भीषण प्रतिद्वन्द्व

29/45

अध्याय - २५
आगमन (एड्‍भेन्ट) अभियानको दृष्‍टान्त

मैले झुण्डका झुण्ड मानिसहरू डोरीले बाँधिएका जस्तै देखें, जसमध्ये धेरैजना पूरै अन्धकारमय दशामा थिए । तिनीहरूका नजर संसारपट्टि झुकेका देखिए र ख्रीष्‍टसित तिनीहरूको केही सम्बन्ध थिएन । ती झुण्डका बीच-बीचबाट कतिपय यस्ता व्यक्तिहरू छिर्दै गएका पनि मैले देखें, जसका चेहरा उज्‍ज्‍वल र उनीहरूका नजर माथि स्‍वर्गतर्फ उठाइएका थिए । सूर्यको किरण झैं ख्रीष्‍टको ज्योति उनीहरूमा चम्केको थियो । एकजना स्‍वर्गदूतले मलाई भने, “राम्ररी हेर ।” तब मैले प्रत्येक ज्योतिप्राप्‍त विश्‍‍वासीमाथि एकजना दूतले निगाहपूर्ण दृष्‍टिले हेरिरहेका देखें, जब कि अन्धकारमा रहेकाहरूलाई चाहिँ शैतानिक दूतहरूले घेरेर राखेका थिए । त्यसपछि मैले एकजना स्‍वर्गदूत यसो भन्दै कराइरहेका सुनें, “परमेश्‍‍वरको भय मान र उहाँलाई महिमा देओ, किनकि न्यायको घड़ी आइपुगेको छ !” 1BP 147.1

जतिले त्यो स्‍वर्गीय ज्योतिलाई ग्रहण गरे, उनीहरू सबलाई अझ ज्योतिर्मय तुल्याउन एक महिमित ज्योतिले ती विश्‍‍वासी झुण्डमाथि बास गरेको मैले देखें । त्यो अन्धकारभित्र रहनेहरूमध्ये पनि कतिपयले ज्योतिलाई ग्रहण गरे र आनन्दित भए, तर अरू बाँकीले भने त्यस स्‍वर्गीय ज्योतिलाई इन्कार गर्दै भने, “यो ता हामीलाई भ्रममा पार्ने धोखा मात्रै हो,” तब त्यो स्‍वर्गीय ज्योतिले पनि तिनीहरूलाई अन्धकारमै छोड़िराखेर गयो । अनि ज्योतिलाई ग्रहण गर्नेहरू चाहिँ त्यही ज्योतिद्वारा आनन्दित भए । उनीहरूका उज्‍ज्‍वल चेहरामा अलौकिक आनन्द झल्किरहेको थियो, र उनीहरूले बड़ो उत्सुकतापूर्वक आफ्‍ना नजर येशूतिर नै उठाउँदै स्‍वर्गदूतहरूसँग स्‍वर मिलाएर यसो भनिरहेका मैले सुनें, “परमेश्‍‍वरको भय मान र उहाँलाई महिमा देओ, किनकि उहाँको न्यायको घड़ी आइपुगेको छ ।” जब उनीहरूले यो बुलन्द आवाज उठाए, तब अन्धकारमा भएकाहरूले उनीहरूलाई आफ्‍ना कुमले धक्‍की दिइरहेका थिए । तब ती पवित्र ज्योतिप्रेमीहरूमध्ये धेरैले आफूलाई बाँधिराखेको डोरीलाई चुँड़ालेर ती अन्धकारमा भएका झुण्डदेखि अलग्गै भए । अनि धेरैले आफूलाई बाँधिराखेका ती डोरीहरू चुँड़ाल्दै गर्दा विभिन्न दलका प्रतिष्‍ठित र सम्मानित व्यक्तिहरूमध्ये कतिजनाले चिप्‍लो घस्दै, कोही रिसले दाह्रा किट्‍दै र धम्की दिँदै उनीहरूका छेउबाट ओहोर-दोहोर गरे र घरिघरि आउँदै यसो भनिरहे, “परमेश्‍‍वर हाम्रा साथमा हुनुहुन्छ । हामी पो ज्योतिमा खड़ा छौं ता । हामी पो सत्यमा छौं ।” मैले स्‍वर्गदूतलाई ‘यी मानिसहरू चाहिँ को हुन् ?’ भनी सोधें । उनले भने, “यिनीहरू मण्डलीहरूका ती पदाधिकारी सेवक भनाउँदाहरू अर्थात् अगुवाहरू हुन्, जोहरू आफैले पनि त्यस स्‍वर्गीय ज्योतिलाई नकारे, र अरूहरूले पनि ग्रहण नगरून् भनेर बाधा दिए ।” मैले ती ज्योतिप्रेमी विश्‍‍वासीहरूलाई खूब उत्सुकतापूर्वक कहिले ख्रीष्‍ट आउनुहुन्छ र हामीलाई उठाउनुहुन्छ भनी उहाँको प्रतीक्षा गरिरहेको देखें । हेर्दाहेर्दै एउटा बादलले ती ज्योतिमा आनन्द मनाउनेहरूलाई छोप्यो र उनीहरूको चेहरामा उदासीनता छायो । मैले त्यो बादलको अर्थ सोधें, र दूतले मलाइ भने, “यो बादलले ती विश्‍‍वासी जनको निराशालाई सङ्केत गर्दछ ।” उनीहरूले प्रतीक्षा गरेको ख्रीष्‍टको आगमनको त्यो घड़ी बितेर गयो र पनि ख्रीष्‍ट नआउनुहुँदा उनीहरू निरूत्साहित भए र अघि मैले देखेका ती मण्डलीका पदाधिकारीहरू र अगुवाहरू रमाए । त्यस ज्योतिलाई नकार्नेहरू खुशीले बुरूकबुरूक उफ्रे । साथ-साथै शैतान र उसका दूतहरूले पनि विजयको हर्षोल्‍लास मनाए । 1BP 147.2

तत्पश्‍चात् मैले अर्का दूतलाई ‘बेबिलोनको पतन भो ! पतन भो !’ भन्दै कराइरहेको आवाज सुने । तब ती निरूत्साहित विश्‍‍वासीहरूमाथि ज्योति चम्क्‍यो र फेरि उनीहरूले बड़ो उत्सुकता र उत्कट चाहनासाथ ख्रीष्‍टको प्रकट हुवाइको बाटो हेर्नलागे । त्यसपछि मैले एक झुण्ड स्‍वर्गदूतहरूलाई ती ‘बेबिलोनको पतन भो ! पतन भो !” भनी कराउने दूतसित कुरा गरिरहेका देखें, र फेरि हेर्दा-हेर्दै ती दूतगण पनि दोस्रो दूतसँगै एकसाथै यसो भन्दै कराउनलागे, “हेर, दुलहा आइरहेछन्, उनलाई भेट्‍न निस्क !” यो संगीतमय आवाज चारैतिर गुञ्‍जायमान भएको भान भइरहेथ्यो । एक अत्यन्तै उज्‍ज्‍वल ज्योति ती ज्योतिप्रेमीहरू वरिपरि चम्किरहेथ्यो । उनीहरूका चेहरा परमेश्‍‍वरको महिमाले जगमगाइरहेथ्यो, र उनीहरू पनि ती दूतगणसँग एकसाथ स्‍वर मिलाईकन कराउनलागे, “हेर, दुलहा आइरहेछन्; उनलाई भेट्‍न निस्क !” अनि त्यसरी नै विभिन्न झुण्डका बीचमा स्‍वर र ताल मिलाई त्यो बुलन्द आवाज दिइरहेका बेलामा ज्योतिविरोधीहरूले उनीहरूलाई धकेल्दै र रिसले दाह्रा किट्‍दै धम्की दिए अनि गिल्‍ला गरे । तर स्‍वर्गदूतहरूले आफ्‍ना पखेता फैलाईकन, ती खेदोमा परेकाहरूको रक्षा गरे । त्यति हुँदा-हुँदै पनि शैतानले उनीहरूलाई अन्धकारमा धकेल्‍ने र त्यो स्‍वर्गीय ज्योतिलाई नकार्न लगाउने आफ्‍नो प्रयास छोड़ेन । 1BP 149.1

त्यसपश्‍चात् मैले ती धकेलिमाग्‍ने र गिल्‍ला गरिमाग्‍नेहरूलाई यसो भन्दैगरेको एउटा वाणी सुनें, “तिनीहरूका बीचदेखि निस्किआओ, र अशुद्ध कुरा नछोओ ।” तब धेरै-धेरैले आफूलाई बाँधेका डोरीहरू चुँड़ालीकन त्यो वाणीलाई पालन गरे र अन्धकारमा रहने बाँकी सबलाई छोड़ीवरी पहिल्यै आफ्‍ना बन्धनलाई तोड़ी ज्योतिमा आएकाहरूसँग मिलीकन आनन्दसाथ त्यो बुलन्द आवाज उठाउने काममा शामिल भए । त्यसै बीचमा मैले त्यतिञ्‍जेल अन्धकारमै रहिरहेकाहरूका सङ्गतिमा भएका थोरै आत्माहरू छट्‍पटाउँदै पुकारिरहेको आवाज सुनें । ती अगुवाहरू तिनीहरूका बन्धनलाई अझ कस्दै वरिपरि घुमिरहेका थिए, र पनि मैले त्यो पुकारको आवाज सुनिरहें । त्यतिमात्र भएन, तिनीहरूले त्यो स्‍वतन्‍‍त्र भई परमेश्‍‍वरमा आनन्द मनाइरहेको झुण्डसित गुहार माग्दै र परमेश्‍‍वरलाई पुकारा गर्दै आफ्‍ना हात उनीहरूतिर बढ़ाइरहेका थिए । त्यसको जवाफमा उनीहरूले स्‍वर्गतर्फ हेर्ने सङ्केत गर्दै भने, “तिनीहरूका बीचदेखि निस्किआओ, र अलग होओ,” तब तिनीहरू त्यस बन्धनदेखि फुत्कन जोर गरे र बन्धनलाई तोड़ी फुत्कन सके । त्यसपछि तिनीहरूलाई फेरि बन्धनमा कस्‍न जत्तिकै कोशिश गरे तापनि सकेनन्, किनभने परमेश्‍‍वर तिनीहरूका साथ हुनुहुन्छ । सत्य ता हामीसितै छ’ भन्ने भनाइलाई तिनीहरूले वास्तै गर्न छोड़े । तिनीहरू एक एक गर्दै ती अन्धकारमा रहेका झुण्डलाई त्यागेर ज्योतितर्फको स्‍वतन्‍‍त्र झुण्डमा शामिल हुनथाले, जुनचाहिँ झुण्ड पृथ्वीदेखि माथिकै स्थानमा जस्तो देखिँदै थियो । त्यस झुण्डकाहरूले एक टक लाएर स्‍वर्गेतिर हेरिरहेका थिए, अनि परमेश्‍‍वरको महिमाले उनीहरूमा बास गरेको थियो, र उनीहरूका ओठबाट प्रस्फुटित भइरहेका थिए - परमेश्‍‍वरकै स्तुतिका ध्वनिहरू । उनीहरू यस्तो एकतामा बद्ध थिए, कि उनीहरूलाई स्‍वर्गीय ज्योतिलेनै समेटीकन राखेको जस्तो देखिन्थ्यो । उक्त झुण्डका वरिपरि कतिपय आत्माहरू पनि थिए, जोचाहिँ ज्योतिको प्रभावले गर्दा मात्र आएका थिए, तर तिनीहरू झुण्डमै चाहिँ सम्मिलित थिएनन् । सबै ज्योतिप्रेमीहरू बड़ो उत्सुकतापूर्वक स्‍वर्गैतर्फ दृष्‍टि लगाइरहेका थिए, अनि ख्रीष्‍टले पनि प्रसन्न भईकन उनीहरूलाई करूणापूर्ण दृष्‍टिले हेरिरहनुभएको थियो । उनीहरूचाहिँ ख्रीष्‍ट कहिले आउनुहुन्छ भनी बड़ो उत्सुकतासाथ एक झलक पनि पृथ्वीतिर नहेरी स्‍वर्गैतर्फ दृष्‍टि लगाइरहेका थिए । हेर्दाहेर्दै फेरि एउटा बादल आईकन त्यस प्रतीक्षामा रहेको झुण्डमाथि बस्यो । त्यतिखेर उनीहरू निराश र हताश भएर आफ्‍ना नजर तल्तिर झारेका मैले देखें । ‘यो किन यस्तो भएको ?’ भनी मैले मेरो छेउको दूतलाई सोधें । उनले भने, “उनीहरूले सोचेको र आशा गरेको अनुसार नभइदिँदा उनीहरू हतोत्साहित भएका हुन् । ख्रीष्‍ट अझै पनि आउनुहुन्न । उनीहरूले अझै ख्रीष्‍टका निम्ति धेरै दुःख र जाँचहरूका सामना गर्नै परेको छ । उनीहरूले अझै सब प्रकारका भूल-भ्रान्तिहरू र मानिसले नै बनाएर मान्दै ल्याएका रीतिथितिहरूलाई परित्याग गरेर सम्पूर्ण तौरले परमेश्‍‍वर र उहाँका सिद्ध वचनतर्फ फर्कनुपर्छ । उनीहरू जाँचिएर र खारिएर शुद्ध, पवित्र र सिद्ध बनिएर जानुपर्छ । जो जो यी सब जाँचमा स्थिर रहनसक्‍लान् उनीहरूले नै अनन्त विजय प्राप्‍त गर्न सक्‍नेछन् ।” 1BP 149.2

अझ पनि ती आनन्दले प्रफुल्‍लित हुँदै ख्रीष्‍टको आगमनलाई पर्खिनेहरूले सोचे, आशा गरेअनुसार पवित्रस्थानलाई आगोद्वारा शुद्ध गर्न ख्रीष्‍ट आउनुभएन । भविष्यवाणीकालको हिसाब ता उनीहरूले ठीकै लगाएको मैले देखेथें । हो, भविष्यवाणीकालको इतिश्री १८४४ मै भएको हो । तर उक्त पवित्रस्थान के हो र त्यसको शुद्धिकरण कुन प्रकारले हुने हो, त्यो नबुझ्दाचाहिँ उनीहरू भ्रमित भएका हुन् । समय पूरा भएरै ख्रीष्‍ट पनि पवित्रस्थानलाई शुद्ध पार्न महापवित्रस्थानमा प्रवेश गर्नुभएको थियो । 1BP 151.1

मैले फेरि पनि ती ख्रीष्‍टागमनको प्रतीक्षामा कुरेका हतोत्साहित झुण्डलाई हेरिपठाएँ । उनीहरू निराश थिए । उनीहरूले आफ्‍नो विश्‍‍वासलाई राम्ररी जाँचे र फेरि एकचोटी भविष्यवाणीकालको हिसाबलाई हेरे, र पनि कुनै भूल भेट्टाउनसकेनन् । समय पूरा भइसक्‍यो र पनि खोइ आनुभएको ? उनीहरूले उहाँलाइ गुमाइपठाए । 1BP 152.1

त्यसपछि मलाई ती प्रभुका चेलाहरू निरूत्साह भएको दृश्‍‍य देखाइयो, जोहरू चिहानमा आएर हेर्दा त्यहाँ प्रभुको शव थिएन । मरियम भन्नथालिन्, “उनीहरूले मेरा प्रभुलाई लगेर खोइ कहाँ राखे, मलाई थाह भएन ।” त्यसबेला स्‍वर्गदूतहरूले ती हताश र निराश चेलाहरूलाई उत्तर दिए, “तिमीहरूका प्रभु ता बौरिउठिसक्‍नुभएको छ, र तिमीहरूभन्दा पहिल्यै गालीलमा पुग्‍नुहुनेछ ।” 1BP 152.2

त्यसपछि मैले ख्रीष्‍टलाई आफ्‍ना हतोत्साहित चेलाहरूलाई टिठालु नजरले हेरीवरी उनीहरूले उहाँलाई भेट्टाऊन् र आफू जहाँ गए पनि उनीहरू पछि पछि आउन् भनेर उनीहरूलाई बाटो देखाउन आफ्‍ना दूतहरू पठाउनुभएको देखें, ताकि उनीहरूले यो कुरा बुझ्‍नसकून्, कि यो पृथ्वीचाहिँ त्यो पवित्र निवास होइन रहेछ, अनि उहाँ ता स्‍वर्गीय पवित्र निवासलाई पो शुद्ध गर्नालाई महापवित्र स्थानमा प्रवेश गर्नुहुने रहेछ - इस्राएलका निम्ति विशेष प्रायश्‍चित बलिदान गर्न अनि आफ्‍ना पिताबाट राज्य लिईवरी पृथ्वीमा फर्की आउन र उनीहरूलाई सदा सर्वदा उहाँकै साथमा रहून् भनेर साथमा लैजानका निम्ति । जसरी चेलाहरूले प्रभुको शव चिहानमा नपाउँदा उनीहरू हतोत्साहित भए, त्यसरी नै आफूले चिताएको समयमा अर्थात् १८४४ मा पनि ख्रीष्‍ट नआउँदा उहाँको प्रतीक्षा गर्नेहरू हतोत्साहित भए । 1BP 152.3

त्यसपश्‍चात् मलाई त्यो समयको दृश्‍‍यपट्टि लगियो, जुनबेला ख्रीष्‍ट विजेताझैं गधामा चढ़ेर यरूशलेम पस्‍नुभएथ्यो । त्यसबेला ती हर्ष मनाइरहेका चेलाहरूले सोचे - अबचाहिँ ख्रीष्‍टले राज्य हासिल गरीवरी यही पृथ्वीमा शासन गर्न थाल्‍नुहुने रहेछ भनेर । रङ्गीन आशा र कल्पना लिएर उनीहरू आफ्‍ना राजाका पछि लागे । राम्रा-राम्रा खजुरका डालाहरू काटे, आफ्‍ना बाह्य पोशाकहरू फुकाले अनि खूब जोश र उमंग लिएर ती बाटामा ओछ्‌याए, अनि कोही अगिअगि र अरूहरू पछिपछि हिँड्‍दै यसो भन्दै कराउनलागे, “दाऊदका पुत्रलाई होसन्ना ! परमप्रभुको नाउँमा आउनुहुने धन्यका हुनुहुन्छ ! परमधाममा होसन्ना !!” उनीहरू उत्तेजित भएर उच्‍च स्‍वरमा कराउँदाहुँदि फरिसीहरूले दिक्‍क मानेर उहाँलाई ‘तिम्रा चेलाहरूलाई चूप लाग्‍नु भनिदेऊ’ भने । तर उहाँले तिनीहरूलाई यस्तो जवाफ दिनु भयो, ” यदि यिनीहरू चूप लागे भने ढुङ्गाहरू चिच्‍च्याइ उठ्‍नेछन् ।” जकरिया ९:९को भविष्यवाणी पूरा हुनै परेको थियो, तापनि त्यसको केही दिनपछि उनीहरूको आनन्द विषादमा परिणत भयो, जब उनीहरूले कलभरीतर्फ लगिँदै गरेका ख्रीष्‍टका पछि पछि गईकन र त्यो क्रूर क्रूसमा उहाँलाई रक्ताम्य अवस्थामा देख्‍नुपऱ्यो । आफ्‍नै आँखाले उनीहरूले उहाँको दर्दनाक मृत्यु देखे, र उहाँलाई चिहानमा राखे । उनीहरू शोकविह्वल भए । उनीहरूले चिताएको जस्तो एउटै पनि भएन । जसै ख्रीष्‍ट मर्नुभयो, उनीहरूको आशा पनि सँगसगै मरेर गयो । तर जब उहाँ बौरी उठीकन आफ्‍ना शोकविह्वल चेलाहरूकहाँ देखा पर्नुभयो, तब उनीहरूको आशा पनि पुनः जागृत भयो । उनीहरूले आफ्‍ना मुक्तिदातालाई एकपल्ट गुमाइपठाए तापनि फेरि पछिबाट उहाँलाई प्राप्‍त गरे । 1BP 153.1

मैले देख्ताहुँदि त्यस बखत चेलाहरू जस्तो उदास र निराश थिए, त्यसको तुलानामा १८४४ मा खीष्‍टागमनको आशा राख्‍नेहरूको निराशा त केही होइन रहेछ । उक्त भविष्यवाणी ता पहिले र दोस्रो दूतको सन्देशमै पूरा भयो । ठीक समयमै ती सन्देश दिइएका थिए र तीद्वारा हुनुपर्ने परमेश्‍‍वरको काम पनि पूरा भएकै थियो । 1BP 154.1