भीषण प्रतिद्वन्द्व

12/45

अध्याय - ८
ख्रीष्‍टमाथि लगाइएको मुद्दा

आफ्‍ना आदेशक प्रभु येशूले ता अनमोल रत्‍नजड़ित मुकुटलाई छोड़ेर काँड़ाको मुकुट पहिरी असह्य कष्‍ट भोग्‍नुपरेको देखेर स्‍वर्गदूतहरूले पनि उदास भई आफ्‍ना टलकदार मुकुटहरू फुकालेर स्‍वर्गै छोड़े । जब येशू न्यायालयमा पुऱ्याइनुभयो, तब शैतान र उसका सब दूतहरू पनि त्यहाँका मानिसहरूका मनको सहानुभूति एवम् मानवताको भावनालाई भङ्ग गर्नमा व्यस्त रहे । तिनीहरूकै कुप्रभावले गर्दा त्यहाँको वातावरण दूषित र धमिलो भएर आयो । तिनीहरूबाटै प्रेरणा पाएर मुख्य पूजाहारीहरू र बूढ़ा प्रधानहरूले येशूलाई यति नराम्रो गाली, निन्दा र अपमान गरे, त्यस्तो सहनु ता मानिसको क्षमतादेखि बाहिरको कुरा थियो । त्यस्ता निन्दा, अपमान र कष्‍टले पीड़ित भएर उहाँ, परमेश्‍‍वरका पुत्रले कतै शिकायत वा गनगन गरिपठाउनुहुन्छ कि, अथवा आफ्‍नो सामर्थ्य देखाएर भीड़लाई माड़मुड़ पारीवरी तिनीहरूदेखि फुत्केर त्यस उद्धारको योजना सब विफल हुनसक्‍ला कि भनी शैतानले आशा राखेको थियो । 1BP 47.1

येशूलाई पक्रिसकेपछि अब उहाँलाई के के गर्ने हुन्, सो हेर्नालाई पत्रुस पनि आफ्‍ना प्रभुलाई जता लगे त्यतै पछ्‌याउँदै गए । अनि जब मानिसहरूले तिनलाई ‘तिमी पनि येशूका चेलाहरूमध्ये एकजना हौ’ भन्दा तिनले ‘म होइन’ भनी इन्कार गरे, किनकी तिनलाई आफ्‍नो ज्यानको डर थियो । फेरि अर्कोपल्ट तिनलाई ‘तिमी निश्‍चय नै येशूका चेलाहरूमध्ये एकजना हुनुपर्छ’ भनी केर्दा तिनले भने, “म त्यो मान्छेलाई चिन्दै चिन्दिनँ ।” फेरि त्यहाँ भएकाहरूले तिनलाई भने, “तिमी पक्‍कै पनि येशूका चेलाहरूमध्ये एकजना हौ, किनकि तिम्रो बोलीबाटै तिमीलाई पक्रन सकिन्छ ।” तब तिनले तेस्रोपल्ट पनि इन्कार गर्दै तिनी ख्रीष्‍टका चेलाहरूमध्येका होइनन् भनेर तिनीहरूलाई विश्‍‍वास गराउन खोज्दै धिक्‍कारे, र कसम पनि खाए, तब भाले पनि बास्यो । अलि परबाट येशूले पत्रुसलाई शोकविह्वल भावमुद्रामै एकटक लगाएर हेरिरहनुभएको थियो । तब झट्टै उहाँलाई देखेर तिनले अघि बड़ो उत्साहित भएर माथिल्‍लो कमरामा ‘चाहे सबै मानिसहरूले तपाईंदेखि ठोकर खाऊन्, तर मचाहिँ कहिल्यै ठोकर खानेछैनँ’ भनी आफूले बोलेको वचन अनि येशूले तिनलाई ‘तिमीले तीनपल्ट मलाई इन्कार नगरेसम्म भाले बास्‍नेछैन’ भनी दिनुभएको जवाबको तिनलाई सम्झना भयो । त्यसरी पत्रुसले आफ्‍ना प्रभुलाई धिक्‍कार्दै र शपथ खाँदै इन्कार गरे, तर येशूले आफूलाई त्यसरी हेरिरहनुभएको देखेर त्यतिखेरै तिनले डाँको छोड़ी रोएर पश्‍चाताप गरे अनि तिनी विश्‍‍वासमा फर्केपश्‍चात् आफ्‍ना भाइहरूलाई पनि विश्‍‍वासमा स्थिर गराउन तयार भए । 1BP 47.2

उता त्यस विरोधी भीड़ले हल्‍लाखल्‍ला मच्‍चाउँदै येशूको रक्तपात गर्ने माग गरिरहेका थिए । तिनीहरूले उहाँलाई कोर्रा लगाए, अनि उहाँलाई राजकीय बैजनी वस्‍‍त्र ओढ़ाइवरी उहाँको पवित्र शिरमा काँड़ाको मुकुट बेरिदिए । त्यसपछि उहाँको हातमा एउटा निगालोको लट्ठी थम्याइदिईवरी उहाँका सामु दण्डवत् गरेको अभिनय गर्दै र यसो भन्दै उहाँलाई गिज्याए, “हे यहूदीहरूका राजा सलाम !” त्यसपछि तिनीहरूले उहाँको हातदेखि निगालो खोसेर त्यसैले उहाँको शिरमा हिर्काए, जसले गर्दा ती काँड़ाहरू उहाँको निधार र कनपटमा भासिएर उहाँको अनुहारभरि रगतको धारा बग्यो । त्यस मार्मिक दृश्‍‍यले स्‍वर्गदूतहरूलाई खपिनसक्‍नु भयो । उनीहरूले येशूलाई तिनीहरूका क्रूर हातदेखि छुटाउने उत्कट इच्छा प्रकट गरे, तर अगुवा स्‍वर्गदूतहरूले उनीहरूलाई यसो भन्दै रोके, “यो ता मानिसको लागि तिर्नुपर्ने ठूलो छुटकाराको दाम हो । यसको सबै मोल तिरिसकेपछि यसैद्वारा त्यसको पनि मृत्यु हुनेछ, जससित अहिले मृत्युको शक्ति छ ।” 1BP 48.1

येशूमाथि भइरहेको त्यो अपमान र अत्याचार ता स्‍वर्गदूतहरूले हेरिरहेका छन् भनेर येशू स्‍वयम्‌लाई पनि थाह थियो । मैले यति शक्तिशाली स्‍वर्गदूतहरू देखें, र ती देखेर मलाई ता यस्तो लाग्यो - उनीहरूमध्ये सबभन्दा दुर्बलले पनि त्यस भीड़माथि प्रबल भएर अनि तिनीहरूलाई शक्तिहीन तुल्याएर येशूलाई तिनीहरूका हातदेखि छुटाउन सक्‍नेथिए । उहाँले आफ्‍ना पिताबाट त्यसै होस् भन्ने चाहेर माग्‍नुभएको भए त्यतिखेरै स्‍वर्गदूतहरूले उहाँलाई मुक्त गराउनसक्‍ने थिए । तर त्यस उद्धारको योजनालाई पूरा गर्नकै निम्ति उहाँले ती दुष्‍टहरूबाट ती सब यातना सहनु आवश्‍‍यक थियो । 1BP 49.1

आफूमाथि त्यस्ता अत्याचार र दुर्व्यवहार हुँदा पनि येशू नम्र र दीन भएर त्यस क्रोधित भीड़का सामुन्ने चूपचापसित उभिरहनुभयो । तिनीहरूले उहाँको अनुहारमा थुके । तर तिनीहरूले उहाँको जुन अनुहारमा थुके, त्यही अनुहारदेखि एक दिन तिनीहरू भयभीत भएर ओढ़ारहुँदो लुक्‍न खोज्‍नेछन्, र त्यही मुहार सूर्यभन्दा प्रकाशमान् भएर परमेश्‍‍वरको शहरलाई ज्योति दिनेछ । तथापि उहाँले एकपल्ट पनि अपराधीहरूलाई क्रोधित नजरले हेर्नुभएन । बिस्तारै उहाँले आफ्‍नो हातले अनुहारमा लागेको थूक पुछेर फ्‍याँकनुभयो । त्यसपछि - तिनीहरूले एउटा थोत्रो लुगाले उहाँको आँखा छोप्‍ने गरी बाँधिदिएर उहाँलाई लबटा लगाइवरी हकार्दै सोधे, “लौ, कसले चाहिँ तँलाई हिर्कायो, भविष्यवाणी (अगमवाणी) गरेर भन् ।” त्यो देखेर फेरि पनि स्‍वर्गदूतहरूबीच खलबली मच्‍चियो । उनीहरूले उहाँलाई मुक्त गराउन खोजे, तर उनीहरूका प्रधान दूतले उनीहरूलाई रोके । चेलाहरूलाई पनि आफ्‍ना प्रभु जहाँ हुनुहुन्थ्यो, त्यहाँ गएर उहाँलाई कसरी यातना दिँदैछन्, सो हेर्ने आँट आयो । ती चेलाहरूले पनि उहाँले आफ्‍नो दैविक शक्ति प्रयोग गरेर शत्रुहरूका हातदेखि छुटीकन आफूप्रति देखाएको त्यो क्रूर व्यवहारको बदला लिई तिनीहरूलाई दण्ड दिनुहुन्छ होला भन्ने सम्झेका थिए । त्यहाँ घटित भएका विभिन्न घटनाहरूले उनीहरू पनि घरि आशा घरि निराशाको द्विविधामा अल्झिरहेका थिए । घरिघरि ता उनीहरूको मनमा शङ्का उत्पन्न भएर ‘कतै हामी भ्रममा ता परेका छैनौं ?’ भन्ने प्रश्‍न पनि उठिरहेथ्यो । तर जब उनीहरूले येशूको रूप परिवर्तन भएको डाँड़ामा सुनेको त्यो वाणी र उनीहरूकै आँखाले देखेको त्यो अलौकिक महिमालाई सम्झे, तब उहाँ नै परमेश्‍‍वरका पुत्र हुनुहुन्छ भनी उनीहरूका मनमा निश्‍चयता हुन थालेर उनीहरू स्थिर भइहाले । त्यति मात्र होइन, उनीहरूले देखेका उदेकलाग्दा घटनाहरू र येशूले नै गर्नुभएका आश्‍चर्यकर्महरू अर्थात् रोगीहरूलाई तत्कालै निको पार्नुभएको, अन्धाहरूका आँखा अनि बहिराका कान खोलिदिनुभएको, दुष्‍ट आत्माहरूलाई हपार्दै निकाल्‍नुभएको, मुर्दाहरूलाई बौराई जीवित पार्नुभएको, आँधी-बतासलाई पनि हपार्दा त्यसले उहाँको आज्ञा पालन गरेको, इत्यादि घटनाहरूलाई पनि उनीहरूले सम्झे । येशू मर्नुहुन्छ भनेर ता उनीहरूले पटक्‍कै सोचेका थिएनन् । उनीहरूले सम्झेका थिए - जसरी उहाँले मन्दिरभित्र पसेर परमेश्‍‍वरको भवनलाई व्यापारको अड्डा तुल्याउनेहरूलाई लखेट्‍दा कुनै सशस्‍‍त्र सैन्यदलले खेदे झैं उनीहरू उहाँदेखि भागेका थिए, त्यसरी नै उहाँले त्यहाँ पनि उठीकन आफ्‍नो शक्ति देखाउँदै र अख्तियार साथ हुङ्कार्दै त्यस रक्तपिपासु भीड़लाई छितरबितर पारिदिनुहुन्छ होला भनेर । येशूले आफ्‍नो अपार शक्ति प्रकट गरेरै सबैलाई उहाँ नै इस्राएलका राजा हुनुहुन्छ भनी प्रमाणित गर्नुहुन्छ भन्ने ती चेलाहरूले सोचेका थिए । 1BP 49.2

यहूदा इस्करयोतीले पनि येशूलाई प्रेम नगरेको ता थिएन, तर उहाँलाई भन्दा बढ्‍ता प्रेम उसले रूपियाँ-पैसालाई नै गर्थ्यो । जब उहाँले भोगिरहनुभएको कष्‍ट र पीड़ा उसकै आँखाले देख्यो तब आफूले धोकाबाजी गरेर उहाँलाई पक्राएकोमा ऊ आफैलाई सहिनसक्‍नुको पछितो र शरम लागेर आयो । हुन ता उसले पनि सोचेको थिएन, येशूले त्यस विरोधी भीड़को हातमा स्‍वयम्‌लाई सुम्पनुहुन्छ होला भनेर । अर्थात् उसले पनि येशूले आफ्‍नो दैविक शक्ति प्रयोग गरेर तिनीहरूका हातदेखि आफूलाई मुक्त गराउनुहुन्छ भन्ने सोचेको थियो । जब उसले त्यस न्यायालयमा क्रोधित भीड़लाई येशूको हत्या गर्न उत्तेजित भइरहेको देख्यो तब उसले ‘मैले ता ठूलो अपराध गरेछु’ भन्ने बुझ्यो, जब कि अरूहरूले चाहिँ एकोहोरै लागेर येशूलाई दोष लगाइरहेका थिए । तब ऊ हतार-हतार भीड़बाट छिर्दै पूजाहारीहरूकहाँ गएर आफूले लिएको चाँदीका सिक्‍काहरू फिर्ता दिँदै भन्नथाल्यो, “मैले ता निर्दोष व्यक्तिसित धोकाबाजी गरी रक्तपात गराएर पाप गरेछु । कृपया उहाँलाई छोड़िदिनुहोस्, कारण उहाँ बिलकुल निर्दोष हुनुहुन्छ ।” यो सुनेर ती पूजाहारीहरू पनि एकक्षण ता अकमक्‍कै परे । तिनीहरूले यहूदालाई - जो येशूकै एकजना चेला थियो - पैसा दिएर येशूलाई पक्राएको कुरा मानिसहरूले थाह नपाऊन् भनी सोचेका थिए। येशूलाई तिनीहरूले चोरलाई झैं पीछा गरेर उहाँलाई सुटुक्‍कै लगीवरी मार्न खोजेको कुरा ता तिनीहरूले लुकाउन खोजेका थिए । तर त्यसरी मानसिक ताप र अनिद्राले दुब्‍लाएको चेहरा लिई यहूदाले आफ्‍नो दोष मानिलिँदा भीड़को सामु यो कुरा जाहेर भयो, कि ती पूजाहारीहरूकै मनमा येशूप्रति भएको घृणात्मक भावना र द्वेषले गर्दा नै तिनीहरूले उहाँलाई मार्न खोजेका थिए । अनि यहूदाले मानिसहरूले सुन्नेगरी येशूको निर्दोषिता साबित गर्न खोज्दा पूजाहारीहरूले जवाफ दिए, “त्यो सब हामी जान्दैनौं; तिमी आफै जान ।” येशूलाई ता तिनीहरूले आफ्‍ना कब्‍जामा ल्याउन पाइहालेका थिए, र उहाँलाई के के गर्नुपर्ने, तिनीहरूले सब निश्‍चय गरिसकेका थिए । अन्तमा केही सीप नलाग्दा सन्ताप र आत्म-ग्‍लानिले पीड़ित भएर आफूले रिसवतस्‍वरूप लिएको रूपियाँ तिनीहरूकै खुट्टानेर फ्‍याँकिराख्यो, जसले उसलाई त्यो दिएका थिए, अनि गएर झुन्डी आत्महत्या गऱ्यो । 1BP 51.1

त्यस भीड़मा येशूका विरोधीहरू मात्र नभएर उहाँमाथि सहानुभूति प्रकट गर्नेहरू पनि धेरै थिए । उहाँमाथि धेरै-धेरै प्रश्‍नहरूको व्यङ्॒ग्यात्मक प्रहार हुँदा पनि उहाँ चुपचाप रहनुहुँदा सबैजना आश्‍चर्यचकित भए । अझ, तिनीहरूले जति नै उहाँलाई अपमान र गिल्‍ला गर्दा पनि उहाँको चेहरामा कुनै प्रकारको अप्रसन्नता वा दुःखको भावमुद्रा देखिएन । त्यति अपमानित हुँदा पनि उहाँ आदरयोग्य, शान्त, सिद्ध र महिमित नै देखिँदै हुनुहुन्थ्यो । उहाँलाई देखेर त्यहाँ रमिता हेर्न आउनेहरू पनि छक्‍कै परे । अनि ती मानिसहरूले उहाँको पवित्र, अटल एवम् गौरवपूर्ण व्यक्तित्‍वलाई उहाँका विरूद्धमा न्यायासनमा बस्‍नेहरूसित तुलना गरी हेरे, र आपसमा यसो भनी कुरा गर्नथाले, “यिनी ता सबै शासकहरूभन्दा पनि अझ महान् राजा हुन लायकका देखिन्छन् ।” किनकि उहाँको असामान्य धैर्य र सहनशीलता देखेर ता धेरैजना डरले काँपे पनि । यहाँसम्मन् कि, उहाँको गौरवमय एवम् ईश्‍‍वरीय व्यक्तित्‍व देखेर हेरोद र पिलातस पनि घबराए । 1BP 52.1

शुरु-शुरुमा पिलातसले उहाँलाई देख्दै उहाँचाहिँ सामान्य मानिस हुनुहुन्न, तर कुनै विशिष्‍ट व्यक्तित्‍व हुनुपर्छ भनी ठीकै अनुमान लाएका थिए । उहाँ बिलकुल निर्दोष हुनुहुन्छ भनेर पनि तिनले विश्‍‍वास गरेका थिए । अनि ती सबै घटना देख्‍ने स्‍वर्गदूतहरूले पनि येशूलाई पिलातसले निर्दोष साबित गरेको अनि उहाँप्रति सहानुभूति प्रकट गरेको र टिठाएको ध्यानपुर्वक हेरिरहेका थिए । तसर्थ येशूलाई क्रूसमा टँगाउने त्यो भयानक मामिलामा पिलातस नमुछिऊन् भनेर एकजना दूतलाई पिलातसकी पत्‍नीकहाँ सपनामा दर्शन दिई यो समाचार दिन पठाइए, “तिम्रा पति पिलातसले जसको मामिलामा हात हाल्दैछन्, उहाँचाहिँ परमेश्‍‍वरका पुत्र हुनुहुन्छ, जो विनाकसुर शासना भोग्दै हुनुहुन्छ ।” तब तुरन्तै तिनले पनि पिलातसकहाँ यसो भनी खबर पठाइन्, “मैले उनै येशूको कारण सपनामा धेरै दुःख पाएँ, तसर्थ ती पवित्र व्यक्तिको मामिलामा तपाईंले चाहिँ हात नहाल्‍नुहोला ।” त्यसपछि यो खबर पुऱ्याउनेले हस्याङ र फस्याङ गर्दै भीड़लाई जबर्जस्ती चिर्दै पसेर सो समाचारको पत्र पिलातसको हातमा दियो । जब तिनले त्यो पढ़े, तब तिनी डरले लगलग काँप्‍नथाले । त्यहाँदेखि नै तिनले त्यस मामिलादेखि हात धुने विचार गरे, र अरुले उहाँको रक्तपात गर्ने नै भए तापनि आफूले चाहिँ त्यसमा कुनै हात नदिने, बरु भरशक्‍य उहाँलाई मुक्त गर्ने प्रयासमा रहने विचार गर्नथाले । 1BP 53.1

त्यसताक हेरोद यरुशलेममा छन् भन्ने सुनेर पिलातस खुशी भए, र हेरोदले नै उहाँलाई त्यस अप्रिय मामिलाबाट पूर्णतः रिहाइ दिनेछन्, र आफूचाहिँ येशूलाई दोषी ठहराउने मामिलामा मुछिनपर्ने छैन भन्ने तिनले विचार गरे । अनि तिनले उहाँलाई र उहाँलाई दोष लगाउनेहरूलाई हेरोदकहाँ पठाइदिए । उता हेरोदको हृदय कठोर भइसकेको थियो । तिनले यूहन्ना-(बप्‍तिस्मादाता)-लाई गरेको हत्याद्वारा तिनको विवेकमा लागेको कलङ्क नै मेटाउन सकेका थिएनन् । तिनले येशूको विषयमा र उहाँले गर्नुभएका आश्‍चर्यकर्महरूबारे सुनेर कतै यूहन्ना पो मरेकाबाट बौरीउठेर आएका हुन् कि भन्ठानेर डरले लगलग काँपे, किनकि तिनको विवेक नै दोषी थियो । तर पिलातसले येशूलाई हेरोदको हातमा सुम्पँदा हेरोदले यो पनि सम्झे -- बल्‍ल पिलातसले मेरो पराक्रम, अधिकार र न्याय गर्ने योग्यतालाई चिनेछन् । त्यसैले उनीहरूबीच पहिले वैरभाव भए तापनि त्यस घटनापछि उनीहरू आपसमा मिले । अनि हेरोदले येशूलाई देखेर अब उहाँले केही आश्‍चर्यकर्म देखाईकन तिनलाई सन्तुष्‍ट तुल्याउनुहुन्छ होला भन्ने सोचेर तिनी खुशी भए । वास्तवमा आफ्‍ना आश्‍चर्यकर्म तिनलाई खुशी वा सन्तुष्‍ट पार्न अथवा तिनको इच्छा पूरा गर्नाका लागि होइन, तर अरुको उद्धार (मुक्ति)का लागि गर्नुपरेको थियो । 1BP 53.2

हेरोदले पनि येशूलाई धेरै-धेरै प्रश्‍नहरू गरे, तर उहाँ चूपचाप रहनुभयो । उहाँका विरोधीहरूले उहाँलाई दोष लगाइरहेका थिए, तापनि तिनीहरूलाई उहाँले वास्तै गर्नुभएन । हेरोदको राजशक्ति र तिनको लड़ाका पल्टन देखेर पनि येशू किञ्‍चित् पनि नडराउनुभएको देख्दा हेरोद रिसले चूर भए, र तिनले उहाँलाई गिल्‍ला र गाली गर्न थाले । त्यस्तो अपमान र दुर्व्यवहार गर्दा पनि उहाँमा महिमायुक्त एवम् ईश्‍‍वरीय व्यक्तित्‍व झल्केको देखेर तिनी पनि चकित भए, र उहाँलाई दोषी ठहऱ्याउन डराए । त्यसो हुँदा तिनले उहाँलाई फेरि पिलातसकहाँ फर्काइपठाए । 1BP 54.1

यता शैतान र उसका दूतहरूले पिलातसलाई परीक्षा गरेर तिनलाई भड़खालोमा हाल्‍ने नै कोशिस गरिरहेका थिए । तिनीहरूले पिलातसलाई सुटुक्‍क मनमा आईकन भने, “तिमीले येशूलाई दोषी ठहराउने काममा अंश ग्रहण नगरे पनि, खाँचो छैन; अरूहरूले गरिहाल्छन्, तर याद राख; यत्रो भीड़ले येशूको रक्तपात गर्नेपर्छ भनी आन्दोलन मच्‍चाइरहेको छ । यदि तिमीले येशूलाई क्रूसमा टाँग्‍न लगाएनौ भने चाहिँ तिमीले आफ्‍नो अधिकार र मान-प्रतिष्‍ठा गुमाउनुपर्नेछ, र मानिसहरूले तिमीलाई त्यो ठगमाथि विश्‍‍वास गर्ने भनेर तिम्रो निन्दा गर्नेछन् ।” 1BP 54.2

तब पिलातस पनि आफ्‍नो अधिकार र मान-प्रतिष्‍ठाबाट च्युत होइने डरले येशूलाई मार्ने कुरामा सहमति दिन वाध्यतामा परे । अनि तिनले उहाँको रगतको दोष उहाँलाई अभियोग लगाउनेहरूमाथि परोस् भनी हात धोए, अनि त्यस भीड़ले पनि ‘ठीक छ, उसको रगत हामीमाथि र हाम्रा सन्तानमाथि परोस्, पर्वाह छैन’ भनेर स्‍वीकृति जनाए तापनि तिनले धर पाएनन्, अर्थात् तिनलाई पनि उहाँको रगतको दोष लाग्यो; किनकि तिनले आफ्‍नो स्‍वार्थको निम्ति यानि सांसारिक मान-प्रतिष्‍ठाको मायाले निर्दोष येशूलाई मार्न तिनीहरूका हातमा सुम्पिदिए । 1BP 55.1