भीषण प्रतिद्वन्द्व
अध्याय - २
मानिसको पतन
मैले पवित्र दूतहरूलाई बेला बेलामा त्यो बगैँचामा आउँदै आदम र हव्वालाई उनीहरूले के के गर्नुपर्ने, सो सम्झाउँदै र शैतानले विद्रोह गरेर उसको पतन भएको कुरा पनि उनीहरूलाई बुझाउँदै गरेको देखें । स्वर्गदूतहरूले उनीहरूलाई शैतानको विषयमा खबरदारी गर्दै एक-अर्का देखि छुट्दै नछुट्नू भन्ने चेतावनी पनि दिए, कारण त्यो पतित भएको शत्रुले उनीहरूलाई आफ्नो सम्पर्कमा ल्याउने सम्भावना थियो । परमेश्वरको आज्ञा ठीक-ठीक पालन गर्नामा मात्रै उनीहरूको सुरक्षा हुनाले ती दूतहरूले उनीहरूलाई ‘परमेश्वरले जे-जस्तो आदेश दिनुहुन्छ, त्यहीअनुसार गर्नू’ भन्ने आदेश दिए । किनकि यदि उनीहरू परमेश्वरका आज्ञाकारी रहिरहे भने उनीहरूमाथि त्यो पतित भई गएको शत्रुको केही जोर चल्ने थिएन । 1BP 14.1
शैतानले आफ्नो काम हव्वाबाट शुरु गऱ्यो - परमेश्वरको आज्ञा भङ्ग गराएर । प्रथमतः तिनले आफ्ना पति देखि यताउता बरालिएर; दोस्रो, त्यो निषेध गरिएको वृक्ष वरिपरि अल्याङटल्याङ गरिबसेर; र तेस्रो, त्यो परीक्षा गर्नेको अवाजपट्टि ध्यान दिएर पथभ्रष्ट हुन गइन् । त्यतिमात्र नभएर तिनले ‘जुन दिन तैँले त्यस-(रूखको फल)-बाट खालास्, त्यसै दिन तँ मर्नेछस्’ भनी परमेश्वरले भन्नुभएको वचनमा शङ्का गरे र ‘त्यसै भन्नुभएको होला !’ भन्दै खेलाँची सम्झिन् । तिनले त्यो आज्ञा भङ्ग पनि गर्न आँट गरिन् । नभन्दै तिनले आफ्नो हात बढ़ाएर त्यो फल टिपीवरि खाई पनि हालिन् । त्यो हेर्दै रहरलाग्दो, खाँदा पनि मीठो, हाम्रा लागि यति असल कुरो पनि परमेश्वरले किन हामीलाई दिन अस्वीकार गर्नुभएको होला भनी मनमनै परमेश्वरदेखि रिसाइन् । त्यसपछि तिनले त्यो फल आदमलाई दिएर तिनलाई पनि परीक्षामा पारिन् । तिनले त्यो सर्पले भनेका कुराहरू आदमलाई सुनाउँदै सर्प बोलेकोमा आश्चर्य प्रकट गरिन् । 1BP 14.2
त्यतिखेर मैले आदमको चेहरामा उदासीनता छाएको देखें । तिनी भयभीत र विस्मित देखिनथाले । तिनको मनमा द्वन्द्वयुद्ध मच्चिरहेको कुरा तिनको चेहराले देखाइरहेको थियो । यो पक्कै त्यहि शत्रुको काम थियो, जसको विषयमा उनीहरूलाई चेतावनी पनि दिइएको कुरा आदमले सम्झिहाले । अब तिनकी पत्नीको अवश्यै मृत्यु हुने भयो । तर आफ्नी पत्नी हव्वाप्रति तिनको यति प्रगाढ़ प्रेम थियो, कि अति हतोत्साहित भएर आफ्नी पत्नीदेखि बिछोड़िनु भन्दा बरू तिनले आफ्नै पत्नीसितै मृत्युमा सहभागी हुने अठोट गरे, र तिनले पनि त्यो फल टपक्क टिपेर हतार-हतार खाए । तब शैतान खूब रमायो । उसले स्वर्गमा विद्रोह मच्चाएको बेला उसलाई मन पराउनेहरूले त्यस विद्रोहमा उसलाई साथ दिएका थिए । उसको ता पतन भयो भयो; तर सँगसँगै उसले अरुको पनि पतन गराइछाड्यो । अब उसले स्त्रीलाई बहकाएर परमेश्वरमाथि अविश्वास जनाउन मात्रै नलाएर उहाँको अपार बुद्धिको चेवाचर्चा गर्न र उहाँका कौशलपूर्ण योजनाहरूको भन्डाफोर गर्न खोज्ने समेत सुऱ्याउने काम गऱ्यो । स्त्री एक्लै ता पतित हुने होइन, यो शैतानलाई थाह थियो । त्यसैले आदम पनि आफ्नी पत्नीको मायाले विवश भएर पत्नी सँगै पतित भए । 1BP 15.1
मनुष्यको पतन भएको समाचार स्वर्गभरि फिँजियो । वीणाहरू बज्न छोड़ेर स्वर्गै चकमन्न भयो । स्वर्गदूतहरूले शोकविह्वल भएर आफ्ना मुकुटहरू पनि फ्याँकिपठाए । सम्पूर्ण स्वर्गभरि स्थिति तनाउपूर्ण भयो । अब त्यो अपराधमा फँसिएको दम्पतिलाई चाहिँ के गर्नुपर्ने हो, त्यही विषय लिएर विचार-विमर्श हुन थाल्यो । असल-खराबको ज्ञानको फल खाएर ता उनीहरू दोषी भए-भए, त्यसमाथि हात लम्काएर जीवनको रूखको फलबाट पनि खाइपठाए भने ता उनीहरू अजम्मरी पापी भई बाँचिरहलान् भन्ने पनि स्वर्गदूतहरूलाई डर भयो । तर परमेश्वरले भन्नुभयो, “यी उल्लङ्घनकारीहरूलाई बगैँचादेखि लखेटिदिनुपर्छ ।” त्यसपछि लगत्तै जीवनको वृक्षतर्फ जाने मार्गमा पहरा दिनालाई त्यहाँ पनि स्वर्गदूतहरू खटाइए । त्यसरी आदम र हव्वालाई परमेश्वरको आज्ञा उल्लङ्घन गराएर उहाँलाई उनीहरूदेखि नाराज पार्ने अनि त्यसपछि पाप अमर रहोस् भन्ने उद्देश्यले जीवनको रूखबाट पनि खान लगाएर उनीहरूलाई सँधै-सँधैभरि पापमै बाँचिरहन लगाउने शैतानले बड़ो चातुर्यपूर्वक युक्ति रचेको थियो । तर परमेश्वरले आफ्ना पवित्र दूतहरू पठाईकन उनीहरूलाई बगैँचादेखि बाहिर निकाल्न लगाउनुभयो र अर्को पल्टन दूतहरूलाई जीवनको रूखतर्फ जाने मार्गमा पहरा दिन नियुक्त गर्नुभयो । प्रत्येक शक्तिशाली दूतको दाहिने हातमा टलक-टलक टल्किने तरवारजस्तै हतियार देखिन्थ्यो । 1BP 15.2