परमेश्‍‍वरको अद्‍‌भुत प्रेम

1/13

परमेश्‍‍वरको अद्‍‌भुत प्रेम

१. गेतसमनी

मत्ती २६:३६-५६; मर्कूस १४:३२-५०; लुका २२:३९-५३; यूहन्ना १८:१-१२ मा आधारित ।

मुक्तिदाता उहाँका चेलाहरूका साथ गेतसमनीको बगैंचातर्फ अघि बढ्‍नुभयो । निस्तार-चाडको बादलरहित सफा रातमा उज्यालो चन्द्रमा चम्किरहेको थियो । यात्रीहरूका पालहरूमाझ सन्नाटा छाएको थियो । PAP 1.1

येशू उत्सुकताका साथ चेलाहरूसित वार्तालाप गर्दै उनीहरूलाई शिक्षा दिंदैहुनुहुन्थ्यो; तर जसै उहाँ गेतसमनी बगैंचा नजिक पुग्‍नुभयो तब उहाँ अचम्म रूपमा शान्त हुनुभयो । कैयौंपटक उहाँ त्यस स्थानमा ध्यान गर्न तथा प्रार्थना गर्न पुग्‍नुभएको थियो; तर उहाँको त्यस अन्तिम वेदनायुक्त रातमाझैं शोकका साथ कदापि जानुभएको थिएन । उहाँ यस पृथ्वीमा आफ्‍नो जीवनकालभरि नै सदा परमेश्‍‍वरको उपस्थितिको ज्योतिमा हिंड्‍नुभएको थियो । “मलाई पठउनुहुने मसँग हुनुहुन्छ । उहाँले मलाई एक्‍लै छोड्‍नुभएको छैन, किनभने म सधैं उहाँलाई प्रसन्न तुल्याउने काम गर्दछु ।” यूहन्ना ८:२९ । तर अहिले उहाँ परमेश्‍‍वरको उपस्थितिको ज्योतिदेखि बिछोड तुल्याइएको जस्तो भान भयो । अहिले उहाँ पापीहरूमध्ये एक गनिनुभयो । उहाँले पतित मानवजातिको दोषको भार बोक्‍नु पर्नेथ्यो । उहाँ जसले पाप चिन्नुभएको थिएन उहाँमाथि हामी सबैको दोष थुपारिनेछ । उहाँको सामु पाप यति भयानक देखापऱ्यो, तथा उहाँले थाम्‍नुपर्ने भार यति गह्रौं थियो कि यसले उहाँको पिताको प्रेमदेखि सदाको निम्ति बिछोड पार्नेछ भन्ने भयको भावना उत्पन्न गरायो । पापप्रति परमेश्‍‍वरको क्रोध कति भयानक छ भन्ने भावनालाई महसुस गर्दै उहाँले यसो भन्नुभयो, “मेरो प्राण गहिरो शोकले मरेतुल्य भएको छ ।” PAP 1.2

जब तिनीहरू बगैंचातर्फ पुगे तब चेलाहरूले आफ्‍ना गुरुको अनुुहारमा आएको परिवर्तनलाई देखे । यसभन्दा पहिले तिनीहरूले येशूलाई कहिल्यै पनि यति शोकग्रस्त तथा निःशब्द अबस्थामा देखेका थिएनन् । जब उहाँ अघि बढ्‍दैगर्नुभयो, यो अचम्मको शोक अझ गहिरिन पुग्यो; तैपनि उनीहरूले यसको कारणमाथि उहाँलाई प्रश्‍न गर्ने साहस गरेनन् । उहाँको शरीर यसरी ढलमलिन पुग्यो कि मानौं उहाँ ढल्‍नेवाला हुनुहुन्थ्यो । बगैंचामा पुगे पश्‍चात् चेलाहरूले उत्सुकताका साथ उहाँको आराम गर्ने साविकको स्थान खोजे ताकि तिनीहरूका गुरुले आराम लिन सक्‍नुहुनेछ । उहाँले पूर्ण संकष्‍टका साथ प्रत्येक पाइला चाल्‍नुभयो । एक भयानक बोझको भारले दबिएर पीडा भोग्‍नुभएझैं उहाँले गह्रौं आवाज निकाल्‍नुभयो । दुईपटक उहाँका सहयोगीहरूले उहाँलाई नसम्हाल्‍नुभएको भए उहाँ जमिनमा ढल्‍नुहुने थियो । PAP 2.1

गेतसमनी बगैंचाको प्रवेशद्वार नजिकै येशूले तीन चेलाहरू बाहेक अन्य सबै चेलाहरूलाई छाड्‍नुभयो र स्‍वयम् तिनीहरूकै निम्ति प्रार्थना गर्ने आज्ञा दिनुभयो । पत्रुस, याकूब, र यूहन्नाका साथ उहाँ गेतसमनी बगैंचाको गोप्य स्थानमा जानुभयो । ती तीन चेलाहरू नै ख्रीष्‍टका सबैभन्दा निकटतम मित्रहरू थिए । तिनीहरूले जैतुनको डाँडामा उहाँको महिमालाई देखेका थिए; तिनीहरूले मोशा र एलिया उहाँसँग बोलिरहेका देखेका थिए; तिनीहरूले स्‍वर्गबाट एक आवाज सुनेका थिए; र अहिले उहाँको यस महान् कठिन घडीमा ख्रीष्‍टले आफ्‍नो सामु तिनीहरूका उपस्थिति चाहनुभयो । यस एकान्तवासमा तिनीहरूले धेरै पटक उहाँकै साथमा रात बिताएका थिए । जागा रहने तथा प्रार्थना गर्ने यिनै क्रमपश्‍चात् तिनीहरू आफ्‍ना गुरुले बिहान नब्युँझाउनु भएसम्म उहाँदेखि अलि पर बिनारोकावट सुत्‍ने गर्दथे । तर अहिले तिनीहरूले पनि उहाँसँगै प्रार्थनामा रात बिताऊन भनी उहाँले चाहना गर्नुभयो । PAP 2.2

उहाँले भन्नुभयो, “तिमीहरू यहीं बस, र मसँग जागा रहो ।” उहाँ तिनीहरूदेखि अलि पर जानुभयो जहाँ तिनीहरूले उहाँलाई देख्‍न तथा सुन्न सक्दथे— र उहाँ जमिनमा लम्पसार पर्नुभयो । पापले उहाँलाई आफ्‍नो पितादेखि अलग पार्दैछ भनी उहाँले महसुस गर्नुभयो । विभाजनको यो खाडल यति चौडा, यति अन्धकार, तथा यति गहिरो थियो कि यसका सामु उहाँको आत्मा काँप्‍नपुग्यो । यस पीडादेखि उहाँको ईश्‍‍वरीय शक्ति तर्किने प्रयास नगरोस् भनी उहाँले कठिन संघर्ष गर्नुपर्नेछ । एक मानिसको हैसियतले उहाँ पापविरुद्ध परमेश्‍‍वरको क्रोधको परिणामलाई भोग्‍नुुपर्नेछ । PAP 3.1

यस समय ख्रीष्‍टले यसभन्दा पहिला कहिल्यै पनि अनुभव नगर्नुभएको भिन्नै बिचारधारा महसुस गर्दैहुनुहुन्थ्यो । उहाँको पीडालाई अगमवक्ताको यस वचनद्वारा सर्वोत्तमरूपमा वर्णन गर्न सकिन्छ, “ए तरवार, मेरो गोठालोको विरुद्धमा उठ्, नजीकका मानिसको विरुद्धमा, जो मेरो सङ्गी हो, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।” जकरिया १३:७ । पापी मानवजातिको बदला तथा धरौटीको रूपमा ख्रीष्‍ट ईश्‍‍वरीय इन्साफको पीडा भोग्दैहुनुहुन्थ्यो । उहाँले इन्साफको अर्थ के हो भनी बुझ्‍नुभयो । उहाँ अहिलेसम्म अरूको निम्ति मध्यस्थकर्ता हुनुहुन्थ्यो; तर यस समय उहाँले स्‍वयम् आफ्‍नै निम्ति एक मध्यस्थकर्ता प्राप्‍त गर्ने इच्छा गर्नुभयो । PAP 3.2

जब ख्रीष्‍टले पितासँग आफ्‍नो सम्बन्ध विच्छेद भएको महसुस गर्नुभयो, तब उहाँमा यो डर उत्पन्न भयो कि आफ्‍नो मानव स्‍वभावमा उहाँले अन्धकारका शक्ति विरुद्धको आउँदो लडाइँलाई सामना गर्न सक्‍नुहुनेछैन । मरुभूमिको परीक्षामा मानवजातिको भाग्य दाउमा परेको थियो । त्यस समय ख्रीष्‍ट विजेता हुनुहुन्थ्यो । अहिले शैतान अन्तिम भयानक संघर्षका लागि हाजिर थियो । यसैका लागि उसले ख्रीष्‍टको सेवाकाइ अवधिको तीन बर्षदेखि नै तयारी गर्दैथियो । उसको निम्ति सबै कुरा दाउमा थियो । यदि ऊ यतिखेर असफल भयको खण्डमा उसको प्रभुत्‍वको आशा गुम्‍नेछ; अन्त्यमा संसारको राज्य ख्रीष्‍टको हुनेथियो; शैतान आफै पराजित हुनेथियो र यसप्रकार बाहिर फालिनेथियो । तर यदि ख्रीष्‍ट हार्नुभएको खण्डमा यो संसार शैतानको राज्य हुनेथियो, र मानवजाति सदाको लागि उसकै शक्तिको अधीनमा हुनेथियो । यिनै विवादका मामलाहरू ख्रीष्‍टको नजर सामु भएको कारण उहाँको आत्मा परमेश्‍‍वरदेखि विच्छेद हुने भयद्वारा भरिपूर्ण हुनपुगेको थियो । शैतानले ख्रीष्‍टलाई बतायो कि यदि उहाँ यस पापी संसारको निम्ति धरौटी बन्नुभएको खण्डमा यो विच्छेद अनन्तको हुनेछ । यसप्रकार ख्रीष्‍ट शैतानको राज्यको एक भाग बन्नुहुनेछ, र कदापि पनि परमेश्‍‍वरसँग एक हुनुहुनेछैन । PAP 4.1

आखिर यो बलिदानद्वारा के नै हासिल हुनेछ र ? मानवजातिका दोष तथा अकृतज्ञता कति आशाहीन देखा पऱ्यो ! शैतानले सबैभन्दा कठोर रूपले मुक्तिदातामाथि त्यस अवस्थाको प्रहार गऱ्यो । संसारिक तथा आत्मिकरूपमा उच्‍च स्थानमा रहेका मानिसहरूले समेत तपाईंलाई इन्कार गरिसकेका छन् भनी शैतानले बतायो । तिनीहरू जो चुनिएका जनहरूका रूपमा गरिएको प्रतिज्ञाको जग तथा केन्द्रबिन्दु हुन् तिनै मानिसहरूले तपाईंलाई नष्‍ट गर्ने प्रयत्‍न गर्दैछन् । तपाईंकै चेलाहरूमध्ये एक चेला जसले तपाईंको शिक्षालाई सुनेका छन् र जो मण्डलीको क्रियाकलापहरूमा अगुवा थिए, त्यही चेलाले तपाईंलाई धोखा दिनेछ । तपाईकै सबैभन्दा उत्सुक चेलाले तपाईंलाई इन्कार गर्नेछ । ख्रीष्‍टको सारा अस्तित्‍वले यस बिचारलाई घृणा गऱ्यो कि जसलाई बचाउने जिम्मा उहाँले लिनुभयो, जसलाई उहाँले यति धेरै प्रेम गर्नुभयो तिनीहरू नै शैतानका षड्‍यन्‍‍त्रहरूमा सहभागी हुनेछन् । यसले उहाँको आत्मालाई छियाछिया पाऱ्यो । यो संघर्ष भयानक तवरको थियो । उहाँको राज्य, उहाँका दोषी तथा धोखेबाजहरू, पापमा फसेको संसारको दोष नै यसको परिमाण थियो । मानवजातिको पाप ख्रीष्‍टमाथि भारी सावित भयो, र पापविरुद्ध परमेश्‍‍वरको क्रोधको भावनाले उहाँको जीवनलाई चकनाचुर पार्दैथियो । PAP 5.1

मानव आत्माका निम्ति चुकाउनु पर्ने मूल्यको बारेमा उहाँले चिन्तन गर्नुभएको दृश्‍‍यतर्फ नजर लगाउनुहोस् । उहाँ बेदनाद्वारा जमिनमा यसरी टाँसिनुभयो कि मानौं उहाँ स्‍वयम् परमेश्‍‍वरदेखि टाढा खिँचिने क्रमदेखि रोक्‍ने प्रयत्‍न गर्दैहुनुहुन्छ । रातको चिसो शीत उहाँको लम्पसार परेको शरीरमा पर्दछ, तर उहाँले यसको पर्वाह गर्नुभएन । उहाँको शिथिल ओँठबाट यो तितो पुकार आउँदछ, “हे पिता, तपाईंको इच्छा भए यो कचौरा मबाट हटाइदिनुहोस् । तर मेरो इच्छा होइन, तपाईंकै इच्छा पुरा होस् ।” PAP 5.2

मानव हृदयले पीडाको समयमा सहानुभूतिको अपेक्षा राख्दछ । यही इच्छालाई ख्रीष्‍टले पनि भित्री मनदेखि नै महसुस गर्नुभयो । उहाँको आत्माको त्यस महा पीडाको समयमा उहाँ एक प्रज्‍ज्‍वल इच्छाका साथ सान्त्‍वनाका केही वचन सुन्नका निम्ति आफ्‍ना चेलाहरूका सामु आउनुभयो जुन चेलाहरूलाई उहाँले कैयौंपटक आशिष तथा सान्त्‍वना दिनुभएको थियो, र शोक तथा तनावको समयमा रक्षा गर्नुभएको थियो । प्रभु येशू, जससँग ती चेलाहरूका लागि सदा सहानुभूतिका वचन हुने गर्दथे, स्‍वयम् उहाँ आफै अहिले अलौकिक पीडा भोग्दैहुहनुहुन्थ्यो, र उहाँ यो जान्ने इच्छा गर्दै हुनुहुन्थ्यो कि तिनीहरू उहाँको निम्ति तथा स्‍वयम् आ-आफ्‍नै निम्ति प्रार्थना गर्दैछन् । पापको उग्र रूप कति अन्धकार देखियो ! मानवजतिलाई स्‍वयम् आफ्‍नै दोषहरू बहन गर्न एक्‍लै छोड्‍ने उहाँको परीक्षा अति भयानक थियो, जब कि उहाँ परमेश्‍‍वरको सामु निर्दोष सावित हुनसक्‍नुहुन्थ्यो । उहाँका चेलाहरूले यस कुरालाई बुझेर यसको प्रशंसा गरेका छन् भनी थाहा मात्र पाउनुभएको भए पनि उहाँले शक्ति प्राप्‍त गर्नुहुनेथियो । PAP 6.1

अति कष्‍टका साथ उठ्‍नु भएपछि उहाँ लड्‍खडाउँदै त्यस स्थानसम्म पग्‍नुभयो जहाँ उहाँले आफ्‍ना चेलाहरूलाई छोड्‍नुभएको थियो । तर उहाँले “तिनीहरूलाई सुतिरहेको फेला पार्नुभयो” । यदि उहाँले तिनीहरूलाई प्रार्थना गरिरहेका अवस्थामा भेट्टाउनुभएको भए मात्र पनि उहाँले सान्त्‍वना प्राप्‍त गर्नुहुनेथियो । शैतानका कार्यहरूले तिनीहरूमाथि विजय नपाओस् भनी तिनीहरूले परमेश्‍‍वरमा शरणमात्र मागेका भए पनि उहाँले तिनीहरूका अटुट विश्‍‍वासमार्फत सान्त्‍वना प्राप्‍त गनुहुनेथियो । तर तिनीहरूले “जागा रहो, र प्रार्थना गर” भन्ने निरन्तरको चेलावनीप्रति ध्यान दिएका थिएनन् । प्रायः शान्त तथा श्रद्धेय अवस्थामा रहनुहुने आफ्‍ना गुरु अवर्णनीय शोकविरुद्ध संघर्ष गरिरहनुभएको अवस्थामा पहिलो पटक देख्‍नपुग्दा ती चेलाहरू अति दुःखी भएका थिए । जब ती चेलाहरू यसरी पीडाको सामना गरिरहनुभएको ख्रीष्‍टको पुकार सुन्ने गर्दथे तब उनीहरू प्रार्थना गर्ने गर्दथे । तिनीहरूले आफ्‍ना परमप्रभुलाई त्याग्‍ने बिचार राखेका थिएनन्, तर तिनीहरू शिथिलपनाद्वारा अचेत प्रायः देखिन्थे र यदि तिनीहरू परमेश्‍‍वरमा बिन्ति चढाउँदै प्रार्थना गरिरहेका भए सो शिथिलपनादेखि विजय हासिल गर्न सक्‍नेथिए । तिनीहरूले परीक्षाको सामना गर्नका निम्ति जागा रहनुपर्ने तथा प्रार्थनामा तल्‍लीन रहनुपर्ने आवश्‍‍यकताको बारेमा महसुस गरेनन् । PAP 6.2

गेतसमनी तिर लाग्‍नु भन्दा केही समय अघि येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबै पछि हटिजानेछौ ।” ती चेलाहरूले उहाँलाई यो मजबुत आश्‍‍वासन दिएका थिए कि तिनीहरूले उहाँसँगै झ्यालखाना तथा मृत्युको सामना गर्नेछन् । र बिचारा पत्रुस आफैमा भरपर गरेर थप यसो भनेका थिए, “सबै जना पछि हटे तापनि मचाहिँ हट्‍नेछैनँ ।” मर्कूस १४:२७, २९ । तर चेलाहरूले स्‍वयम् आफैमाथि भरोसा राखे । तिनीहरूले ख्रीष्‍टको परामर्शमुतासविक महान् मद्दतकर्ता तर्फ हेरेनन् । यसप्रकार जब मुक्तिदातालाई तिनै चेलाहरूका सहानुभूति तथा प्रार्थनाको सर्वाधिक आवश्‍‍यकता थियो त्यसै पल तिनीहरूलाई सुतिरहेका अवस्थामा भेट्टाइयो । पत्रुस समेत सुतिरहेका थिए । PAP 7.1

ख्रीष्‍टको प्रिय चेला यूहन्ना समेत सुतिरहेका थिए । अवश्‍‍य पनि आफ्‍नो गुरुप्रति यूहन्नामा भएको प्रेमले उनलाई जागा राख्‍नुपर्नेथियो । उनका उत्सुक प्रार्थनाहरू उहाँको त्यस महा कष्‍टप्रद समयका प्रार्थनाहरूसँगै सामेल हुनुपर्नेथियो । उद्धारकर्ताले पूरै रात उहाँका चेलाहरूका विश्‍‍वास डगमगाउन नपुगोस् भनी तिनीहरूकै निम्ति प्रार्थना गर्दैबिताउनु भएको थियो । येशूले याकूब र यूहन्नालाई कुनै समय सोध्‍नुभएको प्रश्‍न “तिमीहरू के मागिरहेछौ सो जान्दैनौ । जुन कचौरा मैले पिउनलागेको छु, के त्यो तिमीहरू पिउन सक्छौ ?” भनी अहिले पनि सोध्‍नुभएको भए तिनीहरूले “हामी सक्छौं” भनी जवाफ दिने साहस गर्ने थिएनन् । मत्ती २०:२२ । PAP 8.1

चेलाहरू येशूको आवाजद्वारा ब्युँझिए, तर तिनीहरूले उहाँलाई मुश्‍‍किलले चिन्नसके, किनकि वेदनाकै कारण उहाँको मुहारमा धेरै परिवर्तन आइसकेको थियो । पत्रुसलाई सम्बोधन गर्नुहुँदै येशूले भन्नुभयो, “सिमोन, के तिमी निदाईरहेछौ ? के एक घण्टा पनि जागा बस्‍न सकेनौ ? जागा रहो, अनि प्रार्थना गर, र तिमीहरू परीक्षामा नपर । आत्मा त साँच्‍चै तयार छ, तर शरीर दुर्बल छ ।” येशूका चेलाहरूका कमजोरीले उहाँको सहानुभूतिलाई जगायो । उहाँ धोखामा पर्नुभई मृत्युको वशमा पर्नुभएपछि जुन परीक्षाहरू ती चेलाहरूमाथि आईपर्नेछन् तिनीहरूले ती परीक्षाहरूका सामना गर्न सक्‍नेछैनन् भन्ने डर उहाँमा व्याप्‍त थियो । उहाँले तिनीहरूलाई हप्काउनु भएन, तर यसो भन्नुभयो, “जागा रहो, अनि प्रार्थना गर, र तिमीहरू परीक्षामा नपर ।” आफ्‍नो त्यस महा पीडाको घडीमा पनि उहाँ तिनीहरूका कमजोरीहरूलाई माफ गर्ने प्रयत्‍न गर्दैहुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “आत्मा त साँच्‍चै तयार छ, तर शरीर दुर्बल छ ।” PAP 8.2

परमेश्‍‍वरको पुत्र पुनः अलौकिक पीडाको वशमा पर्नुभयो, र मूर्छा पर्दै तथा थकितरूपमा उहाँ संघर्षको साविककै स्थानमा पुनः लड्‍खराउँदै जानुभयो । उहाँको पीडा पहिलाको भन्दा अधिक थियो । जब उहाँको आत्मा भित्रैदेखि पीडा जागेर आयो, “उहाँको पसिना रगतका ठूला-ठूला थोपाजस्तै जमीनमा खसिरहेका थिए ।” साइप्रस तथा सल्‍लाका रूखहरू नै उहाँको त्यस पीडाको गुप्‍त साक्षी थिए । पातद्वारा ढाकिएका तिनका हाँगाहरूबाट उहाँको कमजोर शरीरमा यति धेरै मात्रामा शीत परे कि मानौं प्रकृति समेत सृष्‍टिकर्ता अन्धकारको शक्तिसित एक्‍लै सामना गरिरहनु भएको अवस्थामा रुँदै विलाप गरिरहेकी थिइन् । PAP 9.1

केही समय अघि मात्र येशू उहाँ विरुद्ध आइपरेको आँधी तुफानको सामना गर्दै खडा रहने देवदार रूखझैं खडा हुनुहुन्थ्यो । हठी बिचारशक्ति तथा रिस अनि चतुरपनाले भरिपूर्ण बिचारहरूले व्यर्थैमा उहाँलाई भ्रममा पार्ने तथा जित्‍ने प्रयत्‍न गरिरहेका थिए । अहिले उहाँ भीषण तुफानद्वारा बहकाइएको तथा भाँच्‍चिएको सिन्काजस्तै हुनुहुन्थ्यो । हरेक पाइलामा अन्धकारका शक्तिहरूविरुद्ध विजय हासिल गर्दै उहाँ आफ्‍नो कार्य उद्देश्‍‍यमा विजयी बन्नुभएको थियो । एक महिमित अस्तित्‍वको रूपमा उहाँले परमेश्‍‍वरमा मेलको दावी गरिसक्‍नुभएको थियो । अचूक भाषाका साथ उहाँले प्रशंसाका भजनहरू खन्याउनुभएको थियो । उहाँले चेलाहरूका साथ उत्साह र कोमलताका वचनहरू बोल्‍नुभएको थियो । अब अन्धकारको शक्तिको समय आएको थियो । अब उहाँको आवाज बेलुकीको शून्य हावामा विजयी धुनमा होइन, तर मानव पीडाले भरिपूर्ण अवस्थामा सुन्न सकिन्थ्यो । मुक्तिदाताको “हे मेरा पिता मैले यो नपिउञ्‍जेल हट्‍नसक्दैन भने, तपाईंकै इच्छा पूरा होस् ।” भन्ने पुकार सुताहा चेलाहरूका कानसम्मै पुगेका थिए । PAP 9.2

चेलाहरूका पहिलो प्रतिक्रिया— उहाँको सामु जानु थियो; तर उहाँले तिनीहरूलाई जागा रहँदै प्रार्थना गर्दै त्यही पर्खने आज्ञा दिनुभएको थियो । जब येशू तिनीहरूका सामु आउनुभयो, तब उहाँले तिनीहरू अझैपनि सुतिरहेकै अवस्थामा भेट्टाउनुभयो । उहाँले उहाँका चेलाहरूबाट केही शब्दहरू सुन्नका निम्ति उनीहरूका साथ पाउने इच्छा गर्नुभयो जुन शब्दहरूले केही सान्त्‍वना ल्याउन सकोस्, जसले अन्धकारको टुनालाई तोड्‍न सकोस् जसले उहाँलाई करिब-करिब पराजित गर्न लागेको थियो । तर निद्राका कारण ती चेलाहरूका आँखा लठ्ठिएका थिए; र “उहाँलाई के जवाफ दिने हो, सो जानेनन् ।” तिनीहरूले उहाँको अनुहार रक्ताम्य पसिनाद्वारा भरिएको देखे, र तिनीहरू डराए । तिनीहरू उहाँको मनको पीडालाई बुझ्‍न सकेनन् । “उसको अनुहार चिन्नै नसकिने गरी उसको चेहरा मानिसको भन्दा पनि कुरुप बनाइएको थियो ।” यशैया ५२:१४ । PAP 10.1

भयानक अन्धकारको भयद्वारा ग्रसित हुनुभई उहाँ लम्पसार पर्दै पुनः आफ्‍नो त्यस शरणतर्फ फर्कनुभयो । त्यस परीक्षाको घडीमा परमेश्‍‍वरको पुत्रको मानव स्‍वभाव काँप्‍न पुग्यो । उहाँले यसपटक चाहिँ उहाँका चेलाहरूका विश्‍‍वास नडग्मगाओस् भनी प्रार्थना गर्नुभएन, तर परीक्षा तथा पीडामा परेको आफ्‍नै आत्माको निम्ति प्रार्थना गर्नुभयो । अब त्यो भयानक पल आइपुगेको थियो— एक यस्तो पल जसले यस संसारको भाग्य निर्धारण गर्नेछ । मानवजातिको भाग्य तराजुमा काँप्‍नपुग्यो । अहिले पनि ख्रीष्‍टले दोषी मानिसका लागि तोकिएको कचौराबाट पिउन इन्कार गर्न सक्‍नुहुनेथियो । यसको लागि समय अझैपनि बितिसकेको थिएन । उहाँले आफ्‍नो निधारको रक्ताम्य पसिनालाई पुछेर मानवजातिलाई उसको पापमा मर्न एक्‍लै छोड्‍न पनि सक्‍नुहुन्थ्यो । उहाँले यसो पनि भन्न सक्‍नुहुन्थ्यो, “पापीले आफ्‍नो पापको दण्ड भोगोस्, र म आफ्‍नो पिताकहाँ फर्कनेछु ।” के परमेश्‍‍वरको पुत्रले नम्रता र पीडाको तितो कचौराबाट पिउनुहुनेछ त ? येशूको कमजोर ओंठदेखि काम्दै यस्तो पुकार आउँदछ, “हे मेरा पिता मैले यो नपिउञ्‍जेल हट्‍नसक्दैन भने, तपाईंकै इच्छा पूरा होस् ।” PAP 11.1

उहाँले तीनपटक उक्त प्रार्थना उच्‍चारण गर्नुभएको थियो । तीनपटक मानव स्‍वभाव अन्तिम महिमाको बलिदानदेखि तर्किएको थियो । तर अब मानवजातिको इतिहास संसारको उद्धारकर्ताको आँखा सामु झल्किन पुग्दछ । उहाँ यो देख्‍नुहुन्छ कि यदि व्यवस्था भंग गर्ने मानवजातिलाई एक्‍लै छोडिएको खण्डमा तिनीहरू मर्नु पर्नेछ । उहाँ मानिसको असहायपनलाई देख्‍नुहुन्छ । उहाँ पापको शक्तिलाई देख्‍नुहुन्छ । पतित संसारको सराप तथा विलापहरू उहाँको सामु देखा पर्दछन् । उहाँ यस संसारको निकटवर्ती नियतिलाई देख्‍नुहुन्छ, र उहाँ आफ्‍नो निर्णय लिनुहुन्छ । उहाँले जुनै हालतमा पनि मानवजातिलाई बचाउनुहुनेछ । उहाँ रगतको आफ्‍नो बप्‍तिस्मालाई ग्रहण गर्नुहुन्छ, ताकि मृत्युको वशमा पर्न लागेका लाखौंले उहाँमार्फत अनन्त जीवन पाउन सक्‍नेछन् । उहाँ हराएको एउटा भेडालाई बचाउन, पापको कारण पतित हुनपुगेको संसारलाई बताउनका निम्ति सर्वत्र शुद्धता, खुशी, तथा महिमाले व्याप्‍त स्‍वर्ग त्यागेर आउनुभयो । उहाँ आफ्‍नो जीवनको उद्धेश्‍‍यदेखि पछि हट्‍नुहुनेछैन । उहाँ पापमा डुब्‍नपुगेका मानवजातिकै खातिर प्रायश्‍चित्त बन्नुहुनेछ । उहाँको “हे मेरो पिता मैले यो नपिउञ्‍जेल हट्‍नसक्दैन भने, तपाईंकै इच्छा पूरा होस् ।” भन्ने प्रार्थनामा अब केवल समर्पण मात्र झल्किन्छ । PAP 11.2

यस निर्णयपश्‍चात उहाँ आंशिकरूपमा खडा भई पुनः जमिनमा मरेतुल्य भई लम्पसार पर्नुभयो । उहाँका चेलाहरू मूर्छा पर्दै गर्नुभएको आफ्‍ना गुरुको शिर थाम्‍न तथा उहाँको निधार पुछ्‌न उहाँको सामु नभई अहिले कता गए त ? मुक्तिदाताले एक्‍लै कोलमा हिंड्‍नुपऱ्यो, र उहाँको साथमा कोही पनि थिएनन् । PAP 12.1

तर परमेश्‍‍वरले उहाँको पुत्रसँगै पीडा भोग्‍नुभयो । स्‍वर्गदूतहरूले मुक्तिदाताको पीडालाई देखे । तिनीहरूले आफ्‍ना परमप्रभु शैतानका शत्रुहरूद्वारा घेरिएका, उहाँको शरीर कम्पमान भएको तथा अद्‍‌भुत भयद्वारा झुक्‍नपुगेको देखे । स्‍वर्गमा सन्नाटा छाएको थियो । स्‍वर्गमा कुनै पनि बाजाहरू बजेनन् । जब परमेश्‍‍वर पिताले उहाँको प्रिय पुत्रबाट आफ्‍नो प्रकाश, प्रेम अनि महिमाको ज्योतिलाई हटाउँदै गर्नुभएको दृश्‍‍यलाई स्‍वर्गदूतहरूले निःशब्द पीडाका साथ हेरिरहेका दृश्‍‍यलाई मरणशील मानवजातिले देख्‍न मात्र सकेका भए तिनीहरूले यो कुरा स्पष्‍टसाथ बुझ्‍न सक्‍नेथिए कि उहाँको नजरमा कति घिनलाग्दो छ । PAP 12.2

जब विवादको अन्त्य हुँदैथियो तब अपतित जगत तथा स्‍वर्गदूतहरूले यस दृश्‍‍यलाई तीव्र चाखका साथ हेरेका थिए । शैतान तथा उसका दुष्‍ट सहयोगीहरूले र विधर्मी सेनाहरूले उद्धार कार्यमा उत्पन्न भएको यस महा संकटलाई अभिरुचि पूर्वक हेरेका थिए । असल तथा दुष्‍ट शक्तिहरूले ख्रीष्‍टले तीनपटक दोहोऱ्याउनुभएका प्रार्थनाहरूका के प्रतिउत्तर आउनेछ भनी प्रतिक्षा गरे । स्‍वर्गदूतहरूले येशूलाई सहायता गर्ने इच्छा गरेका थिए, तर तिनीहरूलाई सो गर्ने अनुमति दिइएको थिएन । परमेश्‍‍वरको पुत्रको निम्ति उम्कने कुनै मार्ग फेला परेन । यस घोर संकटको समयमा जब सबैथोक दाउमा परेको थियो, जब पीडाग्रस्त येशूको हातमा रहस्यमयी कचौरा काँप्‍नपुग्यो, तब आकाश खुल्‍नपुग्यो, संकटको यस प्रचण्ड अन्धकार पलमा उज्यालो ज्योति चम्कियो, र परमेश्‍‍वरको उपस्थितिमा खडा हुने शक्तिशाली स्‍वर्गदूत ख्रीष्‍टको सामु उपस्थित भए । उक्त स्‍वर्गदूत ख्रीष्‍टको हातदेखि कचौरा हटाउनका निम्ति आएका थिएनन्, तर पिताको प्रेमको आश्‍‍वासनका साथ उहाँलाई सो कचौरा पिउन मजबुत तुल्याउनको निम्ति आएका थिए । ती स्‍वर्गदूत ख्रीष्‍टलाई शक्ति प्रदान गर्नका निम्ति आएका थिए । उहाँको पीडाको फलस्‍वरूप बाँच्‍ने आत्माहरूका बारेमा बताउँदै स्‍वर्गदूतले उहाँलाई खुला स्‍वर्गतर्फ देखाए । स्‍वर्गदूतले उहाँलाई यो आश्‍‍वासन दिलाए कि उहाँको पिता शैतानभन्दा शक्तिशाली हुनुहुन्छ तथा उहाँको मृत्युले शैतानको पूर्ण पराजय ल्याउनेछ, र यो संसार सर्वोच्‍चका सन्तहरूलाई दिइनेछ । स्‍वर्गदूतले यो पनि बताए कि परमेश्‍‍वरले उहाँको आत्माको प्रसव वेदनालाई सम्हाल्‍नुहुनेछ र यसबाट सन्तुष्‍ट हुनुहुनेछ किनकि यही बलिदानद्वारा मानवजाति अनन्तको निम्ति बचाइनेछन् । PAP 13.1

ख्रीष्‍टको वेदना टुङ्गिएन, तर खिन्नता र हरेसपनले भने उहाँलाई छोड्‍यो । आँधी कुनै रूपमा घटेको थिएन, तर उहाँ त्यही आँधीको कर्म हुनुभएको हैसियतले उहाँ यसको सामना गर्न मजबुत बन्नुभयो । उहाँ निर्धक्‍क तथा शान्त बन्नुभयो । उहाँको रक्ताम्य अनुहारमा स्‍वर्गीय शान्ति छायो । उहाँले मानवजातिको कदापि बोक्‍न नसक्‍ने बोझ धारण गर्नुभएको थियो; किनकि उहाँले हरेक व्यक्तिको खातिर पीडाको स्‍वाद चाख्‍नुभएको थियो । PAP 14.1

मस्त निद्राका परेका चेलाहरू मुक्तिदातालाई घेरेको ज्योतिद्वारा अचानक बिउँझे । तिनीहरूले आफ्‍नो लम्पसार पर्नुभएको गुरुको सामु स्‍वर्गदूत झुकिरहेको देखे । तिनीहरूले उक्त स्‍वर्गदूतले मुक्तिदाताको शिरलाई आफ्‍नो काखमा राखेर उहाँलाई स्‍वर्गतिर देखाइरहेको देखे । तिनीहरूले उक्त स्‍वर्गदूत सुमधुर संगिततुल्य आवाजमा सान्त्‍वना र आशाका वचनहरू बोल्दैगरेको सुने । चेलाहरूले जैतून डाँडाको दृश्‍‍यलाई पुनः सम्झे । तिनीहरूले येशूलाई मन्दिरमा महिमाले घेरेको तथा बादलदेखि परमेश्‍‍वरले बोल्‍नुभएको आवाजलाई पनि सम्झे । अहिले पनि सोहि महिमा प्रकट भएको थियो, र अब तिनीहरूसँग आफ्‍ना गुरुदेखि डराउनुपर्ने कुनै कारण थिएन । उहाँ परमेश्‍‍वरको रेखदेखमा हुनुुहुन्थ्यो; उहाँको रक्षार्थ एक शक्तिशाली स्‍वर्गदूत पठाइएको थियो । ती चेलाहरू थकाइका कारण पुनः एक अद्‍‌भुत शिथिलपनाको वशमा परे जसले तिनीहरूमाथि कब्‍जा जमायो । येशू पुनः तिनीहरूलाई सुतिरहेको अवस्थामै भेट्टाउनुहुन्छ । PAP 14.2

उनीहरू तर्फ शोकले भरिपूर्ण नजर लगाउदै उहाँ यसो भन्नुहुन्छ, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ ? हेर, समय नजीक आइपुगेको छ । मानिसको पुत्र पापीहरूका हातमा पर्न लागेको छ ।” PAP 15.1

उहाँ जसै यी शब्दहरू बोल्दैहुनुहुन्थ्यो तब उहाँले उहाँको खोजिमा आएका जनसमूहका पाइलाका आवाज सुन्नुभयो, र उहाँले भन्नुभयो, “उठ जाऔं । हेर, पक्राइदिने नजीकै छ ।” PAP 15.2

जब येशू आफ्‍नो विश्‍‍वासघातीलाई भेट्‍न अघि सर्नुभयो तब उहाँको अनुहारमा हालैको वेदनाको कुनै सुइँकोहरू देखिएनन् । उहाँका चेलाहरूभन्दा पहिला नै खडा भई उहाँले भन्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ ?” तिनीहरूले जवाफ दिए, “नासरतका येशूलाई ।” उहाँले जवाफ दिनुभयो, “म उही हुँ ।” जसै यो वार्तालापको क्रम चलिरहेको थियो तब भर्खरै येशूलाई सेवा गर्दै गरेका स्‍वर्गदूत उहाँ तथा जनसमूहको बीचमा आवतजावत गरे । पवित्र ज्योतिले मुक्तिदाताको मुहारलाई चम्किलो तुल्यायो, र ढुकुरजस्तो आकारले उहाँलाई ढाक्‍यो । त्यस ईश्‍‍वरीय महिमाका सामु घातक जनसमूह एक पल पनि टिक्‍न सकेनन् । तिनीहरू रन्थनिदै पछि हटे । पूजाहारी, अगुवा, सिपाही, र यहूदा इस्करियोत समेत मृत मानिसझैं भुइँमा लडे । PAP 15.3

स्‍वर्गदूत पछि हटे, र ज्योति पनि बिलाएर गयो । येशूसँग भाग्‍ने मौका थियो, तर उहाँ शान्त तथा आत्म नियंत्रणका साथ त्यही खडा रहनुभयो । महिमित अस्तित्‍वको रूपमा उहाँ त्यस कठोर जनसमूहमाझ असहाय खडा रहनुभयो । चेलाहरू अचम्म तथा भयका साथ यस घटनालाई चुपचाप हेरिरहेका थिए । PAP 15.4

तर छिटै दृश्‍‍यमा परिवर्तन आयो । अचानक भीड भड्‍किन पुग्यो । रोमी सिपाही, पूजाहारी, तथा यहूदा इस्करियोत ख्रीष्‍टको सामु भेला भए । तिनीहरू आफ्‍ना दुर्बलताप्रति लज्‍जित हुनुका साथै उहाँ अझै पनि उम्कनुहुनेछ कि भनी डराए । उद्धारकर्ताले पुनः सोध्‍नुभयो, “तिमीहरू कसलाई खाज्दैछौ ?” तिमीहरूको सामु खडा हुनुभएको येशू परमेश्‍‍वरको पुत्र हुनुहुन्छ भनी तिमीहरूले प्रमाण पाइसकेका थिए, तर तिनीहरूलाई यसप्रति पत्यार भएन । “तिमीहरू कसलाई खोज्दैछौ ?” भन्ने प्रश्‍नको जवाफ तिनीहरूले यसरी दिए, “नासरतका येशूलाई ।” तब चेलाहरूतर्फ औंल्याउँदै मुक्तिदाताले भन्नुभयो, “मैले तिमीहरूलाई भनिहालें, म उही हुँ । यसकारण यदि तिमीहरू मलाई खोज्दैछौ भने यी मानिसहरूलाई चाहिँ जान देओ ।” येशूलाई उनीहरूको विश्‍‍वास कति कमजोर छ भनी थाहा थियो, र उहाँले तिनीहरूलाई परीक्षा तथा सतावटदेखि रक्षा गर्ने प्रयास गर्नुभयो । ती चेलाहरूकै खातिर येशू स्‍वयम् आफैलाई बलिदान गर्न तयार हुनुहुुन्थ्यो । PAP 16.1

यहूदा इस्करियोतले आफूले निभाउनुपर्ने भूमिकालाई भुलेको थिएन । तब उसकै नेतृत्‍वमा जनसमूह गेतसमनीको बगैंचामा प्रवेश गरेका थिए र प्रधान पूजाहारी पनि उसको पछि लागेको थियो । येशूलाई पक्रन आएका मानिसहरूलाई उसले यसो भन्दै एउटा संकेत दिएको थियो, “जुन मानिसलाई म म्वाइँ खान्छु तिनी नै हुन्, तिनैलाई समात ।” मत्ती २६:४८ । अब यहूदाले आफू उक्त जनसमूहको साथमा छैन भनी बहाना बनायो । येशूको समीप आई उसले एक परिचित मित्रको जस्तै गरी उहाँको हात समात्दछ । “हे गुरु, प्रणाम !” भन्दै ऊ उहाँलाई बारम्बार म्वाइँ खाँदछ, र उहाँको खतरापूर्ण अवस्थाप्रति सहानुभूति व्यक्त गर्दै रोएजस्तो गर्दछ । PAP 16.2

येशूले यहूदालाई “मित्र तिमी के गर्न आएका छौ ?” भनी सोध्‍नुभयो । जब उहाँले “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्‍‍वासघात गर्न चाहन्छौ ?” भनी बताउनुभयो तब उहाँको आवाजमा काँप्‍नपुग्यो । यस आह्‍वानले विश्‍‍वासघातीको अन्तरात्मालाई जगाउनुपर्ने तथा उसको कठोर हृदयलाई छुनुपर्ने थियो; तर सम्मान, भक्ति, तथा मानव कोमलताले उसलाई त्यागिसकेको थियो । उसले दया लिने कुनै नियत प्रकट नगर्दै ऊ निडर तथा अटेरी बन्नपुग्यो । उसले स्‍वयम्‌लाई शैतानको हातमा सुम्पिसकेको थियो, र उसँग शैतानको विरोध गर्ने केही शक्ति थिएन । येशूले विश्‍‍वासघातीको म्वाइँलाई अस्‍वीकार गर्नुभएन । PAP 16.3

जब जनसमूहकै सामु भर्खरै महिमित हुनुभएको येशूलाई यहूदाले अँगालो मारेको दृश्‍‍यलाई जनसमूहले देखे तब तिनीहरू साहसी बन्नपुगे । अब तिनीहरूले येशूलाई पक्रे, र ती अमूल्य हातलाई बाँध्‍न अघि सारे जुन हात सदा भलाइकै कार्यमा प्रयोग गरिएका थिए । PAP 17.1

येशूले स्‍वयम् आफैलाई पक्राउ पर्न दिनुहुनछैन भनी चेलाहरूले बिचार लिएका थिए । जुन शक्तिले जनसमूहलाई मरेतुल्य मानिस सरह ढलाएको थियो, त्यही शक्तिले येशू तथा उहाँका चेलाहरू नभागुञ्‍जेलसम्म तिनीहरूलाई असहाय राख्‍न सक्‍नेथियो । जब चेलाहरूले आफ्‍ना प्रिय गुरुका हातहरू बाँध्‍न डोरी निकालिएको देखे तब तिनीहरू निराश तथा क्रोधित बन्नपुगे । पत्रुसले आफ्‍नो क्रोधमा असावधानीपूर्वक आफ्‍नो तरवार झिके अनि आफ्‍नो गुरुको रक्षा गर्ने प्रयत्‍न गरे, तर उनले मुख्य पूजाहारीको दासको कान मात्र छिनायो । जब येशूले यो घटना देख्‍नुभयो तब येशूले रोमी सिपहीद्वारा मजबुतरूपमा बाँधिएर राखिएको आफ्‍नो हातलाई फुकाउनुभयो, र “भयो, अब रहन देओ” भन्दै त्यस मान्छेको कान छुनुभयो, र उसको कान तुरुन्तै निको हुनपुग्यो । तब उहाँले पत्रुसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्‍ट हुनेछन् । तिमी के ठान्दछौ, के म आफ्‍ना पितालाई बिन्ति गर्न सक्दिन, र उहाँले तुरुन्तै स्‍वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढी मेरो निम्ति पठाइदिनुहुन्न ?”— अर्थात् प्रत्येक चेलाका निम्ति एक पल्टन । येशूले किन स्‍वयम् आफैलाई र हामीलाई पनि बचाउनुहुन्न त ? भनी चेलाहरूले सोंचे । तिनीहरूका अकथित बिचारको जवाफ दिनुहुँदै उहाँले थप यसो भन्नुभयो, “तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्‍‌त्रमा लेखिएका कुरा कसरी पूरा हुने ?” “के पिताले मलाई दिनुभएको कचौरा म नपिउँ ?” PAP 17.2

यहूदी नेताहरूका आधिकारिक प्रतिष्‍ठाले तिनीहरूलाई येशूको खोजी गर्ने क्रममा सहभागी हुनुदेखि बाधा पुऱ्याएको थिएन । येशूको गिरफ्तारी जस्तो महत्‍वपूर्ण मामला मातहतका कर्मचारीहरूलाई सुम्पनु उचित नलागेकै कारण कपटी पूजाहारी तथा एल्डरहरू पनि मन्दिरका पुलिस अनि जनसमूहका साथ यहूदा इस्करियोतको पछि लागेका थिए । ती प्रतिष्‍ठित व्यक्तिहरू कस्ता जमातमा सामेल भएका थिए जुन जनसमूह विभिन्न औजारका साथ मानौं कुनै जंगली पशुको खोजीमा निस्केझैं उत्तेजना पाउन उत्सुक देखिन्थे ! PAP 18.1

ख्रीष्‍टले पूजाहारी तथा एल्डरहरूतर्फ तीखो दृष्‍टि जमाउनुभयो । जुन वचन उहाँले त्यसबेला तिनीहरूसँग बोल्‍नुभयो सो तिनीहरूले बाँचुञ्‍जेलसम्म कहिल्यैपनि भुलेनन् । ती वचन सर्वशक्तिमान्‌को वाणजस्तै तीखा थिए । उहाँले प्रतिष्‍ठाका साथ भन्नुभयो, “डाँकूको विरुद्धमा आएजस्तै मलाई पक्रन तरवार र लाठाहरू लिएर आयौ । म दिनहुँ मन्दिरमा शिक्षा दिंदै बस्‍ने गर्दथे । त्यतिखेर तिमीहरूसँग मेरो विरुद्धमा हात उठाउने हरेक अवसर थियो, तर तिमीहरूले मेरो विरुद्धमा हात उठाएनौ । यस साँझ तिमीहरूसँग सो कामको लागि अलि उपयुक्त समय छ । अब तिमीहरू तथा अन्धकारको शक्तिको समय यही हो ।” PAP 18.2

जब येशूले स्‍वयम्‌लाई पक्रने तथा बाँध्‍ने अनुमति दिनुभयो तब चेलाहरू भयभीत भए । स्‍वयम् आफ्‍नै निम्ति तथा तिनीहरूका निम्ति उहाँले सो अपमान सहनुपर्ने भएकोले तिनीहरूका चित्त दुख्यो । तिनीहरूले उहाँको चाललाई बुझ्‍न सकेनन्, र जनसमूहको वशमा स्‍वयम्‌लाई सुम्पनुभएकोमा उहाँलाई दोष लगाए । ती चेलाहरू क्रोध तथा भयको भावनामा डुबिरहेकै बेला पत्रुसले सो प्रस्ताव राखे कि तिनीहरूले स्‍वयम् आफैलाई बचाउनु पर्नेछ । यही सुझावलाई शिरोपर गर्दै, “तिनीहरूले उहाँलाई त्यागे, र भागे ।” तर ख्रीष्‍टले यस त्यागको बारेमा पहिल्यै यसरी बताउनुभएको थियो, “हेर, समय आइरहेछ, वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्‍ट भई आफ्‍नै ठाउँमा जानेछौ र मलाई एक्‍लै छोड्‍नेछौ । तापनि म एक्‍लो छैन, किनभने पिता मसँग हुनुहुन्छ ।” यूहन्ना १६:३२ । PAP 19.1