफ्नै निम्ति झूटो आशा उत्पन्न गर्छन्, त्यस्ता मानिसहरूले कलवरी क्रूसलाई नै हेरोस् । त्यहाँ परमेश्वरका निष्खोट पुत्रको मृत्युले गवाही दिन्छ कि “पापको ज्याला मृत्यु हो,” कि परमेश्वरको व्यवस्थाको प्रत्येक उल्लङ्घनको उचित दण्ड हुनैपर्छ । निष्पाप ख्रीष्ट हाम्रो निम्ति पाप बन्नुभयो । उहाँले अधर्मको दोष बोक्नुभयो, र उहाँ आफ्ना पिताको नजरबाट लुक्नुपऱ्यो, यहाँसम्म कि उहाँको मुटु फुट्यो र उहाँको जीवन नै चकनाचूर भयो । उहाँले यी सब बलिदान गर्नुभयो ताकि पापीहरूको उद्धार हुन सकोस् । मानिस पापको सजायबाट स्वतन्त्र हुन सक्ने अर्को कुनै उपाय थिएन । अनि जसले यस्तो मूल्यमा प्रबन्ध मिलाएको प्रायश्चितमा सहभागी हुन इन्कार गर्छन् तिनीहरू प्रत्येकले आफ्नै व्यक्तित्वमा अधर्मको दोष र सजाय भोग्नुपर्नेछ । MBA 59.3
बाइबलले भक्तिहीन र अपश्चात्तापीहरूको विषयमा अझै के भन्छ त, सो हामी विचार गरौं, जसलाई सबै मानिसहरूको मुक्तिमा विश्वास गर्नेहरूले स्वर्गका पवित्र र खुशी स्वर्गदूतहरूको स्थानमा राख्दछ । MBA 60.1
“तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु ।” प्रकाश २१:६ । यो प्रतिज्ञा तिर्खाउनेहरूका लागि मात्र हो । जसले जीवनको पानीको आवश्यकता महसुस गर्छन् र सम्पूर्ण थोकको मूल्यमा पनि त्यसको खोजी गर्छन्, तिनीहरू बाहेक अरू कसैलाई पनि सो पूर्ति गरिनेछैन । “जसले विजय प्राप्त गर्छ त्यसले यो उत्तराधिकार पाउनेछ, र म त्यसका परमेश्वर हुनेछु, र त्योचाहिँ मेरो छोरो हुनेछ ।” प्रकाश २१:७ । यहाँ शर्तहरू पनि तोकिएका छन् । सम्पूर्ण थोकको उत्तराधिकारी हुनका लागि हामीले पापलाई प्रतिकार र पराजय गर्नुपर्छ । MBA 60.2
यशैया अगमवक्ताद्वारा परमप्रभु घोषणा गर्नुहुन्छ: “धर्मी मानिसहरूलाई भन, कि तिनीहरूलाई असलै हुनेछ ।” “दुष्ट मानिसहरूलाई धिक्कार ! तिनीहरूमाथि सर्वनाश परेको छ, किनकि तिनीहरूका हातले गरेको कामको प्रतिफल तिनीहरूले पाउनेछन् ।” यशैया ३:१०, ११ । बुद्धिमान् व्यक्ति भन्छन्: “यद्यपी दुष्ट मानिसले अनेकौँ खराबी गरेर पनि लामो समयसम्म बाँचिरहन्छ, तापनि परमेश्वरको भय मान्नेहरूलाई र उहाँको अगि श्रद्धालु हुनेहरूलाई असलै हुनेछ भन्ने मलाई थाहा छ । तर दुष्टहरूले परमेश्वरको भय नमानेका हुनाले, तिनीहरूको भलो हुँदैन ।” उपदेशक ८:१२-१३ । अनि पावल गवाही दिन्छन् कि पापीहरूले “आफ्ना निम्ति क्रोध थुपारिरहेका” छन् “—क्रोध र परमेश्वरको धर्ममय न्यायको प्रकट हुने दिनका लागि; परमेश्वरले हरेकलाई उसका कामहरूअनुसार प्रतिफल दिनुहुनेछ:” “दुष्ट काम गर्ने मानिसको हरेक प्राणमाथि सङ्कष्ट र वेदना ।” रोमी २:५, ६, ९ (KJV) । MBA 60.3
“कुनै व्यभिचारीले, वा अशुद्ध मानिसले वा लोभी मानिसले, जो मूतिपूजक हो, ख्रीष्टको र परमेश्वरको राज्यमा कुनै पैतृक-सम्पत्ति पाउनेछैन ।” एफिसी ५:५ (KJV) । “सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर, पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन ।” हिब्रू १२:१४ । “जीवनको रूखमाथि अधिकार पाउनाका निम्ति र ढोकाहरूद्वारा शहरभित्र पस्न सक्नाका निम्ति जसले उहाँका आज्ञाहरू गर्छन्, उनीहरू धन्य हुन् । किनकि कुकुरहरू, टुनामुना गर्नेहरू, व्यभिचारीहरू, हत्याराहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट मन पराउने र रच्नेहरू बाहिर हुन्छन् ।” प्रकाश २२:१४, १५ (KJV) । MBA 60.4
परमेश्वरले मानिसहरूलाई उहाँको चरित्रको घोषणा र पापको समाधानको तरिका प्रदान गर्नुभएको छ । “परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ । उहाँले हजारौँ-हजारमाथि कृपा देखाउनुहुन्छ, र दुष्टता, विद्रोह र पाप क्षमा गर्नुहुन्छ । तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ ।” प्रस्थान ३४:६, ७ । “सबै दुष्टहरूलाई उहाँले नाश गर्नहुनेछ ।” “अपराधीहरूचाहिँ सखापै हुनेछन्, दुष्टका सन्तानचाहिँ बहिष्कृत हुनेछन् ।” भजनसंग्रह १४५:२०; ३७:३८ । दैवीय प्रशासनको अधिकार र शक्तिचाहिँ विद्रोह उन्मुलन गर्न प्रयोग गरिनेछ; तापनि सम्पूर्ण दण्डयुक्त न्यायका प्रदर्शनहरूचाहिँ पूर्णरूपले परमेश्वरको चरित्र अनुरूप कृपालु, क्रोध गर्नमा ढिलो र हितकारी प्राणीको रूपमा प्रकट हुनेछ । MBA 60.5
परमेश्वरले कसैको इच्छा वा निर्णयमा दबाब दिनहुन्न । दबाबपूर्ण आज्ञाकारितामा उहाँ प्रसन्न हुनुहुन्न । उहाँको चाहना यो छ कि उहाँका हातका प्राणीहरूले उहाँलाई प्रेम गर्नेछ किनकि उहाँ प्रेम-योग्य हुनुहुन्छ । तिनीहरूले उहाँको बुद्धि, न्याय र हितकारप्रति समझदारी आभार व्यक्त गरेको खण्डमा मात्र उहाँले तिनीहरूको आज्ञाकारी स्वीकार गर्नुहुनेथियो । जससँग यी गुणहरूका वास्तविक समझ छ तिनीहरू सबैले उहाँलाई प्रेम गर्नेछन् किनकि तिनीहरू उहाँका गुणहरूप्रति श्रद्धासाथ आकर्षित भएका हुन्छन् । MBA 61.1
हाम्रा मुक्तिदाताद्वारा सिकाइएका र उदाहरण दिइएका दया, कृपा र प्रेमका सिद्धान्तहरूचाहिँ परमेश्वरका इच्छा र चरित्रको प्रतिलिपी हो । ख्रीष्टले घोषणा गर्नुभयो कि उहाँले आफ्ना पिताबाट प्राप्त गर्नुभएको कुरा बाहेक अरू केही पनि सिकाउनुभएन । दैवीय सरकारका सिद्धान्तहरू मुक्तिदाताका विचारसँग पूर्ण सिलसिलाबद्ध थिए, “तिमीहरूका शत्रुहरूलाई प्रेम गर ।” परमेश्वरले ब्रमाण्डको असलका खातिर साथै जसमाथि इन्साफहरू परेका छन् तिनीहरूका भलाइका खातिर दुष्टहरूलाई न्याय गर्नुहुन्छ । यदि उहाँले आफ्नो सरकारका व्यवस्थाहरू तथा उहाँको चरित्रको न्यायलाई मध्य नजर राख्दै पनि यसो गर्न सक्नुहुन्थ्यो भने त तिनीहरूलाई प्रसन्न पार्नुहुनेथियो । उहाँले तिनीहरूलाई आफ्नो प्रेमका चिन्हहरूले घेर्नुहुन्छ, उहाँले तिनीहरूलाई आफ्नो व्यवस्थाको ज्ञान प्रदान गर्नुहुन्छ, र उहाँका कृपाका वरदानहरू तिनीहरूपछि लाग्छन्; तर तिनीहरूले उहाँका प्रेमलाई घृणा गर्छन्, उहाँका व्यवस्था रद्द गर्छन्, र उहाँका कृपालाई अस्वीकार गर्छन् । तिनीहरूले उहाँका वरदानहरू निरन्तर प्राप्त गर्छन् तापनि तिनीहरूले दातालाई अनादर गर्छन्; तिनीहरूले परमेश्वरलाई घृणा गर्छन् किनकि उहाँले तिनीहरूका पापहरू घृणा गर्नुहुन्छ भनी तिनीहरू जान्दछन् । परमप्रभुले तिनीहरूको पथभ्रष्टतामा अधिक धैर्य गर्नुहुन्छ; तर अन्तमा निर्णायक घड़ी आउनेछ, जब तिनीहरूको गन्तव्यस्थलको निर्णय हुनुपर्नेछ । के उहाँले यी विद्रोहीहरूलाई उहाँको नजिकै बाँध्नुहुनेछ ? के उहाँले तिनीहरूलाई उहाँको इच्छा पूरा गर्न बाध्य तुल्याउनुहुनेछ ? MBA 61.2
जसले शैतानलाई तिनीहरूको अगुवाको रूपमा चुनेका छन् र जो उसको शक्तिद्वारा नियन्त्रित भएका छन् तिनीहरू परमेश्वरको उपस्थितिमा प्रवेश गर्न तयार भएका छैनन् । तिनीहरूका चरित्रहरू घमण्ड, छल, कामुकता, क्रूरतामा निर्धारित भइसकेका छन् । जसलाई तिनीहरूले पृथ्वीमा हुँदा घृणा र निन्दा गरे के तिनीहरूसँगै स्वर्गमा सदासर्वदाका निम्ति वास गर्न जान सक्छन् र ? एक झूट बोल्ने व्यक्तिप्रति सत्यता कहिले पनि हर्षजनक हुनेछैन; दीनताले आत्म-कदर र घमण्डलाई सन्तुष्ट पार्नेछैन; भ्रष्टताका निम्ति शुद्धता ग्रहणयोग्य हुँदैन; स्वार्थी व्यक्तिप्रति स्वार्थरहित प्रेम आर्कषक देखिँदैन । जो पूर्णरूपमा सांसारिक र स्वार्थी चाहनाहरूमा डुबेका छन् तिनीहरूलाई स्वर्गले कुन स्रोतबाट आनन्द प्रदान गर्न सक्थ्यो र ? MBA 62.1
जसले परमेश्वरको विरूद्ध विद्रोहमा जीवन यापन गरेका छन् तिनीहरू अचानक स्वर्ग लगिएर त्यहाँ सँधै रहने पूर्णताको उच्च र पवित्र अवस्था—प्रत्येक मानिस प्रेमले भरिपूर्ण भएको, प्रत्येक मुहार आनन्दले उज्ज्वल भएको, परमेश्वर र थुमाको आदरमा हर्षित सङ्गीतको धुनयुक्त स्वरहरूमा उचालिएको, र सिंहासनमा विराजमान् हुनुहुनेको मुहारबाट मुक्ति पाएकाहरूमाथि असीम ज्योतिका खोलाहरू बगिरहेको—देख्छन्, जसका हृदयहरू परमेश्वर, सत्यता र पवित्रताप्रति घृणाले भरिएका छन् के तिनीहरू स्वर्गीय भीड़सँग तिनीहरूका प्रशंसाका गीतहरूमा समावेश हुन सक्ने थिए र ? के तिनीहरूले परमेश्वर र थुमाको महिमा खप्न सक्ने थिए र ? होइन, अहँ होइन; तिनीहरूलाई अनुग्रहका वर्षहरू प्रदान गरियो, ताकि तिनीहरूले स्वर्गका लागि चरित्र निर्माण गर्न सकोस्; तर तिनीहरूले कहिले पनि शुद्धता मन पराउन दिमागलाई तालिम दिएका छैनन्; तिनीहरूले कहिले पनि स्वर्गको भाषा सिकेका छैनन्, र अब त्यसका लागि धेरै ढिलो भइकेको छ । तिनीहरूले परमेश्वरको विरूद्ध विद्रोही जीवन नै यापन गरे, त्यसकारण तिनीहरू स्वर्गका लागि योग्य भएनन् । त्यहाँको शुद्धता, पवित्रता र शान्ति तिनीहरूका लागि यातना साबित हुने थियो; तिनीहरूका लागि परमेश्वरको महिमाचाहिँ भष्म पार्ने आगो हुने थियो । तिनीहरूले त्यो पवित्रस्थानदेखि भाग्ने उत्कट इच्छा राख्ने थिए । तिनीहरूले विनाश आमन्त्रित गर्ने थिए, ताकि तिनीहरू उहाँको मुहारबाट लुक्न सकोस् जो तिनीहरूकै उद्धारका लागि मर्नुभयो । दुष्टहरूको गन्तव्य तिनीहरूकै निर्णयद्वारा निर्धारण भएको छ । तिनीहरू स्वर्गबाट बहिष्कृत हुनुचाहिँ आफ्नै स्वेच्छा हो, र परमेश्वर त न्यायी र दयालु हुनुहुन्छ । MBA 62.2
दुष्टहरूको कुनै उपचार छैन भनी जलप्रलयको पानीले झैँ त्यो महान् दिनको आगोले पनि परमेश्वरको फैसला घोषणा गर्छन् । तिनीहरूभित्र दैवीय अधिकारमा समर्पण गर्ने कुनै स्वभावै छैन । तिनीहरूको इच्छा विद्रोहमा नै लागी परेको छ; र जब जीवनको अन्त हुन्छ, तब तिनीहरूका विचारहरूको वेगलाई विपरीत दिशातर्फ फर्काउन धेरै ढिलो भइसकेको हुन्छ, अधर्मदेखि आज्ञाकारी, घृणादेखि प्रेमतर्फ फर्कन अति नै ढिलो भइसकेको हुन्छ । MBA 63.1
परमेश्वरले त्यो हत्यारा कयिनको जीवन बचाएर संसारलाई एक उदाहरण दिनुभयो कि पापीको अनियन्त्रित अधर्मको कार्यमा त्यसलाई निरन्तर जिउने अनुमति दिंदा त्यसको प्रतिफल कस्तो हुने थियो । कयिनको शिक्षा र उदाहरणको प्रभावद्वारा तिनका भीडौँ सन्तानहरू पापमा फस्न पुगे, यहाँसम्म कि “पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको” थियो । “परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो ।” उत्पत्ति ६:५, ११ । MBA 63.2
परमेश्वरले संसारलाई कृपा गर्नुभयो र नोआको समयका दुष्ट बासिन्दाहरूलाई विनाश पार्नुभयो । कृपामा नै उहाँले सदोमका भ्रष्ट निवासीहरूलाई नष्ट पार्नुभयो । शैतानको भ्रमपूर्ण शक्तिद्वारा अधर्मका कर्मचारीहरूले सहानुभूति र प्रशंसा प्राप्त गर्छन्, र यसरी तिनीहरूले अरूलाई पनि निरन्तररूपमा विद्रोहतर्फ अगुवाइ गरिरहेछन् । कयिन र नोआ, साथै अब्राहाम र लोतको समयमा पनि त्यस्तै थियो; र हाम्रो समयमा पनि यस्तै छ । परमेश्वरले अन्तमा, ब्रमाण्डप्रति कृपा प्रकट गर्नुभएकै कारण उहाँको अनुग्रह इन्कार गर्नेहरूलाई विनाश गर्नुहुनेछ । MBA 63.3
“पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो ।” रोमी ६:२३ । जबकि धर्मीहरूका उत्तराधिकार जीवन हुन्छ भने दुष्टहरूको भागचाहिँ मृत्यु हुन्छ । मोशाले इस्राएललाई घोषणा गरे: “हेर, आज मैले तिमीहरूका अगि जीवन र वृद्धि, अनि मृत्यु र नाश राखेको छु ।” व्यवस्था ३०:१५ । यी पदहरूमा कुरा गरेको मृत्युचाहिँ आदममाथि घोषणा भएको होइन, किनकि सबै मानवजातिले तिनको अधर्मको दण्ड भोग्छ । यो त “दोस्रो मृत्यु” हो जुन अनन्त जीवन विपरीत राखिएको छ । MBA 63.4
आदमको पापको प्रतिफल स्वरूप सम्पूर्ण मानवजातिमाथि मृत्यु आयो । सबैजना उस्तै गरी चिहानमा जान्छन् । मुक्तिको योजनाका प्रबन्धहरूद्वारा सबैलाई तिनीहरूका चिहानहरूबाट बाहिर ल्याउनुपर्नेछ । “धर्मी र अधर्मीहरू दुवैको मृतकबाट पुनरुत्थान हुन्छ;” “किनकि जसरी आदममा सबै मर्दछ, त्यसैगरी ख्रीष्टमा सबै जीवित पारिनेछन् ।” प्रेरित २४:१५; १ कोरिन्थी १५:२२ । तर बाहिर निकालिनेहरूको दुई वर्गका बीचमा भिन्नता छुट्याएको हुन्छ । “जब चिहानमा हुनेहरू सबैले” उहाँको “सोर सुन्नेछन् र बाहिर निस्किआउनेछन्: सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, र कुकर्म गर्नेहरूचाहिँ दण्डाज्ञाको पुनरुत्थानको निम्ति ।” यूहन्ना ५:२८, २९ । जीवनको पुनरुत्थानमा “योग्य ठहरिनेहरू” “धन्य र पवित्र हुन् ।” “यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन ।” प्रकाश २०:६ । तर ज-जसले पापबाट पश्चात्ताप गरेका छैनन् र विश्वासद्वारा क्षमा प्राप्त गरेका छैनन् तिनीहरूले अधर्मको सजाय भोग्नैपर्छ—“पापको ज्याला ।” तिनीहरूले अवधि र तीब्रताको भिन्नतामा, “तिनीहरूका कामअनुसार” सजाय भोग्छन्, तर आखिरमा दोस्रो मृत्युमा नै अन्त हुन्छ । परमेश्वरको न्याय र कृपा अनुरूप पापीलाई त्यसकै पापमा बचाउन उहाँका लागि असम्भव कुरा हो, त्यसकारण उहाँले त्यसको अधर्मद्वारा गुमाएको अधिकारको अस्तित्व मेटाउनुहुन्छ र जसमा आफैलाई त्यसको अयोग्य प्रमाणित ठहराएको छ । एक प्रेरणात्मक लेखक भन्दछन्: “अलिक बेरपछि दुष्टहरू रहनेछैनन्, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाउनेछैनन् ।” अर्का घोषणा गर्दछन्: “तिनीहरू ... कहिले नभएजस्तै हुनेछन् ।” भजनसंग्रह ३७:१०; ओबदिया १६ । तिनीहरू बदनामीले ढाकिएका हुन्छन्, र आशाहीन, र अनन्तका लागि स्मृतिलोप भएका हुन्छन् । MBA 63.5
यसरी पाप र त्यसको परिणाम स्वरूप आएको सम्पूर्ण कष्ट र विनाशको अन्त हुनेछ । भजनसंग्रहको लेखक भन्दछन्: “तपाईंले दुष्टलाई नष्ट गर्नुभएको छ; तपाईंले सदा-सर्वदाका निम्ति तिनीहरूको नाम मेटिदिनुभएको छ । ए शत्रु, सदाका लागि विनाशहरू अन्त भएका छन् ।” भजनसंग्रह ९:५, ६ (KJV) । यूहन्नाले प्रकाशमा अनन्तको अवस्थातर्फ पूर्वदृष्टि गर्दै पूर्ण तालमेलयुक्त विश्वव्यापी प्रशंसाको स्तुति बजेका सुन्छन् । स्वर्ग र पृथ्वीमा भएका हरेक प्राणीले परमेश्वरलाई महिमाको श्रेय दिइरहेका सुन्छन् । प्रकाश ५:१३ । त्यहाँ अनन्त यातनामा दाह्रा किट्दै परमेश्वरलाई सराप्ने पापी मानिसहरू हुनेछैनन्; कुनै पनि निकम्मा मानिसले नरकमा बसेर त्यसको चित्कार उद्धार पाएकाहरूका भजनहरूसँग मिसाउनेछैन । MBA 64.1
स्वभाविक अमरताको मौलिक झूटमाथि नै मृत्युमा चेतना हुन्छ भन्ने सिद्धान्त आधारित छ—अनन्त यातना जस्ता एक सिद्धान्तचाहिँ धर्मशास्त्रका शिक्षाहरू, विवेकका निर्देशनहरू र हाम्रो मानविक भावनाहरूको विपरीत छ । प्रचलित विश्वासअनुसार मुक्ति पाएर स्वर्गमा गएकाहरूले पृथ्वीमा हुने सबै कुरा थाहा पाएका हुन्छन् र विशेषगरी तिनीहरूले छोडेर गएका साथीहरूका जीवनहरूको विषयमा थाहा पाइन्छ अरे । तर मृतकहरूले जिउँदाहरूको सबै समस्या थाहा पाउँछन्, र तिनीहरूका प्रिय जनहरू पापमा फसेका देख्छन्, तिनीहरूका निराशाहरू र जीवनका संतापहरू देख्छन् भने ती कुराहरू तिनीहरूका निम्ति कसरी खुशीको स्रोत हुन सक्थ्यो र ? जो पृथ्वीमा भएका तिनीहरूका साथीहरूमाथि उड़िरहेका छन् तिनीहरूले स्वर्गको खुशीयालीपन कतिको उपभोग गर्थे होलान् ? यो विश्वास कति विद्रोहपूर्ण छ कि शरीरबाट सास निस्कने बित्तिकै अपश्चात्तापीको आत्मा नरकको आगोमा पठाइन्छ ! जसले तिनीहरूका साथीहरू तयारी नभइकन साथै अनन्त सुर्ता र पापसाथ चिहानमा पसेका देख्छन् तिनीहरू कति गहिरो शोकमा डुब्छन् होला ! धेरैजना यस्तो मर्मभेदी विचारलाई लिएर पागल नै भएका छन् । MBA 64.2
यी कुराहरूको विषयमा धर्मशास्त्र के भन्छ त ? मृत्युमा मानिसको चेतना हुँदैन भनी दाऊद घोषण गर्दछन् । “त्यसको सास निस्कन्छ, त्यो आफ्नो माटोमा फर्किजान्छ; त्यही दिन नै त्यसका कल्पनाहरू नष्ट हुन्छन् ।” भजनसंग्रह १४६:४ (KJV) । सलोमन पनि उस्तै गवाही दिन्छन्: “हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्दछन्, तर मरेकाहरूले त केही पनि जान्दैनन् ।” “तिनीहरूका प्रेम, घृणा, ईर्ष्या सबै लोप भएका हुन्छन् । सूर्यमुनि गरिएको कुनै काममा तिनीहरूको फेरि कहिल्यै भाग हुँदैन ।” “किनभने चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ नता केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्छ ।” उपदेशक ९:५, ६, १० । MBA 65.1
जब हिजकियाहको प्रार्थना गरे र त्यसको प्रतिउत्तरमा तिनको आयु पन्ध्र वर्षसम्म थपियो, तब कृतज्ञ राजाले परमेश्वरलाई उहाँको महान् कृपाका लागि प्रशंसाका भेटी चढाए । तिनी किन यति आनन्दित भए, यही भजनमा तिनी त्यसको कारण दिन्छन्: “पातालले तपाईंको प्रशंसा गर्न सक्दैन । मृत्युले तपाईंको प्रशंसा गर्न सक्दैन । खाड़लमा जानेहरूले तपाईंको विश्वस्तताको आशा गर्न सक्दैनन् । जीवित, जीवितले मात्र तपाईंको प्रशसा गर्छ, जसरी आज म गरिरहेछु ।” यशैया ३८:१८, १९ । प्रचलित बाइबलशास्त्रले यसरी वर्णन गर्दछ कि धार्मिक मृतकहरू स्वर्गीय आनन्दमा प्रवेश गरिसकेका छन् र परमेश्वरलाई एक अमरत्व भाषामा प्रशंसा गरिरहेका छन्; तर हिजकियाहले मृत्युमा यस्ता महिमित दृश्य देख्नै सकेका थिएनन् । तिनको वचनसँग भजनसंग्रहको लेखकको गवाहीले सहमत जनाउँदछ: “मृत्युमा तपाईंको सम्झना हुँदैन, पातालमा कसले तपाईंको प्रशंसा गर्न सक्छ र ?” “मृतकहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, मृत लोकमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन् ।” भजनसंग्रह ६:५; ११५:१७ । MBA 65.2
पत्रूसले पेन्तिकोसको दिनमा घोषणा गरे कि “हाम्रो पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे र गाड़िए, अनि आजको दिनसम्म उनको चिहान छँदैछ ।” “किनकि दाऊद त स्वर्गमा चढेनन् ।” प्रेरित २:२९, ३४ । दाऊद पुनरुत्थानसम्म चिहानमा नै रहन्छन् भन्ने वास्तविकताले प्रमाणित गर्छ कि धर्मीहरू मृत्युलगत्तै स्वर्ग जाँदैनन् । यो ता पुनरुत्थानद्वारा अर्थात् ख्रीष्ट जीउठ्नुभएको छ भन्ने तथ्यको योग्यताबाट मात्र अन्तमा दाऊद परमेश्वरको दाहिने बाहुलीमा बस्न सक्छन् । MBA 65.3
अनि पावल भन्छन्: “किनकि यदि मृतकहरूको पुनरुत्थान नहुने भए ता ख्रीष्ट पनि मृतकबाट जीवित पारिनुभएन । ख्रीष्ट पुनर्जीवित पारिनुभएन भने तिमीहरूको विश्वास व्यर्थ छ, र तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ । तब त ख्रीष्टमा सुतिगएकाहरू पनि नष्ट भएका छन् ।” १ कोरिन्थी १५:१६-१८ । यदि चार हजार वर्षसम्मका धर्मीहरू मृत्युलगत्तै सीधा स्वर्ग गए भने पावलले कसरी भन्न सक्थे कि यदि त्यहाँ पुनरुत्थान नभए “ख्रीष्टमा सुतिगएकाहरू पनि नष्ट भएका छन् ?” त्यहाँ कुनै पुनरुत्थानको आवश्यकता नै पर्ने थिएन । MBA 66.1
शहिद टिन्डलले मृतकहरूको अवस्थालाई औल्याउँदै भनेका थिए: “म खुल्लमखुला यो स्वीकार गर्दछु कि ख्रीष्ट र परमेश्वरको चुनिएका स्वर्गदूतहरूका पूर्ण महिमामा तिनीहरू आइसकेका छन् भनी मलाई विश्वास लागेको छैन । नता यो मेरो विश्वासको कुनै विशेषण नै हो; यदि यो यसै हो भने त, म देख्छु कि शारीरिक पुनरुत्थानको प्रचारचाहिँ व्यर्थको कुरा हुन्थ्यो ।” —William Tyndale, Preface to New Testament (ed.1534). Reprinted in British Reformers—Tindal, Frith, Barnes, page 349. MBA 66.2
यो एक अकाट्य तथ्य हो कि मृत्युमा नै अनन्त आशिषितको आशाले गर्दा बाइबलको पुनरुत्थानको सिद्धान्तलाई सर्वत्र हेलचेक्रयाइँ गराएको छ । यो विचारलाई डा. आदम क्लर्कले सुनिश्चित बनाउँदै भने: “पुनरुत्थानको सिद्धान्त अहिलेभन्दा त मौलिक इसाईहरूको बीचमा अझै प्रतिफलयुक्त धारणा देखिएको छ ! यो कसरी हो त ? प्रेरितहरूले निरन्तरसाथ यसमा जोड़ दिइरहेका थिए, र परमेश्वरका चेलाहरूलाई यसद्वारा मेहनत, आज्ञाकारी र हर्षित बन्न प्रेरित पारेको थियो । अनि तिनीहरूका उत्तराधिकारीहरूले वर्तमानको दिनमा कहिलेकाही मात्र यसको कुरा गर्छन् ! जसरी प्रेरितहरूले प्रचार गरे, त्यसरी नै मोैलिक इसाईहरूले विश्वास गरे; जसरी हामी प्रचार गर्छौं, त्यसरी नै हाम्रा स्रोताहरूले विश्वास गर्छन् । त्यहाँ सुसमाचारमा यस्तो कुनै सिद्धान्त छैन जसको विषयमा यति धेरै जोर लगाएको छ; त्यहाँ वर्तमान प्रचारको सिलसिलामा यस्तो कुनै सिद्धान्त छैन जसलाई यस्तो अतुलनीय हेलचेक्राइँ गरिएको छ !” —Commentary, remarks on 1 Corinthians 15, paragraph 3. MBA 66.3
यो कुराले पुनरुत्थानको महिमित सत्यतालाई इसाईजगतमा झण्डै पूर्णरूपले अदृश्य र अष्पष्ट नबनाएसम्म निरन्तर चलिरहेको छ । यसरी एक प्रमुख धार्मिक लेखक १ थेसलोनिकी ४:१३-१८ को पावलका वचनहरूको सम्बन्धमा बोल्दै भन्छन्: “किनकि धर्मीहरूको आशिषित अमरत्वको सिद्धान्त नै सम्पूर्ण सान्त्वनाका व्यवहारिक उद्देश्यहरू हुन् जसले हाम्रा खातिर प्रभुको दोस्रो आगमन हुने शंकाजनक सिद्धान्तको स्थानलाई ओगटेको छ । हाम्रो मृत्युमा नै परमप्रभु हाम्रो लागि आउनुहुन्छ । हामी त्यसैका लागि प्रतीक्षा गर्नुपर्छ र जागा रहनुपर्छ । मृतकहरू महिमामा प्रवेश गरिसकेका छन् । तिनीहरूले न्याय पाउन र आशिषित हुनाका लागि तुरहीको प्रतीक्षा गर्दैनन् ।” MBA 67.1
तर जब उहाँले चेलाहरूलाई छोड्ने बेला भएको थियो, तब येशूले तिनीहरूलाई भन्नुभएन कि तिनीहरू चाँडै नै उहाँकहाँ आउनेछन् । “तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु,” उहाँले भन्नुभयो, “अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु ।” यूहन्ना १४:२, ३ । अनि पावल हामीलाई अझै भन्छन् कि, “प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन् । तब हामी बाँचिरहेका र छोड़िएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सँधै प्रभुसँग रहनेछौं ।” अनि तिनी यसरी थप्छन्, “यसैकारण एउटाले अर्कालाई यी वचनहरूले सान्त्वना देओ ।” १ थेसलोनिकी ४:१६-१८ । यी सान्त्वनाका वचनहरू र पूर्व उद्धृत सबै मानिसहरूले मुक्ति पाउँछ भनी विश्वास गर्ने प्रचारकहरूका वाक्यहरूका बीचमा कति भिन्नता छ ! पछिल्लोले चाहिँ छोड़िएका साथीहरूलाई भरोसासाथ सान्त्वना दिन्छ कि मृतक जस्तोसुकै पापी भएपनि जब उसले अन्तिम सास फेर्छ त्यही बखत उसलाई स्वर्गदूतहरूको माझमा स्वीकार्य हुन्छ । पावल तिनका भाइहरूलाई परमप्रभुको भविष्यका आगमनलाई देखाउँदछन्, जब चिहानका हातकड़ीहरू भाँचिनेछन्, तब “ख्रीष्टमा मरेकाहरू” अनन्त जीवनका लागि बौरिउठ्नेछन् । MBA 67.2
जो कोही पनि आशिषितहरूका महलहरूमा प्रवेश गर्नुभन्दा पहिला त तिनीहरूको मुद्दा छानबिन भएको हुनुपर्छ, र तिनीहरूका चरित्रहरू र कार्यहरू परमेश्वरको सामु उपस्थित भएको हुनुपर्छ । किताबहरूमा लेखिएअनुसार सबैको न्याय हुनुपर्नेछ र तिनीहरूका कामअनुसार इनाम पाउनुपर्नेछ । यो न्याय मृत्युमा हुँदैन । पावलका शब्दहरूमा ध्यान दिनुहोस्: “उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्यक्तिद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ । उनलाई मृतकबाट जीवित पारेर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ ।” प्रेरित १७:३१ । यहाँ प्रेरितले त्यति बेला नै स्पष्टसाथ भनेका थिए कि संसारको न्यायका लागि भविष्यमा एक समय निर्धारित भइसकेको छ । MBA 67.3
यहूदा त्यही अवधिको विषयमा भन्दछन्: “आफ्नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्थान त्याग्ने स्वर्गदूतहरूलाई उहाँले पातालको अन्धकारमा न्यायको त्यस ठूलो दिनसम्म अनन्त बन्धनमा राख्नुभएको छ ।” फेरि तिनी हनोकका शब्दहरू उद्धरण गर्दछन्: “हेर, परमप्रभु आफ्ना असंख्य पवित्र जनहरूसँग आउनुभयो, सबैको इन्साफ गर्न ।” यहूदा ६, १४, १५ । यूहन्ना घोषणा गर्दछन् कि तिनले “दुवै साना र ठूला मरेकाहरूलाई परमेश्वरका सामु उभिरहेका” देखे; “अनि पुस्तकहरू खोलिए; ... अनि ती पुस्तकहरूमा लेखिएका कुराहरूबाट मरेकाहरूको न्याय तिनीहरूका कामहरूअनुसार गरियो ।” प्रकाश २०:१२ (KJV) । MBA 68.1
तर यदि मृतकहरू स्वर्गका खुशीमा रमाइरहेछन् वा नरकको ज्वालामा वेदना भोगिरहेछन् भने ता भविष्यमा न्यायको आवश्यक किन पर्छ र ? यी महत्वपूर्ण विषयहरूमा परमेश्वरको वचनका शिक्षाहरू न अपस्ष्ट छन् नता असङ्गत नै छन्; ती कुराहरू साधारण दिमागहरूले पनि बुझ्न सकिन्छ । तर वर्तमान शिक्षामा निष्कपट दिमागले बुद्धि अथवा न्याय के देख्न सकिन्छ ? शायद तिनीहरू त्यो लामो युगभरि उहाँको उपस्थितिमा वास गरिरहेछन् भने के धर्मीहरूले तिनीहरूको मुद्दा छानबिनलगत्तै यस्तो स्याबासी प्राप्त गर्छन् ? “स्याबास, असल र विश्वासी नोकर ! ... तँ आफ्ना मालिकको खुशीमा सहभागी हो ।” के दुष्टहरू तिनीहरूको यातनाको स्थानदेखि समस्त पृथ्वीका न्यायकर्ताबाट सजाय प्राप्त गर्न बोलाइनेछन् त ? “हे श्रापितहरू हो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाल ।” मत्ती २५:२१, (४१ KJV) । ओहो, गम्भीर ठट्टा ! परमेश्वरको बुद्धि र न्यायको लज्जापूर्ण निन्दा ! MBA 68.2
प्राणको अमरत्वको सिद्धान्तचाहिँ झूटा सिद्धान्तहरूमध्ये एक हो, जुन रोमले मूर्तिपूजकबाट ल्याएको थियो र त्यसले इसाईजगतको धर्ममा पनि समावेश गरायो । मार्टिन लुथरले यसलाई “रोमीको मलको थुप्रोका लिखित आदेशहरूको अंशका डरलाग्दा दन्त्यकथाहरू” सँग तुलना गरे । —E. Petavel, The Problem of Immortality, page 255. मरेकाहरूले केही पनि जान्दैनन् भन्ने सलोमनले उपदेशकमा लेखेका वचनहरूलाई समर्थन गर्दै सुधारक भन्छन्: “अर्को ठाउँमा यसरी प्रमाणित गर्छ कि मरेकाहरूसँग केही पनि ... चेतना हुँदैन । तिनी भन्छन्, त्यहाँ कुनै कार्य, न विज्ञान, न ज्ञान, न बुद्धि नै हुन्छ । सलोमनले बुझे कि मृतकहरू निदाएका हुन्छन्, र केही पनि थाहा हुँदैन । किनकि मरेकाहरू ढलिरहेका हुन्छन्, र तिनीहरूले दिनहरू र वर्षहरूका हिसाब राख्दैनन्, तर जब तिनीहरू बिउँझन्छन् तब तिनीहरू एकै मिनेट पनि सुतेको जस्तो लाग्दैन ।” —Martin Luther, Exposition of Solomon’s Booke Called Ecclesiastes, page 152. MBA 68.3
मृत्युमा नै धर्मीहरूले तिनीहरूका इनाम पाउँछन् वा दुष्टहरूले तिनीहरूका सजाय पाउँछन् भन्ने लेख पवित्रशास्त्रहरूमा कही पनि पाइँदैन । बाइबलका प्राचीन मानिसहरू र अगमवक्ताहरूले यस्ता आश्वासन दिएका छैनन् । ख्रीष्ट र उहाँका चेलाहरूले यसको विषयमा कुनै संकेत दिनुभएको छैन । बाइबलले स्पष्टसाथ सिकाउँछ कि मृतकहरू तुरून्तै स्वर्ग जाँदैनन् । पुनरुत्थानसम्म सुतिरहेका छन् भनी तिनीहरूको विषयमा वर्णन गर्दछ । १ थेसलोनिकी ४:१४; अय्यूब १४:१०-१२ । जुन दिन चाँदीको तार चुड़िन्छ र सुनको कचौरा फुट्छ (उपदेशक १२:६) त्यही दिन मानिसका विचारहरू नष्ट हुन्छन् । जो चिहानमा जान्छन् तिनीहरू सुनसानमा हुन्छन् । तिनीहरूले अब सूर्यमुनि गरिएको कुनै पनि कुरा जान्दैनन् । अय्यूब १४:२१ । थकित धर्मीहरूलाई आशिषित विश्राम ! समय लामो वा छोटो जस्तोसुकै भएपनि तिनीहरूका लागि एक क्षणझैँ हुन्छ । तिनीहरू सुत्छन्; तिनीहरू महिमित अमरत्वमा परमेश्वरको तुरहीद्वारा ब्यूँझिएका हुन्छन् । “तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन् । ... जब विनाशीले अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ, तब लेखिएको त्यो वचन पूरा हुनेछ, ‘मृत्यु विजयमा निलिएको छ ।’” १ कोरिन्थी १५:५२, ५४ । जब तिनीहरूका गहिरो निन्द्राबाट बाहिर बोलाइएका हुन्छन् तब तिनीहरूले समाप्त गरेका ठाउँबाट नै सोच्न सुरु गर्छन् । अन्तिम चेतना नै मृत्युको व्याथा थियो, अन्तिम विचार नै तिनीहरू चिहानको शक्तिको अधीनमा परिरहेका थिए । जब तिनीहरू चिहानबाट उठ्नेछन्, तिनीहरूका पहिलो हर्षित विचार विजयी कराइमा प्रतिध्वनी हुनेछ: “ए मृत्यु, तेरो विजय कहाँ ? ए मृत्यु, तेरो खील कहाँ ?” १ कोरिन्थी १५:५५ । MBA 69.1