परमेश्‍‍वर हामीहरूसँग

21/45

चेलाहरूमार्फत प्रकट हुनुभएको

ख्रीष्‍टले आफू क्रूसमा टाँगिनुभन्दा पहिलो रातमा माथिल्‍लो तलाको कोठामा भन्नुभएको वचनलाई अध्यय गरौं । उहाँ आफ्‍नो परीक्षाको अन्तिम समयमा आइपुग्‍नुभएको थियो, उहाँले आफ्‍ना चेलाहरूलाई आश्‍‍वासन दिने प्रयास गर्दै हुनुहुन्थ्यो, जो कठोर परीक्षामा पर्न र सतावटमा पर्न गइरहेका थिए । PHs 35.3

“‘तिमीहरूको हृदय व्याकुल नहोस् ।”” उहाँले भन्नुभयो, “‘तिमीहरू परमेश्‍‍वरमाथि विश्‍‍वास गर्दछौ, ममाथि पनि विश्‍‍वास गर । मेरा पिताको घरमा बस्‍ने ठाउँहरू धेरै छन् । त्यसो नभए, के म तिमीहरूलाई भन्नेथिएँ र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु ? ...’ PHs 35.4

“थोमाले उहाँलाई भने, ‘हे प्रभु तपाईं कहाँ जाँदैहुनुहुन्छ, हामी जान्दैनौं, तब हामीले बाटो कसरी चिन्ने ?’ येशूले तिनलाई भन्नुभयो, ‘बाटो, सत्य र जीवन म नै हु, मद्वारा बाहेक अरू कोही पनि पिताकहाँ आउन सक्दैन । तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्ने थियौ । अबदखि उसो उहाँलाई चिन्दछौ र उहाँलाई देखेका छौ ।‘ PHs 35.5

“फिलिपले उहाँलाई भने, ‘हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस् । त्यति भए हामीलाई पुग्छ ।’ येशूले तिनलाई भन्नुभयो, ‘फिलिप, यतिको समयसम्म म तिनीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ ? जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ । तिमी कसरी भन्न सक्छौ, हामीलाई पिता देखाउनुहोस् ? म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्‍‍वास गर्दैनौ ? जुन वाणी म तिमीहरूलाई भन्दछु, त्यो मैले मेरो आफ्‍नै अधिकारमा बोलेको होइनँ, तर ममा वास गर्नुहुने पिताले आफ्‍नो काम गर्नुहुन्छ” (यूहन्ना १४:१-१०) । PHs 36.1

चेलाहरूले ख्रीष्‍टका वचनद्वारा परमेश्‍‍वरप्रति उहाँको के सम्बन्ध छ भन्ने कुरा अझै बुझेनन् । प्रायःजसो उहाँका शिक्षा अझै उनीहरूको लागि अन्धकार नै थिए । ख्रीष्‍टले परमेश्‍‍वरतर्फ उनीहरूको ज्ञान अझ स्पष्‍ट र राम्रो होस् भन्ने चाहना राख्‍नुहुन्थ्यो । PHs 36.2

“यी कुरा मैले तिमीहरूलाई दृष्‍टान्तहरूमा भनेको छु ।” उहाँले भन्नुभयो, “तर समय आइरहेछ, जब म तिमीहरूसगँ फेरि दृष्‍टान्तमा बोल्‍नेछैनँ, तर पिताको विषयमा तिमीहरूलामई स्पष्‍ट बताउनेछु” (यूहन्ना १६:२५) । PHs 36.3

पेन्तिकोसका दिनमा जब चेलाहरूमा पवित्र-आत्मा आएको थियो, त्यस बेला ख्रीष्‍टले उखानमा भन्नुभएका कुराहरूलाई तिनीहरूले अझ पूर्णरूपमा बुझे । धेरैजसो उहाँका शिक्षा जो उनीहरूका लागि एक रहस्यमय कुरा थियो अब प्रष्‍ट पारियो । तर त्यस बखत पनि उनीहरूले ख्रीष्‍टको प्रतिज्ञाको पूर्ण सिद्धता प्राप्‍त गर्न सकेनन् । उनीहरू आफूले बुझ्‍न सक्‍ने क्षमता अनुरूपको परमेश्‍‍वरको ज्ञान पाए, तर परमेश्‍‍वरलाई प्रष्‍टसँग देखाउने भन्ने ख्रीष्‍टको प्रतिज्ञाको पूर्णताचाहिँ आउनै बाँकी थियो । आज पनि यस्तै छ । परमेश्‍‍वरप्रतिको हाम्रो ज्ञान आंशिक र अपूर्ण छ । तर जब लडाईको अन्त हुन्छ र पिताको सामुन्ने येशू ख्रीष्‍टले उहाँका विश्‍‍वासी कामदारहरूलाई स्‍वीकार गर्नुहुन्छ, जो पापपूर्ण संसारमा उहाँको गवाही बनेका छन्, तब तिनीहरूले जुन कुराहरू अहिले रहस्यमय छन् ती सबै स्पष्‍टसाथ बुझ्‍नेछन् । PHs 36.4

ख्रीष्‍टले आफूसँग आफ्‍नो महिमित मनुष्यत्‍व स्‍वर्गीय अदालतसम्म लिएर जानुभयो । जसले उहाँलाई ग्रहण गर्दछन्, उसलाई परमेश्‍‍वरको सन्तान बन्ने शक्ति दिनुहुन्छ, ताकि परमेश्‍‍वरले अन्तमा उसलाई उहाँसँगै अनन्तकालसम्म उहाँसँग बस्‍नका निम्ति तिनीहरूलाई ग्रहण गर्नुहुनेछ । यदि यस जीवनमा तिनीहरू परमेश्‍‍वरप्रति बफादार भए भने, अन्नतमा तिनीहरूले “उहाँको मुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूको निधारमा हुनेछ” (प्रकाश २२:४) । स्‍वर्गमा परमेवरलाई देख्‍नुभन्दा बढी खुसी अरू केमा हुन्छ र ? प्रभु येशूको दयाले बचाइएका पापीको लागि परमेश्‍‍वरको अनुहारमा हेर्न र उहाँलाई पिता भनी जान्नुभन्दा बढी अरू खुसी हुन सक्छ र ? PHs 37.1

पिता र ख्रीष्‍टको कस्तो सम्बन्ध छ भनेर धर्मशास्‍‍त्रले स्पष्‍टसँग बताएको छ, र एक-अर्काको व्यक्तित्‍व र अस्तित्‍वको बारेमा पनि तिनले उत्तिकै प्रष्‍ट दृष्‍टिकोण ल्याएका छन् । PHs 37.2

“प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्‍‍वर बोल्‍नुभयो । तर यी आखिरी दिनहरूमा उहाँ हामीसँग बोल्‍नुभएको छ; उहाँ नै परमेश्‍‍वरका महिमाको प्रतिबिम्ब र परमेश्‍‍वरकै स्‍वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ, र सम्पूर्ण विश्‍‍वलाई आफ्‍नो शक्तिको वचनले सम्हाल्‍नुहुन्छ । पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्‍‍वरको दाहिने बाहुलपिट्टि उच्‍च स्थानमा उहाँ विराजमान हुनुभयो । जसरी उहाँले प्राप्‍त गर्नुभएको नाउँ स्‍वर्गदूतहरूका भन्दा उत्तम छ, त्यसरी नै उहाँ तिनीहरूभन्दा अझ उच्‍च ठहरिनुभएको छ । PHs 37.3

“‘तिमी मेरो पुत्र हौ,
मैले नै आज तिमीलाई जन्माएको छु’
PHs 37.4

“भनी के कुनै स्‍वर्गदूतलाई परमेश्‍‍वरले कहिल्यै भन्नुभयो ? र फेरि, PHs 38.1

“‘म तिनका पिता हुनेछु,
र तिनी मेरा पुत्र हुनेछन् ?’”
PHs 38.2

(हिब्रू १:१-५) ।

पिता र पुत्रको व्यक्तित्‍व, र साथै तिनीहरू बीचमा रहेको एकता ख्रीष्‍टले उहाँका चेलाहरूलाई गर्नुभएको प्रार्थना अंकित यूहन्ना पुुस्तकको सत्र अध्यायमा प्रस्तुत गरिएको छ: PHs 38.3

“म तिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर तिनीहरूका सन्देशद्वारा ममाथि विश्‍‍वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु, कि तिनीहरू सबै एकै होऊन्, जसरी, तपाईं ममा हुनुहुन्छ र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्‍‍वास गरोस्” (यूहन्ना १७:२०, २१) । PHs 38.4

ख्रीष्‍ट र उहाँका चेलाहरूमा भएको एकताले उनीहरू कसैको व्यक्तित्‍वलाई पनि नाश गर्दैन । तिनीहरू, उद्देश्‍‍य, मन र चरित्रमा एकै छन्, तर शरीरमा भिन्न छन् । यसै गरी ख्रीष्‍ट र परमेश्‍‍वर एकै हुनुहुन्छ । PHs 38.5