भीषण प्रतिद्वन्द्व

19/45

अध्याय - १५
यहूदीहरूले पाउललाई मार्ने मतो गरे

पाउलको अनुभवपूर्ण गवाहीले मानिसहरू प्रभावित भएका देखेर मुख्य पूजाहारीहरू र शासकहरूले तिनीसित पनि द्वेष गर्नथाले । तिनले निर्भयसाथ प्रचार गर्दै येशूकै नाउँमा आश्‍चर्यकर्म गरेका औ भीड़का भीड़ मानिसहरूले तिनीबाटै ध्यानपूर्वक वचन सुनीकन आफ्‍ना रीतिथिति त्यागी सुसमाचार ग्रहण गरेका देखेर तिनीहरू झन् अग्‍निशर्मा नै भएर तिनीहरूले आपसमा यसो भन्नथाले, “यो शाउल (पाउल)ले ता तहल्कै मच्‍चाइसक्‍यो । अब यसलाई चूप पार्नको लागि सर्वोत्तम उपाय के होला ?” आखिरमा शाउललाई नै मारेर मात्रै उनीहरूको त्यो समस्या हल हुनेछ भन्ने कुरामा तिनीहरू सहमत भए । तर परमेश्‍‍वरले तिनीहरूको आशय बुझेर पाउलको रक्षार्थ स्‍वर्गदूतहरू खटाउनुभयो, किनकि तिनले आफ्‍नो सेवाकार्य पूरा गर्नु र ख्रीष्‍टका निम्ति दुःख भोग्‍नु थियो । 1BP 95.1

यहूदीहरूले आफूलाई मार्न खोजिरहेको कुरा पावलले थाह पाए । शैतानले ती अविश्‍‍वासी यहूदीहरूलाई सुऱ्याएकोले तिनीहरू तिनलाई मार्न रातदिन शहरका ढोकाहरूमा ढुकेर बसे । तर तिनका चेलाहरूले तिनलाई राती नै डालोमा हाली पर्खालबाट ओह्रालिदिए । तब ती यहूदीहरू हेरेका हेरैकै भए अनि शैतानको योजना पनि विफल भयो । अनि पावल यरुशलेममा गएर चेलाहरूसँग मिल्‍ने कोशिश गरे, तर तिनीहरूलाई तिनी पनि चेला भएका छन् भन्ने पत्यार नहुँदा सबै तिनीसँग डराए । एकातिर दमस्कसमा भएका यहूदीहरूले आफूलाई मार्न खोजिरहेका, अर्कातिर आफ्‍नै विश्‍‍वासी भाइहरूले आफूलाई तिनीहरूका साथमा राख्‍न डराएकाले गर्दा तिनी फसादमा परे । तर बर्णाबासले तिनलाई साथमा लिएर प्रेरितहरूकहाँ लगे । अनि शाउलले प्रभुलाई बाटोमा देखेका र प्रभु तिनीसँग बोल्‍नुभएको र तिनले दमस्कसमा साहससित येशूको नाउँमा प्रचार गरेका तिनीहरूलाई बताइदिए । 1BP 95.2

तर शैतानले पावललाई मार्नको लगी यहूदीहरूलाई सुऱ्याइरह्यो । त्यसपछि प्रभुले तिनलाई यरुशलेम छोड़ेर जान आदेश दिनुभयो । अनि तिनी अरु अरु शहरहरूमा येशूकै प्रचार गर्दै र आश्‍चर्यकर्महरू गर्दै जाँदा धेरै मानिसहरूले विश्‍‍वास गरे । अझ एकजना जन्मैदेखिको लङ्गड़ो मानिसलाई निको पार्दा ता लिस्‍‍त्रा नामक ठाउँका मूर्तिपूजक मानिसहरूले पावल र बर्णाबासलाई तिनीहरूका देवताहरूका अवतार ठानेर बलिपूजा गर्नआँटेका थिए । तर त्यो देखेर पावलले दुःख प्रकट गर्दै तिनीहरूलाई भने, “हजुरहरू हो, तपाईंहरू किन यस्तो काम गर्नुहुन्छ ? हामी पनि तपाईंहरूजस्तै मानिस हौं । हामीले ता उनै परमेश्‍‍वरको पो उपासना गर्नुपर्छ, जसले स्‍वर्ग, पृथ्वी, सागर र तिनका भएका यावत् थोक सृष्‍टि गर्नुभयो ।” त्यसरी पावलले तिनीहरूका सामु परमेश्‍‍वरलाई महिमा दिए, तर पनि तिनीहरूलाई मुश्‍‍किलले नै रोक्‍नसके । त्यसपछि ती मानिसहरूले सत्य परमेश्‍‍वरलाई विश्‍‍वास गर्न र उहाँलाई आदर-भक्ति चढ़ाउन थाल्दैथिए, तर त्यहाँ पनि पावलद्वारा भएको परमेश्‍‍वरको कामलाई नष्‍ट-भ्रष्‍ट पार्नलाई शैतानले अविश्‍‍वासी यहूदीहरूलाई सुऱ्याएर पावललाई खेदो गर्न लगायो । ती यहूदीहरूले पावलको विरुद्धमा झूटा झूटा आरोप लगाएर ती मानिसहरूको मनमा पावलप्रति घृणा उत्पन्न गराइदिए, र जुन मानिसहरूले केही समयअघि पावललाई देवावतार ठानेर पूजा गर्नआँटेका थिए, तिनीहरूले नै उही पावललाई ढुङ्गाले हाने, र मरेछन् भन्ठानेर तिनलाई शहरदेखि बाहिर घिस्याएर लगे । तर जब चेलाहरू तिनका वरिपरि तिनका निम्ति शोक मानिरहेका थिए, तब तिनी उठे, र शहरभित्र पसे । त्यसपछि तिनीहरूको शोक आनन्दमा परिणत भयो । 1BP 96.1

त्यहाँ पनि पावलले येशूकै प्रचार गर्दैथिए । एकजना जोखाना हेर्ने आत्मा भएकी स्‍‍त्री उनीहरूका पछि पछि यसो भन्दै कराउनथाली, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍‍वरका सेवकहरू हुन्, जसले हामीलाई मुक्तिको बाटो देखाउँछन् ।” त्यसरी त्यसले धेरै दिनसम्म उनीहरूलाई पछ्‌याइरही । त्यसले त्यसरी कराइदिँदा मानिसहरूको मन अन्यन्‍‍त्र भड्‍कन्थ्यो र सत्य वचनपट्टि ध्यानाकर्षित हुन सक्‍तैनथ्यो । त्यो पनि मानिसहरूले प्रेरितहरूका कुरा सुन्नै नपाऊन् भनेर तिनीहरूको मन खल्‍बल्याइदिने शैतानको युक्ति थियो । त्यो देखेर पावलले दिक्‍कै मानीकन फनक्‍कै फर्केर त्यस दुष्‍टात्मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई त्यसबाट निस्कने आज्ञा गर्दछु ।” तब त्यतिनै खेर त्यसबाट दुष्‍टात्मा निस्केर गयो । 1BP 97.1

ती प्रेरितहरूका पछि पछि त्यो स्‍‍त्री कराइहिँड्‍दा त्यसका मालिकहरू खुशी थिए; तर त्यसबाट दुष्‍टात्मा निस्केर गएपछि त्यही स्‍‍त्री ख्रीष्‍टकी शिष्या बन्नथालेकी देखेर तिनीहरू अग्‍निशर्मा भए । किनकि त्यस स्‍‍त्रीले जोखना हेर्ने काम गरेर तिनीहरूका निम्ति धेरै पैसा कमाइदिएकी थिई, अब त्यो सब हरायो । शैतानको युक्ति विफल भयो । त्यसो हुँदा तिनीहरूले पावल र सिलासलाई समातेर बजारको चौकमा शासकहरूकहाँ तान्दै लगे, र हाकिमहरूकहाँ ल्याएर भने, “यी मानिसहरू यहूदीहरू भईकन हाम्रो शहरमा गोलमाल मच्‍चाइरहेछन् ।” तब भीड़ उनीहरूका विरुद्धमा उठे, र शहरका हाकिमहरूले आफ्‍ना लुगा च्यातेर फालिदिए, र ‘यिनीहरूलाई छड़ी लगाओ’ भनी हुकुम गरे । तिनीहरूले उनीहरूलाई निकै छड़ी लगाएपछि झ्यालखानमा हालिदिए, र तिनीहरूलाई सुरक्षित राख्‍नू भनी तिनीहरूले झ्यालखानका हाकिमहरूलाई हुकुम दिए । त्यस्तो हुकुम पाएर तिनले उनीहरूलाई झ्यालखानको भित्री भागमा लगेर उनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए । तर परमेश्‍‍वरका दूतहरूले झ्यालखानभित्र पनि उनीहरूलाई साथ दिए । परमेश्‍‍वरले ती आफ्‍ना चुनिएका सेवकहरूका साथमा रही काम गर्दै नै हुनुहुन्छ भनी मानिसहरूलाई प्रमाणित गरी देखाइदिनुभयो । 1BP 97.2

आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍‍वरका भजन गाइरहेका थिए । एक्‍कासि एउटा ठूलो भैंचालो गयो, र झ्यालखानाका जगहरू हल्‍लिए, र तुरन्तै परमेश्‍‍वरका दूतले सबका बन्धन खोलिदिएका मैले देखें । झ्यालखानका हाकिम निद्राबाट ब्यूँझे, र झ्यालखानका ढोकाहरू उघ्रेका देखर कैदीहरू सबै भागिसके भन्ठानेर मृत्यु-दण्ड पाउने डरले तिनले आत्महत्या गर्न आँटेका मात्रै थिए, त्यतिखेरै पावलले चर्को सोरले यसो भन्दै कराए, “तपाईंले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं ।” तब परमेश्‍‍वरकै शक्तिद्वारा ती झ्यालखानाका हाकिमको हृदय कायल भयो । अनि बत्ती मागेर तिनी हामफाल्दै भित्र आए, र डरले काम्दै पावल र सिलासका अगाड़ि घोप्‍टो परे । त्यसपछि उनीहरूलाई बाहिर ल्याईवरी तिनले भने, “हजुरहरू हो, उद्धार (मुक्ति) पाउनलाई मैले के गर्नुपर्छ ?” तब उनीहरूले उत्तर दिए, “प्रभु येशू ख्रीष्‍टमाथि विश्‍‍वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ, साथै तपाईंको परिवारले पनि ।” तब झ्यालखानाका हाकिमले आफ्‍ना समस्त परिवारलाई जम्मा गरे, र पाउलले उनीहरूलाई ख्रीष्‍ट येशूको विषयमा सुसमाचार सुनाए । तत्पश्‍चात् ती हाकिमले प्रेरितहरूप्रति सहानुभूति प्रकट गर्दै उनीहरूका घाउ धोइदिए, र त्यही रात तिनी साथै तिनका परिवारले बप्‍तिस्मा पनि लिए । अनि तिनले उनीहरूका सामु भोजन राखिदिए र परमेश्‍‍वरमा विश्‍‍वास गरेर आफ्‍ना परिवारकाहरूसित आनन्द मनाए । 1BP 98.1

परमेश्‍‍वरको त्यो महिमान्वित सामर्थ्यको चर्चा चारैतिर फिँजियो, जुन सामर्थ्यद्वारा झ्यालखानका ढोकाहरू आफैआफ उघ्रेका थिए र झ्यालखानका हाकिम र तिनको परिवारकाहरूले नयाँ जीवन पाईकन बप्‍तिस्मा लिएका थिए । त्यहाँका शासकहरूले यी कुराहरू सुनेर भयभीत भईकन झ्यालखानका हाकिमकहाँ यसो भनिपठाए, “पावल र सिलासलाई छोड़िदिनुहोस् ।” तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिकलाई दोषी नै नठहराईकन उनीहरूले मानिसहरूका सामु पिटे, र झ्यालखानमा पनि हाले, र अहिले हामीलाई सुटुक्‍कै निकाल्‍न खोज्छन् ? यो हुन सक्‍तैन । उनीहरू आफै आउन् र हामीलाई निकालेर लैजाऊन् ।” त्यसरी प्रकट भएको परमेश्‍‍वरको सामर्थ्यलाई गुप्‍तमा राख्‍न पावल र सिलास चाहँदैन थिए । ती सिपाहीहरूले हाकिमहरूलाई यी कुरा सुनाए । तिनीहरू त रोमी नागरिक रहेछन् भन्ने सुनेर तिनीहरू झन् डराए, अनि तिनीहरू आईकन उनीहरूसँग क्षमा मागे र उनीहरूलाई बाहिर ल्याईकन शहर छोड़ीकन जाने अनुरोध गरे । 1BP 99.1